बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे
बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् । सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन् । सूचना अधिकारी पन्तले भने, ‘अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ । मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ । यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ ।’ उनका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गरे । उनले भने, ‘अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन् ।’ मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताए । ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उनले सबैलाई आग्रह गरे । ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ज्वरो आउने वित्तिकै मेडिकलबाट औषधि किनेर खाने प्रवृति रहेकाले त्यसो नगरी स्थ्यकर्मीसँग जाँच गराएर मात्रै औषधि प्रयोग गर्न डा विकले आग्रह गरे । जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या पनि निम्तिन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । रासस
बागमती प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै
काठमाडौं । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरू दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ । हिजो सोमबार बागमती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्वास्थ्य संस्थाहरूको दर्ता, नवीरकण तथा स्तरोन्नतिका लागि अनलाइन सेवा शुभारम्भ गरेको बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले जानकारी दिए । निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण र स्तरोन्नति हुनुअगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेलको आरोप लागेपछि बाग्मती प्रदेश सरकारले अनलाइनबाटै आवेदन दिने गरी सेवा सञ्चालनमा ल्याएको हो । स्वास्थ्यमन्त्री थापाले भने, ‘बाग्मती प्रदेशभित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरू दर्ता तथा नवीकरण सुरु गरेका छौं, यसका लागि अब कुनै झन्झट बेहोर्नु पर्दैन ।’ उनले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पूरा भए नभएको हेरेर दर्ता नवीकरण र स्तरोन्नति गरिने बताए । मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरूको हकमा मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पूरा नगर्नेहरूको दर्ता, नवीकरण नगरिने र सेवा बन्द गर्ने/गराउने प्रक्रियामा जाने बताए । मन्त्री थापाले स्वास्थ्य सेवा ऐन पारित गरेसँगै बाग्मती प्रदेशभित्रका सरकारी अस्पतालहरुले नर्सिङ कलेज सञ्चालन गर्न खुल्ला भएको बताए । मन्त्री थापाले अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउने ई-हाजिरी सेवा सुरु गरेर बाग्मती प्रदेश मन्त्रालयबाटै दैनिक निरीक्षण गर्ने व्यवस्था गर्न लागिएको बताए । मन्त्रालयको सचिव डा सुमित्रा गौतमले निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहजीकरणसँगै नियमनमा कडाइ गर्ने तयारी गरेको बताए । मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुको नियमनलाई पनि चुस्त–दुरुस्त बनाउन सेवाहरुको मूल्य निर्धारण गर्ने, १० प्रतिशत शय्या गरिबहरूका लागि दिए/नदिएको हेर्ने र अनिवार्य गर्न कडाइ गर्ने, सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाटै निरीक्षण गर्न सक्ने व्यवस्था गर्ने गरी तयारी गरेको बताए ।
१४ सरकारी अस्पतालमा थपिँदैछन् यी १८ सेवा (सूचीसहित)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आएका छन् । सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् । सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा। रोशन देवकोटाले बताए । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन् । भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्नेछ । यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसुती अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ । तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ । डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुनेछ । नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको छ । भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ । चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । १४ अस्पतालमा थपिने सेवाको सूची