आइजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पताल प्रालिबीच बीमित ग्राहकका लागि नगदरहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ। नारायणचौर, नक्शालस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालय र जावलाखेल, ललितपुरस्थित अल्का अस्पतालबीच भएको सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे । सम्झौता अनुसार आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गरेका बीमितले बीमालेखमा तोकिएको सीमाभित्र अस्पतालमा नगदरहित भर्ना सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौता हस्ताक्षरपछि नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अल्का अस्पतालका ग्राहकलाई आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा उपयोग गरी सहज र व्यवस्थित सेवा लिन अनुरोध गरे । उनले अस्पताल तथा त्यससँग आवद्ध सदस्यहरूले आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा कम्पनीमार्फत निश्चिन्त रूपमा पाउन सकिने बताए । त्यसैगरी अल्का अस्पतालका वित्त अधिकृत भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त बीमा सेवा छिटो छरितो हुने र आगामी दिनमा दुबै संस्थाले मिलेर सेवाको दायरा अझ विस्तार गर्दै जाने जानकारी दिए 

सेयर बजारमा ४ अर्बको कारोबार, सबै समूहका सूचकमा हरियाली

काठमाडौं । साताको तेस्रो करोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेर २५६६ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा कुनै कारोबार भएको छैन । मंगलबार ३४५ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बरुण हाइड्रोको १५ करोड, माउन्टेन इनर्जीको १३ करोड, सीइनर्जी पावर डेभलपमेन्टको ९ करोड ९३ लाख र निफ्रा इन्फ्राइस्ट्रक्चर बैंकको ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुंगल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । मंगलबारको करोबारमा सबै समूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशतले बढेका छन् ।  

हिमालयन इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । यसका लागि आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ । मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जीको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ । कम्पनीले निर्माण गरिरहेको 'कालिन्चोक जलविद्युत आयोजना' दोलखा जिल्ला, कालिन्चोक–१ थामी गाउँमा अवस्थित छ र यसले ३ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । २०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ (५ लाख कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो । हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेक अन्य सम्भावित ऊर्जा र पूर्वाधार परियोजनामा लगानी प्रवद्र्धन गर्ने दीर्घकालीन रणनीति पनि बनाएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रमा दिगो विस्तार गर्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पु¥याउने योजना पनि बनाएको छ ।