सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण र ज्याकेट वितरण

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। 'न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम' अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। वीरेन्द्रनगर क्षेत्रमा केन्द्रित कार्यक्रममा कम्पनीले ५० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको थियो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रमका अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गरे। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई प्राथमिकतामा राख्दै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आइरहेको छ।

महालक्ष्मी विकास बैंकले ल्यायो परिमार्जित सुनचाँदी धितो कर्जा योजना

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गरी बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदी धितो कर्जा उपलब्ध गराउने जनाएको हो । बैंकका अनुसार कम ब्याजदर, छरितो प्रक्रिया र सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिबद्धतासहित यो कर्जा सुविधा प्रदान गरिनेछ । यस अन्तर्गत ग्राहकहरूले सुन वा चाँदी धितो राखी कर्जा उपभोग गर्न सक्नेछन् भने कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत कर्जा सुविधा उपलब्ध हुनेछ । सो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ तोकिएको छ । ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले हाल यो सेवा न्युरोड (काठमाडौं), न्युरोड (पोखरा), महाराजगञ्ज, हेटौँडा र भैरहवा शाखामार्फत सञ्चालन गरिने बैंकले जनाएको छ । यद्यपि, सुनचाँदी धितो कर्जाको आवेदन भने बैंकका जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले आगामी दिनमा पनि ग्राहकहितलाई केन्द्रमा राखी विभिन्न अवसर र चाडपर्वमा नवीनतम् सेवा तथा सुविधा ल्याउँदै जाने जनाएको छ । 'सबल बैंक, सफल सहकार्य' भन्ने नाराका साथ विगत ३१ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

पाँच महिनामा ३७ हजार बीमितले त्यागे बीमा पोलिसी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात मंसिर मसान्तसम्ममा ३७ हजार १४९ जना बीमितले पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा ३७ हजार १४९ बीमालेख समर्पणबापत् कुल ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ रकम बीमा कम्पनीहरूबाट बाहिरिएको छ । चालु आवको पाँच महिनामा भएको पोलिसी सरेण्डर गत आवको सोही अवधिको तुलनामा १७.५६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूबाट ४५ हजार ६० जना बीमितले पोलिसी त्यागेका थिए । सो संख्या बराबरको बीमितले पोलिसी त्याग्दा गत आवमा ६ अर्ब ७२ करोड १० लाख रुपैयाँ रकम बाहिरिएको छ । गत आवको तुलनामा चालु आवको पाँच महिनामा बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या भने बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा १२ लाख २० हजार ४१५ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा १२ लाख १४ हजार पाँच सय बीमालेख व्यतित भएका थिए । गत आवमा व्यतित बीमालेख रकम ३५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ रहेको छ । बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई  पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ । जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरेसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ ।