पाँच महिनामा जीवन बीमकको व्यवसाय ७६ अर्बमाथि, अग्रस्थानमा नेपाल लाइफ
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात (मंसिर) सम्ममा जीवन बीमा कम्पनीहरूले ७६ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूले १ करोड १५ लाख ३९ हजार १९५ वटा बीमा पोलिसी बिक्री गरी कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले मंसिर महिनामा मात्रै ३ लाख ५६ हजार २६५ बीमालेख जारी गरी १४ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । पाँच महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले मंसिरसम्ममा १७ लाख ९० हजार ८५ वटा बीमालेख जारी गरेर २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेसनल लाइफ इन्स्यारेन्सले १३ लाख ४५ हजार ७८८ वटा बीमालेख जारी गरी कुल ९ अर्ब २७ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपालले ४ हजार ९०६ वटा पोलिसी जारी गरेर ८ अर्ब १८ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, एशियन लाइफले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब २३ करोड २५ लाख रुपैयाँ, सानिमा रिलाइनस लाइफले २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड १८ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो । यसअघि उद्योगले एकपटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।
डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालपे कार्डको कमर्शियल रोलआउट सुरु
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम ‘नेपालपे कार्ड’ को कमर्शियल रोलआउट सुरु गरिएको घोषणा गरेको छ । नेशनल पेमेन्ट स्विच (एनपीएस) परियोजनाअन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे कार्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । यससँगै अब बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्डहरू नेपालभरका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि प्रयोग गर्न सकिने भएको छ । डिस्कभर नेटवर्क तथा डाइनर्स क्लब इन्टरनेशनलसँगको सहकार्यपछि नेपालपे कार्ड प्रयोगकर्ताहरूले विश्वभरका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्ड प्रयोग गर्न सक्नेछन् । यस्तै, नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्स र डाइनर्स कार्डमा आबद्ध विश्वभरका ३७८ मिलियनभन्दा बढी कार्डधारकबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले एनपीएस नेशनल कार्ड स्विच र नेपालपे कार्डको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् । अन्य संस्थाहरू पनि क्रमशः जोडिँदै जाने एनसीएचएलले जनाएको छ । एनपीएस एनसीएनमा कार्ड कारोबारको अन्तरआवद्धता, राउटिङ, सेटलमेन्ट, डिस्प्युट ह्यान्डलिङ तथा एकीकृत रिपोर्टिङ जस्ता सुविधाहरू उपलब्ध छन् । नेपालको भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित सुरु गरिएको एनपीएस परियोजनाअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) तथा क्रस–बोर्डर इन्टरफेस सन् २०२१ नोभेम्बरदेखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएचएल र नेपालपे कार्डमार्फत स्वदेशी कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले नेशनल पेमेन्ट स्विचको स्थापना र नेपालपे कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण रूपान्तरण ल्याएको बताए । 'यस पहलले अन्तरआवद्ध भुक्तानी इकोसिस्टम निर्माण गर्नुका साथै नवप्रवर्तनका लागि बलियो आधार तयार पार्नेछ,' उनले भने । डिस्कभर नेटवर्कसँगको साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने प्रतिबद्धता झल्काउने प्रधानको भनाइ छ । त्यसैगरी, डिस्कभर इन्टरनेशनल मार्केटका भाइस प्रेसिडेन्ट शुभ्रजित बसुले नेपालपेसँगको रणनीतिक सहकार्यले एसिया–प्रशान्त क्षेत्रमा डिस्कभरको उपस्थिति विस्तार गर्न सहयोग पुग्ने बताए । 'यस सहकार्यबाट मर्चेन्ट र कार्ड प्रयोगकर्ताहरूले सुरक्षित र गुणस्तरीय भुक्तानी सेवामा पहुँच पाउनेछन्,' उनले भने ।