सानिमा रिलायन्स लाइफद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सामग्री सहयोग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको धुलिखेलस्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ । उक्त सामग्री सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री र एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । हाल उक्त विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् । ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्ने तथा समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यसले विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरतर्फ अघि बढ्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्ने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन् ।
१४८ कम्पनीका सेयर मूल्य बढ्यो, ७ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६४९ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानल नेपालको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बुटवल पावरको २३ करोड ६७ लाख, शिवम् सिमेन्टको २३ करोड, बन्दिपुर केबलकारको २१ करोड र मन्जुश्री फाइनान्सको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज जीवन विकास लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै २.८७ प्रतिशतले बढेको छ ।
एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) हुन् । उनी पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा बढी व्यावसायिक अनुभव भएका वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन् । खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को वित्तीय विश्लेषक तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन् । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएको अवसरमा बैंक परिवारले खतिवडालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ ।