इटहरीस्थित एनआईसी एशिया बैंकमा अराजक गतिविधि, दोषीमाथि कारबाहीको माग
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा एक व्यक्तिले कलुसित मनसायका साथ प्रवेश गरी बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंकका अनुसार उक्त व्यक्तिले शाखा कार्यालयभित्र अराजक गतिविधि गर्दै हुलहुज्जत र होहल्ला मच्चाएको थियो । बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने स्थानमा यस्ता गैरकानूनी तथा उच्छृङ्खल गतिविधि अस्वीकार्य भएको बैंकले स्पष्ट पारेको छ । बैंक कार्यालयभित्र आगजनी तथा जिउज्यानमा हानी पुर्याउने उद्देश्यसहित पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ छर्कनेजस्ता कानूनद्वारा बर्जित गम्भीर क्रियाकलापले बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकको भनाइ छ । यस्ता गतिविधिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकिङ क्षेत्रको काम गर्ने वातावरणमा गम्भीर असर परेको र कर्मचारीहरूले असुरक्षा महसुस गर्न थालेको बैंकले जनाएको छ । कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सह्य नहुने उल्लेख गर्दै बैंकले उक्त घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । साथै बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले आग्रह गरेको छ ।
विजय लघुवित्तको एफपीओमा आवेदन भर्ने आज अन्तिम दिन
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ । पुस २१ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गरेको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम् ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
५ अर्बको कारोबार, १८७ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६३५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । साथै श्रीनगर एग्रीटेकको २३ करोड, मन्जुश्री फाइनान्सको २० करोड, शिवम् सिमेन्टको १६ करोड र सागर डिस्टीलरीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।