तीन वर्षदेखि लाभांश नदिएको एलआईसी नेपालको सेयर मूल्य किन उच्च ?

काठमाडौं । पुँजी बजारमा जीवन बीमा र निर्जीवन बीमा समूह सूचक उच्च छन् । आइतबार (असार २ गते)को अन्तिम कारोबारपश्चात् जीवन बीमा समूह सूचक १० हजार १९२ अंक छ भने निर्जीवन बीमा समूह सूचक १० हजार ६७७ अंक कायम छ । १० हजारमाथि सूचकांक रहेका यी दुई समूहबाट पनि प्रष्ट हुन्छ कि पुँजी बजारमा लगानीकर्ताको चासो सबैभन्दा धेरै बीमा कम्पनीहरूमा छ । जीवन बीमा कम्पनीहरूमध्ये पुरानो र परिपक्व कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)लाई लिइन्छ । पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा एलआईसी नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३६० रुपैयाँमा अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यद्यपी सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९० रुपैयाँ घटेको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ८ सय रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो । नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । कम्पनीले आर्थिक वर्ष २०६४/६५ मा १५ प्रतिशत, आर्थिक वर्ष २०६५/६६ मा २० प्रतिशत, आर्थिक वर्ष २०६६/६७ मा ५.२६ प्रतिशत नगद लाभांश बाँडेको थियो । यस्तै आर्थिक वर्ष २०६८/६९ मा ६२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कुल ६५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६९/७० मा ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरी कुल ३० प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत (बोनस), आर्थिक वर्ष २०७१/७२ मा २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत गरी कुल २६.३२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २४.८ प्रतिशत बोनस सेयर र १.३ प्रतिशत नगद गरी कुल २६.१ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५३ प्रतिशत नगद गरी कुल ७० प्रतिशत र आर्थिक वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको लाभांश इतिहास हेर्दा पुँजी बजारमा बीमा कम्पनीहरूमा नम्बर वान थियो । अहिले समय बदलिएको छ । अन्य जीवन बीमा कम्पनीले निरन्तर र उच्च दरमा लाभांश वितरण गरिरहेका छन् । तर, ती कम्पनीहरूको सेयर मूल्य उच्च छैन । भारतीय बीमा कम्पनी एलआईसीले नेपालको ठूलो व्यावसायीक घराना विशाल ग्रुपसँगको सहकार्यमा सन् २००१ सेप्टेम्बरमा एलआईसी नेपाल सञ्चालनमा ल्याएको हो । विगतमा एलआईसीले उच्च लाभांश बाँडेको भएपनि नेपाल बीमा प्राधिकरणले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि प्रतिस्पर्धामा कमजोर बन्न पुग्यो । कम्पनीका सूचना अधिकारी सदर्शन गिरी प्राविधिक कारणले सेयरधनीहरूलाई लाभांश बाँड्न नपाएको बताउँछन् । विगत तीन आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको कमाई रिजर्भमा राखेको र उक्त रकम सेयरधनीहरूकै भएको उनको भनाइ छ । ‘तीन आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँडेको छैन । त्यो सबै नाफा रिजर्भमा राखिएको छ । सेयरधनीहरूको कमाइ खातामा छ । कम्पनीले सेयरधनीहरूलाई कुनै घाटा बनाउँदैन । त्यसमा कुनै शंका छैन । एलआईसीमा लगानी गर्ने सेयरधनीहरू जहिले पनि खुसी नै हुनुहुन्छ,’ उनले भने, ‘प्राविधिक कारणले एलआईसीले लाभांश बाँड्न नपाएको हो । अरू कुनै कारण छैन । कम्पनीको क्षमता नभएको भन्ने पनि होइन ।’ उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको रिजर्भ उच्च छ । ‘कम्पनीले वितरण गर्ने रकम रिजर्भमा छ । त्यसैले यस कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो । सेयर मूल्य उच्च भएको हो,’ उनले भने । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म कम्पनीले रिटेन्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ, सेयर प्रिमियममा ६ करोड ११ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले ८८.४५ प्रतिशत अर्थात् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबर हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अड्किएको छ । सूचना अधिकारी सदर्शन गिरीका अनुसार हकप्रद सेयरको लागि अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको भएपनि एक वर्षदेखि पेण्डिङमा छ । पुँजी नपुर्याएसम्म प्राधिकरणले लाभांश बाँड्न नदिएकाले नगद लाभांश वितरण गर्न नपाएको उनले बताए । ‘८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेर बोर्डमा आवेदन दिएका छौं । न्यूनतम पुँजी नपुर्याएसम्म नगद लाभांश बाँड्न मिल्दैन । सबै प्रक्रिया पुरा गरेर के आधारमा बोनस सेयर दिने ?,’ उनले भने, ‘कम्पनीले कमाएको सबै नाफा जगेडा कोषमा राखिएको छ ।’

ठग गिरोहको ‘टार्गेट’मा वैदेशिक रोजगारी बीमा, मृतकका आफन्तलाई झुक्याएर लाखौं रकम असुल्दै

काठमाडौं । घटना १, रौतहटकी दिलमाया यादव (नाम परिवर्तित) केही महिनाअघि रात्री बस चढेर काठमाडौंमा झरिन् । काठमाडौंको कलंकीमा उत्रिएकी उनलाई एक जना (अपरिचित) मान्छेले पिकअप गरे । दिलमायालाई ती व्यक्तिले (अपरिचित) दिनभर काठमाडौं घुमाए । २ बजेपछि उनलाई एउटा बीमा कम्पनीको केन्द्रीय कार्यालयमा पुर्याएर आफू चिया पिउँदै कार्यालय बाहिर बसे । दिलमायालाई बीमा कम्पनीमा पुर्याउनुअघि ती व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न लगाएका रहेछन् । बीमा कम्पनीका भुक्तानी विभाग प्रमुखले सबै डकुमेन्ट चेकजाँच गरे । सबै प्रक्रिया पुर्याएकी दिलमायाको चेकबुकबाट दुइटा चेक झिकिएको थियो । यसभित्रको चेक खोइ भनेर कम्पनीका भुक्तानी विभाग प्रमुखले सोध्दा उनले बैंकले नै यस्तै दिएको धारणा राखिन् । यस्ता केसमा फ्रड हुन्छ भन्ने अनुभव गरिसकेका ती अधिकारीले तत्कालै राष्ट्रिय वाणिज्य बैंकमा फोन गरेर सोधे । बैंकले सबै चेक दिएको बतायो । ‘…नाम गरेको वृद्ध आमाले तपाईको बैंकमा खाता खोल्नु भएको रहेछ, चेकको सिरियल नम्बर मिल्दैन, तीन वटा चेक छैनन्, यस्तो कसरी भयो भनेर सोधेँ,’ बैंकसँग भएको कुरा उधृत गर्दै ती विभागीय प्रमुखले भने, ‘बैंकले सबै चेक दिएको जवाफ दिएपछि मलाई थप आशंका लाग्यो ।’ ती अधिकारीमा थप आशंका उब्जियो । ती वृद्ध आमासँग उनले थप सोधपुछ गरे । काठमाडौं कसरी आएको ? कम्पनीमा कसले लिएर आएको ? बैंक खाता कसरी खोलेको भन्ने लगायतका जिज्ञासा उनीसँग राखे । पछि उनलाई थाहा भयो कि यो सबै काम ती अघिकै अपरिचित व्यक्तिले गर्न लगाएका रहेछन् । ‘एक जना बीमाको मान्छे हुँ भन्नुहुन्थ्यो, उहाँले नै बैंकमा खाता खोल्न लगाउनु भएको हो, मलाई लेख्नपढ्न आउँदैन, ल्याप्चे मात्रै गरेकी हुँ,’ दिलमायाले बीमा कम्पनीका विभागीय प्रमुखलाई सरल उत्तर दिइन् । अब भुक्तानी विभाग प्रमुखलाई पूर्ण रूपमा शंका लाग्यो कि दिलमायालाई कसैले ठग्दैछ । ती अपरिचित व्यक्तिले नै आफू बीमा कम्पनीको मान्छे भएको र बीमा बापतकाे पैसा आउने भन्दै काठमाडौं बोलाएको रहेछन् । त्यसपछि उनले सो खातामा बीमाको रकम भुक्तानी गरेनन् । उनीसँग सोधपुछ गर्दा दिलमायाको छोरी र ज्वाईं काठमाडौं रहेछन् । रोजगारीको लागि विदेश गएका दिलमायाका छोराको उतै मृत्यु भएको कारण उनकै बीमाको रकम पाउने आसले उनी काठमाडौं आएकी थिइन् । सुरुमा त उनलाई छोराले बीमा गरेको छ भन्ने पनि जानकारी थिएन । तर, काठमाडौंबाट अपरिचित मान्छेले तपाईंको छोराको बीमाको पैसा पाइन्छ काठमाडौं आउनु भनेपछि उनी आएकी थिइन् । उनले आफ्नो छोरीज्वाईंलाई पनि आफू काठमाडौं आएको जानकारी गराएकी थिइनन् । ती अपरिचित व्यक्तिले नै छोराको बीमा बापतको रकम उपलब्ध गराईदिने भन्दै रौतहटदेखि काठमाडौं बोलाएको थियो । पछि बीमा कम्पनीका भुक्तानी विभाग प्रमुखले नै उनका छोरी ज्वाईंलाई बोलाए । अर्को बैंकमा खाता खोल्न लगाए । तर, खाता खोल्नका लागि पनि दिलमायाको सक्कली कागजात थिएनन् । सक्कली कागजात पनि ती अपरिचि व्यक्तिले बोकेर हिँडेका थिए । बीमा कम्पनीका अधिकारीले ती अपरिचित व्यक्तिको फोन नम्बर दिलमायाको मोवाइलमा हेरेर फोन गरे । ती व्यक्तिले आफू काभ्रेको मालपोत कार्यालयमा कामको शिलशिलामा गएको झुट बोले । पछि प्रहरी लगाउने चेतावनी दिएपछि उनले आधा घण्टामै पठाओमार्फत् सबै डकुमेन्ट पठाइ दिए । कागजप्रमाण सबै आएपनि चेक ती व्यक्तिसँग नै थियो । त्यससपछि दिलमाया र उनका ज्वाईं मिलेर नजिकैकाे एनआईसी एशिया बैंकमा अर्को खाता खोले । नयाँ खाता खोलेपछि बीमा कम्पनीले १३ लाख रुपैयाँ भुक्तानी गर्यो । सो बीमा कम्पनीका भुक्तानी प्रमुखले विकासन्युजसँग सो घटना सुनाउँदै भने, ‘त्यो दिन धेरै खोजतलास नगरेको भए सबै रकम ठगको हातमा जान्थ्यो, दिलमायालाई उनले एक लाख रुपैयाँ आउँछ भनेर ल्याएका रहेछन्, आफूले पैसा निकाल्नको लागि नै खाली चेक बोकेर हिँडेछन् ।’ घटना २, वैदेशिक रोजगारीमा मलेसिया गएका सर्लाहीका सिता क्षेत्री (नाम परिवर्तित) का श्रीमानको विदेशमै मृत्यु भयो । वैदेशिक रोजगारीमा गएका श्रीमानको मृत्युपछि बीमा दाबी भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै रिताले (नाम परिवर्तित)ले सितालाई काठमाडौं बोलाइन् । सिता र रिता दुबै बीमा दाबी भुक्तानीका लागि बीमा कम्पनीको केन्द्रीय कार्यालयमा पुगिन् । दुवै जना मिलेर कागजात पेस गरिन् । सिताले कम्पनीसँग रिता आफ्नो दिदी (जेठानी) भनेकी थिइन् । सबै कागजात मिलेको देखेपछि उनले बीमा रकम भुक्तानी गर्ने निर्णय गरे । ‘मैले उनीहरूप्रति शंका लागेर धेरै कुरा सोधेँ, उनीहरुले आफूहरू देउरानी जेठानी भएको सुनाए, कागजात पनि मिलेको थियो, पछि भुक्तानी गर्यौं,’ ती अधिकारीले विकासन्युजसँग भने । तर, ६ महिनापछि सिताले कम्पनीमा ७ लाख कहिले आउँछ भनेर फोन गरिन् । कम्पनीले सबै रकम एकै पटक सुरुमै भुक्तानी भइसकेको जवाफ दियो । तर, आफूले ६ लाख मात्रै पाएको जवाफ उनले दिइन् । जेठानी भनेकी रिता पनि ठगीमा संलग्न व्यक्ति रहेको पछि खुलिन् । उनले सितालाई बीमाको रकम पाइन्छ भनेर काठमाडौं बोलाएकी रहिछिन् । सबै कुरा सिकाएर आफू जेठानी भएको भन्न लगाएकी थिइन् । बैंकको खाता खोलेर चेक आफैंले राखेकी रहिछिन् । यो सबै कुरा पछि रिताले कम्पनीसँग खोलिन् । रिताले ७ लाख रुपैयाँ ६ महिनापछि आउँछ भनेको भएर उनले कम्पनीमा फोन गरेकी रहिछिन् । सुरुमा भुक्तानी विभागीय प्रमुखले सितालाई आफ्नो बैंक खाता चेक गर्न सुझाए । बैंक खाता चेक गर्दा बीमा कम्पनीले १३ लाख रुपैयाँ पठाएको प्रमाण देखियो । सिताका अनुसार दिदिले (रिता)ले चेक लिएको थियो । आधा पैसा उनले नै निकालेर लगिछन् । बीमाको रकम पाइन्छ भनेर ठगहरूको उक्साहटमा काठमाडौं आएकी रिता अहिले पश्चातापमा छन् । बीमा दाबी भुक्तानीका लागि काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्था कम्पनीहरूले गरेका छैनन् । नजिकैको शाखा कार्यालयबाट पनि दाबी भुक्तानी प्राप्त गर्न सकिने ती भुक्तानी प्रमुखको भनाइ छ । तर, कमिसन खान नपाउने र शाखाका कर्मचारीले अधिकांशलाई चिन्ने भएकाले ठगहरूले सोझासाझालाई काठमाडौं बोलाएर बीमा भुक्तानी गरेर ठग्ने गरेको बताए । वैदेशीक रोजगारी बीमामा ठगी धन्दा वैदेशीक रोजगारी बीमा ठगी गर्ने गिरोहको जालोमा परेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बताए । उनका अनुसार विदेशमा मृत्युपश्चात् दाबी भुक्तानीमा कागजहरू ‘डेथ सर्टिफिकेट’, स्थानीय तह, अध्यागमन विभाग लगायत सरकारी कार्यालयबाट जारी हुने प्रमाणमा सबैभन्दा धेरै ‘म्यानुपुलेट’ हुने गरेको छ । जस्तो सरकारी निकायले कुनै राम भन्ने व्यक्तिको विवरण दियो भने फोटोसप गरेर रामको ठाउँमा श्याम राखिन्छ । जबकी दाबी दिने कम्पनीलाई थाहा हुँदैन । ‘तराईतिर नेपाली नबुझ्ने व्यक्तिलाई ठगी समूहले खोजीखोजी उनीहरुसँग भएको डकुमेन्ट लिएर सबै कागजात हामी मिलाइ दिन्छौं । दुई÷चार लाख आउँछ । फलानो फलानो व्यक्तिलाई खुवाउनुपर्छ भनेर फकाउँछन्,’ एक बीमा कम्पनीका सीईओले भने, ‘मृत्यु दर्ताको प्रमाण, नागरिकता, पासपोर्ट लगायत सबै सक्कली कागजात ठगी समूहको हातमा पुग्छ । त्यसपछि बीमा कम्पनीमा आएर दाबी भुक्तानी लिइरहेका छन् ।’ उनका अनुसार ठगी समूहले बीमा पोलिसीको विवरण वैदेशिक रोजगार विभाग (डोफे)बाट ट्रयाक गर्छन् । ठगी समूहले बीमा पोलिसी एक्सपायर भएपनि फोटोसपबाट जस्ताको त्यस्तै बनाएर दाबी लिइरहेको उनले बताए । ‘ठगी समूहले मेनपावर कम्पनीसँग राम्रो सम्बन्ध बनाउँछन् । को विदेश गयो ? कुन मान्छेको मृत्यु भएको छ भनेर मेनपावर कम्पनीबाट विवरण मागेका हुन्छन् । कतिपय ठगी समूह फोन गर्दा मोबाइल ट्रयाक हुन्छ भनेर घरमै गएर डकुमेन्ट लिने गरेका छन्,’ ती कम्पनीका सीईओले भने । पछिल्लो समय बीमालाई कमाइ खाने भाँडो बनाइएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा ठगी समूहको बिगबिगी रहेकाले प्रमाणका लागि कम्पनीले अहिले फोटो खिचेर राख्ने गरेको अभ्यास सुनाए । ‘तराई मूलका मान्छेहरूमा भाषाको समस्या छ, घरमा कोही पनि हुँदैनन्, कसैले दुई/चार लाख रुपैयाँ भनेपछि ठूलो रकम सोच्नुहुन्छ, त्यसको फाइदा उठाउँदै ठगी समूह बढेका छन्,’ एक कम्पनीका भुक्तानी विभाग प्रमुखले भने । वैदेशिक रोजगारी बीमा अनिवार्य वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी वैदेशिक रोजगारमा गएका सबै व्यक्तिले अनिवार्य बीमा गर्नु पर्ने बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म ६ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने सबैको बीमा र सामाजिक सुरक्षा अनिवार्य रहेको उनको भनाइ छ । गत चैतदेखि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गरेसँगै न्यूनतम २ हजार ३०८ रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म तिर्नुपर्ने उनले बताए । विभागको तथ्याङ्क अनुसार आर्थिक २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार र आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार भन्दा बढीले श्रम स्वीकृति लिएर विदेश गएका थिए । वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टिकाराम ढकालका अनुसार विगत १५ वर्षमा साढे १३ हजारले आर्थिक सहायता दाबी गरेका छन् । विगतमा डेढ लाख, ३ लाख हुँदै अहिले मृतकका परिवारले ७ लाख रुपैयाँ आर्थिक सहायता पाइरहेको उनले बताए । ‘मृत्युको संख्या बढी भएको हुनसक्छ । तर, मृत्यु भएका सबै व्यक्तिको रकेर्ड बोर्डमा आउँदैन । कतिपय आर्थिक सहायता दाबी गर्नुहुन्न । तर, २०६५ सालदेखि हालसम्म १३ हजार ४ सय बढीले बोर्डमा आर्थिक सहायता दाबी गर्नु भएको छ,’ उनले भने । बीमा दाबी भुक्तानीका लागि जुन कम्पनीमा गरेको हो सोही कम्पनीमा जानु पर्ने उनको भनाइ छ । बीमा दाबी रकमका लागि बीमा गर्दाका कागजातहरू आवश्यक पर्ने उनले बताए । ‘बीमा दाबी भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीमा जानुपर्छ । बीमा गर्दा दिइएका डकुमेन्ट नै दाबी भुक्तानीका लागि पेस गर्नुपर्छ । यदि मेनपावरले गरेको छ भने सम्बन्धित मेनपावरलाई लिएर जानुपर्छ । यदि व्यक्तिगत रूपमा गरिएको छ भने बीमाका कागजहरू लिनुपर्छ,’ उनले भने । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म जीवन बीमा कम्पनीहरूले २० लाख ७० हजार २६२ वटा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गरेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्म १५ लाख २३ हजार २६८ वटा बीमालेख जारी गरेका थिए । कामदारको उमेरका आधारमा बीमाशुल्क भुक्तानी तोकिएको छ । जसमा १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका श्रमिकले ३ हजार ७०८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्ष उमेर समूहका श्रमिकले ४ हजार ९३१ रुपैयाँ, ५० वर्षदेखि ६० वर्ष उमेर समूहका श्रमिकले ९ हजार ४६३ रुपैयाँ बीमाशुल्क बीमा कम्पनीमा भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ र सामाजिक सुरक्षा कोषमा अनिवार्य गरेसँगै न्यूनतम २ हजार ३०८ रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ दाबी भुक्तानी प्रक्रिया वैदेशिक रोजगारी म्यादी बीमा गरेका व्यक्तिको मृत्यु भएमा परिवारले सम्बन्धित बीमा कम्पनीमा दाबी भुक्तानीका लागि निवेदन दिनुपर्छ । दाबी भुक्तानीका लागि वडा कार्यालयबाट मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र, विदेशमा मृत्यु भएमा राजदूतावासले जारी गर्ने पत्र, अस्पतालमा मृत्यु भएमा अस्पतालले दिने प्रमाणपत्र, शव फिर्ताको प्रमाण, र बीमा गर्दा कम्पनीले दिएका कागजात पेस गर्नुपर्ने हुन्छ । मृतकका परिवारले सबै प्रक्रिया पुर्याएपछि किरिया खर्च, शव फिर्ता वापतको लागतसहित कुल १४ लाख रुपैयाँ कम्पनीबाट पाउने व्यवस्था छ । निवेदन दिएको १५ दिनभित्र सम्बन्धित बीमा कम्पनीले दाबी भुक्तानी रकम मृतकका आफन्त वा परिवारको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

सबैको लघुवित्तले ग्राहक सदस्यलाई दियो तालिम

काठमाडौं । सप्तरीमा सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थाका ३६ जना ग्राहक सदस्यलाई सिपमुलक तालिम प्रदान गरेको छ । संस्थाले शनिबार सप्तरी जिल्लाको तिलाठी कोईलाडिमा श्री जनता माध्यमिकमा वाशिङ्ग पाउडर तथा लिक्विड डिटरजेन्ट ईजी बनाउने तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि सबैको लघुवित्तका अनुगमन अधिकृत सत्येन्द्र कुमार सिंह, सबैको लघुवित्तका शाखा प्रमुख सर्वजित कुशावाहा साथै प्राविधिक तर्फ ईन्द्र सरोबार गाउँपालीका २ मकवानपुरकी सुनिता लामा रहेका थिए । कार्यक्रमको सहजीकरण यस सबैको लघुवित्त वित्तिय संस्थाका शाखा प्रमुख सर्वजितप्रसाद कुशवाहाले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि अनुगमन अधिकृत सिंहले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्थाबारे बृहत छलफल भएको थियो, हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै सम्पूर्ण उपस्थितिलाई वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराएका थिए ।