समृद्धि फाइनान्स औरही शाखाले मनायो पहिलो वार्षिकोत्सव
काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शाखा कार्यालय औरहीले पहिलो वार्षिकोत्सव मनाएको छ । औरही नगरपालिकाका स्थानीय व्यापारीहरू, बचतकर्ता, बुद्विजीवी, समाजसेवीलगायतले फाइनान्सको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्य गर्ने बताएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।
दाजुभाई मिलेर सहकारीको ४ अर्ब बचत ठगी, इच्छाराज पनि संलग्न
काठमाडौं । सरकारले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरस्थित गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । सहकारी विभागको नियमनभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेका कारण समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको प्रवक्ता भट्टको भनाइ छ । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरिएको भट्टले बताए । साथै संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको भट्टको भनाइ छ । सहकारीका सञ्चालक डम्बरबहादुर बम्जन तामाङ र पूर्वसञ्चालकले सर्वसाधारणको साढे ४ अर्ब रुपैयाँ बचत तथा सेयर अपचलन गरेका थिए । सहकारीमा लामो समय हालीमुहाली गरेका डम्बरबहादुर र तेजबहादुरले सहकारीबाट १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ बढी ऋण लिएर नतिरेपछि सहकारी संस्थाभित्र समस्या देखिएको थियो । तेजबहादुर डम्बरका दाजु हुन् । यो सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ हुन् । जो सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा अहिले जेलमा छन् । डम्बरबहादुर बम्जन सहकारीका संस्थापक हुन् । उनले लामो समय यस सहकारीको नेतृत्व गेका थिए । तर, सहकारी संस्थाको सेयर सदस्यसमेत नरहेका तेजबहादुरले दाई डम्बरबहादुरको आडमा विभिन्न शीर्षकमा २०६७ सालमा लिएको ऋण अहिले ७६ करोड ९७ लाख ७९ हजार पुगेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव रहेका तेजबहादुरविरुद्ध उक्त सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । तर, उनी प्रहरीको फरार सूचीमा छन् । सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिवानासमेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।
आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपैयाँ खिचेको थियो । शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।