लयमा फर्किँदै लघुवित्त, खराब कर्जा घट्दा बैंकरले सन्तोषको श्वास फेर्दै

काठमाडौं । गत वर्ष लघुवित्त वित्तीय संस्थाहरूका लागि सहज थिएन । विभिन्न अराजक समूहहरूले लघुवित्तविरूद्ध आन्दोलन गरेका थिए भने कर्मचारीहरूलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने र कुटपिट गर्ने जस्ता गतिविधि भए । लघुवित्तबाट लिएको ऋण नै तिर्न नपर्ने उनीहरूको भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ र ब्याज नै तिरेनन् । गत आर्थिक वर्ष २०८०/८१ को सुरुवातमा लघुवित्तविरूद्धको आन्दोलनले प्रभाव पारेको भएपनि अन्त्यतिर भने नियामकले दिएको सुविधाका कारण वित्तीय विवरण सकारात्मक देखिएको छ । राष्ट्र बैंकले सहजीकरण गरेका कारण गत असारसम्म लघुवित्तको खराब कर्जा (एनपीएल) औसत ५.६९ प्रतिशत बिन्दुमा झरेको छ । जबकी अघिल्लो वर्ष लघुवित्त संस्थाहरूको एनपीएल ६.१० प्रतिशत बिन्दुभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको खराब कर्जा ०.४१ प्रतिशत घटेको तथ्याङ्कले देखाउँछ । ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये २७ वटा लघुवित्त संस्थाको खराब कर्जा घटेको देखिन्छ भने २४ वटा लघुवित्तको बढेको छ । नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल प्रतिकूल समयमा पनि लघुवित्त संस्थाहरूको वित्तीय विवरण सकारात्मक आएको र राष्ट्र बैंकले सहजीकरण गरेका कारण खराब कर्जा घट्न पुगेको बताउँछन् । राष्ट्र बैंकले दिएको सुविधा प्रयोग नगर्ने लघुवित्तको खराब कर्जा भने बढेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले बैशाखसम्म कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण व्यवस्था गर्याे, कतिपयले त्यो व्यवस्थालाई शतप्रतिशत प्रयोग गरेका छन्, उनीहरूको खराब कर्जा न्यून बिन्दुमा झरेको छ,’ उनले भने, ‘जसले यो सुविधा प्रयोग गरेनन् वा यो व्यवस्था मात्रै समस्याको समाधान होइन भन्ने हिसाबमा त्यसलाई कम प्राथमिकतामा राखेका छन्, उनीहरूको खराब कर्जा अलिकति बढेको देखिन्छ ।’ २७ लघुवित्तको खराब कर्जा घट्यो गत वर्ष सबैभन्दा धेरै खराब कर्जा आरम्भ चौतारी लघुवित्तले घटएको छ । आरम्भ चौतारी लघुवित्तको खराब कर्जा ७०.९८ प्रतिशत घटेर ३.०७ प्रतिशत बिन्दुमा कायम राख्न सफल भएको छ । यस्तै गुराँस लघुवित्तको ६१.३१ प्रतिशत घटेर २.४६ प्रतिशत बिन्दु, डिप्रोक्स लघुवित्तको ५३ प्रतिशत घटेर २.८९ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको ५२.६३ प्रतिशत घटेर ८.२८ प्रतिशत बिन्दु, जनउत्थान सामुदायिक लघुवित्तको ५१.१७ प्रतिशत घटेर ६.६५ प्रतिशत बिन्दु, विन नेपाल लघुवित्तको ४९.९१ प्रतिशत घटेर २.९७ प्रतिशत बिन्दुमा झारेका छन् । यस्तै धौलागिरी लघुवित्तको ४७.५७ प्रतिशत घटेर ४.६५ प्रतिशत बिन्दु, महिला लघुवित्तको ४६.९२ प्रतिशत घटेर ३.०२ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको ४३.५४ प्रतिशत घटेर ४.४६ प्रतिशत बिन्दु, गणपति लघुवित्तको ४०.९३ प्रतिशत घटेर ४.७९ प्रतिशत बिन्दु, इन्फिनीटी लघुवित्तको ३५.०९ प्रतिशत घटेर ५.२९ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको ३३.४३ प्रतिशत घटेर ६.३५ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ३३.१६ प्रशितत घटेर ६.६५ प्रतिशत बिन्दुमा खराब कर्जा सीमित राखेका छन् । यस्तै श्रृजनशील लघुवित्तको ३१.८९ प्रतिशत घटेर ६.४९ प्रतिशत बिन्दु, मिथिला लघुवित्तको २९.०७ प्रतिशत घटेर ३.३९ प्रतिशत बिन्दु, उन्नति सहकार्य लघुवित्तको २५ प्रतिशत घटेर ३.०३ प्रतिशत बिन्दु, सामुदायिक लघुवित्तको २३.६६ प्रतिशत घटेर ७.१६ प्रतिशत बिन्दु, कालिका लघुवित्तको २१.८५ प्रतिशत घटेर ३.७९ प्रतिशत बिन्दु, महुली लघुवित्तको २०.२४ प्रतिशत घटेर ३.९४ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको १३.३९ प्रतिशत घटेर १२.७४ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका छन् । लक्ष्मी लघुवित्तको ११.१२ प्रतिशत घटेर ७.४३ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १०.९२ प्रतिशत घटेर १.६३ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको ९.८८ प्रतिशत घटेर ६.११ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको ९.३० प्रतिशत घटेर ३.९ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको ८.५४ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दु, नेशनल माइकोफाइनान्स लघुवित्तको ७.९३ प्रतिशत घटेर ३.२५ प्रतिशत बिन्दु र उपकार लघुवित्तको १.८४ प्रतिशत घटेर २.१३ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका हुन् । २४ लघुवित्तको कर्जा बढ्यो अधिकांश लघुवित्तको खराब कर्जा घट्दा समीक्षा अवधिमा २४ वटा लघुवित्तको भने बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै साना किसान लघुवित्तको २५७.३७ प्रतिशत बढेर २.१८ प्रतिशत बिन्दु, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तको २१३.६३ प्रतिशत बढेर २.०७ प्रतिशत बिन्दु, आरएसडीसी लघुवित्तको १३६. प्रतिशत बढेर ३.३१ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको १३२.३७ प्रतिशत बढेर १०.४८ प्रतिशत बिन्दु, स्वस्तिक लघुवित्तको १३१.५१ प्रतिशत बढेर ८.०८ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । जीवन विकास लघुवित्तको ९४.९७ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु, विजय लघुवित्तको ९०.१७ प्रतिशत बढेर ७.७४ प्रतिशत बिन्दु, छिमेक लघुवित्तको ७४.४१ प्रतिशत बढेर ३ प्रतिशत बिन्दु, आत्मनिर्भर लघुवित्तको ७४.४० प्रतिशत बढेर १३.२२ प्रतिशत बिन्दु, सिवाईसी नेपाल लघुवित्तको ६७.२२ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको ६५.२६ प्रतिशत बढेर ९.८५ प्रतिशत बिन्दु, फरवार्ड लघुवित्तको ५९.८५ प्रतिशत बढेर ६.८१ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको तथ्याङ्क छ । यस्तै एनआईसी एशिया लघुवित्तको ५८.२१ प्रतिशत बढेर ९.९२ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको ५४ प्रतिशत बढेर ३.६५ प्रतिशत बिन्दु, आशा लघुवित्तको ३३.६१ प्रतिशत बढेर ४.८१ प्रतिशत बिन्दु, मेरो माइक्रोफाइनान्स लघुवित्तको ३१.५० प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दु, नेरुडे मिर्मिरे लघुवित्तको ३०.६९ प्रतिशत बढेर ६.६ प्रतिशत बिन्दु एनपीएल छ । सम्पदा लघुवित्तको २४.३५ प्रतिशत बढेर ४.८ प्रतिशत बिन्दु, स्वरोजगार लघुवित्तको १७.०५ प्रतिशत बढेर ५.५६ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको १४.०५ प्रतिशत बढेर १२.५८ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको १०.४७ प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको ७.३९ प्रतिशत बढेर १०.६ प्रतिशत बिन्दु, अभियान लघुवित्तको १.८४ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु र समाज लघुवित्तको ०.८३ प्रतिशत बढेर ४.८२ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्तका सीईओ राम बहादुर यादब राष्ट्र बैंकले बैशाखसम्म असल वर्गमा रहेका कर्जाको हकमा ५ प्रतिशत ब्याज तिरेर पुनरसंरचना गर्न दिने व्यवस्था गरेका कारण लघुवित्तको खराब कर्जा घटेको बताउँछन् । तर, त्यो सुविधा प्रयोग नगर्ने लघुवित्तको खराब कर्जा बढेको उनले भनाइ छ । ‘नाफा नोक्सानमा लागतको हिसाब हुन्छ, जसको रिकभरी राम्रो भएको छ, बैंकसँगको कस्ट अफ फण्ड कम गर्न सकेको छ, त्यसको नाफा बढेको देखिन्छ,’ उनले भने, ‘जसको लागत उच्च छ, ब्याज आम्दानी भएको छैन, एनपीएल बढेको छ भने नाफा घटेको देखिन्छ, त्यसैले अहिले मिश्रित नतिजा आएको हो ।’ लघुवित्त बैंकर्स संघका महासचिव तथा जीवन विकास लघुवित्तका सीईओ सञ्जय कुमार मण्डल वास्तविक खराब कर्जा भने बढेको बताउँछन् । यदि कर्जा पुनरसंरचना नगरेको भए एनपीएल अझै बढ्ने उनको भनाइ छ । उनका अनुसार अहिले पनि कर्जा असुली खासै उत्साहजनक नरहेको उनले बताए । ‘रिकभरी खासै उत्साहजनक छैन, अहिले नै ढुक्क हुने अवस्था छैन, अझै मेहेनत गर्नुपर्ने छ,’ उनले भने, ‘यदि पुनरसंरचना नगरेको भए धेरै बढ्थ्यो होला । राष्ट्र बैंकको सुविधाले घटेको देखिन्छ ।’

व्यवसाय ३ प्रतिशतले वृद्धि, नाफा ५२ प्रतिशतले वृद्धि

काठमाडौं । व्यापार सामान्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ३ प्रतिशतले बढेको थियो । व्यापार ३ प्रतिशतले बढे पनि नाफा भने ५२ प्रतिशतले बढेको हो । केही निर्जीवन बीमा कम्पनीको नाफा सतप्रतिशतभन्दा धेरैले बढेको छ । एक कम्पनीको नाफा १५२.४५ प्रतिशतसम्म वृद्धि भएको छ । आईजीआई प्रुडेन्सियलको नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत, प्रभु इन्स्योरेन्सको नाफा ११८ प्रतिशत र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा १०८ प्रतिशतसम्मले वृद्धि भएको छ । अघिकाशं निर्जीवन बीमकको नाफा ५० प्रतिशतभन्दा धेरै छ । १० कम्पनीको नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । २ कम्पनीको नाफा वृद्धि २० प्रतिशतको हाराहारीमा रहँदा २ कम्पनीको भने नाफा घटेको छ । यसरी निर्जीवन बीमा कम्पनीहरूको नाफा उल्लेख्य रूपमा बढ्नुका अनेक कारणहरू हुने गरेको नेपाल बीमा प्राधिकरणका पूर्वनिर्देशक तथा बीमा विज्ञ दिनेशलाल कर्ण बताउँछन् । बीमा कम्पनीहरूले अन्य क्षेत्रमा गरेको लगानीबाट हुने आम्दानी बढ्नु, कम्पनीहरूले चल/अचल सम्पत्ति बिक्री गर्नुलगायत विभिन्न कारण रहेको उनले बताए । यसका साथै भुक्तानी दिन बाँकी रकमबापत प्रोभिजनमा राख्नुपर्ने रकम त्यसअनुसार नराखेका कारण, व्यवस्थापन लागत घटनुलगायत विभिन्न कारणले नाफा बढ्ने गरेको विज्ञ कर्णले बताए । तर, गत आवमा अघिकाशं कम्पनीहरू अन्य विभिन्न क्षेत्रमा रहेको लगानी बिक्री गरेर नाफा देखाएका केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् । उनीहरूका अनुसार केही कम्पनीले घरजग्गा बिक्री गरेर पनि नाफामा देखाएका छन्, जसले उल्लेख्य रूपमा नाफा वृद्धि देखिएको छ । जसमध्ये केही कम्पनीहरूले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो सेयर बिक्री गरेका छन् भने केहीले घरजग्गा बिक्री गरेका हुन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कम्पनीहरूले नेपाल पुनर्बीमाको सेयर बेचेका कारण नाफा उल्लेख्य रूपमा वृद्धि भएको बताए । यस्तै, केही कम्पनीहरूले घरजग्गा बिक्री गरेको र कम्पनीहरूको लगानी आम्दानी वृद्धि भएका कारण पनि नाफा उल्लेख्य बढेको उनले बताए । नेपाल बीमक संघका अध्यक्षसमेत रहेका क्षेत्रीकाअनुसार मर्जर भएर आएका बीमा कम्पनीहरूले अघिल्लो वर्ष पूरा १२ महिनाको नाफा नदेखाएका कारण अघिल्लो आवसँग गत आवको तुलना गर्दा गत आवको नाफा धेरै बढेको देखिएको बताए । उनका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा पनि अघिल्लो आर्थिक वर्षको नाफा भनेको ८ महिनाको मात्र हो । र, गत आवको भने पूरा १२ महिनाको हो । ८ महिनाको नाफासँग १२ महिनाको तुलना गर्दा नाफा वृद्धि धेरै देखिएको हो । कुन कम्पनीले के बेचे ? आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो २० लाख कित्ता सेयर बिक्री गरेको हो । आईजीआई प्रुडेन्सियलले उक्त सेयर प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गरेको हो । कम्पनीले उक्त सेयर ५६ करोड रुपैयाँमा बिक्री गरेको हो । यसैगरी हिमालय एभरेष्ट इन्स्योरेन्सले पनि नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता सेयर करिब ५६ करोड रुपैयाँमा बिक्री गरेको थियो । प्रभु इन्स्योरेन्सले १९ लाख ८० हजार र सिद्धार्थ प्रिमियरले पनि २० लाख कित्ता सेयर करिब ५५ र ५६ करोड रुपैयाँमा बिक्री गरेका हुन् । सिद्धार्थ प्रिमियरले नागरिक लगानी कोषमा रहेको २ लाख कित्ता सेयर करिब २५ करोडमा बिक्री गरेको थियो । यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले मल्टिप्रोपोज फाइनान्समा रहेको २ लाख ५१ हजार कित्ता सेयर बिक्री गरेको थियो । यसैगरी नेपाल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको करिब २० लाख कित्ता सेयर ५५ करोड रुपैयाँमा बिक्री गरेको थियो ।

यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिताका विजेताहरू

काठमाडौं । एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३÷२४ को ११औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ । एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिकरूपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ । कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए । प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन् भने एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने काठमाडौं इन्जिनियरिङ कलेजका बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०÷१० हजार प्राप्त गरेका छन् । विजेताहरूलाई माननीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए । होटल म्यारियटमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रहेको थियो ।