बीमा ऐन २०७९ को ‘दफा ६’ पूर्ण कार्यान्वयन गर्दै प्राधिकरण, पहिलो पटक पाउँदैछ महिला

काठमाडौं । बीमा ऐन, २०७९ को दफा ६ पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बीमा प्राधिरणले यस पटक भने सो ऐन पूर्ण रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । यसअघि बीमा प्राधिरणमा पुरुष सञ्चालक मात्रै भएपनि यस पटक भने महिला सञ्चालकलाई नै नियुक्त गरेर सो ऐनको दफा ६ पूर्ण रुपमा लागु गर्न लागेको हो । ५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था भएको प्राधिकरणले अब महिला सञ्चालक पाउने भएको हो । ५ सदस्यीय समितिमा एक सञ्चालकले गत साता अवकास पाएका थिए । बीमा विज्ञका रूपमा प्राधिकरणको सञ्चालकमा रहेका कपिलदेव ओली गत साता मात्र ४ वर्षे कार्यकाल पूरा गरेर प्राधिकरणबाट बिदा भएका हुन् । अब उनको स्थानमा महिला सञ्चालक आउने प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विकासन्युजलाई जानकारी दिए । बीमा ऐन, २०७९ को दफा ६ मा प्राधिकरणमा एक जना महिला सञ्चालक रहने व्यवस्था उल्लेख गरिएको छ । बीमा विज्ञका रूपमा २ जना सञ्चालक रहने व्यवस्था छ । त्यसमध्ये एक जना सञ्चाकल महिला हुनुपर्ने ऐनमा उल्लेख छ । तर, ऐनमा नै महिला सञ्चालकको परिकल्पना गरिएको भए पनि हालसम्म प्राधिकरणले महिला सञ्चालक पाउन सकेको छैन् । ऐनमा नै भएको व्यवस्था हालसम्म किन लागु भएन भन्ने प्रश्नमा अध्यक्ष सिलवालले भने, ‘हालको सञ्चालक समितिको गठन बीमा ऐन २०४९ ले गरेको हो, त्यसकारण महिला सञ्चालकको उपस्थिति भएन । र, हाल रिक्त रहेको सञ्चालक पदमा महिलाको उपस्थिति हुनेछ ।’ हालको सञ्चालक समिति । प्राधिकरणको सञ्चालक समितिमा सरकारले नियुक्त गर्ने एक जना अध्यक्ष, सञ्चालक सदस्यका रूपमा अर्थ मन्त्रालयका एक जना सहसचिव, कानुन मन्त्रालयका एक जना सहसचिव र २ जना बीम विज्ञ सदस्यका रूपमा रहने व्यवस्था छ । सोही २ जनामध्ये एक जना महिला अनिवार्य हुनुपर्ने छ । बीमा ऐन २०७९ जारी भएको एक वर्ष बितिसक्दा पनि प्राधिकरणले महिला सञ्चालक पाएको भने छैन । अध्यक्ष सिलवालका अनुसार अब भने प्राधिकरणले महिला सञ्चालक पाउने छ । अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मान बहादुर अर्याल र सन्तोष रिजाल सञ्चालक समिति सदस्यका रुपमा काम गरिरहेका छन् ।

कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टलमा छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुट दिइने भएको छ । बैंक र क्लिनिकबीच भएको सम्झौता अनुसार क्लिनिकबाट प्रदान हुने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने छन् । साथै उक्त क्लिनिकमा कुमारी बैंकका ग्राहकहरुलाई चिकित्सकीय परामर्श वा सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुने पनि सम्झौतामा उल्लेख छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले अपेक्षा गरेको छ ।

आरती पावरले आइपीओ निष्कासन गर्ने

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । बिहिबार आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । विसं २०७२ सालको रुपमा दर्ता भई विसंं २०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।