क्यान र मेटलाइफबीच सम्झाैता: खेलाडीले १० लाख जीवन बीमासहित अन्य मेडिकल कभरेज पाउने

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्रिकेट संघ (क्यान) बीच सम्झाैता भएकाे छ । राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न मेटलाइफ र क्यानबीच सम्झाैता भएकाे हाे । ललितपुरको पुल्चोकस्थित मेटलाइफ नेपालको मुख्य कार्यालयमा क्यान र मेटलाइफ नेपालका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरे । सम्झाैताअन्तर्गत मेटलाइफले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ । बीमा कभरेजमा खेलाडीहरूलाई जीवनको अप्रत्याशित चुनौतीबाट आर्थिक रूपमा सुरक्षित हुने सुनिश्चितता गर्दै दुर्घटनामा मृत्यु भएमा १० लाख, दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिनेछ । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका वर्तमान सचिव पारस खड्काले यस सम्झाैताले खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न सहयाेग पुर्‍याउने विश्वास लिए । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले क्रिकेट टाेलीलाई सहयाेग गर्न पाउँदा खुसी लागेकाे बताए ।

ग्लोबल आइएमई बैंकले अनलाइनबाटै २५ लाखसम्म सेयर कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम र ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।  

सूर्योदय वोमी लघुवित्तका सेयरधनीले बोनस सेयरमा लाग्ने कर आफैं तिर्नुपर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको छ । लघुवित्तले वितरण गरेको बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नु पर्ने जनाएको हो । लघुवित्तको गत साउन ३२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो । लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनुपर्नेछ । बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने लघुवित्तले जनाएको छ ।