बाढीपछि सम्पत्ति बीमाको दाबी उच्च, बागमतीबाट ९५ प्रतिशत दाबी पर्ने आंकलन

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले बीमा कम्पनीमा ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बढीको बीमा दाबी पर्ने आंकलन गरिएको छ । जसमध्ये सम्पत्ति बीमाको दाबी उच्च रहने आंकलन बीमा कम्पनीहरूले गरेका छन् । कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई बुझाएको प्रारम्भिक तथ्यांकअनुसार सम्पत्ति बीमाको दाबी उच्च मात्रामा हुने आंकलन  छ । सम्पत्तितर्फ ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । सम्पत्तिअन्तर्गत हालसम्म २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँको बीमा दाबी पेस भइसकेको छ । त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गतको बीमा दाबी ७१ करोड ८९ लाख रुपैयाँ बढीको पर्ने प्रारम्भिक अनुमान छ । यस पोर्टफोलियोअन्तर्गत २८ करोड ४९ लाख रुपैयाँको दाबी पेश भइसकेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा पोर्टफोलियो भनेको कुनै पनि निर्माणाधीन भवन, पुललगायत भौतिक संरचनाको बीमा हो । गत साता आएको बाढीले धेरै जलविद्युतमा क्षति पुगेको थियो । ऊर्जा मन्त्रालयका अनुसार जलविद्युतमा ५ अर्ब बढीको क्षति भएको थियो । इन्जिनियरिङ तथा ठेकेदार जोखिम र सम्पत्ति बीमा जलविद्युतको बीमामा पर्ने गर्दछन् । अर्थात जलविद्युत निर्माणाधीन अवस्थामा इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गत पर्छ भने निर्माण भइसकेपछिको बीमा सम्पत्तिअन्तर्गत पर्छ । सोही कारण पनि यस पोर्टफोलियोमा दाबी उच्च भएको अनुमान गर्न सकिन्छ । यसैगरी, मोटर बीमा निजीतर्फ २७ करोड ३० लाख र सार्वजनिकतर्फ १५ करोड ४५ लाख रुपैयाँ बढीको दाबी पेस हुने अनुमान गरिएको छ । कुन प्रदेशमा कति दाबी ? सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको छ । कुल दाबी रकमको ९५ प्रतिशत बागमतीबाट पर्ने कम्पनीहरूकाे अनुमान छ । बागमतीबाट कुल ६ अर्ब ९३ करोड ८१ हजार रुपैयाँ बढीको दाबी पर्ने अनुमान गरिएको छ । सबैभन्दा कम दाबी कर्णाली प्रदेशबाट पर्ने अनुमान गरिएको छ । कर्णालीबाट जम्मा १ लाख रुपैयाँको मात्र दाबी पर्ने अनुमान कम्पनीहरूले गरेका छन् ।

ज्योति विकास बैंकका ग्राहकलाई भेनस अस्पतालमा छुट हुने

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकहरूले उक्त अस्पतालमा अस्पतालको बेड शुल्क, इन-हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । यसअघि बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको थियो । साथै, बैंकले कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । संस्थागत सुशासनलाई शीरोपर गर्दै, समाजप्रति उत्तरदायी रहेर बैंकले दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सधैं उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।

मेटलाइफ नेपालले बाढी पीडितलाई दियो २५ लाख रुपैयाँ

काठमाडौं । मेटलाइफ नेपालले प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग गरेको छ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको हो । यस योगदानले देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट प्रभावितहरूको तत्काल आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य मेटलाइफ नेपालले राखेको छ । मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मल काजी श्रेष्ठले भने, ‘अहिले हाम्रो ध्यान यस विपद् पछि संघर्ष गरिरहेका मानिसहरूलाई मद्दत गर्ने कुरामा छ । हामी आशा गर्छौं कि राहत कोषमा हाम्रो योगदानले जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ उनीहरूलाई केही सान्त्वना र समर्थन गर्दै राहत र पुनःस्थापना प्रक्रियामा मद्दत गर्नेछ ।’