लाभांश पारित नहुँदै पुँजी वृद्धि, लगानीकर्तालाई पासोमा पार्दै नेप्से

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत पुस २६ गते लाभांश घोषणा गर्‍यो । सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेपछि लाभांशको प्रस्ताव सार्वजनिक गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्र पठायो । नेप्सेले पनि २०८१ पुस २६ आफ्नो वेवसाइटमा नेपाल लाइफले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको जानकारी गरायो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ लाभांश प्रस्ताव गरेको सूचनामा उल्लेख थियो । कम्पनीले प्रस्ताव गरेको सो लाभांश पारित गर्न माघ २८ गते होटल भिष्वा वीरगंज (पर्सा)मा २५औं वार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभाले लाभांश पारित गरेपछि मात्रै सेयरधनीको खातामा लाभांश पुग्नेछ भने कम्पनीको चुक्ता पुँजी पनि त्यसपछि मात्रै बढ्नुपर्ने हो । तर, यहाँ हिसाब गडबढ भएको छ । कम्पनीको साधारण सभाको समय आउन अझै एक साता बाँकी रहेपनि नेप्सेमा भने कम्पनीको बोनस सेयर सूचीकृत भइसकेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार हाल सो कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ छ । यसआधारमा कम्पनीले १० प्रतिशतका दरले सेयरधनीहरूलाई ८२ करोड ७ लाख ९६ हजार ६५५ रुपैयाँको ८२ लाख ७ हजार ९६७ कित्ता सेयर वितरण गर्नेछ । साथै, ११.०५ प्रतिशतका दरले ९० करोड ६९ लाख ८० हजार ३०४ रुपैयाँ नगद लाभांश सेयरधनीहरूलाई वितरण गर्नेछ । त्यो पनि लाभांश प्रस्ताव पारित भएको खण्डमा । तर, प्रस्तावित लाभांशलाई नै आधार मानेर नेप्सेले अहिले नै कम्पनीको चुक्ता पुँजी बढाएर राखेको छ । प्रस्तावित लाभांश साधारण सभाबाट पारित नहुँदै नेप्सेको तथ्याङ्कमा सो कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार ३ सय रुपैयाँ पुगेको उल्लेख गरेको छ । कम्पनीले पारित नै नगरेको लाभांशलाई कसरी पुँजी बढाएर नेप्सेको वेवसाइटमा राखियो ? यो जिज्ञासाको जवाफमा कम्पनी सचिव भुजेलले उक्त तथ्यांक आफूहरूले नराखेको दाबी गरे । ‘यो तथ्याङ्क हामीले राख्न नै सक्दैनौं, कसरी नेप्सेले राख्यो ?,’ भुजेलले प्रश्न गर्दै भने, ‘अब हामी यो विषय नेप्सेलाई जानकारी गराउँछौं।’ लगानीकर्ता राजु पौडेल वार्षिक साधारण सभाले पारित नगरेसम्म वैधानिक नहुने बताउँछन् । नेप्सेले वैधानिक पुँजी मात्रै नेप्सेमा अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ । उनले नेप्सेको यस्तो कमजोरीले लगानीकर्तालाई प्रभावित गरेर पछि फस्न सक्ने धारणा राखे । ‘वार्षिक साधारण सभाले पारित नगरेसम्म कुनै पनि पुँजी वैधानिक हुँदैन, वार्षिक साधारण सभाबाट बहुमत सेयरधनीहरूले यो प्रस्ताव फेल पनि गर्न सक्छन् । साधारण सभाले पारित नगरेसम्म प्रस्ताव आधार मानेर पुँजी बढाउन पाइँदैन,’ उनले भने । नेप्सेमा सूचीकृत भएपछि मात्रै बोनस सेयर डिम्याट खातामा आउँछ । त्यसपछि कम्पनीको पुँजी यति हो भनेर गणना गर्न मिल्छ । अगाडि नै पुँजी यति हो भनेर नेप्सेमा राख्दा लगानीकर्तालाई असर पर्ने उनको बुझाइ छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुली बुक क्लोजको मितिलाई आधार मानेर कम्पनीको बोनस समायोजन गरिएको बताउँछन् । कम्पनीहरूले वार्षिक साधारण सभाका लागि सेयरधनी दर्ता किताब बन्द गर्छन् । सोही मितिलाई आधारमा मानेर पुँजी थप गरिएको उनको भनाइ छ । ‘घोषणा गरेको बोनस सेयरलाई नै आधार मानेर हामीले पुँजीमा जोड्छौं, यो प्रक्रिया सबै कम्पनीको हकमा लागू हुन्छ । समायोजन गर्दा सबै प्रक्रिया पुर्‍याई सूचीकरणबाट टिप्पणी उठाएर बुक क्लोज मिति आधिकारिक लिएरै फरक नपर्ने गरी अपडेट गरेका हुन्छौं, हाम्रो प्रक्रिया नै यही हो,’ प्रवक्ता पराजुलीले भने । यदि कम्पनीको लाभांश वार्षिक साधारण सभाबाट बोनस सेयर रद्द भएपछि के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘रद्द भयो भने समस्या आउँछ । विगतमा एक/दुई पटक भएको पनि छ । बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले घटाउँदा पनि यस्तो भएको थियो । नेप्सेले पनि त्यसबेला पनि घटाउँछ । यसलाई नेप्सेको गल्ती भन्न मिल्दैन ।’

१०.५२ प्रतिशत लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २० औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले फागुन १३ गते बिहान ११ बजे बेन्द्रीय कार्यालय काठमाडौंमा साधारण सभा डाकेको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँको १० प्रतिशतका दरले २६ करोड ५४ लाख ९४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १ करोड ३९ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू सभाबाट अनुमोदन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यस्तै कमपनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।  

सूर्यज्योति लाइफको नाफा साढे १९ करोड रुपैयाँ, २२.२६ प्रतिशत बढ्यो दाबी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३.३७ प्रतिशत बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १९.८३ प्रतिशत बढेर ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १५ करोढ ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनामा कम्पनीको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी १९.३५ प्रतिशत बढेर ७ अर्ब ६७ हजार रुपैयाँ र कुल खर्च १९.७८ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कुल आम्दानी ५ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ गरेको थियो भने कुल खर्च ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोष ३८ करोड ६९ लाख रुपैयाँ, सञ्चित नाफा ३२ करोड ८२ लाख रुपैयाँ, अन्य इक्विटी ४५ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोष ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ७० पैसा घटेर ७.८३ रुपैयाँमा झरेको छ कम्पनीको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ ।