नेशनल लघुवित्त वित्तीय संस्था नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.९६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.२५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १¬०६.६२ प्रतिशत बढेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १२ पैसा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.९१ गुणा रहेको छ । १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । लघुवित्तले पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले स्थापनाको शुरुदेखि नै वित्तीय पहुँच अभिबृद्घि गराई नेपालको गरिबी घटाउने, वित्तीय समावेशीकरण बढाउने उद्देश्यले नेपाल भरी नै लघुवित्त सेवा प्रदान गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । हाल देशभर संस्थाले १८४ वटा शाखा कार्यालयहरू मार्फत ७४ जिल्लामा २,३५,८३० जना विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ । यस संस्थाले नविनतम प्रविधिहरुको प्रयोग गरी छिटो छरितो र विश्वासनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादु यादवले जानकारी दिए । उनले संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरु सञ्चालनको लागि विशेष गरी महिलाहरुलाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताए । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरुमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध जनाए । आगामी आर्थिक वर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अझ प्रभावकारी रुपमा सेवा तथा सुविधाको विस्तार गर्ने लक्ष्य रहेको छ ।
सन नेपाल लाइफले मलेसियामा गर्यो वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिना रहेका थिए । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बत्तीस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहने जनाएको छ ।
भ्रामक समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफको आपत्ति
काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नाबारे तथ्यहीन समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र संचालकहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । कम्पनीले भ्रामक समाचारमा विश्वास नगर्न पनि अपिल गरेको छ । भ्रामक समाचार प्रसारण तथा प्रकाशनविरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको समेत कम्पनीले जनाएको छ ।