सानिमा रिलायन्स लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले 'सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण' विषयमा एकदिने उच्चस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणको निर्देशनअनुसार सञ्चालक समिति सदस्य, आधारभूत सेयरधनी तथा विभागीय प्रमुखहरूलाई लक्षित गरी यो कार्यक्रम काठमाडौंको याक एण्ड यति होटलमा आयोजित गरिएको हो । प्रशिक्षणमा बीमा प्राधिकरणका निर्देशक शम्भु राज लामिछाने र उप–निर्देशक सविता थापाले समसामयिक चुनौती, कानुनी दायित्व, र प्रभावकारी कार्यान्वयनबारे विस्तृत जानकारी दिएका थिए । उनीहरूले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय प्रणालीको दुरुपयोग हुन नदिन अपनाउनु पर्ने नीति, कार्यविधि, जनशक्ति परिचालन र जोखिम व्यवस्थापनका विषयमा व्याख्या गरे । कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडियाले ऐन तथा नियमावलीमा तोकिएको दायित्वपालनमा कम्पनी प्रतिबद्ध रहेको जनाउँदै, अन्तर्राष्ट्रिय अभ्यासको अनुकरण गर्दै सशक्त अनुपालन प्रणाली विकास गरिने बताए । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण रोकथामलाई कम्पनीको प्रमुख प्राथमिकताका रूपमा उल्लेख गर्दै, सबै तहमा यसको कडाइका साथ पालना गरिने स्पष्ट पारे । नेपाल सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ कार्यान्वयनमा ल्याएको अवसरलाई स्मरण गर्दै गत वर्षदेखि हरेक माघ १४ गते ‘सम्पत्ति शुद्धिकरण निवारण दिवस’ मनाउने निर्णय गरेसँगै यस्ता कार्यक्रमहरूलाई अझ सशक्त बनाइएको कम्पनीले जनाएको छ ।

बीमा विज्ञ डा. घिमिरेको ‘नेपालमा कृषि बीमा’ सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारीमुलक ‘नेपालमा कृषि बीमा’ नामक पुस्तक सार्वजनिक भएको छ । बीमा विज्ञ डा. रविन्द्र घिमिरे सहित शिव सुन्दर घिमिरे, डा. गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा उक्त पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ । यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बीमा व्यवसायीलाई सान्दर्भिक हुने लेखक डा. रविन्द्र घिमिरेले बताए । नेपालमा कृषि बीमा विकास र अभ्यासमा रुचि राख्नेका लागि पनि यो पुस्तक सान्दर्भिक रहेको उनको भनाइ छ ।  ‘पुस्तकमा कृषि बीमाको सैद्धान्तिक आधार तथा विश्व र नेपालमा अभ्यासमा रहेका बीमा पोलिसीको बारेमा उल्लेख गरिएको छ । साथै, तथ्यांक सहित नेपालको कृषि बीमाको विकासक्रम, बिगत र वर्तमानमा भएका नीति, कार्यक्रम, र संस्थागत संरचनाहरूको विश्लेषण गरिएको छ,’ उनले भने ।  उक्त पुस्तकलाई १४ अध्यायमा विभाजन गरिएको छ । कृषि क्षेत्रमा विद्यमान जोखिम र अन्तर्राष्ट्रिय तथा नेपालमा परम्परागतमा भइरहेको जोखिम व्यवस्थापनको अभ्यासको बारेमा पुस्तकमा चर्चा गरिएको छ । यसैगरी कृषि बीमा सम्बन्धमा विश्वमा अभ्यासमा रहेका विभिन्न पोलिसीहरु तथा असल अभ्यासहरू बारेमा पनि चर्चा गरिएको अर्का लेखक सुदिप पौडेलले बताए । ‘कृषि बीमाका कानूनी आधार र अनुदानका बिषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयहरूमा बहस प्रस्तुत गरिएको छ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै विश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ,’ उनले भने, ‘कृषि बीमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ संस्था र तीनका क्रियाकलापहरूको पनि चर्चा गरिएको छ भने कृषि बीमामा व्याप्त समस्या, चुनौती र संभावनाको बारेमा उल्लेख गर्दै अन्तिम अध्यायमा सम्बन्धित निकायहरूलाई सुझाव दिइएको छ ।’ यस पुस्तकले नेपालको कृषि बीमा बजार विकास गर्न चाहने नीति निर्माता, अनुसन्धानकर्ता र व्यवहारविद्हरूका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्ने दावी गरिएको छ । 

प्रभु महालक्ष्मी लाइफको ४ लाख १८ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापकले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीका अनुसार संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १८ हजार ८२६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको बिक्री मूल्य भने खुलाइएको छैन ।  कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  यदि उक्त अवधिभित्र संस्थापकले खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।