एलआईसी नेपालको १० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
उद्योगीबाट साढे २३ अर्ब बक्यौता उठाउन ताकेता, हितेन्द्रले देखाएको नोक्सानी महालेखाले देखाएन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौता प्रत्येक वर्ष बढ्दै गएको छ । महालेखापरीक्षक कार्यालयको प्रतिवेदनअनुसार प्राधिकरणको बक्यौता ८.८८ प्रतिशतले बढेको हो । विद्युत महसुल बक्यौता गत वर्षको तुलनामा यो वर्ष ८.८८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २६ करोड रुपैयाँ पुगेको महालेखा कार्यालयकको प्रतिवेदनमा उल्लेख छ । उक्त रककमध्ये ट्रंकलाइन तथा डेडिकेटेड लाइनमार्फतको ५९ ग्राहकबाट विगत वर्षको असुल हुनुपर्ने २३ अर्ब ४४ करोड रुपैयाँ रहेको उल्लेख छ भने सो रकम कुल बक्यौताको ४८.५७ प्रतिशत देखिन्छ । यस अतिरिक्त सडकबत्तीको ६ अर्ब ८९ करोड असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाए पनि महालेखाको प्रतिवेदनले प्राधिकरण नाफामा नै रहेको उल्लेख गरेको छ । महालेखाको प्रतिवेदनमा प्राधिकरणको कुल नाफा २६ अर्ब ७२ करोड ६७ लाख ७७ हजार, सञ्चालन नाफा २१ अर्ब ८० करोड २५ लाख ९४ हजार, करअघिको नाफा १४ अर्ब ४६ करोड ५३ लाख ३५ हजार, करपछिको खुद नाफा १० अर्ब ५२ करोड ७१ लाख ५ हजार र कुल विस्तृत आम्दानी २ अर्ब १२ करोड २४ लाख २ हजार रुपैयाँ देखाएको छ ।
सालपा विकास बैंक र एससीटीबीच युपीआइ कार्ड जारी गर्न सम्झौता
काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सालपा विकास बैंक लिमिटेडबीच एससीटी युपीआइ कार्ड जारी गर्न सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब सालपा विकास बैंकका ग्राहकहरूले एससीटी युपीआइ कार्ड सजिलै पाउने छन् । जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकले ग्राहकका लागि कार्ड वितरण प्रक्रिया सुरु गरिसकेको छ । यसले ग्रामीणदेखि शहरी क्षेत्रसम्म डिजिटल भुक्तानी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।