फिनएक्स सहकारी सफ्टवेयरद्धारा ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु, प्रयोगकर्ताबाट सुझाव संकलन

काठमाडौं । सहकारी संस्थाहरूबीच लोकप्रिय रहेको फिनएक्स सहकारी सफ्टवेयरले प्रयोगकर्ताको राय सुझाव संकलन तथा नयाँ सुविधाबारे जानकारी दिन ‘क्लाइन्ट मिट’ कार्यक्रम सुरु गरेको छ ।  सफ्टवेयर निर्माता कम्पनी जिनव इंक प्रालिको आयोजनामा ‘क्लाइन्ट मिट’ कार्यक्रम चितवनबाट सुरु भएको हो । चितवनको मिड टाउन होटलमा आयोजित कार्यक्रममा जिल्लाभित्र फिनेक्स सफ्टवेयर प्रयोगकर्ता सहकारी संस्थाका संचालक र उच्च व्यवस्थापकको सहभागिता रहेको थियो ।  ‘फिनएक्स सहकारी सफ्टवेयर’ मा हाल २० वटा मोड्युलहरू उपलब्ध छन् । कार्यक्रममा प्रयोगकर्ताबाट नयाँ मोड्युलहरूका लागि सुझावहरू संकलन गरिएको थियो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत रमिता चौधरीले गर्नु फिनएक्सले हाल प्रदान गर्दै आएका सेवा र थप गर्न लागिएका सुविधाबारे जानकारी गराइन् ।  यसैगरी प्रशिक्षकद्धय अतुल झा र किरण पौडेलले फिनएक्स सफ्टवेयरमा उपलब्ध लोन तथा डक्कुमेन्ट प्रोसेसिङ मोड्युल, लोन फलोअप मोड्युल, नो योर मेम्बर (केवाईएम) मोड्युल, कोपोमिस र गोएमएम रिपोटिङ मोड्युलबारे प्रशिक्षण प्रदान  गरे । जिनव इंन्कले फिनएक्स सहकारी सफ्टवेयरलाई ‘एक सम्पूर्ण सहकारी प्रविधि इकोसिस्टम’ का रुपमा विकास गर्दै आएको छ । सफ्टवेयर प्रयोगकर्तालाई अन्य तेस्रो पक्षको सेवा संचालन गर्नु नपर्ने गरी सहकारीका ऐन कानुन अनुसार सहकारी संस्थाको दैनिक कामका साथै नियामक निकायमा गर्ने रिपोर्टिङलाई सहज बनाउने उद्देश्यले सेवाहरु विकास गरिएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लीकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि-२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचीकृत भएको सफ्टवेयरमा कोर बैंकिङका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् । यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् ।   संस्थाले चालु आर्थिक वर्षभित्र उर्लाबारी, इटहरी, सुर्खेत, दाङ, बुटवललगायतका स्थानहरूमा पनि यस्तो कार्यक्रम गर्ने जानकारी दिएको छ ।   

मधेस प्रदेशमा जीवनबीमाबाट ११ अर्ब १६ करोड रुपैयाँ सङ्कलन

वीरगञ्ज । बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको नौ महिनामा जीवनबीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ ।  उक्त कार्यालयले गत वर्ष जीवनबीमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो ।  उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवनबीमा गरेका बताइन् । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।  जीवनबीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ । 

४.७४ प्रतिशत लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।  सभाले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले ४६ करोड ८० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशतका दरले २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  सभाले गत वर्ष सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्नेछ ।  साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।