अधिक तरलता कायमै, ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ४५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७० खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने छ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ १ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी, सय किसान सहभागी
टीकापुर । करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का करिब सय बढी किसानले धानको बीउखेती गरेका छन् । उत्पादनका दृष्टिकोणले उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएका कारण किसान धान बीउ उत्पादनमा लागेका हुन् । गत वर्ष सहकारीले तीन हजार ५०० क्विन्टल धानको बीउ उत्पादन गरेको थियो । यसैगरी गहुँ तीन हजार क्विन्टल, तोरी ६० क्विन्टल र मकैको बीउ १२ क्विन्टल किसानबाट खरिद गरिएको सहकारीले जनाएको छ । यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल रु तीन सय बढी मूल्य दिने गरेको छ । सुरुमा ४५ जना किसानबाट सुरु गरिएको सहकारीले पछिल्लो समय बीउ उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । यहाँ उत्पादन भएको बीउ कैलालीका विभिन्न पालिकामा बिक्री हुने गरेको छ । यसबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहाका किसानले लैजाने गरेका छन् । एकपटक बीउ लैजाने किसानले अर्कोपटक खोजीखोजी आउने गरेको सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाले बताए । 'सुरुआतको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन, अहिले धेरै किसान बीउ उत्पादनमा लागेका छन्', उनले भने, 'हामीले बीउ उत्पादन गर्दा मेहेनत गरयौँ, अहिले बीउको माग धेरै छ ।' रानी जमरा कुलरिया सिँचाइ आयोजना आएपछि कृषि कार्यक्रममार्फत सहकारीलाई ठूलो सहयोग भएको भन्दै कठरियाले बीउ गे्रडिङ र भण्डारणको समस्या छैन भने । सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउखेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो । दश हेक्टरमा तोरीको बीउ, दुई हेक्टरमा मकै र करिब एक हेक्टरमा मसुरोको बीउखेती गरिएको थियो । विसं २०५७ बाट समूहमार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ सालमा सहकारीमा विस्तार गरी बीउ उत्पादन थालेको हो । किसानको सक्रियताले विभिन्न सङ्घसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ठूलो साथ दियो । सहकारीका विजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्दै आएका किसानलाई उत्पादन बढी लिन फाइदा होस् भनी सहकारीमार्फत बीउ उत्पादन थालेको बताए । सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीसँग हाल चास सय आठ मेट्रिक टन भण्डारण क्षमताका गोदाम रहेको छ । सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरिएको छ । सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मासलगायत बालीका बीउ उत्पादन गर्ने गरेका छन् । सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेसिन र ग्रेडिङ मेसिन उपलब्ध गराएपछि सहयोग भएको छ । किसान लविता कठरियाले तीन बिघा जमिनमा धान तथा गहुँको बीउ उत्पादन गर्दै आएको बताए । विगतमा खेती गर्दा खासै उत्पादन नलिने किसानले सहकारीमै बीउ र मल पाउनुका साथै सहकारीले नै उत्पादन किनिदिने भएपछि खेती गर्न हौसला मिलेको उनको भनाइ छ । विगतमा मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बीउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन बाध्य थिए । गाउँमै ग्रेडिङ गरिएको गुणस्तरीय बीउ पाउन थालेपछि उनीहरूको सहकारीप्रति आकर्षण बढ्दै गएको छ । उसो सहकारीले आफ्ना सदस्यलाई बीउलगायत अन्य सहुलियत दिँदै आएको छ । सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनैपर्ने नियम छ । पैतालीस जना किसानले सुरु गरेको मुनुवा बिजवृद्धि सहकारीमा हाल एक सय नौ जना सेयरसदस्य छन् । सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि उत्पादन वृद्धिका लागि किसान तथा सहकारीलाई सघाइरहेको छ । आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारी संस्था बीउ उत्पादनमा अग्रणी संस्थाका रूपमा काम गरिरहेको र आयोजनाको यस्ता संस्थालाई सधैँ साथ रहने बताए । 'सहकारीले बीउ उत्पादनमा खेलेको भूमिका सराहनीय छ, बिजवृद्धिमा राम्रो काम गरेको छ', उनले भने, 'समयअनुसार किसानलाई अझै आधुनिकीकरण बनाउनमा हाम्रो प्रयास हुन्छ । हामीले सहकारीमार्फत किसानलाई लाभ होस् भनी सहकारीलाई आवश्यक प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौंँ, यो सहयोग निरन्तर हुन्छ ।' सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनबढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन् । किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बिक्री वितरण गर्ने गरिएको छ । बीजवृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यस क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन् । रासस
गार्डियन माइक्रोलाइफ तेस्रो वर्षमा, सबै सेवा डिजिटल प्रणालीबाट
काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो लघु बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले नेपालको बीमा क्षेत्रमै पहिलोपूर्ण डिजिटल प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ । ‘समयसँगैै प्रविधिमा भईरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक महानुभावहरुको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिवी न्यूनिकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने हाम्रो प्रतिवद्धता छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने । हाल कम्पनीले २६ वटा शाखा कार्यालयहरुबाट सेवा दिईरहेको र बीमा दावीमा सतप्रतिशत भुक्तानी गरेको जनाएको छ । हालसम्म कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ ।