नेशनल इन्स्योरेन्सले ल्यायो १ लाख निशुल्क बीमा सुविधा, विपदमा सक्रिय प्रहरीलाई २ लाख बीमा
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँ बराबरको निशुल्क बिमा सुविधा ल्याएको छ । कम्पनीले आफ्नो ‘स्थापना महिना’का अवसरमा यो महिनाभर बीमा गर्ने ग्राहकलाई (मोटर, स्वास्थ्य, गृहस्थ) एक लाख रुपैयाँ बराबरको निशुल्क बीमा सुविधा ल्याएको हो । कम्पनी १११ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले जनवरी ४ सम्म स्थापना महिना मनाउने जनाएको छ । उक्त अवसरमा यो बीमा कम्पनीले सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापनमा सक्रिय गोताखोरहरुलाई निशुल्क प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको बिमांकको दुर्घटना बीमा गर्ने जानकारी दिएको छ । स्थापना महिनाको पहिलो साता विद्यालयमा विद्यार्थीलाई बीमा सम्बन्धी जानकारी दिनेछ । त्यस्तै स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा डिसेम्बर ९ मा ‘वाकाथन’ पनि आयोजना गर्ने भएको छ । स्थापना महिनाको दोस्रो साता निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने र अपांगता भएका बालबालिकालाई खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा बीमाको पहुँच विस्तारका लागि विभिन्न स्थानमा थप शाखा स्थापना गर्ने तयारी गरेको छ ।
शिखर इन्स्योरेन्सको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको मंसिर २२ गतेदेखि आगामी पुस ७ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ । यस कम्पनीले २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।
नेसनल लाइफ इन्स्योरेन्सद्धारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही गत मंसिर १५ गते ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरेका थिए । आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले यस नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा मिति २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए । बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो । बिमित वलीको २०७४/०२/१६ गते निधन भएको थियो । शुक्रबार कम्पनीका नायब महाप्रबन्धक सुरेश प्रसाद खत्री सहितका उच्च अधिकारीहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको हो । मृतक रत्नबहादुर जंगवीर वलीका छोरा हुन् ।