साञ्जेनले ८७ लाखको आईपीओ निष्कासन गर्न पायो बोर्डकाे अनुमति

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार मात्र यस हाइड्रोपावरलाई साे मात्राकाे आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ८७ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी गर्ने सो मात्राको सेयरका लागी यस संस्थाका संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीले आवेदन दिन पाउने छन् । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको बिक्री प्रबन्धक अर्थात सेयर निष्कासनको रुपमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(नागरिक लगानी कोष) रहेको छ ।

ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्सोरेन्सबीच बैंकाइन्सोरेन्स सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले उक्त इन्सोरेन्ससंग सो सम्झौता गरेको हो । सो सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा कान्तिपथमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । हालसम्म यस कम्पनीले आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।