रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव लैजादै
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन स्वीकृतिका लागि कम्पनीले असार ३१ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । २ अर्ब १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको रिलायन्समा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ । बाँकी आईपीओबाट संकलन गर्ने छ । सञ्चालक समितिको गत शुक्रबार बसेको ४८ औं बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको थियो । सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्ने छ । कम्पनीले मंसिर १ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो ।
पाँच इन्स्योरेन्स कम्पनीलाई १०/१० हजार जरिवाना, लाइसेन्स नविकरण पनि भएन
काठमाडौं । समयमै वित्तिय विवरण पेश नगरेपछि बीमा समितिले पाँच वटा बीमा कम्पनीलाई जरिवाना गर्ने भएको छ । समितिले एलआईसी नेपाल, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका पाँच वटा कम्पनीलाई जरिवाना गर्न लागेको हो । यी कम्पनीहरुले आर्थिक बर्ष २०७३/७४ को लेखा परिक्षणसहितको वित्तिय विवरण बुझाएका छैनन् । बीमा ऐनको दफा २५ मा लेखा परिक्षणसहितको वित्तिय विवरण आर्थिक बर्ष सकिएको १० महिना भित्र पास गरिसक्नुपर्ने व्यवस्था छ । यी कम्पनीहरुले बैशाख मसान्तभित्र लेखा परिक्षणसहितको वित्तिय विवरण पास गरिसक्नुपर्ने थियो । यसरी विवरण पास गरेपछि ५० हजार शुल्क तिरेर बीमकको लाइसेन्स नविकरण हुने व्यवस्था छ । समयमै वित्तिय विवरण पास गराउन नसकेपछि यी कम्पनीहरुको लाइसेन्स समेत नविकरण भएको छैन् । बीमा ऐनको दफा ११(क)मा समयमै वित्तिय विवरण पास गराउन नसके बीमकको प्रमाणपत्र नविकरण नहुने व्यवस्था छ । ऐनको दफा ३६ अनुसार यी कम्पनीहरुलाई ३ हजारदेखि १० हजारसम्म जरिवाना हुने व्यवस्था छ । ‘पाँच वटा कम्पनीहरुको लेखा परिक्षणसहितको वित्तिय विवरण स्वीकृत भएको छैन्, अब कानुन अनुसार ३ देखि पाँच हजार रुपैंयाँ जरिवाना तिराउँछौं’, बीमा समिति उच्च श्रोतले भन्यो । समिति श्रोतका अनुसार यी कम्पनीहरुले अहिलेसम्म लेखा परिक्षणसहितको विवरण पेश पनि गरेका छैनन् । समितिमा विवरण पेश गरेपछि बल्ल समितिले त्यसको अध्ययन गरेर परिमार्जन आवश्यक देखिएमा पूनः फिर्ता पठाउने गरेको छ ।
पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्धारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिंङ गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङले बिहीबार नेपाल राष्ट्र बैंककाे पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष सपथ लिएका हुन् । वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र रेसमलाल पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो । संस्थाको हाल तनहृ्ं, लमजुङ, रुपन्देही, काठमाण्डौं, स्याङजा एवं कास्की समेतमा गरी १३ वटा शाखा कार्यालय सञ्चालनमा आईसकेको छ । साथै, निकट भविष्यमा नै चितवनको नारायणगढ शाखा समेत सञ्चालनमा आउने तथा आ.व. २०७५/७६ मा थप अन्य शाखाहरु समेत खोलिने बताइएको छ ।