सेयर बजार घट्दाको परिणाम, नविल व्यालेन्स फण्डको ऋणपत्र पनि अंकित मूल्य भन्दा कम
काठमाडौं । सेयर बजार निरन्तर घटेपछि ऋणपत्र र डिवेन्चर पनि अंकित मूल्य (फेस भ्यालु) भन्दा कममा बिक्री हुन थालेको छ ।दोस्रो बजार घटेपछि यसको मनोवैज्ञानिक असर ऋणपत्रमा परेको हो । नविल ब्यालेन्स फण्ड १ स्वामित्वमा रहेको डिवेन्चर र ऋणपत्र फेसभ्यालु भन्दा कममा बिक्री गर्न लागेको छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहेको डिवेन्चर र ऋणपत्रको मूल्य ९५० रुपैयाँ राखेको छ । बिक्री नभएपछि फेसभ्यालु भन्दा कममा ऋणपत्र बिक्री गर्न लागेको कोष प्रवद्र्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।यसअघि लिलाम गर्दा बिक्री नभएपछि मूल्य घटाएर पुनः लिलामी गर्न लागेको हो । व्यालेन्स फण्डको स्वामित्वमा रहेको ३० हजार कित्ता लिलामी गर्न लागेको हो । लक्ष्मी डिवेन्चरको १० हजार, एसबीएल ऋणपत्र १० हजार र बीओके डिबेन्चर १० हजार कित्ता स्वामित्व बिक्री गर्ने नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सेयरको न्युनतम मूल्य ९५० रुपैयाँ राखिएको छ । न्युनतम् ५ हजार कित्ता किन्न आवेदन दिनुपर्ने छ । ८ प्रतिशतको लक्ष्मी बैंक डिबेन्चर परिपक्व ०७६ माघ २१ गते, ८ प्रतिशत प्रतिफल दिने एसबीएल ऋणपत्र ०७७ जेठ ५ र ८ प्रतिशत प्रतिफल दिने बीओके डिवेन्चर ०७७ जेठ ४ गते हुने नविलले जनाएको छ । लिलामी पेश गर्ने अन्तिम दिन आज आइतबार तोकिएको छ । नविल बैंक कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को गत चैत २९ गते परिपक्व भएकाले बाँकी स्वामित्व लिलामी गर्न लागेको हो । गत वैशाखमा सार्वजनिक गरिएको अधिकाँश म्युचअल फण्डको प्रतिफल अंकित मूल्य भन्दा कम देखिएको छ । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको अधिकाँश म्युचअल फण्डको सम्पत्ति घटेको उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । म्युचअल फण्डको सम्पत्ति औसत २० प्रतिशतसम्म घटेको पाइएको छ । सेयर बजार लगातार घटेपछि यसको असर देखिएको लगानीकर्ताको भनाई छ । सेयर बजार घट्दाको असर ऋणपत्रमा परेको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । सेयर बजार घटेपछि यसको असर ऋणपत्र र म्युचअल फण्डमा पर्नु स्वभाविक भएको उनको तर्क छ । उनकाअनुसार मर्चेन्टर बैंकरले म्युचअल फण्डको रकम सेयर बजार, ऋणपत्र र डिवेन्चरमा लगानी गरिरहेका छन् ।
नेपाल इन्स्योरेन्सको हकप्रद लिलामीमा, अन्तिम दिन असार १० गते
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको गरी १ लाख ६१ हजार १२४ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । शिलवन्दी बोलपत्र पेश असार ३ देखि सुरु भई असार १० गतेसम्म तोकिएको छ । कम्पनीको संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले चुक्तापुँजी बढाउन गत बैशाख ५ देखि जेठ ८ गतेसम्म निष्कासन गरेको थियो । आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।
कन्काई विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने
काठमाडौं । कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाशमान बज्राचार्य र एलआईसी नेपालको सीईओ अभिजित घोष दस्तिदारले एक समारोहबीच हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका सीईओ बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराएका छन् । त्यस्तै, एलआईसी नेपालका सीईओ दस्तिदारले एलआईसी नेपालको उच्चतम बोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने गरेको बताएका छन् ।