शिक्षिकाबाट उद्यमी बनेकी अञ्जु
काठमाडौं । जब उनले किन्डरगार्डेन शिक्षकको रूपमा काम सुरु गरिन् तब उनको शिक्षाप्रति मोह बस्यो । त्यो मोह यस्तो थियो कि न उनलाई डाक्टर बन्नुपर्छ भन्ने लाग्यो न अधिकृत । उनलाई केबल लाग्यो अब म शिक्षक बन्नुपर्छ । कक्षामा गएर जब तीन/चार वर्षका बालबालिकासँग रमाउँथिन् लाग्थ्यो, म एउटा फूलबारीमा छु, जहाँ थरिथरिका फूल र कोपिलासँग रमाइरहेकी छु । त्यही मोहले शिक्षा क्षेत्रमा सुनौलो भविष्य बनाइरहेकी एक शिक्षिका अञ्जु भट्टराई उद्यमी बन्न पुगिन् । अन्जु काठमाडौंको कागेश्वरी मनोहरा ९ मा रहेको अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन् । २८ वर्षदेखि शिक्षा क्षेत्रमा जमेकी उनले विभिन्न पदमा रहेर काम गरिन् । तीन वर्ष किन्डर गार्डेनको शिक्षक, ७ वर्ष कन्सल्टेन्सीको निर्देशक हुँदै १४ वर्षसम्म अक्षरा स्कुलमा प्रधानाध्यापकको भूमिकामा रहेकी उनी दुई वर्षदेखि सोही स्कुलको निर्देशकको भूमिका छिन् । किन्डरगार्डेनदेखि निर्देशकसम्मको यात्रामा पुग्दा सजिलो भने पक्कै थिएन । आएका बाधा व्यवधानसँग जुझ्दै उनी अहिले एक कुशल नेतृत्वकर्ता बनेकी छन् । उनी भन्छिन्, ‘महिला भएर नेतृत्वमा पुग्न खुब संघर्ष गर्नुपर्दो रहेछ ।’ अब्बल अञ्जु, रोलमोड आमा अञ्जुको जन्मघर खोटाङ दिक्तेल हो । उनका बुवा नेपाल आर्मीमा सरकारी जागिरे अनि आमा उद्यमी हुन् । जुन ठाउँ बुवाको सरुवा हुन्थ्यो प्राय: त्यही ठाउँमा पुगेर उनकी आमा व्यवसाय सुरु गर्थिन् । यही क्रममा अन्जुको जन्म पनि ताप्लेजुङमा भयो । उनी दुई/तीन वर्षकी हुँदा आमा फिदिङ सरिन् । उनको बाल्यकाल केही समय फिदिङमा वित्यो । विस्तारै छोराछोरी बढ्दै गएपछि आमाले निधो गरिन् अब एकै ठाउँ बसेर छोराछोरी पढाउनुपर्छ । त्यसपछि उनी पनि आमासँगै खोटाङ दिक्तेल आफ्नो घर फर्किन् । त्यो समयमा छोरीहरू पढाउनुपर्छ भन्ने सोंच आइसकेको थिएन । तर, छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच भएका अभिभावकले छोरीलाई स्कुल भर्ना गराइरहेका थिए । अञ्जुका बुवाआमालाई पनि छोरीलाई पढाउनुपर्छ भन्ने थियो । उनलाई खोटाङमै रहेको सरस्वती माविमा भर्ना गरियो । अञ्जु पछिका दुईजना भाइलाई विराटनगरमा बोर्डिङमा अध्ययन गर्न राखियो । अञ्जुका लागि घरमै शिक्षक राखियो । ‘छोरी पढाउन हुँदैन भन्ने बेला पनि मेरो लागि बुवाले घरमै शिक्षक राखिदिनुभयो, जसरी हुन्छ छोरीलाई पढाउनुपर्छ भन्ने आमाबुवाको अठोट र मेरो मिहिनेतले म यो ठाउँमा पुगेकी हुँ,’ विकासन्युजसँग कुरा गर्दै उनले भनिन् । अञ्जुले २०५३ सालमा एसएलसी दिइन् । एसएलसीमा उनले राम्रो अंक ल्याइन् । त्यो बेला एसएलसीमा फर्स्ट डिभिजन ल्याउनु धेरै राम्रो मानिन्थ्यो । अञ्जुले खोटाङ जिल्लाबाटै उत्कृष्ट नम्बर ल्याएर पास गरिन् । गाउँमा राम्रो नम्बर ल्याएर एसएलसी पास गरिसकेपछि उनी प्लस टुका लागि मधेस झरिन् । अञ्जुको घर विराटनगरमा पनि थियो । उनले त्यहाँ कक्षा ११ मा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरिन् । बिहान कलेज गएर पढ्दा दिउँसोको समय खाली हुन्थ्यो । त्यही खालि समयमा सुरु गरिन् पढाउने काम, जुन कामले उनलाई अहिले पनि खुसी दिएको छ। अन्जुलाई आफ्नी आमा र उनको संघर्ष गर्दा मिहिनेत गर्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । के सानो, के ठूलो उनी जहाँ पुग्यो उतै केही न केही व्यवसाय सुरु गर्थिन् । उनलाई हेर्दा अञ्जुलाई लाग्थ्यो संघर्ष नै जीवनको सबैभन्दा ठूलो कर्म हो । उनलाई खोटाङका पहाड देख्दा लाग्थ्यो- मेरी आमा यही पहाड हुन्, जसले जस्तो परिस्थितिलाई पनि सहज बनाउँथिन् । अञ्जु आफ्नो संघर्ष र आफू यो ठाउँमा पुग्नुको पछाडि आमाको भूमिका महत्त्वपूर्ण रहेको बताउँछिन् । आमाले गरेको हिम्मत र आँटले पेटमा बच्चा हुँदा पनि काम गर्न नछोडेको अनुभव सुनाउँछिन् । भन्छिन्, ‘आफूलाई कहिले दिक्क लाग्दा आमालाई सम्झन्छु, आमाको संघर्षलाई हेर्छु फेरि, आफै सहज भएको महसुस गर्छु ।’ शिक्षणको सुरुवात अञ्जुले सबैभन्दा पहिले शिक्षणको सुरुवात विराटनगरको पुस्पलाल चोकमा रहेको प्यारागन बोर्डिङ स्कुलबाट गरेकी थिइन् । जहाँ उनले किन्डरगार्डेन शिक्षक रूपमा काम सुरु गरिन् । त्यो बोर्डिङको प्रधानाध्यापक थिइन् सावित्रा काफ्ले । उनी सावित्रालाई देखेर पनि आफू यो क्षेत्रमा प्रभावित भएको बताउँछिन् । उनले त्यहाँ तीन वर्ष काम गरिन् । त्यसपछि उनी स्नातकका लागि काठमाडौं आइन् । उनी काठमाडौं आउँदा बोर्डिङको काम छोड्नि । विसं २०५८ सालमा पढ्न काठमाडौं आएकी उनले २०५९ सालमा विवाह गरिन् । विवाह गरेको १ वर्षमै छोरा जन्मियो । त्यसको अर्को वर्षमै अर्को छोरा जन्मियो । उनका श्रीमान पनि यही शिक्षा क्षेत्रका व्यवसायी थिए । उनको काठमाडौंमा विद्यालय कलेज थिए । ‘शिक्षा क्षेत्रमै काम गर्न मन पराउने म जीवनसाथी पनि यही क्षेत्रको पाउनु भनेको मेरा लागि शिक्षा क्षेत्र नै हो भन्ने जस्तो लाग्यो,’ उनी भन्छिन्, ‘सायद म जन्मेकै शिक्षा क्षेत्रमा काम गर्नको लागि हो, मलाई मन पर्ने पेसा पनि यही थियो, पछि जीवनसाथी पनि यही क्षेत्रको भेटेँ र पनि मलाई यो क्षेत्रमा काम गर्न सहज भयो ।’ बाआमाको चाहना सरकारी जागिर अञ्जुलाई यही शिक्षण पेसा मन परिसकेको थियो । तर, उनका बुवाआमालाई भने छोरी सरकारी जागिरे भइदिए हुन्थ्यो भन्ने थियो । हरेक बाआमालाई आफ्नो सन्तानप्रति चिन्ता हुन्छ यो स्वाभाविक हो । किनकि सरकारी जागिरे हुँदा छोरीको भविष्य सुनिश्चित हुन्छ भन्ने सोंच बाआमाको थियो । उनको परिवारमा पनि प्रायः सबै जना सरकारी जागिरे थिए । सरकारी जागिर हुँदा भविष्य सुरक्षित ठानिन्छ । अझ छोरीका लागि सबैभन्दा सुरक्षित अहिले पनि ठानिन्छ । आमाबुवाकै मन राख्न अञ्जुले प्लस टु पढ्दै गर्दा सरकारी जागिरको तयारी गर्नुपर्यो भन्ने लाग्यो । उनले केही समय यसको तयारी पनि गरिन् । तर, उनको भित्री मनले मानिरहेको थिएन । ‘मेरो मनले नै नमानिरहेको क्षेत्रमा मैले कसरी प्रगति गर्न सक्थेँ र ? त्यसपछि मैले तयारी नै गर्न छोडेँ,’ विगत सम्झँदै अञ्जुले भनिन् । उनलाई अब फरक खालको शिक्षा काठमाडौंमा आफै सुरु गर्नुपर्छ भन्ने लाग्यो । उनलाई काठमाडौंमा सञ्चालन भइरहेको शिक्षाभन्दा फरक खाले शिक्षा दिने हुटहुटी थियो । जहाँ विद्यार्थीले किताबका कुरामात्र होइन , योग ध्यान, आध्यात्मिक कुरा पनि सिक्न पाऊन् । हामी कसका सन्तान हौं, हामीले पूज्दै आएका भगवान को हुन् ? उनीहरूले दिन खोजेको सन्देश के हो ? यस्ता ज्ञान विद्यार्थीलाई सिकाउन आवश्यक रहेको महसुस उनलाई लाग्यो । त्यसपछि परिकल्पना गरिएको स्कुल हो- अक्षरा स्कुल । अञ्जु आफ्नो रुचि बुझेर काम गर्दा पछि खुसी मिल्ने बताउँछिन् । कुनै पनि व्यक्तिले आफ्नो रुचि बुझ्न सक्नुपर्छ । भन्छिन्, ‘म आफ्नो काममा खुसी छु, मैले जे मन पर्यो त्यही क्षेत्रमा काम गर्ने अवसर पाएँ ।’ अक्षरा स्कुल आजभन्दा १५ वर्षअघि ‘संस्कारयुक्त शिक्षा’ भन्ने अवधारणासहित जन्मेको विद्यालय हो अक्षरा । ८६ जना विद्यार्थी र तीन रोपनी जग्गाबाट सुरु भएको यो विद्यालयमा अहिले ७ सय बढी विद्यार्थी छन् भने २३ रोपनी जग्गामा स्कुल फैलिएको छ । यो विद्यालयमा २ सय ३० जना शिक्षक कर्मचारी छन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै उनीहरूलाई माटो र प्रकृतिसँग लडिबुडी गर्न सिकाउनु विद्यालयको उद्देश्य हो । यही उद्देश्यलाई मध्येनजर गर्दै विद्यालयले विद्यार्थीका लागि उस्तै खेल मैदान बनाएको छ । ‘स्कुल जाने भनेपछि चिटिक्क, सफा सुग्घर भएर जानुपर्छ भन्ने बुझाइ सहरी क्षेत्रका अभिभावकको छ, यो राम्रो हो तर, विद्यार्थीलाई माटो के हो माटोमा लडीबुडी गर्दाको अनुभव कस्तो हुन्छ भन्ने अनुभव पनि लिन दिनुपर्छ,’ अन्जु भन्छिन, ‘यही भावनालाई मध्यनजर गर्दै हामीले बालबालिकाले खेल्ने ठाउँ पनि त्यस्तै बनाइएका छौं ।’ सहर बजारका बालबालिका अहिले माटो र प्रकृतिबाट पनि उत्तिकै टाढा छन् । उनी माटो र प्रकृतिबाट टाढा रहेर विद्यार्थीले राम्रो शिक्षा ग्रहण गर्न नसक्ने बताउँछिन् । ‘धेरै सेवा सुविधाका कारण विद्यार्थीले संघर्ष गर्न सिकेका छैनन्, हामीले यस्ता विद्यार्थीलाई विद्यालयमै सिकाउने अभ्यास गरिरहेका छौं,’ अन्जुले भनिन् । सहरमा विद्यार्थी समाज कम पाउँछन् । गाउँमा समाजबाटै विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् तर विद्यालय शिक्षामा धेरै सीमाहरु हुन्छ । गाउँको तुलनामा ठ्याक्कै उल्टो सहरमा हुन्छ । यसलाई मध्यनजर गर्दै अक्षरा विद्यायले सबै वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताइन् । यो स्कुलले इतिहास, योग ध्यान अध्यात्म र संस्कृत शिक्षालाई पनि शिक्षासँग जोड दिइरहेको छ । जहाँ क्रिकेट खेल्न, फुटबल खेल्नदेखि लिएर हरेक खेलहरू खेल्न खेलमैदान छ भने गुणस्तरीय शिक्षाका लागि म्याथ ल्याब, साइन्स ल्याब लाइब्रेरीलगायतका प्रविधिहरू पनि पठन संस्कृति विद्यालयमा छन् । जसका कारण यो विद्यालय अभिभावकको रुचिमा परेको छ । शिक्षिकाबाट उद्यमीसम्म एउटा सामान्य शिक्षकबाट सुरु भएको अञ्जुको शैक्षिक यात्रा अहिले शैक्षिक उद्यमीका रूपमा अगाडि बढेको छ । तीन वर्ष शिक्षक र २५ वर्ष निर्देशकको भूमिकामा रहेर काम गरेकी अञ्जुलाई शिक्षक र व्यवस्थापन काम गर्न कुन पाटो सजिलो भनेर गरिएको प्रश्नमा उनी भन्छिन्, ‘शिक्षक एउटा बन्दा कोठाभित्रको उत्तरदायित्व हो, यसमा जिम्मेवारी लिने कुरा सीमित हुन्छ भने निर्देशक बनेर विद्यालयको नेतृत्व गर्दा जिम्मेवारी पनि ठूलो हुन्छ ।’ एउटा नेतृत्वकर्ताको काँधमा विद्यार्थीमात्र होइन अभिभावक, शिक्षक, कर्मचारी लगायतको जिम्मेवारी हुन्छ । ‘बालबालिकालाई पढाइसँगै सहकार्य गर्न, रचनात्मक काम गर्ने क्षमता सिर्जनात्म्क काम गर्ने क्षमता, नेतृत्वदायी क्षमताका विषयमा बढी सिकाउन आवश्यक छ,’ उनी भन्छिन् । उनी शिक्षकदेखि उद्यमीसम्मको यात्राले आफ्नो सोंचलाई समेत बहुआयामिक बनाएको दाबी गर्छिन् । भन्छिन्, ‘म एउटै कुरालाई धेरै तरिकाले सोंच्न सक्छु, म शिक्षकको पीडा र कामलाई पनि महसुस गर्न सक्छु, बुझ्न सक्छु शिक्षक बनेर विद्यालयमा साथीहरूलाई सहयोग गर्न पनि सक्छु, शिक्षक भएर काम गरेकाले यो पीडा पनि बुझ्ने क्षमता छ ।’ महिलाले नेतृत्व गरेको संस्था अब्बल आजभोलि शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहभागिता हुने गरेको भएपनि त्यो पर्याप्त छैन । नारी एउटा नारी मात्र नभइ आमा, छोरी, बुहारी सबै हुँदा उसको जिम्मेवारीले अघि बढ्न समस्या हुने गरेको अञ्जु बताउँछिन् । ‘महिलालाई कार्यालय, घरसँगै छोराछोरी जन्माउने, हुर्काउने जिम्मा पनि हुन्छ,’ उनी भन्छिन्, ‘पहिलेभन्दा अहिले सम्मान र अवसर बढ्दै गएको छ, तर सन्तान जन्माउनुपर्ने कारणले समाजका लागि गर्नुपर्ने योगदान दिन सकस हुन्छ ।’ उनका अनुसार अवसरका ढोकाहरू भने बढ्दै गएका छन् । हरेक संघसंस्थामा पुरुषको नेतृत्व बढी हुने गरेको भएपनि महिलाले नेतृत्व गरेका संस्था पुरुषले नेतृत्व गरेको तुलनामा अब्बल हुने गरेको उनको बुझाइ छ । अञ्जुलाई अझै यो स्कुललाई कसरी उत्कृष्ट बनाउने भन्ने हुटहुटी छ । यसका लागि उनी अभिभावक, शिक्षक, विद्यार्थीसँग बारम्बार छलफल गर्छिन् । अब छिट्टै १२ का कक्षा सुरु गर्ने तयारी विद्यालयको छ । ‘विद्यार्थीको सर्वाङ्गीण विकास गर्नुपर्छ, त्यसमा पनि विद्यार्थीमा सबैभन्दा संस्कार महत्त्वपूर्ण हो,’ उनी भन्छिन् ,‘पछिल्लो समय आध्यात्मिक चेतनाको जनजागरणमा पनि विद्यालयले काम गरिरहेको छ ।’ विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालीपन सनातन संस्कृति, नेपालको इतिहास, नेपालको माटो चिन्न सक्ने व्यक्ति बनाउन सक्नु नै विद्यालयको सफलताको रूपमा लिन सकिने उनको भनाइ छ । ‘जिन्दगीका गोरेटामा सुख, दुःख आउँछन्, त्यसलाई सामना गर्दै संर्घर्ष गरी अघि बढे आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । तर, आफ्नो रुचि स्पष्ट हुनुपर्छ,’ उनले भनिन् । सरकारको पाठ्यक्रम अक्षरा विद्यालयले नेपाल सरकारको पाठ्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्राथमिक शिक्षादेखि १० कक्षासम्म अध्ययन गराउँदै आएको यो विद्यालयले कक्षा कोठाभित्रको सिकाइ प्रविधिमा बालमैत्रीपूर्ण वातावरणमा अध्ययन गराउँदै आएको छ । निर्देशक अञ्जु नेपाल सरकारको पाठ्यक्रम उत्कृष्ट रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पाठ्यक्रम राम्रो छ तथापि केही सुधार गर्नुपर्ने पक्ष पनि छन् ।’ उनी पाठ्यक्रममा विषयवस्तु धेरै भएर अवधारणा अनुसार काम हुन नसकेको बताउँछिन् । ‘पाठ्यक्रमको आफ्नै खुट्टा हुँदैन, यो आफै चल्न सक्दैन, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा शिक्षा विद्यालयको हो,’ उनले भनिन् । शिक्षा अनुभवमा आधारित हुनुपर्छ । त्यसका लागि ज्ञान, सीप र व्यवहार आवश्यक हुन्छ । अञ्जु नेपालको समग्र शिक्षा हर्दा पाठ्यक्रमको कार्यान्वयन पक्षमा कमजोर रहेको बताउँछिन् । यसका लागि शिक्षकहरूमा तालिमको कमी देखिन्छ । ‘सरकारी स्कुलमा शिक्षकलाई तालिम बढी छ अभ्यास र प्रयोगको कमी छ, निजी स्कुलमा तालिम कम छ अभ्यास गर्न प्रयास गरेको देखिन्छ,’ उनी भन्छिन् ।
मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित
सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् । कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाए । प्रधानमन्त्री ओलीले आजै कर्णाली प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कर्मचारी खोज्दै क्याम्पियन कलेजमा १३ कम्पनी, पढ्दै काम गर्न पाउँदा विद्यार्थी मख्ख
काठमाडौं । झापाका आयुष तामाङलाई मंगलबार दिनभर फुर्सद थिएन । उनी आफू अध्ययनरत कलेजमा आएका विभिन्न कम्पनीसँग अन्तरवार्ता दिन व्यस्त थिए । बीबीए अन्तिम वर्षमा अध्ययनरत आयुषलाई पढाइसँगै काम गर्ने इच्छा छ । अब उनको ब्याचलर्सको पढाइ सकिन केही महिनामात्र बाँकी छ । बाँकी समय उनलाई कुनै कम्पनीमा काम गर्ने मन छ । आयुष भन्छन्, ‘अवसर मात्र पाइयो भने पनि काम सिक्ने अवसर हुन्छ, यसले पनि आज विभिन्न कम्पनीमा कामका लागि अन्तरवार्ता दिइरहेको छु । दुई-तीन ठाउँमा अन्तरवार्ता दिइसकें, रेसपोन्स पनि राम्रो आएको छ, हेरौं अब के हुन्छ ।’ उनी पढाइसँगै पहिलो पटक जागिर गर्न मार्केटको खोजीमा लागेकाले आफूलाई सुहाउँदा जस्तो काम गर्न पनि तयार छन् । सोही कलेजमा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत सलोनी अग्रवाल पनि चार कम्पनीमा अन्तरवार्ता दिएर फेरि अरू कम्पनीका बारेमा बुझ्ने तयारीमा थिइन् । आफू पढ्दै गरेको कलेजमा नाम चलेका कम्पनीहरू पुग्दा उनी निकै उत्साहित छिन् । भन्छिन्, ‘ब्याचलर्स पनि सकिन लाग्यो, कामको अनुभव पनि छैन । इन्टर्न मात्र पाउन सक्यो भने पछि सजिलो हुन्छ, यसका लागि विभिन्न कम्पनीका व्यक्तिसँग भेट्ने, कुरा गर्ने गरिरहेकी छु ।’ पाँचथरका योगेश रिजाल पढाइकै लागि काठमाडौं आएका हुन् । उनी पनि क्याम्पियन कलेजमा अध्ययन गरिरहेका छन् । बीबीए आठौं सेमेस्टर अध्ययनरत उनी पढेर काम गर्नुभन्दा पढ्दै काम गर्न पाए हुन्थ्यो भन्ने विचारमा छन् । यसका लागि उनी पनि आज विभिन्न कम्पनीका प्रतिनिधिसँग कामको खोजीमा थिए । पढेपछि जागिर खानै पर्छ, जागिर खोज्न बजार चहार्नुभन्दा कलेजमै कम्पनी आउँदा निकै सहज भएको योगेश बताउँछन् । ‘मैले अन्तरवार्ता दिएको कम्पनीबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ उनी भन्छन्, ‘यदि कम्पनीलाई मेरो आवश्यक छ भने पक्कै मलाई फोन आउनेछ ।’ सौरभ कार्कीले सबैभन्दा पहिले स्ट्रिक्स इंक कम्पनीमा गएर अन्तर्वार्ता दिए । उनलाई यो कम्पनीले अकाउन्टिङ, बिलिङ सफ्टवेयर सम्बन्धी काम गर्छ भन्ने थाहा भयो । सौरभलाई कम्पनीले गर्ने कामले अझ आकर्षण गर्यो । उनी भन्छन्, ‘अहिले जति पनि व्यवसायहरू छन् उनीहरूले अनलाइन बिलिङ गर्छन्, यो क्षेत्रमा काम गर्ने रुचि मेरो छ । अन्तरवार्ता दिँदा पनि राम्रो रेसपोन्स पाएको छु, हेरौं अवसर पायो भने काम गरिन्छ ।’ आवश्यक कार्यक्रम विद्यार्थीहरू कलेजमा यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउँछन् । किताबी ज्ञानमा मात्र सीमित नराखी पढाइसँगै कामको अवसर सिर्जना गरिनु कलेजको दायित्व रहेको उनीहरूको भनाइ छ । कलेजमा विभिन्न कम्पनीसँग अन्तरवार्ता दिरहेका विद्यार्थी यो कार्यक्रमले आफूहरूलाई सहज भएको बताइरहेका थिए । उनीहरू भन्छन्, ‘कम्पनीलाई पनि कामदार चाहिएको हुन्छ, हामीलाई काम । यस्तो अवस्थामा कलेजले दुई क्षेत्रलाई मिलाइदिने प्रयासमात्र गर्दा पनि ठूलो सहयोग हुन्छ ।’ ‘हामी ब्याचलर्स सकेर अब बाहिर जाँदै छौँ, कामको कुनै अनुभव छैन,’ उनीहरू भन्छन्, ‘जुन सुविधा अवसर हामीलाई यस कलेजले दिएको छ, यस्तो सबै कलेजले आफ्नो विद्यार्थीलाई दिनुपर्छ ।’ म्यानेजमेन्ट हरेक क्षेत्रमा आवश्यक पर्छ । जुनसकै व्यवसायमा पनि राम्रो व्यस्थापन भएन भने राम्रोसँग चल्न सक्दैन । विद्यार्थीहरू यो कार्यक्रम कलेजले विद्यार्थीलाई दिएको ठूलो अवसर रहेको बताउँछन् । कलेजले दिलाएको अवसर मनिसा भण्डारी गएको वर्षमात्र क्याम्पियन कलेजबाट ग्राजुएट छात्रा हुन् । उनी अहिले काठमाडौंमा रहेको पिभोटेक कम्पनीमा बिजनेस डेवलपमेन्ट एग्जुकेटीभको रूपमा काम गरिरहेकी छिन् । मंगलबार उनी त्यही कम्पनीको प्रतिनिधित्व गर्दै क्याम्पियन कलेजमा पुगेकी थिइन्, जहाँ उनी आफ्नो कम्पनीको लागि आवश्क कामदार छनोटको रूपमा विद्यार्थीसँग अन्तरवार्ता गर्न व्यस्त थिइन् । विकासन्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘यदि यो कलेजले यस्तो अवसर दिएको भए म आज यही कलेजमा आएर यहाँका विद्यार्थीसँग अन्तरवार्ता लिइरहेको हुँदैनथे, यो कलेजले विद्यार्थीलाई दिएको यो राम्रो अवसर हो । यही अवसरको सदुपयोग मैले पनि गरेकी हुँ ।’ मनिसा कलेजले गर्ने यस्तो कार्यक्रमले धेरै विद्यार्थीमा अनुभव र आत्मविश्वास बढाउने सुनाउँछिन् । उनी भन्छिन्, ‘कुन कम्पनीले विज्ञापन गरेको छ भन्दै इन्टरनेट सर्च गर्दै बजारमा डुल्नुपथ्र्यो, मैले प्लेटफर्म कलेजमै भेटें, यस्तै अवसर अन्य विद्यार्थीले पनि पाउनुपर्छ ।’ एउटै ठाउँमा १३ कम्पनी कुपण्डोलमा रहेको क्याम्पियन कलेजले आयोजना गरेको ‘जब प्लेसमेन्ट’ जब फेयर कार्यक्रममा विभिन्न १३ वटा कम्पनीको सहभागिता थियो । जसमा सिजी क्रप ग्लोबल, नबिल बैंक, ईसेवा, सिपर्दी, मेरो किराना डटकम, रोलिङ नेक्सस, रोजगार स्निपर, इको इन्फिनिटी, स्क्लिस्पार्क, नेपमिड्स, पिभोटेक, स्ट्रिक्स इंक, र सेल्सजव कम्पनी थिए । उनीहरूले आफूलाई आवश्यक कामदार खोजिरहेका थिए । कलेजमा सहभागी विद्यार्थीसँग अन्तरवार्ता गर्दै कम्पनीले उनीहरूका रुचि र क्षमताका आधारमा आवश्यक विद्यार्थी छनोट गर्नेछन् । धेरैजसो कम्पनीहरू आफूलाई सुहाउँदो कामदार पाउन नसकेको बताउँदै आएकाले कलेजमै गएर रोजगारदातासँग अन्तरवार्ता गर्दा भने अनुसार कामदार पाउने अपेक्षा गरेका छन् । उनीहरूले यस्तो अवसर दिएको क्याम्पियन कलेजलाई बधाईसमेत दिएका छन् । उत्कृष्ट विद्यार्थी मेरो किराना डटकम एउटा अनलाई प्लटेफर्म हो । यसले किरानाका सामग्रीहरू होम डेलिभरी गर्दै आइरहेको छ । किराना डटकमका प्रशासन प्रमुख प्रवीन कार्की आफूलाई आवश्यक र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै कलेजमा पुगेको बताए । उनले कलेजमा आफूले सोचेको भन्दा राम्रा क्षमतावान विद्यार्थी रहेको बताए । ‘यो कार्यक्रमबाट हामीले पनि केही सिक्ने मौका पायौं, विद्यार्थीले पनि केही जान्ने अवसर पाउनु भयो,’ उनी भन्छन्, ‘विद्यार्थीलाई जागरि खोज्न कहाँ जाने भन्ने समस्या र कम्पनीलाई रोजगारदाता कहाँ खोज्ने भन्ने समस्यालाई यस्ता कार्यक्रमले समाधान गर्छ ।’ ट्रेनी इन्स्च्यिुट हो । यसले फरक–फरक सीपमा आधारित तालिम दिन्छ । यहाँ ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, इथिकल ह्याकिङलगायतका सर्टटम कोर्स दिने गर्छ । यो कोर्स सकिएपछि विद्यार्थीलाई इन्टर्नसिप वा जब प्लेसमेन्ट दिने गर्छ । स्किलस्पार्क कम्पनीकी सिर्जना झाले कम्पनीमा इन्टर्नहरूको आवश्यकता भएकाले राम्रो कामदार खोज्न कलेजमा पुगेको बताइन् । उनले करिब १० जना विद्यार्थीसँग कुराकानी गर्दा उनीहरूको रुचि फाइनान्स, मार्केटिङ, सेल्स मार्केटिङ रहेको पाइन् । आफ्नो कम्पनीलाई आवश्यक ४-५ जना विद्यार्थी उनले भेटाइन् । नेपालमै अवसर छ भन्ने सन्देश दिनु उद्देश्य जब प्लेसमेन्ट कार्यक्रम क्याम्पियन कलेजको महत्वपूर्ण कार्यक्रम हो । हरेक वर्षको एक पटक यो कार्यक्रम कलेजले गर्दै आएको कलेका प्रधानाध्यापक अनामिका श्रीवास्तवले बताइन् । उनले विद्यार्थीलाई पढाइसँगै उद्योगसँग जोड्ने सेतुको रूपमा काम गरिरहेको दाबी गरिन् । यो कलेजमा अध्ययनरत विद्यार्थीले यस्तै अवसर पाएर राम्रो कम्पनीमा राम्रो पदमा पुगेर काम गरिरहेको बताइन् । अनामिका श्रीवास्तव । गत वर्ष भएको कार्यक्रमबाट मात्र ३२ जना विद्यार्थीले जागिर पाएको अनामिकाको दाबी छ । जब प्लेसमेन्ट कार्यक्रम तीन दिनसम्म चल्छ । जसमा पहिलो दिन विद्यार्थीलाई बायोडाटा सीभी लेखन, अन्तरवार्ता दिने तरिका, इमेल लेख्ने तरिका सिकाइन्छ भने अन्तिम दिन विभिन्न उद्योग कम्पनीलाई बोलाएर जागिर खोज्ने अवसर सिर्जना गरिन्छ । ‘हाम्रो उद्देश्य भनेको रोजगारीको अवसर हाम्रो देशमै छ भन्ने सन्देश दिनु हो,’ उनी भन्छिन्, ‘अहिले विद्यार्थी नेपाल बस्न मानिरहेका छैनन्, । उनीहरूले सिस्टममाथि विश्वास गर्न छाडेका छन् । यस्तो अवस्थमा नेपाली कलेजमा पढ्दा पनि अवसर छ भनेर देखाउनु हाम्रो कलेजको उद्देश्य पनि हो ।’ उनले हरेक वर्ष कलेजले गर्ने यस्ता कार्यक्रमले शिक्षा र बजारलाई जोडिरहेको बताइन् । ‘यस्ता कार्यक्रमले शिक्षा र बजारलाई जोडिरहेको छ । यसले हाम्रा विद्यार्थीलाई जागिर खोज्न भौँतारिन परेको छैन । नेपालमा जागिर पाइँदैन भन्ने भाष्य पनि हामीले चिरिरहेका छौं,’ अनामिकाले भनिन् ।