पुस्तक पढ्ने बानी बसाउन राष्ट्रिय पुस्तक नीति बनाइँदै, १५ वर्षसम्म काम गरेन कार्यदलले

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । सो क्रममा सोमबार सो मन्त्रालयले मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गर्यो । कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् । पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने भट्टराईले बताइन् । मन्त्री भट्टराईले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्‌नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने र यसका लागि समुदाय स्तरमा प्रशस्त मात्रामा पुस्तकालयको आवश्यकता बोध गराउनुपर्ने बनाइन् । पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले छिटो यसलाइ लागू गरिने बताइन् । उनले प्रकाशक, लेखक पुस्तक व्यवसायी सहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताइन् । अन्तरक्रियामा प्रतिनिधि सभा सदस्य मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभई होटल , रेस्टुरेन्टमा समेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमा समेत पहुँच बढाएर गुणस्तरिय पुस्तक सबैलाई उपलब्ध गराउने सहज बाताबरण बनाउन केन्द्रीत हुनुपर्ने बताए । अन्तरक्रियामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, विभिन्न प्रकाशनहरू, काठमाडौं उपत्यका सार्वजानिक पुस्तकालय सहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल , डिल्लीरमण रेग्मी पुस्तकालय ,नेपाल राष्ट्रिय पुस्तक तथा बिक्रेता सङ्‌घ, नेपाल सामुदायिक पुस्तकालय संघ, त्रिवि केन्द्रीय पुस्त‌कालय, नेपाल पुस्तकालय सङ्‌घ, मन्त्रालयका कर्मचारी लगायतको संलग्नता थियो । अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षा सहित सुधारका लागि विभिन्न सुभाव प्राप्त भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । वि स २०६४ देखि विभिन्न कार्यदल गठन हुदै मस्यौदा तयार पारिएको भए पनि हाल सम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षक बन्ने धन्दा !

काठमाडौं । धनुषाको श्री नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षिका सीताकुमारी यादवले जागिर खान झुटा शैक्षिक प्रमाणपत्र पेस गरिन् । राहत कोटामा शिक्षकको जागिर खाएकी उनको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्र नक्कली पेस गरेको थाहा भएपछि उजुरी पर्‍यो । बिहार संस्कृत शिक्षा बोर्डबाट जारी भएको भनिएको माद्यामिक तहको नक्कली शैक्षिक प्रमाणपत्रहरू पेस गरी उनले प्राथमिक तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति लिएकी थिइन् । गत वर्ष साउन ४ गते उनी विरुद्ध उजुरी परेपछि ७ गते नक्कली कागजात पेश भएको पुष्टि भयो । यस्तै, नुवाकोटको श्री कन्यादेवी आधारभूत विद्यालयकी शिक्षिका मञ्जुकुमारी थापा ओझाले पनि नक्कली प्रमाणपत्र पेस गरी जागिर खाइन् । नुवाकोटको विदुर नगरपालिका-१३ की उनले एसएलसी तहको प्रमाणपत्र भारतबाट नक्कली ल्याएको अनुसन्धानबाट खुल्यो । गत वर्षको साउन १८ गते प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक सेवा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको पाइएको हो । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको दशरथ माध्यमिक विद्यालयका शिक्षक महेश शाहले पनि जागिरकै लागि नक्कली कागजात पेस गरे । राहत शिक्षकमा कार्यरत शाहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट खुल्यो । उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट जारी भएको भनिएको इन्टरमिडिएट परीक्षाको नक्कली प्रमाणपत्र पेस गरी माध्यमिक तहमा सामाजिक/अर्थशास्त्र विषयको शिक्षक पदमा नियुक्ति लिएका थिए । यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका-४ स्थित श्री मुक्तिधाम आधारभूत विद्यालयकी शिक्षिका डिलमाया कुमारी कँडेलको शैक्षिक प्रमाणपत्र र अध्यापन अनुमतिपत्र दुवै नक्कली पेस गरी जागिर खाइन् । उनले प्राविमा राहत शिक्षकको नियुक्ति लिन दुवै नक्कली प्रमाणपत्र पेस गरेकी थिइन् । उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको हाइस्कुल परीक्षा तहको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुल्यो । कास्कीको पोखरा महानगरपालिका-८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयकी स्थायी शिक्षिका बिन्दु गौतम शर्माले पेस गरेको नक्कली प्रमाणपत्र पनि भारतबाटै ल्याएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी केलाउँदा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्ति लिएको पाइएको हो । तनहुँ, व्यास नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्यायले पनि भारतबाटै नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएकी थिइन् । माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा जागिर खाँदै आएकी थिइन् । गत वर्षको फागुन १४ गते उनीविरुद्ध उजरी परेपछि यो कुरा थाहा भएको हो । यस्तै, पर्साको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुरमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मी डडेल्धुराको देवल उमाविका प्राविका द्वितीय तहमा कार्यरत शिक्षक मदनराज पन्तले पनि भारतबाट नक्कली प्रमाणपत्र ल्याएको पाइएको छ । स्रोत : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग । यी केही प्रतिनिधिन पात्र र घटनाहरू हुन् । पछिल्लो समय नक्कली शैक्षिक प्रमाणपत्रहरू बनाएर विद्यालय तथा कलेजमा जागिर खाने शिक्षक तथा प्राध्यापकहरूको संख्या बढेको छ । यी घटनाहरू स्थानीयको उजुरीका आधारमा अनुसन्धान गर्दा पत्ता लागेका हुन् । उजुरी नपरेर नक्कली शैक्षिक पत्र बनाउर जागिर खानेकोहरुको संख्या समाजको ठूलो रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीलाई सही बाटो देखाउने ठूलो जिम्मेवारी शिक्षकको काँधमा हुन्छ । घरपछि विद्यार्थीको सिकाइको पाठशाला विद्यालय हो । शिक्षकको भरोसामै अभिभावकले आफ्ना बालबच्चा छोड्छन् । बालबच्चाहरूले बढीभन्दा बढी शिक्षा सिक्न पाउने आशा अभिभावकको हुन्छ । तर, अभिभावकले नै भरोसा गरेका शिक्षकहरूले के सही शिक्षा दिरहेका छन् ? यो कुरामा भने अभिभावकको ध्यान कमै जान्छ । बेलाबेलामा नेपालका शिक्षकको क्षमतामाथि प्रश्न उठ्ने गरेको छ । अझ त्यसमाथि प्रमाणपत्र नै नक्कली पेस गरी जागिर खाइरहेका शिक्षकले कस्तो शिक्षा दिरहेका होलान् ? अख्तियारमा उजुरी परेका अधिकांश शिक्षकका नक्कली प्रमाणपत्र भारतबाट ल्याएको पाइएको छ । उनीहरूले भारतका विभिन्न कलेजबाट आफू पास भएको प्रमाणपत्र ल्याउँदै नेपालमा जागिर खाने गरेको पाइएको हो । ३४ जना विरुद्ध उजुरी स्रोत : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग । शैक्षिक संस्थामा अध्यापनरत शिक्षक र प्राधानाध्यापकले नक्कली प्रमाणपत्र पेस गर्दै जागिर खाने प्रवृत्ति बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा जारी गरेको चौंतिसौं वार्षिक प्रतिवेदनले नक्कली प्रमाणपत्र पेस गर्दै जागिर खाने प्रवृत्ति बढेको जनाएको हो । प्रतिवेदनमा झुटा विवरण पेस गर्ने ३४ जना विरुद्ध अख्तियारमा मुद्दा परेको उल्लेख छ । जसमा मनोनित (राजनीति नियुक्ति) १ जना, उपसचिवा सो सरह ३ जना, शाखा अधिकृत वा सो सरह ११ जना, नायव सुब्बा वा सो सरह ४ जना र खरिददार वा सो सरह १५ जना गरी ३४ जना शिक्षक कर्मचारी विरुद्ध उजुरी परेको हो । हजार बढी शैक्षिक मुद्दा आयोगले स्थापनाकालदेखि हालसम्मका मुद्दा विवरणअनुसार सबैभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्रका पर्ने गरेको जनाएको छ । आयोगको स्थापनाकालदेखि हालसम्म ३४ वर्षको अवधिमा आयोगले जम्मा ३ हजार ४ सय ८५ वटा मुद्दाहरू अदालतमा दायर गरेको छ । जसअनुसार औसतमा प्रतिवर्ष १०५ भन्दा बढी आरोपपत्रहरू अदालतमा दर्ता भएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएपश्चात् आयोगबाट हालसम्म अदालतमा दर्ता भएका ३ हजार ३ सय ६९ आरोपपत्रहरूमध्ये विषयगत रूपमा हेर्दा सबैभन्दा बढी १ हजार २ सय ४२ वटा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्रहरू रहेको आयोगले जनाएको छ । त्यसपछि घुस रिसवतसम्बन्धी ८ सय ७५ वटा आरोपपत्रहरू रहेका छन् । गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको संख्या भने १ सय ५४ वटा रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै मुद्दा आर्थिक वर्ष २०७६/७७ मा दायर भएका थिए भने आर्थिक वर्ष २०६६/६७ मा सबैभन्दा कम मुद्दा दर्ता भएका थिए । नक्कली प्रमाणपत्रले शिक्षा प्रणालीमै असर नेपालको शिक्षा क्षेत्रमा नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने कुरा नौलो होइन । बेला बखत यस्ता घटनाहरू बाहिर आइरहेका हुन्छन् । यस्ता घटनाले नेपालको नेपालको शिक्षा प्रणालीमाथि नै प्रश्न उठाउने विज्ञहरू बताउँछन् । स्रोत : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग । शिक्षाविद् डा. विष्णु कार्की यस्ता घटनाले अहिले शिक्षा क्षेत्रमा आफूहरूले उठाइरहेको कुरालाई असर पर्ने बताउँछन् । शिक्षालाई प्राविधिमैत्री बनाऊँ, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गरौं भनिरहँदा शिक्षक नै यस्तो हर्कतमा लागे अघि बढ्न नसकिने उनको तर्क छ । शिक्षाविद् कार्की यसको लागि सबै एकजुट हुनुपर्ने बताउँछन् । ‘शिक्षामा बढी नै लापरवाही छ भन्ने कुरा आजमात्र होइन, पहिलेदेखि नै उठ्दै आएको पाइन्छ,’ उनी भन्छन्, ‘शिक्षकले नै जथाभावी, मनपरी हिसाबले नक्कली प्रमाणपत्र पेस गर्दा यसलाई रोक्ने कसले भन्ने प्रश्न उठ्छ ।’ उनी यस्ता विकृति रोक्न शिक्षक संघसंगठन नै बढी अग्रसर हुनुपर्ने बताउँछन् । ‘साथीहरूलाई नियम कानुनभित्र रहेर काम गरौंभन्दा सह्य हुँदैन,’ उनी थप्छन्, ‘शिक्षकमा हामीले चाहेको शैक्षिक योग्यता, अध्यापनको अनुभव न्यूनतम मापदण्ड हो । यो नभइकन कसरी गुणस्तर शिक्षा दिन सकिँदैन । पहिलो खुड्किलोमै ठेस लाग्दा माथि उक्लन जोखिम हुन्छ, यो विषयमा सबै लाग्नुपर्छ ।’ शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी अयोग्य व्यक्तिहरू सार्वजनिक पदमा प्रवेश हुँदा योग्य व्यक्तिको छनोटमा असर पर्दछ भने नक्कली प्रमाणपत्रको आधारमा पदोन्नति हुँदा योग्य र सक्षम कर्मचारीको मनोबल र कार्यालयको कार्यसम्पादनमा समेत नकारात्मक असर पर्छ ।

विदेश पढ्ने योजनामा हुनुहुन्छ ? यी हुन सक्छन् पूर्ण छात्रवृत्ति

काठमाडौं । पैसा छैन भन्दैमा अब कुनै पनि विद्यार्थीले पढाइबाट वञ्चित हुन पर्दैन । बस् यसका लागि तपाईं मेहनती र क्षमतावान हुनुपर्‍यो । यतिमात्र होइन, विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । तपाईं विश्वका जुनसुकै कलेजमा आफ्नो एक पैसा खर्च नगरी स्नातक, स्नातकोत्तर र पीएचडीसम्मकै अध्ययन गर्न सकिन्छ । क्षमतावान विद्यार्थीलाई विभिन्न देश वा सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ । जहाँ तपाईंलाई अध्ययन गर्न मात्र होइन, आवतजावत, बस्ने खानलगायत स्वास्थ्य कोषको पनि सुविधा छ । आउनूहोस् यस्ता सुविधा दिने विश्वका १० संस्थाबारे छोटकरीमा जानकारी राखौं । १.येल विश्वविद्यालय छात्रवृत्ति अमरेिकामा रहेकाे यो विश्वविद्यालयले स्नातक विद्यार्थीहरूको लागि आवश्यकतामा आधारित छात्रवृत्ति प्रदान गर्दछ । जसलाई येल छात्रवृत्ति भनिन्छ । यो छात्रवृत्ति वास्तवमा एउटा अनुदान हो, जुन फिर्ता गर्नुपर्ने हुँदैन । जसको अर्थ विद्यार्थीहरूले स्नातकपछि यसलाई फिर्ता गर्नु पर्दैन । यो नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध छ । जसले वित्तीय आवश्यकताको आधारमा योग्यता प्राप्त गर्छन् । यस छात्रवृत्तिले औसतमा ५० हजार डलरसम्मको सहायता प्रदान गर्दछ । २. मेक्स्ट छात्रवृत्ति जापानको शिक्षा, संस्कृति मन्त्रालय र खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयद्वारा यो छात्रवृत्ति प्रदान गरिन्छ । यो विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापानमा अध्ययन गर्नका लागि गरिएकाे डिजाइन गरिएको हो । यो जापानको टोक्यो विश्वविद्यालय, क्योकुशु विश्वविद्यालय, ओसाका विश्वविद्यालय, टोक्यो मेधा विश्वपिद्यालय र क्योटो विश्वविद्यालयबाट दिइन्छ । जहाँ स्नातक, स्नातकोत्तर र अनुसन्धान गर्ने विद्यार्थीका लागि छात्रवृत्ति दिने गरिन्छ । जसमा लागि १ लाख १७ हजार येनदेखि २ लाख ४२ हजारसम्मको मासिक रकम उपलब्ध गराउने गरिन्छ । जसमा नेपाललगायतका अन्य देशका विद्यार्थीले पनि सहभागिता जनाउन सक्छन् । ३. फुलब्राइट विदेशी विद्यार्थी कार्यक्रम फुलब्राइट विदेशी विद्यार्थी कार्यक्रमले विभिन्न क्षेत्रमा स्नातक डिग्री, विशेषगरी मास्टर्स र पीएचडी कार्यक्रमहरूमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने गर्दछ । यसमा आवेदन दिन अमेरिकाबाहेक अन्य सबै देशका विद्यार्थीहरू पाउनेछन् । अमेरिकी अध्ययनमा आफ्नो शिक्षा अगाडि बढाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि याे ठूलो अवसर हो । जसले पर्याप्त वित्तीय सहयोग प्राप्त गर्नमा मद्दत गर्दछ । यस छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्दछ, जसमा ट्यूसन शुल्क, हवाई यात्रा खर्च, जीविकोपार्जन भत्ता, स्वास्थ्य बीमा र थप लाभहरू समावेश छन् । यसको उद्देश्य अमेरिका र अन्य देशबीचको आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो । ४.मोनाश विश्वविद्यालय छात्रवृत्ति मोनाश विश्वविद्यालयले आफ्नो स्नातक कार्यक्रमहरूमा भर्ना हुन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मोनाश ह्युमनिटेरियन छात्रवृत्ति प्रदान गर्दछ । यस छात्रवृत्तिले सम्पूर्ण ट्यूशन शुल्क कभर गर्छ र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई वार्षिक ६ हजार डलर भत्ता पनि प्रदान गर्छ । यो नेपाली र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि खुला छ तर अस्ट्रेलियाका नागरिकहरूका लागि उपलब्ध छैन । ५.स्ट्यानफोर्ड विश्वविद्यालय छात्रवृत्ति स्ट्यानफाेर्ड विश्वविद्यालयअन्तर्गत स्नातक तहमा आवेदन दिने विद्यार्थीहरूले आफ्नो भर्ना आवेदनको साथ आवश्यकतामा आधारित आर्थिक सहायता कार्यक्रमको लागि निवेदन गर्न सक्छन् । नाइट–हेनेसी छात्रवृत्तिअन्तर्गत विद्यार्थीहरूले कुनै पनि स्ट्यानफोर्ड स्नातक डिग्रीका लागि तीन वर्षसम्मको वित्तीय सहयोग प्राप्त गर्न सक्छन्, जसमा ट्यूशन शुल्क, जीविकोपार्जन खर्च र वार्षिक यात्रा भत्ताको कभर समावेश छ । नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्थानान्तरण भत्ता प्राप्त गर्न सक्छन् र दोस्रो तथा तेस्रो वर्षका विद्यार्थीहरूले शैक्षिक गतिविधिहरूका लागि थप कोषको खोजी गर्न सक्छन्। यो वित्तीय सहयोग सम्बन्धित डिग्री कार्यक्रममा लागू हुन्छ, तर छात्रवृत्ति जित्नेहरूले अर्को स्नातक कार्यक्रमका लागि अतिरिक्त कोषको अनुरोध गर्न सक्छन् । यद्यपि यो ग्यारेन्टी गरिएको हुँदैन। यदि कार्यक्रम तीन वर्षभन्दा बढी समयको छ भने वित्तीय सहयोग सम्बन्धित विभाग वा विद्यालयको मानक प्रतिबद्धतासँग मेल खाने गरी मिलाइन्छ। ६. चिभनिङ छात्रवृत्ति चिभनिङ छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्छ, जसमा हवाई उडान खर्च, आवास र कोर्स शुल्क समावेश छन् । यसले प्राप्तकर्ताहरूलाई आफ्ना व्यावसायिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न र एक वर्षको लागि युकेमा परिवर्तनकारी अनुभव लिन अनुमति दिन्छ । चिभनिङ छात्रवृत्ति युके सरकारको विश्वव्यापी छात्रवृत्ति कार्यक्रम हो ।  यी छात्रवृत्तिहरू असाधारण नेतृत्व क्षमतायुक्त उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गरिन्छ । ७.नेदरल्याण्ड सरकारी छात्रवृत्ति यो एक शैक्षिक उपलब्धिमा आधारित छात्रवृत्ति हो । जसले ट्यूशन शुल्क कभर गर्छ । यो गैर इयु, गैर ईईए देशका विद्यार्थीहरूका लागि योग्य छ । हल्यान्ड छात्रवृत्ति कार्यक्रम (एचएसपी) ले जीविकोपार्जन खर्चको लागि आर्थिक सहयोग प्रदान गर्दछ । त्यसैगरी, ओरेन्ज ट्यूलिप छात्रवृत्ति –ओटीएस) विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको छ । ओटीएसकाका लागि आवेदन दिने विद्यार्थीहरूले भीयूएफपी र एचएसपीसँगै आवेदन दिनुपर्ने हुन्छ । ८.गेट्स क्याम्ब्रिज छात्रवृत्ति गेट्स क्याम्ब्रिज छात्रवृत्तिले त्यहाँ अध्ययनका लागि सबै खर्चहरू कभर गर्छ र थप कोष प्रदान गर्दछ । विश्वविद्यालय रचना शुल्क वार्षिक मर्मत भत्ता २० हजार युरोसम्म ४ वर्षको लागि प्रदान गरिन्छ । हवाई यात्रा खर्च, भिसा खर्च,  स्वास्थ्य शुल्क, स्वास्थयबीमाको पनि सुविधा हुन्छ । यस छात्रवृत्तिले गेट्स क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई व्यापक सहयोग प्रदान गर्दछ । ९. केएआइएसटी विश्वविद्यालय छात्रवृत्ति   केएआइएसटी विश्वविद्यालयले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति अवसरहरू प्रदान गर्छ । जसमा प्रतिष्ठित प्रेसिडेन्सियल साइन्स छात्रवृत्ति, नेशनल एक्सिलेन्स छात्रवृत्ति, नेशनल छात्रवृत्ति, कम आय परिवार छात्रवृत्ति, वित्तीय सहायता छात्रवृत्ति, र बाह्य छात्रवृत्तिहरू समावेश छन् । यी छात्रवृत्तिहरू विद्यार्थीहरूको विविध आर्थिक अवस्थालाई समर्थन गर्न डिजाइन गरिएका हुन्। यसको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक र आर्थिक रूपमा सहयोग पुर्‍याउनु हो । जसले उनीहरूलाई आफ्नो अध्ययनमा केन्द्रित हुन र शैक्षिक सफलतामा प्रगति गर्न सक्षम बनाउँछ। यीमध्ये धेरै कार्यक्रमहरूले ट्यूशन शुल्क मात्र नभई जीविकोपार्जन खर्चको लागि पनि सहयोग प्रदान गर्छन् । विविध छात्रवृत्ति अवसरहरू उपलब्ध गराएर विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई आर्थिक बोझ बिना आफ्नो शिक्षा अगाडि बढाउन मौका दिन चाहन्छ । यसले विविध र समावेशी शैक्षिक समुदायलाई प्रोत्साहन दिन मद्दत गर्दछ । १०.टर्की सरकार छात्रवृत्ति टर्की सरकार छात्रवृत्ति टर्कीका विश्वविद्यालयहरूले प्रदान गर्ने विभिन्न विषयहरूमा स्नातक, स्नातकोत्तर, पीएचडी र पोस्ट डक डिग्रीहरूका लागि उपलब्ध छन् ।  टर्की सरकारद्वारा प्रायोजित यस छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्दछ, जसमा ट्यूशन शुल्क, भत्ता, र अन्य लाभहरू समावेश छन् । यो छात्रवृत्ति टर्कीका नागरिकहरू बाहेक सबै राष्ट्रियताका आवेदनदाताहरूका लागि खुला छ।