मन्थलीका ३ सय बढी छात्रालाई छात्रावृत्ति वितरण

मन्थली । रामेछापको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न ९ वटा विद्यालयका ३ सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रावृत्ति वितरण गरेका छन् । उनले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गरेका हुन् । ती विद्यालयले छनोट गरेका गरिब तथा जेहेन्दार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ । उनले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताए । पूर्ण छात्रावृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको छ भने आंशिकतर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ । सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताइन् । भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफू जस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँछिन् । ‘गाउँमा अझै छोराछोरीबीचको विभेद् कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ,’ तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भने, ‘शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।’ आठ वर्ष अघिदेखि छात्रावृत्ति कार्यक्रम सञ्चालन गदै आएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौँ हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष १० लाखभन्दा बढी खर्च हुने गरेको छ । छात्रावृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसका ६ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मावि गैराथोकका १०÷१० जना विद्यार्थी रहेका छन् । त्यसैगरी जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ र मावि चिण्डे फूलासीका १ सय १३ गरी कूल ३ सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

घोराही उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था

घोराही । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर एसइईको नतिजामा ल्याएको जिपिएका आधारमा फाराम भर्न आह्वान गरी विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका लागि कक्षा ११ र १२ मा कुनै पनि शुल्क नलाग्ने भएको छ । उपमहानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०८० को दफा ६।४ मा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शिक्षण शुल्क र परीक्षा शुल्क लिन नपाउने तथा दफा ४।१० मा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीबाट विद्यालयले भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क लिइसकेको भए सो शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्नुपर्ने छ । घोराहीका ज्ञानसिन्धु, दाङभ्याली, अल्फा, माउन्ट भ्यू, नेपाल पुलिस, जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, दीपशिखा आवासीय मावि, विद्यानीलकण्ठ, गोरखा इन्टरनेशनल, गोदावरी, ग्यालेक्सी, गुरुकूल, मनकामना, मेचीकाली, शान्तिसुधा र हिन्दू विद्यापीठगरी १७ विद्यालयले नियममा भएबमोजिम छात्रवृत्तिमा पढाउनुपर्ने छ । तोकिएका सङ्ख्याअनुसार विद्यार्थीको नाम र पढ्न चाहेको विषय उल्लेखगरी छात्रवृत्तिका लागि उपमहानगरको सामाजिक विकास शाखाले ती सबै विद्यालयमा पत्र पठाइसकेको उपमहानगरपालिकाले जनाएको छ ।

निजी विद्यालयलाई माथ खुवाइरहेको विश्व निकेतनको कथा

काठमाडौं । कुनै पनि विद्यालयलाई मुल्यांकन गर्ने प्रमुख आधार उसले दिने नतिजा हो । यस्तै, उत्कृष्ट नतिजा दिएर काठमाडौं उपत्यकामा पृथक किसिमको छवि निर्माण गर्न सफल सामुदायिक विद्यालय हो विश्व निकेतन माध्यामिक विद्यालय । काठमाडौंको त्रिपरेश्वरमा रहेको यो विद्यालयमा भर्ना हुने चाहने विद्यार्थी र भर्ना गराउन चाहने अभिभावको भीड नै लाग्छ । त्यसको एउटै कारण हो यस विद्यालयमा पढेका विद्यार्थी उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन्छन् । पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षा पद्दतिसँग प्रश्न उठिरहेको बेला विश्व निकेतनले भने त्यो प्रश्नको प्रतिकार गरिरहेको छ । विद्यार्थीहरू विश्व निकेतनमा निजी विद्यालय छोडेर आउने गरेका छन् । वि.सं २००३ मा स्थापना भएको यो विद्यालयले ७८ वर्षको अवधिमा हजाराँं विद्यार्थी उत्पादन गरिसकेको छ । जहाँबाट उत्पादन भएका विद्यार्थी अहिले देशको सर्वोच्च पद र ओहोदामा छन् । बाल शिक्षादेखि कक्षा १२ सम्म अध्यापन गराइने यो विद्यालयमा अहिले चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । जहाँ १ सय ६० जना शिक्षक तथा कर्मचारी छन् । यो विद्यालयलाई शिक्षा मन्त्रालयले २०७४ सालमा केन्द्रीय नमुना विद्यालय घोषणा गरेको थियो । जसअनुसार विद्यालयले प्राविधिक, भौतिक, शैक्षिक र व्यवस्थापकीय सहयोग पाइरहेको छ । यस्तै, प्रदेश सरकारबाट पूर्णविद्यालय नर्सदेखि विभिन्न सहयोग पाएको छ । स्थानीय सरकारले पनि भवन बनाइदिनेदेखि अन्य भौतिक संरचनाको सहयोग गरिरहेको छ । विश्व निकेतन माद्यामिकका प्रधानाध्यापक हेरम्बराज कँडेल । तस्बिर : साैगात पुडासैनी । काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी ३० रुपैयाँका दरले दिवाखाजा पनि सहयोग गरिरहेको छ । तीनै तहका सरकारको सहयोग, अभिभावकको विश्वासलाई कुठाराघात हुन नदिएर विद्यालयले पठनपाठनलाई न्याय गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । विद्यार्थीको चापले भर्ना लिन सकस विद्यायमा भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्थामा विद्यालय छैन । शैक्षिकसत्र २०८१ मा कक्षा १ देखि ९ सम्म भर्ना खुल्दा ३ हजार ८ सय बढी विद्यार्थीले प्रवेश परिक्षा दिए । तर, विद्यालयले ४ सय ७५ विद्यार्थीलाइ मात्र भर्ना गर्यो । बाँकी विद्यार्थीको भर्ना लिन सकेन । ‘भर्ना हुन आएका विद्यार्थीलाई फर्ता गराउनु हाम्रो मनसाय होइन,’ प्रधानाध्यापक कँडेल भन्छन्, ‘भर्ना हुन आएका सबैलाई पढाउन सम्भव छैन, सिमितलाई भर्ना गर्नु पर्ने बाध्यता छ, त्यसैले पनि भर्ना हुन आएका विद्यार्थीलाई छनोट गरेर राख्छौँ ।’ प्राथना गर्दै विश्व निकेतन माद्यामिक विद्यालयका विद्यार्थी । यस्तै यो वर्ष कक्षा ११ को भर्नाका लागि विद्यालयले लिएको प्रवेश परिक्षामा ४ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिए । तर, विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी कानुन, इलेक्ट्रिक इन्जिनियरमा करिब १ हजार ३ सय विद्यार्थीको भर्ना लिएको उनले जानकारी दिए । नतिजामा पनि उत्कृष्ट यो विद्यालय विद्यार्थी र अभिभावकको रुचिमा पर्नुको कारण नतिजा हो । विद्यालयले १ देखि १२ कक्षासम्म उत्कृष्ट नतिजा दिँदै आएको छ । वि.सं २०८० सालमा दिएको एसईईको परीक्षामा यो विद्यालयबाट २ सय ७२ जना विद्यार्थी सहभागी थिए । जसमा ९२ प्रतिशत विद्यार्थी पास भए । प्राधानाध्यापक कँडेलका अनुसार स्वस्तिक अधिकारी, विभव ढकाल, आकृति महासेठ, अञ्जु भुसाल र एञ्जोन थापामगरले एसईईमा ४ जीपीए ल्याउन सफल भए भने २१ जना विद्यार्थीले ३.९० भन्दा बढी जीपीए प्राप्त गरे । उत्कृष्ट अंक ल्याउने विश्व निकेतन माद्यामिक विद्यालयका विद्यार्थीहरू । ९२ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याए । ८८ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याए भने ५८ जना विद्यार्थीले २.८ देखि ३.२ ल्याएको उनले जानकारी दिए । बाँकी विद्यार्थीले २.४ जीपीए ल्याएको उनको भनाइ छ । केही समयअघि साार्वजनिक भएको कक्षा १२ को परीक्षामा २ जना विद्यार्थी ३.९५ जीपीए ल्याएर सरकारी विद्यालय तर्फ नेपालभर नै सर्वोत्कृष्ट विद्यालयका रुपमा विश्वनिकेत भयो । यस्तै, एक जना विद्यार्थी प्रविना कँडेलले ३.८८ जीपीए ल्याएर कानुनतर्फ सामुदायिक विद्यालय्मा देशभरबाट सर्वोत्कृष्ट भइन् । ११ सय १४ विद्यार्थी सहभागी कक्षा १२ को परीक्षामा ९० प्रतिशत विद्यार्थी उत्तिर्ण भए । जसमा १ सय ७० जना विद्यार्थीले ३.६ जीपीए भन्दा बढी ल्याए भने ४ सय ४४ जना विद्यार्थीले ३.२ देखि ३.६ को बीचमा जीपीए प्राप्त गरे । यो विद्यालयबाट एसईई पास गरेका धेरैजसो विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक कँडेल विद्यार्थी उत्कृष्ट हुँदा आत्मसन्तुष्टि हुने र काम गर्ने जाँगर बढ्ने बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको नतिजाले हामीलाई गम्भीर र जिम्मेवार बनाउँछ ।’ कसरी बनाउने उत्कृष्ट विद्यालय ? प्रधानाध्यापक कँडेल नेपालमा भएका सामुदायिक विद्यालयलाई सबैलाई उत्कृष्ट विद्यालय बनाउन सकिने बताउँछन् । उनकाअनुसार सबैभन्दा पहिले यसका लागि उत्कृष्ट काम गर्ने ईच्छा शक्ति चाहिन्छ । उनी चाहना भयो भने बाहना आफैं हट्ने बताउँछन् । उत्कृष्ट विद्यालयको अवार्ड लिँदै प्राधानाध्यापक कँडेल । उनी भन्छन्, ‘कुनै पनि विद्यालय उत्कृष्ट बनाउन तीन कुरा चाहिन्छ । एउटा, कुशल प्रधानाध्यापक, जसले टीमलाई राम्रो नेतृत्व गर्नुपर्छ । दोस्रो, विद्यार्थीले मिहिनेत गर्नुप¥यो । तेस्रो, अभिभावकले चासो राख्नुप¥यो, यति भयो भने राम्रो विद्यालय बनाउन सकिन्छ ।’ अहिले ७७ वटै जिल्लामा भौतिक संरचना बनेका छन् । सबै सरकारी स्कुलमा चिटिक्क परेका डेस्क बेञ्चसहित भौतिक पूर्वाधार बनेका छन् । अहिलेको नवीनतम् विधि अपनाएर पठनपाठन गर्ने र सरकारले पनि विषयगत र तहगत शिक्षकको व्यवस्था गरिदिनु पर्ने उनको भनाइ छ । प्रधानाध्यापक र शिक्षकले पनि मनतन लगाएर अठोटका साथ काम गर्यो र अभिभाकको मन र विश्वास जित्यो भने एउटा सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकिने उनको तर्क छ । उनका अनुसार अभिभावकले पनि आफ्ना बच्चा विद्यालय आएपछि विद्यालयबारे चासो लिनुपर्छ । ‘आफ्नो बच्चाको पढाइ कस्तो छ ? उसले के–के कुरा सिकिरहेको छ ? के सिक्न बाँकी छ ? भन्ने विषय हेर्नुपर्छ । शिक्षक, अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति सबैले उत्तिकै ध्यान दिनुपर्छ । विद्यालय अभिभावक विद्यार्थी मिलेर काम गर्दा राम्रो बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार ७० प्रतिशत विद्यार्थी निजी विद्यालय छोडेर अहिले विश्व निकेतनमा अध्ययन गर्न आइरहेका छन् । भवनकाे अभाव  विद्यालयमा बालबालिकादेखि किशोरावस्थाका विद्यार्थी हुन्छन् । यो बेला उनीहरूलाई पढाइसँगै, खेल्ने, उफ्रिने, नाच्ने तथा रमाइलो गर्ने वातावरण चाहिन्छ । विद्यार्थीको आवश्यकताको परिपुर्ति विश्वनिकेतनले गरेको छ । विद्यालयको आफ्नै ठूलो खेलमैदान छ । जहाँ विद्यार्थीलाई विभिन्न किसिमका खेल खेलाइन्छ । कक्षा कोठाको व्यवस्थापनका लागि बिहान र दिउँसो गरी दुई सिफ्टमा पढाइ हुन्छ । कक्षा कोठा, शौचालय, पिउने पानीको सुविधासँगै कक्षा कोठामा पनि प्रोजेक्टरको सुविधा छ । तर, विद्यालयमा अभिभावक र विद्यार्थीले अपेक्षा गरेअनुसार भौतिक संरचना तथा भवनको भने अभावछ । त्यसैले पनि सबैलाई भर्ना गर्न नसक्ने स्थितिमा विश्व निकेतन छ । विद्यालयको अहिले अहिले एउटा भावन निर्माणाधीन छ । यो भवनमा म्युजियम बनाउने विद्यालयको योजना छ । त्यहाँ धिमे बाजादेखि पञ्चेवाजा, नौमति बाजादेखि ढिकीजाँतो लगायतका परम्परा समेट्ने म्युजियम बन्नेछ । विद्यालयमा फिजिक्स ल्याब र कम्प्युटर साइन्स ल्याव पनि छ । शिक्षक कर्मचारीको न्यून दरबन्दी यो विद्यालयका लागि सरकारले ६२ जना शिक्षक कर्मचारीको लागि अनुदान दिएको छ । तर, विद्यालयमा १ सय ६० जना शिक्षक कर्मचारी छन् । ९८ शिक्षक कर्मचारी विद्यालयकै स्रोतबाट राखिएको छ । यसरी नराख्दा विद्यार्थीलाई पढाउने शिक्षकको अभाव हुने विद्यालयको भनाइ छ । विद्यालयले आफ्नै स्रोतबाट राखेका कर्मचारी तथा शिक्षकलाई तलबका लागि अभिभावकबाट आर्थिक सहयोग भनेर शुल्क लिनेको गरेको छ । जस अनुसार कक्षा १,२ र ३ का विद्यार्थीबाट वर्षभर १२ सय रुपैयाँ शुल्क लिइन्छ भने ९ र १० सम्मका विद्यार्थीबाट वर्षभर २ हजार ७ सय २५ रुपैयाँ लिइन्छ । कक्षा ११ र १२ विज्ञान पढ्नेलाई महिनाको दुई हजार, कानुन र व्यवस्थापन पढ्नेबाट मासिक ९ सय, मानविकी र शिक्षा पढ्नेबाट मासिक ७ सय रुपैँया शुल्क लिने गरिएको कँडेलले जानकारी दिए । विश्व निकेतन माद्यामिक विद्यालय । तस्बिर : सौगात पुडासैनी । कुनै शिक्षकले अनिवार्य अवकाश लिएर जानुभयो अथवा राजनीमा दिनभयो भने त्यो ठाउँमा शिक्षक ल्याउन निकै समस्या रहेको अनुभव पनि उनले सुनाए । नेपालको संविधान, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५, निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ ले कक्षा १ देखि १२ सम्म निःशुल्क भनेको छ । कक्षा १ देखि ८ सम्म अनिवार्य निःशुल्क, ९ देखि १२ मा निःशुल्क भनिएको छ । तर, निःशुल्क शिक्षा कुनैपनि सामुदायिक विद्यालयमा छैन । प्रधानाध्यापक कँडेलका अनुसार सरकारले शुल्कका विषयमा आवश्यक होमवर्क नगरेरै निर्णय गरेको हो । नेपालमा हतारमा निर्णय गरेर पछि पछुताउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । यदि शिक्षा कानुन अनुसार निःशुल्क गर्ने हो भने २० प्रतिशत बजेट शिक्षामा छुट्याइनु पर्ने उनको धारणा छ । ‘बैज्ञानिक किसिमले दरबन्दी मिलान गरेर पुग्दो मात्रामा शिक्षक कर्मचारी विद्यालयमा पठाइदिनुप¥यो, कर्मचारी विनाको विद्यालयमा यो सम्भव छैन,’ उनले भने । ‘शिक्षकले घण्टी लगाउन जाने कि पढाउन जाने, पढाउने कि शौचालय सफा गर्ने अहिले पनि अवस्था यस्तै छ,’ कँडेल भन्छन्, ‘यस्तो हुँदा काम गर्न चूनौती हुन्छ, यस्ता कुराले काम गर्ने जाँगरमा ब्रेक लाग्छ । यो विद्यालयलेले वर्षदिनमा ६ लाख रुपैयाँ बिजुलीको बिल, पानीमा दुई लाख, इन्टरनेटमा डेढलाख तिर्नुपर्छ । तर, सरकारले वर्षभरीमा इन्टरनेटका लागि भन्दै जम्मा १२ हजार दिन्छ ।’ उनी प्रश्न गर्दै भन्छन्, ‘सरकारले विद्यालय सञ्चालन भनेर ३० हजार रुपैयाँ दिन्छ अनि कसरी व्यवस्थापन गर्ने ? निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्दा स्वाभाविक रुपमा स्रोत र साधन जुटाउन आर्थिक स्रोत पनि चाहिने उनी बताउँछन् । यही बाध्यताले विद्यार्थीबाट शुल्क लिनुपरेको उनले बताए । सरकारले सम्बन्धन प्रदान गर्दा पनि ध्यान दिएर नक्साकंन गरी विद्याललाई सञ्चालन अनुमति दिनुपर्ने उनको राय छ । जुन देशले शिक्षालाई प्राथमिकतामा राख्छ, त्यो देशले विकास, प्रविधि, उद्यम सबै क्षेत्रमा फड्को मारेको उनको धारणा छ । ‘शिक्षामा राम्रो गरिरहेका देशहरूले शिक्षामा २५ प्रतिशत बजेट छुट्याएका छन् । तर, नेपालमा मुस्किलले १० प्रतिशत पुग्छ । विकास शिक्षामा भनिएको छ । तर, वास्तविक रुपमा मनैदेखि शिक्षा क्षेत्रमा चिन्ता चासो दिएको पाइँदैन,’ उनले गुनासो गर्दै भने । आईटीमा पनि अगाडि पछिल्लो समय सूचना प्रविधिमा तीव्र विकास भइरहेको छ । विभिन्न संघ संस्था तथा शैक्षिक संस्थाले पनि सूचना प्रविधिलाई आत्मसात गरेर काममा तीव्रता ल्याइरहेका छन् । विश्वनिकेतनले पनि आईटीमा जोड दिइरहेको छ भने अभिाभावकर विद्यार्थीलाई पनि त्यसमा अभ्यस्त बनाउने प्रयास गरिरहेको छ । अहिले विद्यालयले यस्तो मोबाइल एप बनाएको छ जसले विद्यार्थी विद्यालय आए नआएको विषय एपबाटै जानकारी हुन्छ । कुनै विद्यार्थी विद्यालय नआउँदा अभिभावकलाई सन्देश जान्छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह विश्व निकेतन माविका कर्मचारी र विद्यार्थीसँग । अनुपस्थित भएका विद्यार्थीलाई आज के पढाइ भयो ? गृहकार्य के छ ? लगायतको बारे सन्देश सोही एपबाट जान्छ । सो एपले विद्यार्थी अभिभावक र शिक्षकलाई जोड्ने काम गर्छ । यो विद्यालयमा प्राविधिकतर्फ ९ देखि १२ कक्षासम्म पढाइ हुने इलेक्टिकल इन्जिनियरिङ पनि पढाइ हुन्छ । कमजोर विद्यार्थीका लागि बिहान बेलुका उपचारात्मक कक्षा सञ्चालन गरिन्छ । हरेक शिक्षकले हरेक विद्यार्थीमा ध्यान दिएर उसको कमजोरी औल्याइँ सिकाउने गरिन्छ भने कमजोरी हटाउन शिक्षक र अभिभावक मिलेर छलफल गर्ने अभ्यास छ । ‘हाम्रो विद्यालयको नतिजा सदावहार उत्कृष्ट छ । २०५२ सालदेखि ११, १२ मा विज्ञान, २०५३ सालदेखि व्यवस्थापन, २०६३ सालदेखि मानविकी, शिक्षा, २०७६ सालदेखि कानुन विषय अध्ययापन भइरहेको छ, अझैं यलिाई थप सुधार गर्ने पक्षमा छौं,’ प्रधानाध्यापक कँडेलले भने । अंग्रेजी माध्यमबाट पनि पढाइ सरकारी स्कुल भन्ने वित्तिकै नेपाली माध्यमबाट पढाइ हुने स्कुल भनेर चिनिन्छ । धेरैको बुझाय यही हो । तर, समयको मागसँगै आजभोलि सरकारी स्कुलमा पनि अंग्रेजी भाषाबाट पढाइ हुन थालेको छ । अहिले विश्व निकेतनमा पनि अंग्रेजी भाषामा पनि पढाइ हुन्छ । वि.सं २०५८ सालबाट अंग्रेजीबाट पढाउन थालिएको कँडेलले बताए । सुरुमा कक्षा १,२ र ३ लाई एउटा सेक्सन अंग्रेजी र अर्को नेपालीमा पढाउन थालियो । त्यसपछि २०६६ साल बाट कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरियो । अहिले कक्षा १ देखि १२ सम्म विद्यार्थीको निकै भीड छ । शिक्षकको रूपमा प्रवेश गरेका प्रधानाध्यापक अहिले विश्व निकेतनको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक कँडेल २०५१ सालमा विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा प्रवेश गरेका थिए । कक्षा शिक्षकदेखि विभागीय प्रमुखदेखि सहायक प्रधानाध्यापक हुँदै उनी अहिले प्रधानाध्यापक बनेका हुन् । उनले नेतृत्व सम्हालेको ९ वर्ष भयो । योबीचमा विद्यालयका दुई जना विद्यार्थीले सामुदायिक विद्यालयमा नै देशभरमै सर्वोत्कृष्ट अंक ल्याए । २०७३ मा रोजीना अधिकारीले सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याइन् । विश्व निकेतन २०७४ असार ३० गते नुमना विद्यालयका रुपमा घोषणा भयो । २०७५ सालमा विद्यार्थी भेषराज उपाध्ययले ४ जीपीए ल्याएर देशभरमै सर्वोत्कृष्ट भए । मन्त्रालयले २०७५ मा देशभरकै कुशल प्रधानाध्यापक भनेर सम्मान सहित प्रशंसापत्र समेत प्रदान गर्यो । २०७८ मा विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भए । ‘हामी यसरी गुणस्तरीय शिक्षा दिइरहेका छौं, यो सबै जस जनप्रतिनिधि, विद्यार्थी, शिक्षकमा जान्छ, हामी थप परिस्कृत हुँदै जान्छौं,’ कँडेलले भने ।