एनआईसी एशिया बैंकमा झै स्वीफ्ट सर्भर ह्याक जुनसुकै बैंकमा हुनसक्छ-लक्ष्मण रिसाल

लक्ष्मण रिसाल-प्रमुख कार्यकारी अधिकृत, एनआईसी एशिया बैंक लिमिटेड एनआईसी एशियाको स्वीफ्ट सर्भर ह्याक र पैसा चोरी भएको विषयले सञ्चार माध्यममा महत्वपूर्ण स्थान पायो । तर बैंकले औपचारिक रुपमा यो विषयमा कुनै प्रतिक्रिया जनाएन नि, किन ? यो विषयमा हाल अनुसन्धान भईरहेको छ । विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ । अझै एक÷दुई हप्तापछि मात्र वास्तविक रिपोर्ट आउने विज्ञहरुले बताउनु भएको छ । कसरी र कहाँबाट भयो ? भन्ने विषय बस्तुपरक तथ्य विज्ञहरुको अनुसन्धान रिपोर्टमा आएपछि मात्र बैंकले बोल्न उपयुक्त हुन्छ । अनुसन्धान भईरहेको विषयमा बैंकले अहिले नै बोल्न उपयक्त हुन्न भन्ने हाम्रो धारणा हो । तर समयमा नै थाहा पाएर तत्काल एक्सन लियौं । त्यसैले भुक्तानीका अर्डरहरु मध्ये अधिकांशलाई रोक्न वा पैसा फिर्ता गराउन हामी सफल भएका छौं । ह्याकरले कति रकम निकाल्ने प्रयास गरेको रहेछ ? कति रकम चोरी भयो ? त्यसमा ३१ वटा एटेम्ट (प्रयास) भएको देखिन्छ । ९ वटा प्रयासलाई हाम्रो आफ्नै सफ्टवेयरले रोकेको छ । २२ वटा भुक्तानी अर्डर नै भएको देखिन्छ । २२ वटामध्ये १२ वटा अर्डर रोक्न हामी सफल भएका छौं । दुई वटाको भुक्तानी भईसकेको पनि फिर्ता भयो । बाँकी अर्डरबाट भुक्तानी भएको करिव ६ करोड रुपैयाँ छ त्यो रकम पनि फिर्ता गराउने प्रयास जारी छ । ह्याकरले गरेको ३१ वटा प्रयास कहाँबाट भएको देखिन्छ ? बैंकभन्दा बाहिरबाट भएको छ । कुन ठाउँबाट भयो भन्ने विषयमा विज्ञहरुले सुक्ष्म अध्ययन गरिरहनु भएको छ । ३१ वटा भुक्तानी अर्डरबाट कति रकम भुक्तानी चोरी गर्ने खोजिएको रहेछ ? करिव ४६ करोड रुपैयाँको अर्डर भएको रहेछ । यो फिगर हामीले राष्ट्र बैंकलाई दिएका थियौं, राष्ट्र बैंक मार्फत पत्रपत्रिकामा प्रकाशित नै भएको छ । हाम्रो सफटवेयरले ९ वटा अर्डर रोक्दा १२ करोड रुपैयाँ रोकियो । ३४ करोड रुपैयाँ भुक्तानी अर्डर बाहिर गएकोमा करिव २८ करोड रुपैयाँ भुक्तानी रोक्न हामी सफल भयौं । मोटामोटी ६ करोड जति बाँकी छ । केही फिर्ता प्रक्रियामा छ । कति रकम गुम्ने नै भयो ? यति नै भन्न सकिने अवस्था छैन । ६ करोड भुक्तानी भईसकेको देखिएको छ । त्यो रकम पनि फिर्ता गराउने प्रयास हुनेछ । ह्याकरले स्वीफ्ट सर्भर अक्रमण गरेको र पैसा चोरी भईरहेको जानकारी बैंकले कसरी जानकारी पायो ? लक्ष्मी पूजाको दिनको कुरा हो । सार्वजनिक विदा भए पनि बैंकको केही अर्जेन्ट (जरुरी) भुक्तानी गर्नु पर्ने भएकोले साथीहरु बैंकमा आउनु भएको थियो । त्यतिबेला स्वीफ्ट सर्भर चलेन । हेर्दै गर्दा सर्भर क्र्यास गराइएको भेटियो । त्यसपछि स्वीफ्ट सर्भरको सर्पोट लियौं र अर्को सर्भरमा रिस्टोर गर्यौं । रिस्टोर भएपछि हेर्दा शंकास्पद कारोबार देखियो । हामीलाई नै शंकास्पद लागेपछि अनुसन्धान शुरु भएको हो । स्वीफ्ट सर्भर कसरी ह्याक गरियो ? प्रारम्भिक जानकारीहरु के छन् ? यूजर नेम र पासपोर्ट चोरी भएको देखिएको छ । त्यो पनि मालवेयरबाट चोरी भएको देखिन्छ । त्यो भनेको ह्याकरले कुनै इमेल पठाउँछ, त्यो इमेल खोल्ने बित्तिकै यताको सूचनाहरु अटोमेटिक उता जाने हुँदो रहेछ । त्यसमा शंका छ । बास्तविक कुरा त अनुसन्धान रिर्पोटमा आउला । पासपोर्ट चारी हुनुमा बैंकका कर्मचारीको संलग्नता देखिन्छ कि देखिन्न ? यो विषयमा अहिलेसम्म कुनै रिपोर्ट आएको छैन । यो घट्नाबाट बैंकले के सिक्यो ? सिक्ने कुरा धेरै छन् । एनआईसी एशियामा जुन घट्ना भयो त्यो नेपालका र संसारका कुनै पनि बैंकमा हुन सक्ने घट्ना हो । एनआईसी एशियामा भएको एक हप्तापछि ताईवानमा पनि यस्तै घट्ना भयो । सूचना प्रविधि अर्थात आईटीको प्रयोग हामी सबै गर्छौ तर यसको जोखिमबारे, डिजिटल डाटाको सुरक्षाको बारेमा हामी जति होसियार, चनाखो हुनु पर्नेमा त्यति भएका छैनौं । जस्तै हामी अपरिचित इमेल नखोल्न, डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन भनेका थियौं । तै पनि अपरिचित इमेल खोलिने, हेरिने हुँदो रहेछ । इमेल पनि एक दमै जेन्युअन खालका देखिन्छ तर त्यो मालवेयर हुनसक्छ । यसमा हामी थप चनालो हुनुपर्ने देखियो । आईटी सेक्यूरिटीलाई अपग्रेड गर्दै जानु पर्ने देखिन्छ । सिस्टमलाई बलियो बनाउँदै जाने हो । फूल प्रुफ सिस्टम त कही पनि हुँदैन । यस्तो जोखिमकाे बीमा भएको हुन्छ ? नेपालमा यस्तो जोखिमको बीमा उपलब्ध छैन । स्वीफ्ट सर्भर ह्याकपछि बैकिङ क्षेत्र त्रसित र चिन्तित पनि देखियो । यो घट्नापछि सरोकार निकायबाट कस्तो सहयोग तथा प्रतिकिया पाउनु भयो ? खासगरी नेपाल राष्ट्र बैंकबाट ठूलो सहयोग पायौं । विदाको दिन, राती पनि राष्ट्र बैंकको टिमबाट अत्यन्तै राम्रो सहयोग पायौं । भईसकेका अडरहरुको भुक्तानी रोक्न पनि राष्ट्र बैंकको महत्वपूर्ण सहयोग रह्यो । अहिले बैंकका सबै सेवा नियमित भएका छन् वा गडबढी बाँकी नै छ ? सबै सेवा नियमित भएको छ । शुरुमा हामीलाई पनि ठूलो डर थियो । जोखिम पनि ठूलो देखियो । जब जोखिम एउटा साईजमा आयो तब हामी सहज रुपमा बैंक चलाउने अवस्थामा फर्कियौं । बैंकको असोज मसान्तमा रिपोर्ट कस्तो आयो ? गएको त्रैमासमा बैंकको निक्षेप र कर्जाको वृद्धिदर राम्रो छ । निक्षेप १ खर्ब ४ अर्ब र कर्जा लगानी साढे ८८ अर्ब रुपैयाँ भएको छ । पछिल्लो तीन महिनामा निक्षेप १६ अर्ब रुपैयाँ वृद्धि भएको छ । कर्जा करिव १५ अर्ब रुपैयाँ बढेको छ । खुद नाफा पौनै २८ करोड रुपैयाँ भएको छ । नाफा गत आर्थिक वर्षको प्रथम तीन महिनाको तुलनामा करिव १ करोड मात्र बढी देखिन्छ । यसका कारण के हो भने गत आर्थिक वर्षको अन्तिम तीन महिनामा र चालु आर्थिक वर्षमा हामीले धेरै स्थानमा नयाँ शाखाहरु विस्तार गर्यौ । त्यसमा खर्च धेरै भएको छ । नयाँ शाखाहरुले नाफा दिन करिब ६ महिना लाग्ने भएकोले नयाँ शाखा विस्तारले हाम्रो निक्षेप र कर्जा विस्तार उल्लेख्य भएको छ तर नाफामा वृद्धि कम देखिएको छ । एनआईसीको शाखा संख्या १३४ पुगेको छ । यस वर्ष पनि शाखा विस्तार गर्दै छौं । खराब कर्जा अनुपात (एनपीए) पनि घट्दै गएको छ । समग्रमा बैंकले उत्साहपूर्वक प्रगति गरिरहेको छ । एनआईसी एशिया बैंक निकै आक्रामक देखिएको छ, तपाईको रणनीति के हो ? हामी नयाँ तरिकाबाट अघि बढिरहेका छौं । संस्थागत निक्षेप प्रतिको निभरर्ता घटाउने र साना निक्षेपको कम्पोनेन्ट बढाउने रणनीतिमा छौं । त्यस्तै कर्जामा पनि साना तथा मझ्यौला कर्जाको हिस्सा बढाउने र कर्पोरेट कर्जाको हिस्सा घटाउने हाम्रो रणनीति हो । सोही रणनीतिअनुसार शाखा विस्तारलाई जोड दिएको छौं । सन् २०२० सम्म ३०० शाखाहरु खोल्ने भन्ने हाम्रो पाँच वर्षे योजना हो । हामी सोही अनुसार काम गरिरहेका छौं । शाखा विस्तार सँगै ती शाखाहरुको काम मनिटर तथा कन्ट्रोल गर्नको लागि क्षेत्रीय कार्यालयहरु खोलेका छौं । लोकल लेबलको कन्ट्रोल र सपोर्ट रिजनल अफिसले गर्छ । शाखाहरुको साईट भिजिट, अडिट, कन्ट्रोल, सपोर्ट सबै काम क्षेत्रीय कार्यालयबाट हुन्छ । धेरै शाखा भए, सिईओले ती सबै शाखाहरु कसरी हेर्छ भनेर मानिसहरुले प्रश्न गर्छन । छिमेकी देशमा एउटै बैंकको ६/८ हजार शाखाहरु छन् । त्यहाँ कसरी काम भएको छ ? हामीले हेर्नु र सिक्नुपर्छ । आलोचना गरेर मात्र हुँदैन । हामीले सेवा विस्तारसँगै जोखिम न्यूनकरण गर्नको लागि आवश्यक संरचनाहरु बनाएको छौं । त्यसतर्फ हामीले धेरै लगानी गरेको छौं । आन्तरिक लेखा प्रणालीलाई निकै बलियो बनाएका छौं । हरेक शाखा खोलेको ३ महिनामा लेखापरीक्षण हुन्छ । फेरी ६ महिनामा लेखापरिक्षण हुन्छ । दुई पटकको लेखापरिक्षण रिपोर्टका आधारमा ६/६ महिनामा वा हरेक वर्ष लेखापरीक्षण हुन्छ । सीईओको तहबाट मैले ३/४ जनासँग रिपोटिङ लिईरहेको हुन्छु । जो–जोसँग मैले रिपोर्टिङ लिन्छु, ती साथीहरुले ८/९ जनासँग रिपोटिङ लिनुहुन्छ । त्यस्तै ती ८/९ जनाले फेरी १५/१६ जनासँग रिपोट लिनुहुन्छ । त्यो हिसावले संरचना बनाएको छौं । एनआईसी एशियाले पटक पटक रोजगारी खुलाउदै आएको देखिन्छ । अरु बैंकबाट पनि धेरै कर्मचारी यस बैंकमा आएको भन्ने सुनिएको पछि छ, बैंकमा कर्मचारीको टर्नओभर बढी भएकाे हो ? शाखा विस्तार गर्दा नयाँ कर्मचारी चाहिन्छ । एउटा शाखा खोल्दा ५/६ जना कर्मचारी चाहिन्छ । १० वटा शाखा खोल्दा ५० जना चाहियो । त्यसलाई मोनिटरिङ गर्न केन्द्रमा वा क्षेत्रमा ५/६ जना चाहियो । त्यो हिसावले मान्छे चाहिन्छ, अझ धेरै शाखा विस्तार गर्दै छौं, थप मान्छे चाहिन्छ । स्टाफ टर्नओभर त सबै बैंकमा बढी नै छ । दुई/चार वटा पुराना बैंकमा मात्र टर्नओभर कम देखिन्छ । अर्को ख्याल गर्नु पर्ने पक्ष के हो भने १२/१५ प्रतिशत कर्मचारी टर्नअभोर हुनु संस्थाको लागि पनि राम्रो मानिन्छ । त्यसले नयाँ सोच र जाँगर भएका मान्छेलाई कम्पनी भित्र्याउने अवसर दिन्छ । हाम्रो बैंकमा करिव १७०० कर्मचारी छन् । यो संस्थामा वर्षमा १०० जना कर्मचारीले छोडे वा त्यसको सट्टामा बैंकले अरु संस्थाबाट नयाँ सोच र जाँगर भएका कर्मचारी आए भने त्यसले संस्थालाई फाइदा नै पुग्छ । बैंकमा कर्मचारी मात्र अस्थिर छैनन् । बैंकले ग्राहकलाई दिने सेवा पनि धेरै अस्थीर छ । निक्षेप वा कर्जाको ब्याज पनि निकै अस्थिर छ । बैंकहरु अल्पाकालिन सोचमा हिडेको, त्रैमासिक रिपोर्ट कसरी राम्रो बनाउने भन्ने होडमा हिडेकोले यस्तो समस्या आएको हो ? हामीकहाँ प्रक्षेपण,अनुमान र ट्रेन एनलाईसिस गरेर काम गर्ने संस्कृतिको कमी छ । सानो अर्थतन्त्र भएको देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् र चर्को प्रतिस्पर्धा हुँदा तत्कालिन फाइदा हुने निर्णय हुने गरेका छन् । त्यसको असर कर्मचारीमा पनि परेको छ, ग्राहकको सेवामा पनि परेको छ । जीडीपीको करिव २२ प्रतिशत राजश्व सरकारले संकलन गर्छ । सानो अर्थतन्त्र भएको देशमा जीडीपीको २२ प्रतिशत सरकारी राजश्व संकलन हुनु भनेको अर्थतन्त्रमा सरकारी खर्चको प्रभाव पनि ठूलो हुनु हो । सरकारीले राजश्व संकलन जसरी नियमित रुपमा गरेको देखिन्छ, खर्च त्यसरी नै नियमित भएको छैन । त्यसको असर बैकिङ तरलता र व्याजदरमा प्रत्यक्ष रुपमा परेको देखिन्छ । ऐतिहासिक तथ्याङ्कहरुको आधारमा भविष्यबारे प्रक्षेपण गरिन्छ । तर सरकारी खर्चमा भएको अस्थिरताले र अर्थतन्त्रले लिने फरक ट्रेनले पनि हाम्रो प्रक्षेपणहरु फेल खाईरहेका छन् । एनआईसी एशिया अल्पकालिन सोचमा चलेको छैन, हामी पाँच वर्षे रणनीतिका साथ काम गरिरहेका छौं । पाँच वर्षे रणनीति र योजनाअनुसार काम भएको छन् भन्नु भयो, दीर्घकालिन सोचकोे रिफ्लेक्सन कहाँ देखिएको छ ? दीर्घकालिन सोच, योजना, रणनीतिको रिफ्लेक्सन हाम्रो शाखा विस्तारमा देखिएको छ, बैंकको वासलातमा देखिएको छ, वासलातको कम्पोनेन्टमा देखिएको छ । डिजिटल बैकिङ सेवामा रिप्लेक्सन देखिएको छ । पाँच वर्षे रणनीतिक योजनाका आधारमा हाम्रा वार्षिक कार्यक्रमहरु बनेका छन् । वाह्य कारणका कारण समय सापेक्ष नीति पनि लिनु परेको छ । निक्षेप र कर्जाको ब्याजदर घट्न थालेको हो ? मुद्दती निक्षेप ब्याज घट्न थालेको छ । तर बचत खाताको ब्याज घटेको छैन । बैंकहरुको आधार दर अझै उच्च रहेकोले कर्जाको ब्याज घट्न सकेको छैन । गत वर्ष बैंकहरुले पुस र माघमा उच्च ब्याजदरमा धेरै निक्षेप मुद्दतीमा लिएका छन् । त्यो निक्षेप परिपक्व हुन अझै ३/४ महिना लाग्छ । चैत मसान्तपछि मात्र बैंकहरुको बेसरेट घट्ने र त्यसपछि कर्जाको ब्याजदर घट्ने सम्भावना हुन्छ । केन्द्र र प्रदेश सभाको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचित भईसकेकोले स्थानीय तहमा गएको बजेट समयमा नै खर्च हुने आशा गरिएको छ । निर्वाचनमा राम्रै खर्च भयो र स्थानीय बजेट खर्च भयो भने निक्षेपमा पनि वृद्धि हुन्छ, कर्जा लगानी पनि विस्तार हुन सक्छ । तर राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क उत्साह जनक छैन । आयात बढेको छ । निर्यात वृद्धि हुन सकेको छैन । रेमिट्यान्स आम्दानी पनि घट्न थालेको छ । प्रत्यक्ष विदेशी लगानी तथा दातृ निकायले दिने अनुदानमा पनि उत्साहजनक वृद्धि छैन । शोधानान्तर ऋणात्मक भएको छ । निक्षेप वृद्धिको लागि आवश्यक स्रोतहरु सुक्दै गएका छन् । गत वर्ष निक्षेपमा ब्याजदर वृद्धि हुँदा धेरै बचतकर्ताले लाभ पाए । तर बैंकका ऋणिलाई कर्जाको ब्याजदरले धेरै गाह्रो पनि बनायो । केही बैंकले आफ्ना ऋणिलाई ब्याज ७ बाट बढाएर ८ प्रतिशत बनाए भने केहीले ऋणीको ब्याज ७ बाट बढाएर १४÷१५ बनाए । यस्तो किन भयो ? ७ को ८ मात्र बनाएको भन्ने कुरा नहोला । सबै बैंकहरुको पुँजिगत लागत बढेकै देखिन्छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च नै सबैको बढेको देखिन्छ । यसको अर्थ बैंकहरुले निक्षेप ब्याजमा बढेको भार सबै ऋणिलाई पासअन गरेका छैनन्, बैंकमा पनि राखेका छन् भन्ने देखिन्छ । समग्रमा बैंकहरुले ऋणिलाई सहुलियत नदिएका होइनन् र ? एनआईसी एशियाले नयाँ ग्राहकलाई होम लोन १०.८ प्रतिशतमा दिइरहेको छ, बेसरेट १०.७ प्रतिशत छ । यसमा बैंकलाई कति फाइदा छ ? बेसरेट भनेको लागतमा करिव ३ प्रतिशत स्प्रेड जोडिएर आएको हुन्छ । अर्थात हामीले अहिले ल्याएको होम स्कीममा करिव ३ प्रतिशत स्प्रेडदर छ । होम लोन भनेको निकै सुरक्षीत कर्जा हो । हामीले रिटेल बैंकिङको हिस्सा बढाउने र कर्जाको जोखिम कम गर्ने रणनीतिमा यो प्रडक्ट तयार गरेका हौं । जहाँ जोखिम कम छ त्यहाँ कम मार्जिनमा काम गर्ने बैंकको नीति पनि हो । नयाँ ग्राहकलाई १०.८ प्रतिशत ब्याजमा कर्जा दिँदा पुराना ग्राहकको व्याजदर कति छ ? अहिले कर्जाको व्याजदर बेसरेटमा लिङ गरिएको छ । बेसरेट घट्दै जाँदा पुराना ग्राहकको पनि ब्याजदर घट्दै जानेछ । जोखिम बढी भएको प्रडक्टमा ब्याज बढी हुन्छ । जुनसुकै बैंकले पनि क्रेडिट कार्डमा बढी ब्याज लिन्छ । बैंकले आगामी दिन सेयरधनीलाई कति सम्म लाभांश दिन सक्छ ? पहिला जस्तो उच्च दरमा लाभांश पाउने सम्भावना त सकियो नै भन्छु म । विगतमा बैंकहरुले दिएको बोनस सेयर र हकप्रद सेयरले सेयरधनीलाई लगानी विस्तारको अवसर दियो । अब त्यो अबसर छैन । बैंकहरुको सेयर मूल्यले पनि त्यो संकेत गरिरहेको छ ।

अब सेयर बजार धेरै घट्ने संभावना छैन, लगानी गर्ने उपयुक्त मौका यही हो : नन्दकिशोर मुन्दडा

२०२६ सालमा विदेशी सामानको व्यापारबाट औपचारिक रुपमा व्यापारमा प्रवेश गरेका नन्दकिशोर मुन्दडाले अहिले सेयर बजार, जुट मिल, स्कुल र जलविद्युतमा आफनो लगानी विविधिकरण गरेका छन् । व्यापार थालेको झण्डै ३ दशकपछि सेयर बजारमा प्रवेश गरेका मुन्दडाले ०५५ सालमा बाबा जुट मिलको स्थापना गरेका थिए । त्यसपछि उनको देवेन्द्र समूह औपचारिक रुपमा उद्योगमा प्रवेश गरेको हो । पछिल्लो समयमा साढे ३ मेगावाटको चर्नावती र २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा लगानी गरेका छन् । जुट उद्योग र स्कुल व्यवसाय भाइले सम्हालेका छन् । मुन्दडा अहिले सेयर र जलविद्युत व्यवसाय सम्हाल्दै आएका छन् । उद्योगबाट भन्दा सेयरमा बढी नाफा पाइने बताउने मुन्दडासँग विकासन्युजले गरेको कुराकानीको अंश : यहाँ सेयर बजारमा कसरी प्रवेश गर्नुभयो ? २०५१ सालमा नेपालमा सेयर बजारमा ब्रोकरका लागि लाइसेन्स खुल्दै छ भनेर भारतबाट आफन्तको फोन आयो । आफन्तले जानकारी दिएपछि मैले सेयर ब्रोकरको रुपमा काम गर्नका लागि निवेदन दिएको थिए । ०५२ सालमा ब्रोकरको लाइसेन्स पाएको हो । हालसम्म सेयर बजारमा काम गरिरहेको छु । ब्रोकर व्यवसाय र उद्योग दुबै सञ्चालनमा छन् । यी दुई मध्ये सबैभन्दा बढी प्रतिफल कुनमा पाउनु भएको छ ? सेयर बजारबाट बढी फाइदा भएको छ । सुरुमा सेयर बजार नेपालका लागि नयाँ थियो तर उद्योग नयाँ थिएन । हामी दुई ठुला देशका बीचमा छौ । यहाँ उद्योग सञ्चालन गर्न ठुलो चुनौति छ । प्रतिस्पर्धाबाट कमाउन गाह्रो छ । उद्योग आफनो हिसावले सञ्चालन भइरहेको छ । सेयर बजारमा जो पहिला प्रवेश गरेको थियो उसले राम्रो कमाएको छ । २० वर्ष अघिको अवस्था राम्रो थियो तर अहिले छैन । कही वर्षअघिसम्म कुनै कम्पनीको प्राथमिक सेयर (आईपीओ) आउदो आवेदन दिने सबैलाई पथ्र्यो तर अहिले १० कित्ता भन्दा बढी पाइन्दैन् । लगानीकर्ता धेरै आएकाले प्रतिफल भने घटेको छ । बजारमा कमाउने क्षमता कम हुदै आएको छ । लगानीकर्ता धेरै भएपछि कमाई बाँडफाँड भएर कम देखिएको हो । बजारमा कमाउने क्षमता कम भयो । लगानीकर्ता बढेकाले भएको कमाई बाँडियो । सेयर बजारबाट वर्षमा २५ प्रतिशत प्रतिफल पाए धेरै राम्रो हो । यो प्रतिफल पाउने संभावना अझै छ । बैंकको ब्याज भन्दा बढी आम्दानी सेयर बजारबाट जहिले पनि हुन्छ । बैंकमा राखेको भन्दा बढी प्रतिफल पाएको छन् । सेयर बजारलाई बढाउन के गर्नुपर्छ ? विदेशी लगानी नेपालमा आए सेयर बजार झनै राम्रो भएर जाने छ । यसका लागि विदेशी लगानी आवश्यक छ । बजारमा विभिन्न किसिमका पुँजी आवश्यक पर्छ । त्यही पुँजीले बजारलाई गति दिन्छ । अहिले बैंकमा गएर १२ प्रतिशत ब्याजमा कर्जा पाइन्छ । मैले लिदा पनि त्यही हुन्छ । एकै किसिमको लगानीको प्रतिफल एउटै हुन्छ । जस्तै विदेशी लगानी आयो भने १ प्रतिशत ब्याज दरमा लगानी ल्याएको हुन्छ । २ प्रतिशत ब्याज ल्याउदा प्रतिफल २५ हुदा २३ प्रतिशत सिधै पाउने हुन्छ । यसले बजार बढाउछ । अर्को कुरा बजार जहिले पनि तलमाथि भइरहन्छ । यसमा लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्छ । लगानीकर्ताको मनोविज्ञानलाई देशको राजनीतिक घटना, बजारको अवस्था र अन्तराष्ट्रिय घटनाले लगानीकर्ताको मनोविज्ञानमा सिधा असर गर्दा बजार बढ्छ कित घट्छ । यसको प्राकृतिक गुण हो । बजारका लगानीकर्ताले सेयरबाट कतिको कमाएका छन ? केही वर्षयता लगानीकर्तालाई कमाउन गाह्रो भएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले बजारलाई अस्थिर बनाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने योजना आउदा सेयर बजार बढ्ने गरेको छ । पुँजी वृद्धिको योजना सकिएपछि बजार पुनः घट्ने गरेको दुई दशकको घटनाक्रमले देखाउछ । सुचक ५ सय पुगेर १ सयसम्म आएका थियो भने १ हजार १७५ अंकमा पुगेर २८० मा झरेको थियो । गत वर्ष १ हजार ८८१ अंकमा पुगेर हाल १ हजार २ सय पुगेको हो । अहिले १ हजार ५ सयको हारहारीमा छ । यस्तो हुनुको मुल कारण मौद्रिक नीति नै हो । नेपालको सेयर बजारमा एक नासका लगानीकर्ता मात्र भए बजार बढाउन विभिन्न किसिमका लगानीकर्ता आएनन् । एक किसिमको पुँजीले गर्दा बजार एकनासले चलेको हो । सरकारले गैरआवासिय नेपालीलाई पुँजीबजारमा ल्याउने भनेको छ । गैरआवासिय नेपालीको लगानी आएपछि बजारको अवस्था कस्तो हुने देख्नुहुन्छ ? सबै लगानी आउनु सेयर बजारका लागि राम्रो हो । भारतमा पनि १९९० सम्म त्यहाँ बजारको अवस्था राम्रो थिएन् तर पुँजीबजारमा विदेशी लगानी खुला गरेपछि बजार परिसुचक ३३ हजार पुगिसक्यो । विदेशी लगानी र गैरआवासियको लगानी खुल्यो भने बजार धेरै माथि जान्छ । सकेसम्म सार्क मुलुकको लगानी खुला गरे बजार धेरै माथि जाने संभावना छ । हाम्रो सालभरीको कारोबार विदेशमा ३ घण्टाको हो । हाम्रो बजारको मूल्य धेरै कम छ । भारतमा १० रुपैयाँको सेयरको मूल्य ५ हजार बढी पनि छ । भारतमा विदेशी पुँजी र बैंकको ब्याजदरबीचको ग्यापका कारण बजार माथि गएको हो । पुँजीबजार १ हजार ८८१ माथि जान सकेन र घटदै गएको छ, यो हुनुको मुल कारण के हो ? यसको मुल कारण मौद्रिक नीति नै हो । बैंकहरुको पुँजी वृद्धिको काम सकियो । सबैले ८ सय करोड रुपैयाँ पुर्याउनु थियो त्यो पुरा भइसकेको छ । अब बजारमा बीमा कम्पनीको बाँकी छ । पुँजी वृद्धि योजनाले बैंक तथा वित्तीय संस्थाको संख्या सोचेअनुसार नघटेपछि फेरी पुँजी वृद्धिको योजना आउने बजारमा हल्ला छ । बैंकको संख्या १० मा झर्ने योजना छ । पुँजी बढाउने योजना आयो भने सेयर बजार फेरी बढ्ने संभावना छ । अहिले बोनसले बजार बढाउन सकेको छैन् । कम्पनीले धमाधम लाभांश घोषणा गरेको बेला बजार घटेको छ, यसको कारण के हो ? पुँजी वृद्धिको योजना भएका बेला बोनसको आर्कषण थियो र बजार बढेको हो । पुँजी बढाउने यो अन्तिम वर्ष भएकाले लगानीकर्ताको मनमा नगद लाभाँश मात्र पाउने होकी भन्ने चिन्ता पनि छ । नगदमा धेरै प्रतिफल आउदैन । लगानीकर्ताको आकर्षण बोनस सेयरमा छ । बैंकले मार्जिन कर्जा लिन बोलाउदा पनि बजार बढ्न सकेन नी, महंगो ब्याज दर भएर हो ? अहिलेको ब्याज दरले बजार बढाउन सहयोग गर्दैन किनभने कम्पनीले १० प्रतिशत नगद लाभांश दिन्छ । बजार दरमा ४ प्रतिशतको प्रतिफल मात्र आउछ र अझै ६ प्रतिशत घाटा छ । ब्याजको कारण नबढ्न सक्छ । अब बजार धेरै घट्ने संभावना छैन् । १५ प्रतिशत माथि र तल हुन्छ । पुँजीवृद्धिको योजना र अनलाईन ट्रेडिङ आएपछि बजार बढ्छ । अनलाइन सेयर बजारको हर्ट(मुटु) हो । नेपालको पुँजीबजारमा बैंक तथा वित्तीय संस्था, बीमाको मात्र बढी हिस्सा छ, सिमेन्ट, डण्डीलगायत अन्य उत्पादनमुलक क्षेत्रको प्रवेश किन नभएको हो ? उद्योगको पारदर्शीताको समस्याले होला जस्तो लाग्छ । उद्योग खोल्दा मेहनत र समय लाग्छ । धरै मेहनत र समय लागेपछि त्यसको मूल्य त हुनुपर्छ । त्यो मूल्य प्रणाली नेपालमा छैन् । भारतमा बढी छ र त्यहाँ धेरै उद्योग पब्लिकमा गएका छन् । भारतमा कुनै उद्योगको सेयरको फेसभ्यालु १० रुपैयाँ छ भने उसले १ सय रुपैयाँको प्रिमियम दरमा सेयर निष्कासन गर्न पाउने व्यवस्था छ । दूई दशक बढी लगाएर बनाएको उद्योग १ सय रुपैयाँ फेसभ्यालुमा आउने संभावना छैन् । अहिले फेसभ्यालुको ५ गुणासम्म सेयर जारी गर्न पाउने व्यवस्था छ । ३ वटा सिमेन्ट उद्योग पुँजी बजारमा आउदैछन् । आगामी दिनमा जलविद्युत, सिमेन्ट, डण्डी र चाउचाउ जस्ता वास्तविक क्षेत्रको आईपीओ आउने संभावना देखिएको छ । आगामी दिन बजार वास्तविक क्षेत्रकै हुने छ । बैंकको पुँजीवृद्धिपछि सुनौला दिन गइसकेका छन् । बजारमा यस्ता लगानीकर्ता पनि हुन्छन जसले बजारको भविष्य हेरेर लगानी गरेका हुन्छन् । बैंकको सेयर मूल्य बढेको बेला बेचेर बाहिरिसकेका छन् । उनीहरुले बोनस आउछ भनेर पर्खिन्दैनन् । बजारको हटकेक कुन क्षेत्र हो ? १५ प्रतिशत प्रतिफलका लागि सबै अहिले सबै क्षेत्र हटकेक हुन् । यहाँ लामो समय यही क्षेत्रमा बिताउनु भएको छ, यहाँसंग यस विषयमा धेरै अनुभव पनि छ । लगानीकर्तालाई यहाँ के सुझाव दिनुहुन्छ ? सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला बेचेर निस्कने हो । अहिले नै बजारमा लगानी सुरु गर्नुपर्छ । २५ प्रतिशत अहिले लगानी सुरु गर्ने, यो भन्दा तल आयो भने फेरी २५ प्रतिशत लगानी थप्नुपर्छ । एकैपटक लगानी गर्नुहुदैन् । इन्डेक्सअनुसार बजार नघटेपनि स्क्रप्टवाइज बजार घटिसक्यो । सेयर किन्ने उपर्युक्त मौका हो तर एकैपटक हाल्ने हैन् । बजार मूल्य पनि राम्रो छ । आगामी दिनमा धेरै आर्कषण छैन् । आर्कषण पनि हुन सक्छ । यसरी पोर्टफोलियो बनायो भने घाटा हुदैन् । यो बेला लगानी गरेको आधा अंश फिक्समा लगाउनुस र आधाको ट्रेडिङ गर्नुपर्छ । मानौ १० हजारको सेयर किन्नुभयो भने ५ हजारको सेयर राख्नुस र ५ हजारको सेयर बजारमा खेल्नुस । बढेको बेला बेच्ने र घटेको बेला किन्दा नाफा हुन्छ । यहाँको लगानी भएको मोदी जलविद्युतका आईपीओ कहिले आउछ ? पुससम्म हाम्रो तर्फबाट काम सक्ने छौ । त्यसपछि मात्र निष्कासनको अवस्था बारे थाहा हुने छ । पहिला स्थानियबासिन्दालाई निष्कासन गर्ने छौ । ३० प्रतिशत निष्कासन गर्ने योजना छ । आउदो पुसमा आयोजना सम्पन्न हुने छ । त्यसपछि आईपीओमा जाने छौ ।

अनलाईन ट्रेडिङ र एनआरएनलाई लगानीको व्यवस्था छिट्टै गर्नेछु : चन्द्रसिंह साउद

गणितमा राम्रो दख्खल भएका चन्द्रसिंह साउदले बोर्डिङ स्कुलमा गणित अध्यापन गराउँथे । वि.स.२०५१ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार अधिकृतमा जागिरे भए । नेपाल इन्स्योरेन्समा ६ तहबाट प्रवेश गरेको साउद पछि सीईओसम्म भए । उनी अहिले पनि पार्ट टाइम कलेजमा अध्यापन गरिरहेका छन् । उनले सााझेदारीमा ब्रिलियन्ट कलेज पनि सञ्चालन गरिरहेका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका साउदलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ बनाएको छ । नेपालको पुँजीबजारको अवस्था र आगामी दिनमा गरिने सुधारका विषयमा केन्द्रीत रहेर साउदसंग बाबुराम खड्काले गरेको कुराकानीको अंश । २ दशक लामो समय बीमा क्षेत्रमा बिताएर अहिले पुँजी बजारमा आउनु भएको छ । नयाँ क्षेत्रमा काम गर्न कतिको सहज हुदोरहेछ ? बैंक, फाइनान्स र बीमा भनेको पुँजीबजार कै तत्व हुन् । चाहे बैकबाट होस वा बीमाबाट नै होस, एउटै तत्व भएकाले काम गर्न सहजै महशु्स भएको छ । बीमामा हुदा बजार प्रवद्र्धनका लागि आफै हिड्नु पर्ने व्यवसायीक लक्ष्य पुरा गर्नुपर्ने हन्छ । तर यहाँ आफनो लक्ष्य पुरा गर्नु त छदै छ त्यो भन्दा पनि सबै क्षेत्रको काम गर्नुपर्ने हुन्छ । बैंक, वित्त, बीमालगायत अन्य उत्पादनमुलक क्षेत्रको गतिविधि पनि हेर्नुपर्छ । नेपाल स्टकमा सुचिकृत भएका दोस्रो बजारमा कारोबार हुने जति कम्पनीहरु छन् तीनको अनुगमन र दोस्रो बजारमा सबै काम गर्नुपर्छ । सेयरका अतिरित्त डिबेञ्चर, होटललगाय धेरै क्षेत्रहरु छन, तीनको सबै काम गर्नुपर्छ । कामको हिसावले खासै फरक छैन, किनभने सीईओले सबै काम गर्ने हैन । सीईओले टिमवर्कमा रहेर व्यवस्थापनको काम मात्र गर्ने हो । टीमसंग मिलेर काम गर्नुपर्ने हुन्छ । कामको अवस्था पनि उस्तै हो । नेप्से सरकारी निकाय भएकाले यहाँ सबै प्रक्रिया पुरा गर्न नियमसंग जाने बाहेक अन्य फरक मैले देखेको छैन् । नेप्सेमा कर्मचारीको टिम कस्तो पाउनु भएको छ ? मैले यहाँ कार्यभार सम्हालेको २ साता जति भयो । कर्मचारीबीचमा अन्तरक्रिया हुदा सबै सकरात्मक लागेको छ । सबै अनुभवी र लामो समय काम गरेका कर्मचारी साथी हुनुहुन्छ । सहयोगी भावना पाएको छु र सकरात्मक रुपमा यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने छु । भिन्न परिवार, धर्म र संस्कृतिबाट आएकाले बिचार फरक हुनु स्वभाविक नै हो । केही गर्न भनेर व्यवसायिक योजना लिएर नेप्सेमा आउनु भएको छ, यहाँका नयाँ योजना के छन् ? पुँजीबजार सम्वद्ध निकायको आकाँक्षा अनुसार नै म योजना अघि बढाउछु । मैले धेरैजसोसंग सुझाव पनि लिएको छु । अनलाइन ट्रेडिङको व्यवस्थाका लागि काम तिब्रताका साथ अघि बढाएको छु । दोस्रोमा हाम्रा गैरआवासिय नेपाली (एनआरएन) लाई नेपालको पुँजीबजारमा कसरी भित्राउने भन्ने विषयमा काम अघि बढाउदै छु । उहाँहरुको इच्छा आकाँक्षा के हो बुझने प्रयास गर्दैछु । हाम्रा नियम कानून के छ ? त्यसलाई हेरेर अघि बढ्ने योजना छ । एनआरएनको नयाँ टिमले भरखरै चुनाव जितेर आएको छ । उहाँहरुका पनि केही योजना र माग होलान त्यसलाई पनि सम्बोधन गर्नुपर्ने छ । उहाँहरुसंग बसेर अन्तरक्रिया गर्दैछु । यस्तै नेप्से आफैले बजारमा काम गर्दैन, स्टक ब्रोकरमार्फत कारोबार गर्छ, उहाँहरुसंग पनि छलफल गर्दैछु । तेस्रोमा पुँजी बजारको विकासका लागि साना तथा ठुला लगानीकर्ता हुनुहुन्छ, उहाँसंग पनि छलफ गर्नेछौ । यति मात्र नभएर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुँजीबजारका बारेमा जानकारी दिन मुख्य सहरमा जनतालाई जानकारी गराउने काम गर्दैछौ । पुँजीबजारमा नयाँ प्रडक्ट के छन् त्यसतर्फ पनि ध्यान दिने छौ । यसअन्र्तगत विकास बैंक र लघुवित्तको एउटै सूचक रहेको थियो, यसलाई छुट्याइसकेका छौ ।नेप्सेका ऐन नियम पुराना छन, यी ऐन नियमलाई परिमार्जन गर्ने काम हुदैछ । धितोपत्र बोर्डबाट स्वीकृति लिएर मार्जिन लेन्डिङको काम पनि अघि बढाउँदै छौ । मुलुक संघीय प्रणालीमा गइसकेको छ । स्थानिय तहको चु्नाव सम्पन्न भइसकेको छ भने प्रदेश र केन्द्रको चुनाव पनि हुने क्रममा छ । पुँजीबजारलाई सबै क्षेत्रमा फैलाउन शाखा विस्तार वा लगानीकर्तालाई आफनो ठाउँबाट लगानी गर्ने व्यवस्था मिलाउने योजना बनाएको छु । ४ वर्षको अवधिमा ७ वटै प्रदेशमा हाम्रो उपस्थिती रहन्छ । सातवटै प्रदेशका लगानीकर्ताले आफनो क्षेत्रबाट पुँजीबजारमा लगानी गर्न पाउने सेवा विस्तार गरिने छ । अनलाईन ट्रेडिङ कहिलेदेखि सुरु हुदैछ ? यसका लागि काम भइरहेको छ । भेण्डर कम्पनीले सफ्टवेयर जोडर मात्र पुग्दैन । हाम्रो सिस्टर कम्पनी भनेका स्टक ब्रोकर हुन तीनिहरुको पनि विकास हुनपर्छ । लगानीकर्तालाई यस बारेमा जानकारी गराउनुपर्छ । कार्यन्वयनमा आउनुभन्दा अगावै जानकारी दिनुभन्दा पनि सम्बन्धित संस्था र व्यक्तिसंग छलफल गरेर अघि बढाउने छौ । पुरा भएपछि एकैपटक कार्यन्वयन गराउने छौ ।। एनआरएनलाई पुँजीबजारमा प्रवेश गराउने धेरै अघिदेखि कुरा चलेपनि यसको काम भएको छैन । यहाँले पनि यस्तै कुरा गर्नुभयो, किन यसमा काम भएको छैन ? त्यहि भएर उहाँहरुसंग छलफल गर्न लागेको हो । उहाँहरुको कुरा पनि सुनौ र त्यही अनुसार योजना बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एकपटक छलफल गरौ हेरौ के हुन्छ । उहाँहरुलाई पुँजीबजारमा भित्र्याउदा यसको आकार बढ्छ । पछिल्लो समयमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ बढ्दै गएको छ, यसलाई रोक्न यहाँले के गर्दे हुनुहुन्छ ? कात्तिकभित्र नयाँ जनशक्ति आउदै छ । त्यसलाई बजारमा अनुगमनमा खटाउदै छौ । अहिले पनि नभएको हैन तर पर्याप्त नभएको मात्र हो । हाम्रो क्षेत्राधिकार भित्र रहेर इन्साइडर ट्रेडिङ कारोबारको अनुगमन गर्ने छौ । नियामक धितोपत्र बोर्ड र नेप्सेबीच बारम्बार टकराव भएको अवस्था छ । यहाँको कार्यकालमा बोर्ड र नेप्सेबीच समुधर सम्बन्ध स्थापना हुने संभावना कतिको छ ? मेरो धारणा के हो भने धितोपत्र बोर्ड हाम्रो गार्जियन हो । नियामकसंग मनमुटाव गरेर काम गर्न सक्दैनौ । त्यसैले अबका दिन बोर्ड र नेप्सेबीच बाउछोरा जस्तो एकदम सौहार्द सम्बन्ध रहने छ । दोस्रो स्टक एक्सचेन्ज सञ्चालनको कुरा आएको छ, दोस्रो स्टक एक्सचेन्ज आवश्यक छ की छैन ? नेप्सेको सीईओ आधारले यहाँले सोध्नु भएको होला । स्वीकृत दिने वा नदिने भन्ने निर्णय नियामक निकायको हो । पहिला २ सय बढी सुचिकृत कम्पनी थिए । अहिले मर्जर र एक्विजिसनका कारणले संख्या घटेको छ । कतिपय संस्था खारेजीमा पनि गएका छन् । कम्पनीको संख्या घटेको अवस्था छ । भोली पुँजीबजार बढ्यो, लगानीकर्ता बढे र बजारमा एनआरएन आए भने कारोबार बढ्यो र बोर्डले अर्को कम्पनी आवश्यक देख्यो भने आउन पनि सक्छ । हामीले चाहिदैन भनेर बोल्ने क्षेत्राधिकार बाहिरको कुरा हो । पुँजीबजारमा दोस्रो कारोबार गर्ने संस्था आएपछि हामी सचेत कहाँ हुनुपर्छ भने नेप्सेको सेवा साधान र स्रोतलाई प्रतिस्पर्धात्मक बनाउनुपर्छ । हामी त्यसतर्फ लाग्छौ । नेप्सेलाई अझ बढी प्रतिस्पर्धी संस्था बनाउने छौ । अन्य कम्पनी आएपनि फरक पर्दैन् । लामो समयदेखि एक दर्जन बढी कम्पनी कारोबार भएको छैन, यहाँले यस्ता कम्पनीलाई के गर्नुहुन्छ ? यस विषयमा सोच्दैछौ । वर्षौसम्म वार्षिक साधारणसभा नगर्ने कम्पनीलाई हेर्दै छौ र कारोबार गराउने कोशिस गर्ने छौ । लगानीकर्ताले लगानी गरिरहने तर आफनो सेयर मूल्य कति हो भन्ने थाहा नपाउने अवस्था विद्यमान छ । यस्ता संस्थालाई के गर्ने भन्ने कुरा मेरो दिमागमा आएको छ । सम्बन्धित कम्पनीका प्रमुखलाई बोलाएर साधारणसभा गर्नलाई सुझाव दिने छु । सल्लाह गरेर यस विषयमा एउटा निर्णय लिइने छ । सुचिकृत नभएको र कारोबार रोक्का भएका केही कम्पनीको ओटीसीबाट कारोबार भइरहेको छ । यो पनि समस्या हैन् । सबैलाई सुचिकृत गराउने र लगानीकर्ताको लगानी सुरक्षित गराउने हाम्रो पहल हुने छ । त्यसतर्फ हामी जानेछौ । उसोभए आउँदो ४ वर्षमा नेप्सेमा धेरै फरक देख्न सक्छौ ? विकास भन्ने कुरा एकैपटक हुने कुरा हैन् । विकास भनेको समयको माग हो र हुन्छ । आउदो ४ वर्षमा नेप्सेको संरचनामा व्यापक परिवर्तन भएको पाउनुहुन्छ । पुँजीबजारमा बैंक वित्त, बीमा बाहेक उत्पादनमुलक क्षेत्रको प्रवेश भएको देखिन्दैन । किन यस्तो भएको हो ? धेरै उद्योगपतिसंग कुरा गर्दा विभिन्न समस्या देखाउने काम भएको छ । सरकारले उनीहरुलाई सुविधा पनि दिएको छ । उद्योगीसंग छलफल गर्छौ । बोर्डले १० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने भनेको छ । समस्या के रहेछ र कसो गर्दा उहाँहरु पुँजीबजारमा आउनु हुन्छ । यस विषयमा म छलफल गर्ने छु । ठुलो रकम बुझाएर नेप्सेको सीईओ भएको भन्ने आरोप लागेको छ, कति बुझाएर सीईओ हुनुभएको हो ? कसले के भन्यो मलाई थाहा छैन् । जसले जे भन्यो उसैलाई सोध्नुस । प्रजातान्त्रिक मुलकमा जसलाई जे मन लाग्छ त्यो कुरा बोल्न पाइन्छ । यहाँको मिडियाका साथीले बुझेर लेख्दा राम्रो हुन्थ्यो । मैले कसैलाई पैसा बुझाएको पनि छैन, बुझाउनै पर्ने भने यहाँ किन जागिर खान आउथे र ? अन्यत्र काम गर्न सकिन्थ्यो ।