पाँच लाखको संगम पाँच करोडमा पुग्यो, पछाडी फर्केर हेर्नु परेको छैन : संगम शर्मा

संगम स्वीटसका सञ्चालक संगम शर्माले शाकाहारी होटल खोल्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए । सोही हाँसोलाई इखको रुपमा बदलेर उनले झापाको दमकमा संगम स्वीट सञ्चालनमा ल्याए । संगम स्वीट चल्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन् । तर, विस्तारै लोकप्रियता बढ्दै गएर चेन रेष्टुराँको रुपमा संगम विस्तार भएको छ । दुई दशकअघि पहिलो दमकमा ५ लाख लगानीमा स्थापना भएको संगमको अहिले राजधानीको नयाँवानेश्वर, कमलादी मुख्य-मुख्य स्थानमा मात्रै अहिले तीन वटा आउटलेट सञ्चालनमा छन् । राजधानीबाहिर दमक, विर्तामोड, उर्लाबारीमा तीन आउटलेट विगतदेखिनै सञ्चालनमा आइसकेका थिए । केही महिनाभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसमा अर्को आउटलेट सञ्चालनमा ल्याउने भएको छ । प्रस्तुत छ अवसर र भावी योजनाको सम्बन्धमा सञ्चालक शर्मासंग विकासन्युजले गरेको विकास बहस: संगम शर्मा, संस्थापक, निर्देशक-संगम स्वीट्स   संगम स्वीट सञ्चालनमा ल्याउनु अघि तपाइ के गर्नुहुन्थ्योे ? मैले सानोतिनो व्यवसाय गर्दै आएको थिए । व्यवसायमा संघर्ष गरिरहेको थिए । एउटा नहुँदा अर्को साना–साना व्यापार गरिरहन्थेँ । बीचमा केही समय निर्माण कम्पनीमा काम गरे । जागिर गर्दागर्दै पार्टटाइम व्यापार शुरु गरेको थिए । पछि पेटी कन्ट्याक्ट भएर काम गरे । संगम स्वीटको सुरुवात कसरी भयोे ? यसमा एकदम रोचक कहानी छ । म पहिले कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहाँ काम गर्दा भारतबाट कोइला ल्याएर बेच्ने समुहहरुसँग मेरो चिनजान भयो । त्यसपछि भारतबाट कोइला ल्याएर बेच्न शुरु गरेँ । मैले नेपालमा जहाँ–जहाँ कोइला बेच्थेँ त्यहाँ म नै साहु नै देखिन्थेँ । बास्तवमा म साहु थिइन । भारतबाट कोहीसँग उद्यारोमा कोइला ल्याएर यता बेच्थें । नेपालमा साहु म बने तर मेरो आफ्नै धेरै लगानी, पूँजी भएर गरेको भने थिइन । विश्वासको संस्कार सायद आमाले सानैदेखि दिनुभएर होला अहिले मेरो लागि त्यो अर्बौ रुपैयाँको भन्दा बढी मूल्यको भएको छ । भारतमा ठुला–ठुला पार्टीहरुले नेपालमा वस्तुहरुको बिक्री गर्ने गर्थे । त्यो सिलसिलामा भारतको ब्रिजकिशोर गुप्ताले मारुती कार किनेका रहेछन् । व्यवसायको सिलसिलामा धरान आउदै गर्दा बाटोमा कसैलाई गाडीले हानी दियो । विरामीलाई धरानको घोपा अस्पतालमा राखिएको थियो । त्यहाँ घोपामा उनीहरुलाई भारतीय भाषाको ज्ञान भएको मान्छेको खोजी थियो । त्यसो त बोर्डरमा पनि केशब पाण्डे, विमल आचार्यहरु थिए, क्लियरीङ एजेन्टको रुपमा काम गर्ने । उनीहरुले मलाई पनि लिएर धरान गए । मसँग पनि खास त्यस्तो केही थिएन । तर भाषा जान्ने भएको कारण सहज हुन्छ भन्ने लाग्यो होला उनीहरुले मलाई लिएर गए । घोपाबाट बिरामी हेरेर फर्कदा ठ्याक्कै दमकमा पुगेपछि बाटो बन्द भएको भन्ने खबर आयो । त्यसपछि हामी दमक गेस्ट हाउसमा बस्यौं । म शाकाहारी मान्छे त्यहाँ भेजिटेरियन होटल खोज्यौं भेटिएन । मैले त्यसअघि ननभेज होटलमा भेज खाना खाएको थिइन । विश्वासको आधारमा दमकको स्टाप होटलमा फ्रेस भेज खाना खाएँ । फेरी अर्को चरण बिरामी हेर्न धरानको घोपामा जानुप¥र्यो । उनको गाडी बेलबारी ठानामा थियो । उनलाई गाडी निकाल्ने चक्कर भयो । म फेरी उनैसँग गएँ । जाँदाखेरी दिउसो दमक पुगेका थियौं । बन्द भयो र जानै नसकिने भइयो । नखुल्ने संकेत आएपछि दमकमै बस्यौं फेरी ननभेज होटल खोज्यौं । दमकमा भेजिटेरीयन होटल भेटिएन । मेरो बानी मनको कुरा खोलिहाल्ने । मैले हिन्दीमै भने, ‘यस ठाँउमा सहकारी होटल खोल्छु । त्यो कुरा सुनेर उनीहरु हाँसे । शाकाहारी होटल भेटिएन भन्दैमा खोल्ने भन्ने कुराले हाँसे होला भन्ने लाग्यो । त्यो हाँसो मेरो लागि इगो बन्यो । सायद उनीहरु नहाँसेको भए भन्थे फेरी भोलिपल्ट बिर्सिन्थेँ होला, होटल खोलिन्दैन थिए होला । कोइलाको काम सिजन, अफसिजनमा हुन्थ्यो । वर्षा याममा चल्दैन । हिउँदमा सिजन हुन्छ । त्यसैले पनि अर्को बिजनेशको खाँचो थियो मलाइ । त्यतिखेर म सानै थिए । अनुभवी भने थिइन । बाबु बाजेले पनि यस्तो काम गरेको थिएन । भारतको सिलगुडीको चोकैमा भेजिटेरियन महाविर भोजनालय थियो । जहाँ–जहाँ भेजिटेरियन छ । म त्यहीँको ग्राहक थिएँ । उक्त भोजनालयको ग्राहक बन्ने क्रममै त्यहीको स्टापहरुसँग लिङ्क गरेर त्यहीँको कुकहरुलाई सेट गरेर एकै पटक मैले भव्य रुपमा दमकमा संगम स्वीट्स खोले र नाम पनि संगम स्वीट नै नाम राखेँ । मैले पहिलेदेखि काम गरेकोले बोडरसम्मकै लिङ्क थियो । पैसा कमाइ जे–जस्तो भएपनि पहिलाको ब्यापारी भनेर ठुलो पहिचान थियोे । कतिपय मैले कोइला सप्लाइ गरेकाहरु अहिले ठुलो बिजनेशमेन भएका छन् । उनीहरुले मलाई बोसकै रुपमा मान्थे । मैले बोलाएपछि आउने भए । त्यसरी त्यो डेजिनेसनले काम गर्यो । मलाई याद छ, दमकको राजकुमार अधिकारी, शुरुमा होटलको लागि उनको घर अगाडी ठाँउ खोजियो । मेनलाइन मेरो प्राथमिकतामा परेन । किनभने मान्छेले शान्त वातावरणमा शाकाहारी भोजन गर्न भन्ने मेरो सोच थियो । त्यसैले अलि भित्र खोलेको थिए । मेरो चिनजानका छक्क परे । कसरी स्वीट्स चल्छ ? केन्द्रदेखि पनि भित्र भएपछि । चिया–समोसा खान कसरी ग्राहक जालान ? मेरो मामा पर्नु हुने भट्टराई हुनुहुन्थ्यो । उहाँले अब भान्जा डुब्छ भन्ने सोचेका थिए । उद्घाटनकै बेलुकी साझमा एउटा नागसर्प पसलको अगाडी हुदै गयो । म उभिरहेको थिए । त्यतिखेर एकजना मेरो साथीले भन्यो ‘यो सर्प पश्चिदेखि पूर्वतिर गयो । यो तेरो लागि शुभ संकेत हो भन्यो ।’ त्यसले मलाई हौसला बढायो । त्यो संकेत शुभ होस् या अशुभ । त्यसले मेरो व्यापारमा ठुलो महत्व राख्यो । त्यो दिनदेखि मेरो आफ्नो औकात, हैसियत, क्षमतालाई अगाडी बढाउने क्रममा पछाडी फर्केर हेर्नुपरेको छैन । शुरुमा संगम स्वीटमा कति लगानी गर्नुभयो ? त्यतिखेर दमकमा काठको तक्ता ओछ्याएर शोकेस नभएपनि मिठाइ बिक्री गर्ने चलन थियो । मैले त्यो चलन तोडेको थिएँ । मेरोमा शोकेसभित्र मिठाइ हुन्थ्यो र त्यो नौलो थियो । फ्रीज, शोकेस, डिफ्रीजमा ५ लाख रुपैयाँ लगानी भएको थियो । होटलको सम्पुर्ण आवश्यकता पुरा गरेको थिए । त्यसपछि अर्को आउटलेट कहाँ खोल्नुभयो ? त्यसयता संगमा शाकाहारी भोजनालयको व्यवसाय वृद्धि हुदै गयो । कहीँ शाखा खोलिन । कोइलालाई ५/७ वर्षसम्म निरन्तरता दिएँ । मैले दोस्रो शाखा करिब ८ वर्षपछि काठमाडौंको कमलादीमा खोलेँ । त्यो बीचमा मैले टीभीएस मोटरसाइकलको डिलरशिपहरु पाएको थिए । बजाजले पनि अफर गर्यो । बजाजको डिलर २०६२ सालमा पाए । बीचमा केही नकेही गरिरहेको थिएँ । बजाजको डिलरशिप अहिले पनि छ । संगम स्वीटको दोस्रो शाखा कमलादीमा खोलेँ । तर म त्यसै बसिन । केही नकेही नयाँ ब्यापारहरु गर्दै गएँ । कमलादीपछि बानेश्वरमा अर्को शाखा खोलेँ । कमलादीमा शाखा बिस्तार गर्ने क्रममा पनि सो स्थानमा मान्छेको समुह हिड्दैन थिए । गाडीबाट मात्रै हिड्थे । जहाँ बसपार्क पनि छैन, मान्छेको भीडभाड पनि थिएन । कुनै मल तथा जमघट स्थान थिएन । कसरी चल्छ ? भन्ने प्रश्न आएको थियो । अहिले छेउमा अर्को दुई ओटा त्यस्ता होटल खुलिसकेका छन् । त्यसबेला मैले छनौट सहि स्थानमै गरेको रहेछु भन्ने लाग्छ । काठमाडौंमा जम्मा तीन ओटा शाखा छ । अर्को कालिमाटीमा छ । राजधानीबाहिर दमकमा, बिर्तामोडमा र उर्लाबारीमा छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ भवन बन्दैछ । त्यहाँ पनि खोल्ने तयारी भइरहेको छ । सायद अबको तीन महिनामा उक्त बिल्डीङ सकिएला । हामी संगमको आउटलेट खोल्न तयारी अवस्थामै छौं । त्यसपछि विस्तारै अघि बढ्छौं । यद्यपी मैले चाहेँ भन्दैमा हुदैन, २÷४ वर्ष खोल्दिन भनेको कुरा २/४ महिनामै पनि खोल्ने अवस्था आउन सक्दछ । समयले आफै जुराउने हो । म पहाडको मान्छे । मेरो यो नौलो कामले गर्दा मलाई सबैतिरबाट सहयोग । हौसला दुबै छ । तपाईले ५ लाखदेखि शुरु गर्नुभएको संगम स्वीटको भ्यालु अहिले कति पुग्यो ? मेरो सबै आउटलेटलाई पनि जोड्ने हो भने ५ करोड रुपैयाँ नाघ्छ । संगमबाट ३ सय जनाले रोजगारी पाएका छन् । हामीले सरकारलाई नियमित रुपमा कर तिरी राखेका छौं । हाम्रोतर्फबाट सरकारलाई राम्रै सहयोग पुगेको छ । मैले शाकाहारी खानामा लतै बसाइ दिएको छु । त्यस्तो कुरा मैले भन्दा पनि समाजले महशुस गर्ने हो । हाम्रोमा निम्नदेखि उच्च स्तरको ग्राहकले ननभेजिटेरीयन विभिन्न आइटम खानाको परिकार खान सक्छन् । हाम्रो उद्देश्य नै २०/२५ रुपैयाँको ग्राहकदेखि ५ हजार रुपैयाँ पनि खर्च गर्नेलाई समेत समेट्न सकौं भन्ने हो । अहिले पनि नीति त्यही नै हो । हामीले अहिले उपलब्ध गराउदै गरेको आइटम सिल्गौडी लगायत अन्यमा खाएभन्दा सस्तो छ । संगममा के–कस्ता शाकाहारी खाना उपलब्ध छन् ? साउथ इण्डियन, नर्थ इण्डियन, चाइनीज कन्टिनेन्टल, स्वीट्स, कोलड्रीङ्स कुनै पनि ग्राहक स्वीट्समा आएर आफुले चाहे अनुसारको ननभेजिटेरीयन परिकार खान सक्छन् । गुणस्तरमा हामी सम्झौता गर्दैनौ । हामी खानामा कुनै पनि वस्तु मिसावट गर्दैनौं । जसको ३ कारण छ । सकभर मिसावटयुक्त खरिद गर्दैनौं । किनभने एक मसँग मिसावट सम्बन्धि ज्ञान छैन । जब त्यसको ज्ञान छैन किन मिसावट गर्ने अर्को आवश्यक पनि छैन । दोस्रो संगम स्वीटले मेरो परिवारलाई न्युनतम आवश्यकताहरु पुर्याइदिएको छ । आज ६ ओटासम्म आउटलेट भइसकेको छ । अब किन मिसावट गर्नुपर्यो ? तेस्रो आमाको इमान्दारीताको संस्कार हो । अहिले आमाले दिएको संस्कारनै मेरो सबैभन्दा ठूलो सम्पत्ति भएको छ । सामान्य व्यक्तिले यतिको ठुला चेन रेष्टुराँ खोल्नु भयो अहिले जागिर खोज्दै हिडेकाहरुलाई तपाईको सुझाव केछ ? म यसमा चिन्तित छु । अब समाजलाई राम्रो प्रभाव पर्ने काम गर्ने मेरो सोच छ । हामीले प्रभाव पर्ने गरी ठोस काम गर्नुपर्छ । मुलुकमा करिब ३ करोड जनसंख्या छ । मलाई लाग्छ यहाँबाट रोजगारीमा १ जना पनि मुलुकबाहिर जान पर्दैन । यहाँ जागिर र व्यवसाय दुबै छ । भने पनि यहाँ दिनरात किसानी गरेर आफैसँग बसी आयआर्जन गर्नेभन्दा विदेश जानुलाई प्राथमिकता दिन्छन् । हामीले साइकलमा कार्टुन जम्मा गर्नेदेखि लिएर सबै कामको कदर गर्नुपर्छ । तर, त्यो गरेनौं । मिडियाले पनि तरकारी फलाएर, बेचेर उदाहरणिय बनेकाहरुलाई सम्मान गर्नुपर्छ । म सिन्धुली वीपी राजमार्ग हुदै पुर्वजाने र आउने गर्छु । त्यो बाटोमा अहिले पनि राम्रो चिया बनाउने १०० ओटा पसल चल्छ । मुलुकमा व्यवसायको अपार सम्भावना छ । मुलुक आफै धनी छ । विदेश् हेरी नेपालमा धेरै राम्रोे सम्भावना छ । पछिल्लो राजनैतिक परिवर्तनले आश जगाएको छ । मान्छेमा धैर्यता हुनुपर्छ । अहिले यहाँ इमान्दारीपुर्वक जागिर खाने मान्छेले २०/२५ हजार कमाउन समस्या पर्दैन । पर्याप्त जागिरको सम्भावना छ । मुलुकको माया गर्नेहरुलाई स्वदेशमै राख्नुपर्छ । निजी क्षेत्रले पनि त्यसको लागि भूमिका खेल्नुपर्छ । यहाँ सफल व्यवसायी बन्नु भएको छ, यहाँले व्यवसायलाई विविधिकरण र अघि बढाउन के कस्ता योजना बनाउनु भएको छ ? जुन क्षेत्रमा सम्भावना छ । त्यो क्षेत्रमा विजनेश बढाउदै लान्छु । जसरी मैले भेजिटेरीयन स्वीट खोले त्यसरी नै सके भने संगम नामबाटै होटल एण्ड लज खोल्ने इच्छा छ । सुद्ध साहाकारी मात्रै होटल एण्ड लज हुनेछ । यो काम मेरा लागि चुनौतिपुर्ण छ । यद्यपि चुनौतिसँग सामना गर्ने इच्छा छ । त्यसको लागि कडा गृहकार्य गरिरहेको छु । जहाँ–जहाँ संगम स्वीट छ । त्यहीँ स्थानहरुमा पहिले त्यस्ता होटलहरु खुल्नेछन् ।    

विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्ने शिक्षामा जोड दिएका छौं-मनोजकुमार थापा मगर

आर्थिक रुपमा कमजोर परिवारमा जन्मनु भएका मनोजकुमार थापा मगर प्रिप्राइमरी स्कूल पढ्दै गर्दा उहाँको आमा बित्नुभयो । त्यो अवस्थामा कहिले मामाघरमा बसेर, कहिले घरमा बसेर स्कूल तहको अध्ययन गर्नु भएका थापाको कलेज जीवन पनि संघर्षमा नै बित्यो । स्कूलमा पढाउदै, कलेज पढ्दै गरेर उहाँले शंकरदेव कलेजबाट एमबीएस, एपेक्स कलेजबाट एमबीए गर्नुभयो । मनोजकुमार थापा मगर, कार्यकारी निर्देशक/प्राचार्य- नेपालय एजुकेशन फाउण्डेशन शिक्षण पेशा अगाल्दै गर्दा उहाँले स्कूल तथा कलेजमा ठूलो लगानी गरिसक्नु भएको छ । हाल उहाँ नेपालय एजुकेशन फाउन्डेशनको कार्यकारी निर्देशक तथा नेपालय उच्च माविको प्राचार्य हुनुहुन्छ । नेपालय एजुकेशन फाउन्डेशन अन्तरगत नेपालय उच्च मावि र हेण्ड्री फोर्ड कलेज सञ्चालन भईरहेका छन । प्रस्तुत छ नेपालयलाई एउटा विश्वविद्यायलको रुपमा विकास गर्ने सोच बोक्नु भएका मनोज थापा मगरसँग विकासन्युज प्रतिनिधिले गरेको विकास वहस । विद्यार्थी र अभिभावकले नेपालय उच्च माविलाई किन रोज्ने ? २० वर्षअघि अमरज्योतिको नामबाट सञ्चालनमा रहेको स्कूललाई हामीले नाम परिवर्तन गरेर नेपालय उच्च मावि बनाएका हौं । हामीले स्कूलको नाम परिवर्तन गरेको होइनौं, साधन र साध्य पनि परिवर्तन गरेका छौं । शिक्षण विधि र अभ्यासमा परिवर्तन गरेका छौं । हामीले हिजो जे गरि आएका थियौं । त्यसलाई फरक ढङ्गबाट गर्नुलाई साध्यको रुपमा लिएका छौं । हाम्रो विद्यार्थीलाई एउटा घरको पूरै असल छोराछोरी बनाउने हाम्रो उद्देश्य हो । अभिभावकले जुन सपना बोकेर हामीलाई आफ्नो बच्चा हस्तान्तरण गर्नुहुन्छ । उहाँहरुले हामीलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको हुन्छ । उक्त जिम्मेवारीलाई निभाउँदै बच्चा पूर्ण सक्षम बनाएर अभिभावकलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । बच्चामा विभिन्न ज्ञान, शिप, अनुशासन, आचरण गुणले सम्पन्न गराएर फेरी अभिभाकलाई बच्चा हस्तान्तरण गर्ने कार्यलाई साध्यको रुपमा लिएका छौं । त्यसको लागि स्कूलले गत वर्षबाटै तल्लो कक्षादेखि जग बलियो बनाउन भनेर नर्सरीदेखि १ क्लाससम्म पूर्ण रुपमा मन्टेश्वरीवेस पढाउन थालिसकेका छौं । सम्भवतः अर्को वर्ष ५ कक्षासम्म मन्टेश्वरी मोडलमा जाने तयारीमा छौं । शिक्षामा नयाँ–नयाँ विधि र प्रक्रिया आइराखेका हुन्छन् । प्रविधियुक्त नयाँ विधिले धेरै विषय सिक्न र सिकाउन सजिलो भएको छ । प्रविधियुक्त नयाँ शिक्षण विधिलाई हामीले प्रयोग गरिरहेका छौं । नेपालयले पूर्वाधार निर्माण र विकासतर्फ धेरै काम गरिसकेको छ । खेलमैदान, कम्प्यूटर प्रयोगशाला, साइन्स प्रयोगशाला, लाईब्रेरी, कन्फरेन्स हल लगायत पूर्वाधार बनेका छन् । टिमवर्कमा काम गर्न सिकाउन, सामाजिक काम गर्न प्रेरित गर्न स्काउट शुरु गरेको छौं । प्रतिस्पर्धी क्षमताको विकास गर्नको लागि चाइनिज ल्याङग्वजको कक्षा चलाएका छौं । प्रयोगात्मक शिक्षा, शैक्षिक भ्रमण, खेलकुद, नाचगान, क्षमता विकासका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएका छौं । नेतृत्व र व्यक्तित्व विकासका लागि नियमित मोटिभेशन कक्षा सञ्चालन गर्दैछौं । मोटिभेशनल कार्यक्रमको पनि निश्चित कोर्ष तयार गर्ने र विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई मोटिभेटरको रुपमा आमन्त्रित गर्ने गरी क्यालेण्डर नै बनाएर अगाडि बढिरहेका छौं । कलेजमा नयाँ कार्यक्रमहरु थप्दै लगेका छौं । हामीले नेपालयलाई एउटा विश्वविद्यालय कै रुपमा विकास गर्न चाहिरहेका छौं । सरकारीभन्दा निजी स्कूलले दिने बढ्ता सेवा सुविधा के के हुन् ? सरकारी स्कूलहरु पूर्वाधार, मानव संसाधनमा सम्पन्न हुन्छन् । आयोग पास गरेका शिक्षक स्थायी शिक्षकहरु राखेका हुन्छन् । विभिन्न तालिमको व्यवस्था हुन्छ । केही सामुदायिक स्कूलहरुले उदाहरणीय रुपमा काम गरेका छन् । ती स्कूलमा भर्ना हुन समेत प्रतिस्पर्धा हुने गरेको छ । जुन–जुन विद्यालयहरुले गुणात्मक तथा प्रतिस्पर्धात्मक शिक्षा दिएका छन् । त्यसलार्ई हामी प्रोत्साहित गर्नुपर्छ, हामी प्रशंसा गर्छौ । तर धेरै सार्वजनिक विद्यालयहरु स्रोत साधान सम्पन्न भएर पनि गुणस्तरीय शिक्षा दिन सकेका छैनन् । त्यो ग्याबलाई निजी विद्यालयहरुले पूरा गर्ने काम गरेका छन् । पछिल्लो समय समग्रमा नेपालको शिक्षालाई प्रतिस्पर्धात्मक तथा गुणात्मक रुपमा विकास गराउनमा वोर्डिङ स्कूलको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा गाँस, वास, कपासलाई मात्रै आधारभूत आवश्यकता मानिन्थ्यो । अहिले आएर शिक्षा, स्वास्थ्यलाई पनि मान्ने गरिएको छ । हरेक अभिभावकहरु शिक्षा र स्वास्थ्यमा खेलबाड गर्न चाहँदैनन् । सबैले नसक्लान तर धेरै बोर्डिङ स्कूलहरुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । निजी स्कूलहरुले संस्कार, शिक्षा, व्यक्तित्व विकास, अनुशासन, रिजल्ट राम्रो ल्याइरहेका छ । इतिहास हेर्न सकिन्छ । त्यस्तै, नेपालय मध्यम किसिमको स्कुल हो । मध्यम आयस्तर भएको र बच्चाको भविश्यको लागि केही गर्ने सोच छ भने हाम्रो जस्तो विद्यालयलाई छनौट गर्ने गरेका छन् । हामी केटाकेटीलाई संस्कार कसरी दिने भन्नेमा जोड दिन्छौं । अहिले घर, परिवार, समाज जताततै अनुशासनको कमी देखिएको छ । त्यसैले हामीले अनुशासनलाई जोड दिएका छौं । दोस्रो गुणात्मक शिक्षा बच्चाहरुको जग(बेस) कसरी बलियो बनाउने, भोलि जुनसुकै परिवर्तन आउदा पनि भिड्न सकोस् भन्ने आधारले हामी अघि बढेका हौं । निजी क्षेत्रले विद्यार्थीमा हुनु पर्ने गुणात्मक, अनुशासन, व्यक्तित्व विकास, संस्कार, प्रतिस्पर्धा जस्ता ग्याबलाई भर्ने काम गरेको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । निजी क्षेत्रका स्कूलहरुको कमी कमजोरी के के देख्नुहुन्छ ? निजी स्कूलहरुलाई पनि जिल्ला शिक्षा कार्यालयले वर्गिकरण गरेको छ । हामीले पनि त्यसलाई स्वीकार गरेका छौं । विभिन्न दायराको आधारमा ए, बी, सी गरेर श्रेणी छुट्याएको छ । शिक्षा नीतिले विभिन्न पूर्वाधार, संरचना, नीति नियम भए, नभएको आधारमा वर्गिकरण गरेर ग्रेड छुट्याएको छ । मुलुकको सम्पूर्ण बोर्डिङ स्कूल मध्ये ५/७ प्रतिशत अत्यन्तै सम्पन्न, पूर्वाधारको दृष्टिकोणले पनि अत्यन्तै ठूलो लगानी, मानव संसाधनको पनि त्यही किसिमको तयारी, सम्पूर्ण संसाधले पूर्ण अवस्थामा छन् । त्यो वाहेकका धेरै बोर्डिङ स्कूलहरुमा पूर्वाधारको समस्या देखिन्छ । धेरै बोर्डिङ स्कूलहरुले शिक्षा ऐनले निर्देशित गरे अनुसार पूर्वाधार विकास गर्न सकेका छैनन् । दोस्रो चुनौति मध्ययम वोर्डिङ स्कूलमा पढाउनका लागि शिक्षक, शिक्षिकाहरुको आकर्षण विगतभन्दा कम देखिएको छ । उनीहरुले जिन्दगीको वृद्धि विकासको सम्भावना कम देखेको देखिन्छ । विदेशमा जाने, सरकारी जागिर खाने, बैंक वा ठूलो कर्पोरट हाउसमा जागिर खानेतर्फ जति आकर्षण स्कूल कलेजमा टिचिङ गर्नेमा छैन । अहिले वैदेशिक रोजगारी, काम दिगो नहुनु लगायतको कारणले सोचे जस्तो दक्ष जनशक्ति प्राप्त गर्न गाह्रोे परेको छ । करारमा राखेर शिक्षक शिक्षिकाहरुलाई विभिन्न तालिम, प्रशिक्षण लागायको व्यवस्था गरेर त्यसको पूर्ति गरिरहेको अवस्था छ । अन्य क्षेत्रले जस्तो पेन्सन, उपदान दिने वातावरण अझै बन्न सकेको छैन । तेस्रो चुनौति बोर्डिङ स्कूलहरुको लागि ऐन समस्याको रुपमा आएको छ । कहिले निजी विद्यालयहरुलाई दमन गर्ने, तर्साउने किसिमको वातावरण सृजना हुन्छ । सो कारण वोर्डिङ स्कूलमा लगानी गर्न खोज्ने, लगानी गर्ने लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षा नहुने डर छ । खुलेर काम गर्न पाएका छैनौं । एक डेढ हप्ताअघि मात्रै पनि शिक्षा क्षेत्रको विज्ञहरुले सबै बोर्डिङ बन्द गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसले हलचल नै मचाइदियो । सम्बन्धित मन्त्रालयहरुबाटै पनि कन्ट्रोभर्सरी स्टेटमेन्टहरु आउने गरेको छ । ठूला–ठूला पूर्वाधार बनाए बसेको निजी स्कूलहरुलाई भने त्यसले असर पार्दैन । जो मध्यम वर्गको विद्यालयहरु जो आफ्नै शैलीमा चलेका छन् । त्यस्तालाई डरको वातावरण सृजना हुन्छ । शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी हुने हो भने खुलेर पूर्वाधार, जनशक्तिको विकास गर्ने अवस्था हुन्थ्यो । समग्रमा शिक्षा क्षेत्रको विकास कसरी हुनुपर्छ ? अहिले शिक्षा क्षेत्रका जुन ऐन बनिरहेका छन् । नीति नियम निर्माण भइरहेको छ । उक्त नियमले देशको शैक्षिक जागरणमा निजी क्षेत्रको पनि उत्तिकै महत्व हुने भएकोले प्राथमिकतामा राखेर अघि बढोस् भन्ने हाम्रो अपेक्षा हो । निजी विद्यालयहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ । हामीलाई के थाहा छ भने नर्सरी, एलकेजी हुँदै एउटा वच्चा १३ वर्षसम्म स्कूलमा रहन्छ बन्छ । ऊ समाजको नेतृत्व गर्ने नागरिक हुन्छ । यो पुस्ताको हातमा हुन्छ भोलिको समाज । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन, समाजलाई रुपान्तरण गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट बालबालिकालार्इ सक्षम बनाउने हो । हाम्रो उद्देश्य स्कूल चलाउने, स्कूलबाट केटाकेटीलाई पास गराउदै जाने मात्रै होइन । हाम्रो उद्देश्य भनेको समाजलाई रुपान्तरण गर्ने हो । हिजो जस्तो थियो त्यो समाजलाई परिमार्जन गर्ने हो । एउटा आदर्श, सम्पन्न समाज बनाउने हो । हरेक दृष्टिकोणबाट सक्षम बनाउने हो । अहिले सरकारले सामाजमा प्राविधिक विषयमा जोड दिइरहेको छ । सिभिल, कम्प्यूटर इञ्जिनियरीङ लागायत सरकारले अघि सारेको शिक्षा निजी बोर्डिङ स्कूलले पनि पाउनु पर्नेमा हाम्रो जोड हो । हामीले विद्यार्थीहरुलाई सैद्धान्तिक विषय मात्र रटाउने होइन विद्यार्थीलाई व्यवहारिक, जनशक्ति निर्माण गर्ने, शिपमा आधारित शिक्षा दिँदै जाने हो । हाम्रो बच्चाहरु जुन सुकै वातावरण परिवर्तनलाई सामना गर्न सक्ने, घर अफिस मात्र होइन आवश्यक परेको खण्डमा देशको जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्षम बनाउने हो । आज वडा अध्यक्षदेखि गाउँपालिका, नगरपारिकाल, प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म सक्षम नेतृत्वको अभाव देखिएको छ । हामी समाजको नेतृत्व लिन सक्ने, कम्पनीको नेतृत्व लिन सक्ने, सरकारको नेतृत्व लिन सक्ने व्यक्ति निर्माण गर्न सक्छौं । विद्यालय, शिक्षालय भनेको असल नागरिक उत्पादन गर्ने कारखाना हो । त्यहाँबाट असल नागरिक उत्पादन हुनुपर्छ । त्यसतर्फ सबैले आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्छ नेपालय एजुकेशन फाउण्डेशनको भावी योजना के छन् ? देश अहिले संघीयतामा गएको छ । भोलि संघीय सरकारले शिक्षालाई युनिभर्सीटीको कन्सेप्टमा लैजाला । त्यसको लागि एउटा टिम बनाएका छौं । परिआएको अवस्थामा युनिभर्सीटीको कन्सेप्टमा जान सकौं । स्कूलदेखि मास्टरसम्मका धेरै कार्यक्रमहरु ल्याउन पर्ने हुन्छ । हामी आफै कोर्षहरु डिजाइन गर्ने क्रममा छौं । निजी स्कूलहरुलाई पूर्वधारको समस्या हुँदाहुँदै पनि हामीसँग खेलमैदान, कक्षा कोठा, विज्ञानको प्रयोगात्मक, कम्प्युटरको प्रयोगशाला, सेमिनार हल, मोटिभेसन क्लास सबै छ । सम्पूर्ण कुराले सम्पन्न छौं । यी सबै तयार गर्न सकेकोमा हामी खुसी नै छौं ।

गहना बेचेर शुरु गरेकाे नाइटिङ्गेल स्कूलको भ्यालु अहिले एक अर्बभन्दा बढी छ– तेजुलाल चौधरी

कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो । र, अहिले उहाँ नेपाली काँग्रेसको नेता, सांसद्, राज्यमन्त्री र शिक्षा क्षेत्रको सम्मानित व्यक्तित्व बन्नुभएको छ । उहाँले २०४९ सालमा स्थापना गरेको नाइटिङ्गेल स्कूल अहिले करिव २५ सय विद्यार्थी पढिरहेका छन् । यस स्कूलमा उहाँकै शब्दमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई नेपाल सरकारले २०७०, ७१ र ७२ सालमा लगातार राष्ट्र भरिकै उत्कृष्ठ स्कूल भनेर सम्मान गरेको छ । यस विद्यालयले बोर्ड फस्ट र नाइटिङगेल नर्सिङले टप विद्यार्थीहरु जन्माइरहेको छ । सप्तरी जिल्लाबाट २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक निर्वाचित सांसद समेत रहनुभएका यस विद्यालयको अध्यक्ष तेजुलाल चौधरीसँग नाइटिङ्गेल स्कूल, निजी लगानीमा सञ्चालित विद्यालयलको भविष्य र सरकारको सम्भावित नीतिमा केन्द्रीत भएर कुराकानी गरेको छौं । तेजुलाल चौधरी, अध्यक्ष–नाइटिङगेल इन्टरनेशनल सेकेण्डरी स्कूल नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई एउटा अभिभावकको रुपमा कसरी बुझ्ने ? नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूल आजभन्दा २५ वर्षअघि ललितपुर जिल्लाको कुपन्डोलमा स्थापना भएको हो । वैशाखदेखि स्कूल २६ वर्षमा प्रवेश गर्दैछ । परिश्रम गरौं, सम्मानित होउ भन्ने मुख्य धेय लिएर स्कूलको स्थापना गरेको हुँ । फ्लोरेन्स नाइटिङ्गेलको नामबाट खुलेको स्कूल हो । स्कूलको शुरुवाती अवस्थामा धेरै संघर्ष, दुःख गर्नु परेको थियो । मैले श्रीमतीको गहनासमेत बेचेर स्कूलमा लगानी गरेको थिएँ । स्कूल स्थापनाताका आफ्नै किसिमको इतिहास छ । नेपालको शिक्षा नियमावली २०४८ आउैगर्दा एकैचोटी हाइस्कूल स्वीकृत दिने चलन थियो । त्यसैलाई टेकेर सिधै हाइस्कूल खोलेको थिए । एकै पटक ६ क्लासदेखि ४०/५० जना विद्यार्थीहरुबाट स्कूल शुरुवात गरेको थिएँ । स्कूलले केही इतिहास कायम गरेको छ । नेपालको हरेक क्रियाकलापमा भाग लिने, विजय हासिल गर्दै आएको छ । यस स्कूलबाट १४ ब्याज विद्यार्थीले एसएलसी दिइसकेका छन् । हाम्रा विद्यार्थीहरुले राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा ख्याती कमाइसकेका छन् । मध्यम विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर स्कूल स्थापना गरिएको हो । ठूलो घरघरनाका नभइ कर्मचारीहरुको छोराछोरीहरु यस विद्यालयमा पढ्छन् । स्कूलमा पढाइ अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास लगायतका हरेक क्षेत्रमा विद्यार्थीहरु सवल र अब्बल दर्जाका उत्पादन भएका छन् । हाल स्कूलमा अहिले २२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । ११ र १२ कक्षा मा करिब तीन सय विद्यार्थी छन् । नर्सिङमा कोटा अनुसार १२० जना अध्ययनरत छन् । नर्सिङ कलेजतर्फ हामीले दुई पटक नेपाल टप गरिसकेका छौं । स्कूलमा धेरै पटक हामीले बोर्ड फस्ट ल्याएका छौं । शिक्षा मन्त्रालयले राष्ट्रको, क्षेत्रको उत्कृष्ठ विद्यालयको रुपमा धेरै पटक सम्मान गरेको छ, पुरस्कृत गरेको छ । हामीले सस्तो शुल्क लिएर गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं । तपाई आफैले चाहीँ कस्तो स्कूल पढ्नु भएको हो ? म सरकारी स्कूल पढेको हुँ । पहिला म सरकारी स्कूल माविको स्थायी शिक्षक थिएँ । म ललितपुरकै सरकारी स्कूलमा जागिरे थिएँ । वदनियतपूर्ण मलाई ललितपुरकै पहाडमा सरुवा गरियो । त्यसपछि मैले स्कूल छोडेर आफै केही गर्छु भनेर अघि बढेको हुँ । अहिलेसम्म यस स्कूलमा कति लगानी गर्नुभएको छ ? जुत्ता नखोलिकन, खाना नखाइकन बिहानदेखि बेलुका रातदिन नभनिकन, परिवार, छोराछोरीलाई छोडेर भएपनि नेपालको टप स्कूल कसरी बनाउने भनेर धेरै वर्ष मिहेनत गरेँ । एक नम्बरमा कसरी ल्याउने मेरो एउटै उद्देश्य त्यही थियो । अहिले यो स्कूलको आफ्नै भवनहरु छन् । ४÷५ वटा भवनहरु छन् । भौतिक सुविधा सम्पन्न स्कूल भएको छ । नाइटिङ्गेलको, स्कूल, कलेज, नर्सिङको ब्राण्ड चल÷अचल सम्पत्ति बिक्री गर्नु पर्दा मूल्य कति राख्नुहुन्छ ? बिक्री गर्ने कुरा नगरौं । सबै जोड्ने हो भने, यसको भ्यालु एक अर्ब रुपैयाँ भन्दा बढी नै हुन्छ, घटी छैन । स्वास्थ्य र शिक्षा निजी क्षेत्रले होइन, राज्यले सञ्चालन गर्नुपर्छ भन्ने विचार बारम्बार आउँछ । यस्तो विचार सुन्दा आफ्नो लगानी कति सुरक्षित ठान्नुहुन्छ ? संविधानमा यो विषयमा ३ वटा कुरा प्रष्टै लेखिएको छ । कुनै पनि क्षेत्रमा सरकार, निजी र सहकारीबाट लगानीको हुनसक्छ । म आफै पनि पूर्व राज्यमन्त्री भएको नाताले नेपाल सरकारलाई निजी स्वास्थ्य र शिक्षालाई कसरी व्यवस्थित बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दछु । सही व्यवस्थापन गर्नका लागि आग्रह गर्दछु । नेपाल सरकार तथा स्थानीय निकायहरुलाई सामुदायिक स्कूल, स्थास्थ्य क्षेत्रलाई सबैभन्दा पहिले सुधार्न सक्नुप¥यो । अरबौ÷खरबौं रकम सरकारले लगानी गर्छ । सरकारसँग रेकर्ड छ ? सरकारी स्कूल राम्रो भए किन बोर्डिङ खोल्नु प¥यो ? कुनै पनि अभिभावकले आफ्नो छोराछोरी राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सोच्छन् । त्यही भएर सरकारी स्कूलहरुले त्यसलाई सम्बोधन गर्न नसकेपछि निजी तथा आवासिय विद्यालयहरुको जन्म भएको हो । यदि निजी स्कूलहरु नखुलेको भए धनढ्याहरु छोराछोरीहरु पहिलेको झै डार्जिलिङ, भारत लागयत देश पढ्न जान्थे । अहिले पनि कहीँ कतै गइरहेका छन् । गिटी बालुवा बोक्नेको छोराछोरी पनि निजी स्कूलमा पढ्छन् भन्नुभयो । साँच्चैकै पढ्छन् त ? शुल्क त महङ्गो नि ? हजार÷पन्ध्रसय रुपैयाँ शुल्क लिएर पनि निजी स्कूल सञ्चालन भएका छन् । अहिले पनि काँधका कपडा बेच्ने एक जैसुवालले आफ्नो दुई छोराहरुलाई यसै नाइटिङ्गेल स्कूल पढाएर इञ्जिनियर बनाए । यस्ता विद्यर्थीलाई नाइटिङ्गेलले क्षात्रवृत्ति दिएको छ । नाइटिङ्गेलमा विद्यार्थीको लागि शुल्क कति निर्धारण गर्नुभएको छ ? शुल्क एकदम सस्तो छ । ३ हजार ३ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म छ । वार्षिक भर्ना शुल्क १० देखि २१ हजार रुपैयाँसम्म छ । बीचमा कुनै शुल्क लाग्दैन । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएको भन्छन् नि, तपाईको यसप्रतिको बुझाइ कस्तो छ ? सरकारले जसरी शिक्षामा लागानी गरिरहेको ९० प्रतिशत रिटर्न आउदैन । १ क्लासमा भर्ना हुने बच्चा दशौं बाह्रौं लाख हुन्छन् । एसएलसी दिने समयमा ४ लाख मात्र हुन्छ । ५ लाख बच्चा कहाँ हराउछ थाहा छैन । हराएको बच्चालाई के गर्ने । के तालिम दिने, के शिप सिकाउने, कुन जातीका बच्चाहरु स्कूल छोड्छन् ? कस्ता बच्चाहरुले पढ्दैनन्, किन छोड्छन् ? अहिलेसम्म नेपाल सरकारले पार्टीकुलर रुपमा यस सम्बन्धि अध्ययन गरेको छैन । म विगतमा राज्यमन्त्री भएको थिए । शिक्षा क्षेत्रमा बसेर काम गरेको ४ वर्ष भयो । जति लगानी गरेता पनि पार्टीकुलर स्थानीय सरकारले २÷३ वटा कुरा गर्न सकेन भने सोचेअनुसारको शिक्षामा परिवर्तन आउन सक्दैन । एउटा सबैभन्दा पहिले ७५३ वटा स्थानीय तह छ । प्रत्येक स्थानीय तहको परीक्षाको प्रणाली छ । पाठ्यक्रम केन्द्रकै भएपनि स्थानीय सरकारको पनि आफ्नै पाठ्यक्रम हुन्छ । मेयर, स्थानीय प्रमुखहरु शिक्षामा राम्रो दख्खल राख्छन् । त्यहाँको शिक्षा राम्रो हुन सक्छ । हैन भने सबै ठाँउको शिक्षा राम्रो हुन सक्दैन । तत्कालै सरकारले नमूना कानून बनाएर केन्द्र, प्रदेश, स्थानीय सरकारले के–के गर्ने भनेर जिम्मा दिनुपर्छ । सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्छ । तराईवासीका, जनजाति, थारु लगायतका छोराछोरी शिक्षाबाट बञ्चित छन् । उनीहरुलाई समेट्न सरकारले आवासीय विद्यालयको अबधारणामा ल्याउनुपर्छ । नमूनाको रुपमा त्यस्ता विद्यालयहरु सञ्चाल गर्नुपर्छ । सरकारले १२ कक्षासम्म सम्पूर्ण व्यवस्था गरेर विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । आगामी योजना के–के छन् ? नाइटिङ्गेलस्कूल अबको २/४ वर्षमा विश्वस्तरिय शिक्षा दिने सोचका साथ अघि बढेको छ । सम्पूर्ण सेवासुविधा सम्पन्न हुन्छ । जस्तै प्रतेक क्लासमा मल्टिमिडिया प्रोजेक्ट जडान गरिन्छ । यसैपालि २० ओटा क्लासमा जडान गर्दैछौं । विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने हिसाबले अघि बढ्दैछौं । प्रविधि, सिकाइ लगायत हरेक दृष्टिकोणले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दैछौं । केही वर्षमै अन्तर्राष्ट्रिय स्कूलहरुसँग जोडिने योजना छ । विद्यालयमा आइटी सम्बन्धि प्रविधिहरु अहिले के–के छन् ? ३÷४ प्रकारका विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौं । क्लासमा प्रत्येक दिन १/२ ओटा प्रोजेक्टर अथवा मल्टिमिडियाको प्रयोग गर्र्नु पर्ने व्यवस्था गरेकाछौं । कोर्ष तथा बाहिरको विषयमा मल्टिमिडियाको प्रयोग गरिन्छ । बच्चाहरु स्कूल पुग्यो पुगेन । स्कूल पुग्ने वित्तिकै घरमा म्यासेज जान्छ । गाडीमा चढ्ने बित्तिकै मोबाइलमा म्यासेज जान्छ । गाडी कहाँ पुग्यो ? अथवा जाममा छ भने अभिभावकले मोबाइलमार्फत थाहा पाउछन् । भएका सुविधाहरुलाई व्यापक रुपमा प्रयोग गरेका छौं । शुल्क तिरेको छ, छैन? बाँकी कति छ ? घरमै बसीबसी हेर्न सकिन्छ । स्कूल कलेजमा दक्ष जनशक्ति आकर्षित छैन । जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ ? नेपालमा जनशक्ति अभाव ठूलो समस्याको रुपमा आएको छ । राम्रो जनशक्ति विदेश पलायन हुने अथवा आफै रोजगारी सृजना गर्ने, ठूला–ठूला बैंकहरुमा जागिर खान जाने लगायतका समस्या छन् । उनीहरु शिक्षा पेशातर्फ आकर्षण गर्न तथा भएकाहरुलाई पनि टिकाइ राख्न गाह्रो छ । उनीहरुलाई कति तलब दिदा बस्छन् । अनुमान गर्न गाह्रो छ । यद्यपि नाइटिङ्गेलमा २५ वर्षदेखि काम गर्ने शिक्षकहरु अझै करिब २० जना छन् । उनीहरुनै यो स्कूलको खम्बाको रुपमा रहेका छन् । १५ वर्ष जागिर गर्नेहरु ३०/४० जना छन् । हामी प्रत्येक वर्ष केही न केही तलब बढाउछौं । कम्तिमा पनि हामी शिक्षकलाई सरकारी स्केल बराबरको तलब दिन्छौं । अहिल राम्रो शिक्षक छन् भने उनीहरुको माग अनुसार तलब दिन्छौं । शिक्षकको माग अनुसार कति वर्षको लागि हो करार गरेर तलब दिने प्रचलन पनि आइसकेको छ । यहि स्कूल पढेका विद्यार्थीहरु करिब १०/१२ जनाले पढाउँछन् ।