नाडा अटो शोमा विद्युतीय सवारी आकर्षणको केन्द्र बन्दैछ- निराकार श्रेष्ठ
निराकार श्रेष्ठ, संयोजक- नाडा अटो शो २०१८ नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म सवारी साधनहरुको वृहत प्रदर्शनी नाडा अटो शो २०१८ आयोजना गर्दैछ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् र यो प्रदर्शनी विगतमा भन्दा ठूलो र आकर्षक रहने बताइएको छ । के के हुँदैछ यस प्रदर्शनीमा ? मन्दीको सामना गरिरहेको अटोमोवाईल बजारलाई यो मेलाले बुमको दिशामा फर्काउँछ त ? प्रस्तुत छ नाडाका कार्यसमिति सदस्य, नाडा अटो शोका संयोजक र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठसँग गरिएको कुराकानी । नाडा अटो शोको तयारी कस्तो छ ? नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुन लागेको नाडा अटो शो २०१८ को सबै तयारी पुरा भएको छ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । शोमा १९ वटा ब्राण्डका चार पाङग्रे सवारी र २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहनेछ । यस वर्षको मेलाको आकर्षण के के हुन्छन् ? नाडा अटो शो आफैमा नेपालमा हुने अरु प्रदर्शनीभन्दा बृहत हुन्छ । गत वर्षभन्दा यस पटक थप चार ब्राण्डका मोटर साईकल, तीन ब्राण्डको कार थपिएका छन् । मेलाका लागि थप स्पेश आवश्यक भएकोले नयाँ डोम थपेका छौं । यस मेलामा सबैभन्दा बढी आकर्षण विद्युतीय सवारी हुनेछन् । ४/५ वटा कम्पनीले विभिन्न ब्राण्डको विद्युतीय सवारी प्रदर्शनीमा राख्ने तयारी गरेको हामीले जानकारी पाएका छौं । विद्युतीय सवारीहरु कुन कुन कम्पनीहरुले राख्दैछन् ? हुण्डाईले पहिलो पटक विद्युतीय सवारी प्रदर्शनीमा राख्दैछ । त्यस्तै टाटाले पनि पहिलो पटक विद्युतीय सवारी प्रदर्शनीमा राख्न लागेको जानकारीमा आएको छ । महिन्द्रा र कियाले यसअघि नै नेपालमा विद्युतीय कार बिक्री वितरण शुरु गरेको छन् । अरु केही कम्पनीहरुले पनि विद्युतीय सवारी राख्ने तयारीमा छन् । हुण्डाईले कस्तो गाडी ल्याउँदैछ ? हामीले हुण्डाई आयोनिक सार्वजनिक गर्दैछौं । यो सेडान गाडी हो र हुण्डाई कम्पनीको अनुसार फूल चार्जमा २८० किलोमिटरसम्म गुढ्छ । यसको मूल्य नाडा अटो शोमा मात्र घोषणा गर्ने छौं । हुण्डाई आयोनिक प्रदर्शनीमा मात्र राखिन्छ कि बिक्री पनि हुन्छ ? थोरै संख्यामा भित्रियो भने प्रदर्शनीमा मात्र रहने छ र बुकिङ ओपन हुनेछ । अलिबढी संख्यामा आयो भने बिक्रीमा पनि हुन्छन् । विद्युतीय सवारीको आकर्षण कस्तो छ ? विश्वव्यापी रुपमा हेर्दा विद्युतीय सवारीको माग ट्रेन स्पष्ट रुपमा आएको छैन । मानिसहरु वातावरणमैत्री बन्नको लागि, वातावरण प्रदुशणमुक्त बनाउने अभियानमा सहयोग गर्नको लागि विद्युतीय मोटर किनिरहेको छन् कि सरकारले विद्युतीय सवारी किन्नको लागि दिएको सहुलियतबाट लाभ लिन यस्तो गाडी किनिरहेका छन् भन्ने प्रष्ट भईसकेको छैन । हामीले विद्युतीय सवारी चढिरहेका र चढ्न चाहने सर्कलमा सानो सर्भे गरेको थियौं । त्यसमा पनि कोही वातावरणीय पक्षबाट प्रभावित भएको, कोही सरकारी सहुलियतबाट प्रभावित भएको देखियो । सरकारले विद्युतीय सवारीमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट मात्र लगाएकोले नेपालीहरु यसतर्फ आकर्षित भएको देख्छि । ग्लोबल वार्मिङका मुख्य कारणहरुमध्ये सवारीसाधनबाट निष्कने प्रदुषण पनि महत्वपूर्ण फ्याक्टर हो भनेर वातावरणविद्हरुले औल्याएका छन् । विश्वभर ग्लोवल वार्मिङको आवाज बुलन्द हुँदै गर्दा विश्वका धेरै मोटर्स कम्पनीहरुले २०३० देखि २०४० सम्म पेट्रोलियम पदार्थबाट चल्ने मोटर उत्पादन नै बन्द गर्ने घोषणा पनि गरिसकेका छन् । यसै सन्दर्भमा नेपालमा पनि जागरुक उपभोक्ताहरु विद्युतीय सवारीप्रति चनाखो भएको पाईन्छ । विद्युतीय सवारीका चुनौतिहरु के छन् ? १० वर्ष अघिदेखि विद्युतीय मोटरको प्रयोग हुन थालेको युरोपेली देशहरुमा पनि अझै आवश्यक पूर्वाधार बनेको छैन । नेपालमा आवश्यक पूर्वाधार बन्न अझै धेरै वर्ष लाग्न सक्छ । चार्जिङ स्टेशनहरु बन्न शुरु नै भएको छैन । सवारी किन्दा पर्ने लागत र सञ्चालन लागतको विसावले विद्युतीय सवारी सस्तो पर्छ कि महँगो ? सामान्यतया गाडीको आयु १५ देखि २० वर्ष हो । विद्युतीय सवारीको मुख्य चुनौति भनेको ६/७ वर्षको दौरानमा व्याट्री फेर्नुपर्छ । व्याट्री निकै महँगो छ । पेट्रोल डिजेलमा चल्ने सवारीको इन्जिनभन्दा विद्युतीय सवारीको व्याट्री महँगो छ अहिलेको बजारमा । विद्युतीय सवारीको प्रयोग बढ्यो, व्याट्रीको उत्पादन र प्रयोग बढ्यो, प्रविधिमा पनि परिवर्तन आयो भने भविष्यमा व्याट्रीको मूल्य सस्तो पनि पर्न सक्छ तर आजको दिनमा विद्युतीय सवारी भन्दा डिजेट, पेट्रेलबाट चल्ने सवारी नै सस्तो पर्छ । गाडी किनिसकेपछि हुने इन्धन खर्च, पाटपूर्जा फेर्न, मर्मत गर्न आउने खर्च भने विद्युतीय सवारीमा सस्तो पर्छ । वर्षमा १० हजार किलोमिटर गाडी गुडाउनेले ५ वर्षमा ५० हजार किलोमिटर गाडी गुडाउँछ । अहिलेको मूल्यका आधारमा पाँच वर्षमा तेलको खर्च करिब ६ लाख रुपैयाँ आउँछ । विद्युतीय कारमा १ लाख ५० हजार खर्च आउँछ । विद्युतीय कारमा मेकानिकल पार्टस् थोरै हुन्छन् । त्यसैले मेकानिकल पार्टस् फेल हुने चान्स पनि कम हुन्छ । मर्मत र स्पेयर्स पाट्समा पनि खर्च कम हुन्छ । ७ वर्षमा इन्धन र स्पेयर्स पाट्स हुने बचतले नयाँ व्याट्री किन्ने पुग्दैन ? पुग्दैन । व्याट्रीको मूल्य गाडी मूल्यको ३५ देखि ४० प्रतिशत पर्छ । यसको आधारमा विद्युतीय कार महँगो नै पर्छ । त्यसैले विद्युतीय सवारीको बजार विकासको लागि सरकारले दीर्घकालिन योजनासहित पूर्वाधार निर्माणमा काम गर्नुपर्ने देखिएको छ । कस्ता पूर्वाधार निर्माण जरुरी छ ? छिटो व्याट्री चार्जको लागि डिसि चार्जर मेसिन आवश्यक छ । यस्तो मेसिनले फूल चार्ज गर्न करिव एक घण्टा लाग्छ । यस्तो मेसिन चाइनिज किन्यो भने २५ लाख रुपैयाँ पर्छ । यूरोपियन मेरिन ल्यायो भने ४० लाख रुपैयाँ पर्छ । यी मेसिन राख्नको लागि ७० देखि ८० किलोवाट पावरको विद्युत आपूर्ति हुनुपर्छ । त्यसको लागि छुट्टै ट्रान्समिसन आवश्यक हुन्छ । मेसिन राख्ने ठाउँ पनि चाहियो । सबै लागत जोड्दा एउटा डिसि चार्जर राख्न करिव ७० लाख रुपैयाँ लगानी हुन्छ । यसरी राखिएको मेसिनले २४ घण्टामा बढीमा २४ वटा गाडी चार्ज गर्न सक्छ । पेट्रोल पम्पले १२ घण्टामा २०० भन्दा बढी गाडीमा पेट्रोल हाल्न सक्छ भने डिसि चार्जरले १२ घण्टामा १२ वटा गाडीलाई मात्र चार्च गर्न सक्छ । अबको ३/४ वर्षको विद्युत उत्पादन माग भन्दा बढी हुन्छ भनिन्छ । त्यो सम्भव पनि देखिन्छ । तर आपूर्ति व्यवस्था राम्रो छैन । विद्युतीय सवारी चार्ज हुनको लागि कम्तिमा ३२ एम्पीयरको विद्युत जोडिएको हुनुपर्छ । हाल सर्बसाधारणको घरमा १६ एम्पीयरको विजुली जोडिएको हुन्छ । विद्युतीय कार किन्नेले घरमा कस्तो चार्जिङ सिस्टम बनाउनुपर्छ ? त्यसको लागि कति खर्च गर्नुपर्छ ? गाडी किन्दा एउटा चार्जर आउँछ । त्यसबाट फूल चार्ज गर्न ८ देखि १० घण्टा लाग्छ । होम फाष्ट चार्जर किन्न दुई/साढे दुई लाख रुपैयाँ पर्छ । त्यसले ४ देखि ५ घण्टामा फूल चार्ज गर्छ । पावर सप्लाईको भने समस्या हुन सक्छ । गाडी चार्जको लागि छुट्टै वाइरिङ हुनु आवश्यक छ । नाडा अटो शोले बजारमा कस्तो प्रभाव पर्छ ? अटोमावाईल क्षेत्रमा मन्दी छ । ८० प्रतिशत उपभोक्ता बैंकबाट कर्जा लिएर गाडी किन्छन् । गत वर्ष सवारी कर्जा उपलब्ध नभएर पनि समस्या भयो । खुशीको कुरा नाडा अटो शोको सन्दर्भमा बैंकहरुले अटो कर्जाको व्याज घटाउन थालेका छन् । कर्जा लगानी योग्य पुँजी पनि उपलब्ध देखिन्छ । नाडा वा दशैं तिहारको सन्दर्भमा मुख्य बैंकहरुले १० प्रतिशतभन्दा कममा कर्जा लगानी गर्ने देखिएको छ । त्यसले बजारलाई राम्रो सहयोग गर्नेछ । नाडा अटो शोमा उपभोक्ताको लागि कति छनौटको अवसर हुनेछ ? गत वर्षको तुलनामा यस वर्ष ३ वटा नयाँ ब्राण्डका गाडी थपिएका छन्, मोटरसाईकलको ४ वटा नयाँ ब्राण्ड थपिएका छन् । सबैले आकर्षक योजनाहरु तयार गरेका छन्, उपहार राखेका छन् । यसले उपभोक्तालाई पर्याप्त छनौटको अवसर दिनेछ । फेष्टिवलको वातावरण बन्छ । शोरुममा भन्दा नाडा शोमा ग्राहकले के बढी लाभ लिन सक्छन् ? शोमा पर्याप्त छनौटको अवसर हुन्छ । मूल्यमा पनि छुट हुन्छ । निर्णय पनि छिटो हुन्छ । दशैँ तिहारको स्कीमका अतिरिक्त अटो शोको ६ दिन अवधिका लागि अतिरिक्त सुविधा पनि कम्पनीहरुले दिन्छन् ।
वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्न र यसै वर्ष २० प्रतिशत बोनस सेयर दिन सकिन्छ- रमेशराज अर्याल
रमेशराज अर्याल, प्रमुख कार्यकारी अधिकृत-एनसीसी बैंक लिमिटेड नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकमध्ये नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन सकिरहेको छैन । हाल बैंकको पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ मात्र छ । पुँजी वृद्धि गर्न बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर निष्काशनपछि पनि बैंकको पुँजी ७ अर्ब १ करोड रुपैयाँ हुन्छ । बैंकले कसरी पुँजी ८ अर्ब बनाउँदैछ ? यस बैंकका प्रमोटरहरु किन आफ्नै बैंक विरुद्ध मुद्दामामिला गरिरहेका छन् ? यस्तो झगडिया बैंकको सेयरमा लगानीकर्ताले किन पैसा हाल्ने ? यो बैंकको सेयर मूल्य किन निरन्तर घटिरहेको छ ? प्रस्तुत छ बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालसँग विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पौडेलले यिनै विषयमा केन्द्रीत भएर गरिएको विकास वहस यस पटक । बैंकले हकप्रद सेयर निष्काशन खुला गरेको बेलामा लगानीकर्तालाई तपाई के अपिल गर्न चाहानुहुन्छ ? नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी ८ अर्ब पुर्याउने क्रममा २ बराबर १ अनुपातमा हकप्रद निष्काशन गरेका छौं । एनसीसी बैंकको वित्तीय अवस्था राम्रो छ । ६३ अर्ब निक्षेप परिचालन गरेका छौं । करिव ५५ अर्ब कर्जा प्रवाह गरेका छौं । कर्जा नोक्सानीको लागि आवश्यक सबै प्रोभिजन गरेपछि पनि बैंकले गत वर्ष १ अर्ब ७ करोड नाफा गरेको छ । बैंकको खराव कर्जा ३ प्रतिशतमा झरेको छ । सेयर स्वाप रेसियोबाट ९९ करोड रुपैयाँ जगेडा कोषमा जम्मा भएको छ । त्यो हामीले बोनस सेयरको रुपमा वितरण गर्न सक्छौं । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि सेयरधनीलाई लाभांश दिने अवस्थामा छौं । आजको दिनमा एनसीसी बैंकको हकप्रद सेयरमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ । खराव कर्जाको लागि पर्याप्त प्रोभिजन गरिएको छ । खराबकर्जा असुल हुँदै जाँदा त्यो रकम बैंकको नाफामा जान्छ । बैंकको पुँजी ८ अर्ब पुगेपछि राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पुरा हुन्छन् । बैंकले निर्धक्क भई कुनै अवरोध विना आफ्नो व्यवसाय अगाडि बढाउन सक्छ । बैंकभित्र सुशासन राम्रो छ । कर्पोरेट गभर्नेन्स राम्रो छ । अब बैंक राम्रोसँग अगाडि बढ्छ । तपाईहरुको लगानी सुरक्षित हुन्छ । बैंकले प्रतिफल पनि राम्रो दिन्छ । तसर्थ सम्पूर्ण शेयरधनी महानुभावहरुलाई समयमै हकप्रद शेयरको आवेदन बुझाउन पनि अनुरोध गर्दछु । पुँजी वृद्धि गर्न किन ढिला भयो ? २०७४ असार मसान्तसम्ममा बैंकहरुको चुक्ता पुँजी ८ अर्ब हुनुपर्छ भन्ने राष्ट्र बैंकको निर्देशन थियो शुरुमा । सोही अनुसार एनसीसी बैंकमा ४ वटा विकास बैंक मर्ज भएको हो । २०७३ पुस १७ गते उक्त मर्ज सम्पन्न भयो । मर्जपछि चुक्ता पुँजी २ अर्ब ३३ करोडबाट ४ अर्ब ६७ करोड रुपैयाँ भयो । अझै ३ अर्ब ३३ करोड पुँजी कम भयो । त्यसपछि हामीले ५० प्रतिशत हकप्रद सेयर निकाशन गरेर २ अर्ब ३३ करोड पुँजी थप्ने निर्णय गर्यौं । हकप्रद सेयर जारीपछि चुक्ता पुँजी ७ अर्ब १ करोड पुग्ने र मर्ज गर्दा स्वाप रेसियोको कारण जगेडा कोषमा जम्मा भएको रकमबाट बोनस सेयर वितरण गरेर पुँजी कृत गर्दा ८ अर्ब ७ करोड रुपैयाँ पुर्याउने योजना बनायौं । यी सबै काम २०७४ असार मसान्तभित्र गर्ने योजना थियो । हकप्रद सेयर निष्काशन गर्नको लागि २०७४ साल बैशाखमा नै विशेष साधारणसभा बोलायौ । साधारणसभा रोक्न विभिन्न निकायमा परेका उजुरी र सरकारी कार्यलयहरुबाट आएको निर्देशनले बैशाखमा बोलाईएको साधारणसभा रोक्नु पर्यो । हामीले २०७४ भदौं १६ गते १९ औं साधारणसभा गर्यौ । त्यस साधारणसभाले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पास गर्यो । २०७४ मंसिरमा सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा विवरणपत्र पेश गर्यौं । बोर्डबाट स्वीकृति पाउन लामो समय लाग्यो । बैंकका केही संस्थापक सेयरधनीहरुले अदालतमा मुद्दा हाले । बैंकले उक्त मुद्दाको प्रतिक्षा गर्यो र अदालतको फैसला बैंकको पक्षमा आयो । त्यसपछि पनि कहिले कम्पनीकाे रजिष्ट्रारको कार्यालयमा, कहिले धितोपत्र बोर्डमा उजुरी दिने काम भए । ती सबै विवादित विषयहरुलाई नियामक निकायहरुबाट सफाइ लिदै २०७५ असार २२ गते मात्र हामीले धितोपत्र बोर्डबाट हकप्रद सेयर निस्काशन गर्न अनुमति पायौं । त्यसपछि हामीले पहिलो चरणमा बैंकका आधारभूत सेयरधनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दियौं । साउन १५ गते सर्बसाधारण लगानीकर्तालाई हकप्रद सेयरमा लगानी गर्न आह्वान पत्र प्रकाशित गरेका छौं । २०७५ भदौं ४ देखि असोज ७ गतेसम्म हकप्रद सेयरका लागि आवेदन खुला गरेका छौं । सेयर निष्काशन गर्ने आह्वान पत्र निष्काशनपछि पनि त्यसविरुद्ध मुद्दा परेका छन्, होइन ? केही मुद्दाहरु आए । त्यसमा पनि बैंकले प्रतिक्षा गर्यो र अन्तरिम आदेश जारी भएको छैन । पुँजी वृद्धिसँग र हकप्रद सेयरसँग जोडिएको मुद्दाले हकप्रद शेयर निष्काशनमा कुनै अवरोध छैन । नियामक निकायहरु राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार कार्यालय सबैबाट सहमति लिएका छौं । एनसीसी बैंकमा बारम्बार यस्तो विवाद किन भईरहन्छ ? किन बैंकका प्रवद्र्धकहरु नै बैंक विरुद्ध मुद्दा मामिला, उजुरबाजुर गरिरहन्छन् ? मैले प्रष्ट रुपमा भन्नु पर्दा धेरै पहिलादेखि यस बैंकमा प्रवद्र्धकबीच विभिन्न खालका ‘कन्फ्लिक्ट’ भइरहेका थिए । बैंक तथा वित्तीय संस्थामा सेयरधनीको लगानी भन्दा धेरै गुणा बढी सर्बसाधारणको पैसा बचत हुन्छ । बैंकको व्यवसायको कच्चा पदार्थ भनेको सर्वसाधारणको बचत हो । यो विषय यस बैंकका प्रवद्र्धकलाई ज्ञान नभएको भन्न सकिदैन । बुझेर हो वा नबुझेर, जानेर हो वा नजानेर उहाँहरुले बैंकलाई असहयोग गर्ने, अप्ठ्यारोमा पर्ने गतिविधि गर्दै आउनु भएको छ । यस्ता गतिविधि उहाँहरुको लागि पनि हानिकारक छ, अरु सबैका लागि पनि हानिकारक छ । उहाँहरुकै भूमिकाले २०७० माघ महिनामा राष्ट्र बैंकले यस बैंकको सञ्चालक समिति टेकओभर गर्नुपर्यो । ‘उहाँहरु’ भनेका को हुन् ? पाठकले बुझ्ने गरी भन्न मिल्दैन ? यो त सबैलाई थाहा भएकै कुरा हो । एनबी ग्रुपसँग सम्बन्धित कम्पनीहरु । मुद्दामामिला, उजुरीबाजुरी गर्दा उहाँहरु नै संलग्नु हुनुभएको छ । बारम्बार विवाद हुने यस्तो बैंकको सेयरमा लगानीकर्ताले किन थप लगानी गर्ने ? मलाई विश्वास छ, अब विवाद हुँदैन । सेयरधनीहरुले पनि विवाद गर्दा आफ्नै लगानीमा नकरात्मक असर पर्छ भन्ने कुरा बझिसकेको हुनुपर्ने हो । पछिल्लो समयमा विवादको मुल विषय भनेको साविक एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित खराब कर्जा हो । त्यसबाट आएको खरावकर्जा मध्ये ५० प्रतिशत असुल भएको छ । अब करिव रु. १६० करोड रुपैयाँ कर्जा असुल हुन बाँकी छ । त्यो पनि उठाउन हामीले सक्दो पहल गर्दै आएका छौं । रु १६० करोड मध्ये ५० प्रतिशत मात्र यस वर्ष असुली गर्दा पनि रु ८० करोड नाफा असुलीबाट मात्रै हुन्छ । बाँकी कर्जा असुलीमा जति प्रगति हुँदै जान्छ, त्यति नै यो विवादको अन्त्य हुँदै जान्छ । दोस्रो, यस बैंकको सेयर संरचनामा ठूलो परिवर्तन आएको छ । पहिला यस बैंकमा एनबी समूहको करिव ३० प्रतिशत सेयर थियो । मर्जपछि करिव १६ प्रतिशतमा झर्यो । हकप्रद सेयर निष्काशनमा उहाँहरुको सहभागिता नभएमा उहाँहरुको हिस्सा १० प्रतिशतभन्दा कम हुन्छ । राष्ट्र बैंकको पनि के निष्कर्ष छ भने प्रवद्र्धक सेयरधनीबीचको सेयर स्वामित्व विविधिकरणपछि यो बैंक राम्रोसँग चल्छ । द्वन्द्वको अन्त्य हुन्छ । आधारभूत सेयरधनी मध्येबाट ३८ लाख कित्ता सेयरको लागि लगानी भएन । कस-कसले हकप्रद सेयर लिएनन् ? हाल सञ्चालक समितिमा हुने सबै जनाले सबै सेयर लिनुभयो । आधारभूत सेयरधनी मध्ये नेपाल इन्स्योरेन्स कम्पनीले सबै हकप्रद सेयर लिएको छ । नरेन्द्र भट्टराईसंग सम्बन्धित कम्पनीले सबै सेयर लिइसकेको छ । एनबी समूह र निर्मल प्रधान समूहसँग सम्बन्धित केही कम्पनीहरुले हकप्रद सेयर भरेनन् । तर सर्बसाधारणबाट हकप्रद सेयर आवेदन राम्रो छ । आवेदन खुला भएको पहिलो सातामा नै रु. ११ करोडको सेयर माग भएको छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित विवादहरु के के छन् ? एपेक्सको हिसाव अलगै राख्नु भन्ने अदालतको आदेशअनुसार हामीले खाता अलग राखेका छौं । मर्जपछि आवश्यकताअनुसार शाखाहरु समायोजन भए पनि निक्षेपकर्ता, ऋणी सबैको खाताको हिसाव अलगै छ । तर सेयर लागत अलग राख्न सम्भव भएन । सेयर कारोबारको सम्पूर्ण विवरण रेकर्ड राख्ने सिडिएसले पनि सेयर लागत अलग गर्न सकिदैन भनेर हामीलाई पत्र लेखेकोे छ । बोधार्थ अदालतलाई पनि पठाएका छन् । उक्त विकास बैंकसंग सम्बन्धित निष्क्रिय कर्जाको धेरै असुली भइसकेको छ । उक्त बैंक गाभिए पश्चात २०७३ पुस मसान्तमा निष्क्रिय कर्जा ६.४६ प्रतिशत थियो अहिले २०७५ आषाढ मसान्तमा २.९२ प्रतिशतमा झरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा एपेक्सको छुट्टै हिसाव छैन नि ? हामीले सम्मानित अदालतको सम्मान गर्दै हिसाब छुट्टै राखेका छौ । प्रकाशित गर्दा सबै एकिकृत गरेर प्रकाशित गरिएको हो । तर साधारणसभामा पेस हुने वार्षिक प्रतिवेदनमा एपेक्सको छुट्टै विवरण पेश हुनेछ । एनसीसी बैंकको दुई आर्थिक वर्षको साधारणसभा भएको छैन, कहिले हुन्छ ? आगामी असोज मसान्तसम्म हकप्रद सेयर बाँडफाँड हुन्छ । आवेदन नपरेको सेयर कात्तिकसम्म लिलाम प्रक्रियाबाट बिक्री गर्छौ । आर्थिक वर्ष २०७३/७४ को आयव्यय लेखापरिक्षण सम्पन्न गरी राष्ट्र बैंकमा पेस गरेका छौं । आर्थिक वर्ष २०७४/७५ को पनि छिट्टै लेखापरिक्षण हुनेछ । पुस मसान्तभित्र दुबै आर्थिक वर्षको साधारणसभा एकै पटक गर्छौ । उक्त साधारणसभामा बैंकले सेयरधनीलाई कति लाभांश दिने प्रस्ताव लैजान्छ ? हकप्रद सेयर निकाशनपछि बैंकको सेयरपुँजी ७ अर्ब १ करोड हुन्छ । पुँजी ८ अर्ब नपुगेको कारणले हामीले बोनस सेयर मात्र वितरण गर्न सक्छौं । स्वाप रेसियोबाट आएको ९९ करोड रुपैयाँ जगेडा कोषमा छ । त्यो रकम र बैंकले आर्जन गरेको नाफाबाट कम्तिमा २० प्रतिशत बोनस सेयर जारी गर्न सकिने देखिन्छ । त्यसपछिको आर्थिक वर्षमा दिने प्रतिफल कस्तो हुन्छ ? अरु बैंकहरुले दिने औषत लाभांश भन्दा एनसीसी बैंकले दिने लाभांश कम हुने छैन । त्यो भनेको न्यूनतम १०/१५ प्रतिशत हुन्छ । अझै पनि लगानीकर्तामा धेरै दुविधा रहेको पाइन्छ । एनसीसी बैंकमा कति खेर के विषयमा झगडा हुन्छ ? कतिबेला कसले कहाँ के मुद्दा हाल्छ ? अनुमान गर्न पनि कठिन छ । बैंकको हकप्रद सेयर कहिले बाँडफाँड हुने हो, कहिले सूचिकृत हुने हो ? कहिले साधारणसभा हुने हो, कहिले बोनस पाउने हो ? लगानीकर्तामा रहेको यस्तो आशंका र दुविधालाई तपाई कसरी हटाउन सक्नुहुन्छ ? हामीले असन्तुष्ट शेयरधनीहरुलाई अनुरोध गर्ने हो । बैंक ठिक बाटोमा अगाडि बढेको छ । वित्तीय अवस्था बलियो छ । बैंक राम्रो भएपछि सबैको धारणा पनि राम्रो बन्दै जान्छ । हकप्रद सेयरबारे उठेका सबै विवाद अदालतबाट हाललाई निराकरण भएको छ । हकप्रद सेयर बाडफाँड, सूचिकरण सबै ठिक समयमा हुन्छ । साधारणसभा पनि अब पहिला जस्तो ढिला हुँदैन । मर्ज भइसकेपछिका कन्सोलिडेट गर्ने कार्यहरु सबै सम्पन्न भइसकेका छन् । बैंकको चुक्ता पूजी रु ८ अर्ब पुगेपछि व्यवसाय वृद्धिले पनि अझ गति लिने छ । बैंकको वित्तीय अवस्था सुदृढीकरण हुन्छ र लगानीकर्तालाई पनि आफ्नो लगानीको प्रतिफल आउने सुनिश्चितता बढ्छ । बैंकको भविष्यको योजना कस्तो छ ? नेपाल क्रेडिट एण्ड कमर्श बैंक २२ वर्ष पुरानो बैंक हो । ११५ वटा शाखाहरु छन् । ४७ जिल्लामा बैंकको उपस्थिति छ । राष्ट्र बैंकले १७ वटा स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएकोमा १४ ठाउँमा शाखा विस्तार गरिसकेका छौं । ११०० भन्दा बढी कर्मचारी छन् । मर्जपछि शाखाहरु उचित स्थानमा समायोजन भईसकेका छन् । जनशक्ति पनि राम्रोसँग व्यवस्थापन भईसकेको छ । एनसीसी ठूलो र बलियो बैंक भइसकेको छ । चुक्ता पुँजी बाहेक राष्ट्र बैंकले तोकेका सबै सूचाङ्क ठिक छन् । बैंकको सबै पक्ष राम्रो भएकोले अब बैंकको सेवास्तर पनि धेरै राम्रो हुन्छ । व्यवसाय वृद्धि पनि राम्रो हुन्छ । वार्षिक कम्तिमा ३५ प्रतिशतको व्यवसाय वृद्धिको लक्ष्य लिएका छौं । सबै किसिमबाट बैंक राम्रो छ भन्नुहुन्छ । वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्छु भन्नुहुन्छ । ५/६ महिनाभित्रै २० प्रतिशत बोनस सेयर दिन्छु भन्नुहुन्छ । तर बैंकको सेयर मूल्य किन १७० रुपैयाँ भन्दा पनि कम ? यतिबेला सेयर बजार समग्रमा नै घटिरहेको छ । राम्रा बैंक तथा कम्पनीहरुको सेयर पनि अहिले निकै कम छ । सेयर मूल्य कम्पनीको वित्तीय सूचकले मात्र निर्धारण गर्दैन, माग र आपूर्तिले निर्णयक भूमिका निर्वाह गर्छ । अहिले सेयर बजारमा आपूर्ति बढी छ, माग कम छ, त्यसैले मूल्य कम भएको हो । एनसीसी बैंकले सुधार गर्नुपर्ने तीन वटा पक्ष छन् । पहिलो पुँजी वृद्धि कार्य सम्पन्न हुनुपर्यो । दोस्रो एनपीए २ प्रतिशतभन्दा कम गर्नु पर्यो । तेस्रो, नाफा वृद्धि गर्ने । यी तीनै वटा कार्य सम्पन्न गर्न एनसीसी बैंकको व्यवस्थापन प्रतिवद्ध भएर अगाडि बढिरहेको छ । अन्त्यमा, सम्पूर्ण शेयरधनी महानुभावहरुलाई समयमै हकप्रद शेयरको आवेदन बुझाई आफ्नो हक सुरक्षित गर्नुहुन म पुन: अनुरोध गर्दछु ।
सानिमा लाइफमा एनआरएनहरुले २५ लाख रुपैयाँको बीमा गर्न सक्छन्- केशवराज केसी
केशब राज केसी, नायब महाप्रबन्धक-सानिमा लाइफ इन्स्योरेन्स सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको असार मसान्तसम्मको प्रगति कस्तो रह्यो ? हामीले २०७४ साल मंसिर २२ गते कम्पनीको उद्घाटन गरेका थियौं । असार मसान्तसम्ममा ९ करोड ४४ लाख प्रिमियम संकलन गरियो । यति प्रिमियम संकलन गर्दा नयाँ कम्पनीमध्ये हामी पुछारबाट दोश्रो भएका छौं । हामीले १० करोडको प्रिमियम संकलन गर्ने योजना बनाएका थियौं । सानिमा लाइफले करिब आफ्नो उदेश्य अनुसार उपलब्धि हासिल गर्न सफल भएको छ । हामीले २२ वटा शाखा स्थापना गरिसकेका छौं । सातवटै प्रदेशमा शाखा खोली सकेका छौं । कतिवटा प्रडक्ट बजारमा पुगेका छन् र अन्य कम्पनीका प्रडक्ट भन्दा कति फरक छन् ? हामी अहिले पाँचवटा प्रडक्ट बेचिरहेका छौं । तीमध्ये बालबालिका केन्द्रित सानिमा बाल सौगात भन्ने पोलिसी अरुभन्दा भिन्न छ । अहिलेसम्म कसैले पनि सुरुमै बोनस दिएका छैनन् । हामीले यो पोलिसीमा ६५ बोनस घोषणा गरेका छौं । यो पोलिसीले बालबालिकाको उच्च शिक्षाका लागि पनि सहयोग गरोस् भन्ने सोच बनाएका छौं । १६ बर्षमा एसईई पास गर्नेहरुले १७ औं देखि २० औं जन्मोत्सबसम्म जति रकमको बीमा गरेको हो त्यसको २० प्रतिशतका दरले पैसा दिन्छौं । २१औं जन्मोत्सवमा चाँही बाँकी बोनससहितको रकम दिन्छौं । चार बर्षमा ८० प्रतिशत रकम फिर्ता गर्छाैँ । बाँकी २० प्रतिशत र पुरै बोनस २१औँ जन्मोत्सवमा फिर्ता गर्ने व्यवस्था छ । ३ महिनाको शिशुको पनि बीमा गर्न सकिन्छ । न्युनतम १० बर्षको समय सिमा चाँही आवश्यक पर्छ । २१ बर्षसम्ममा बीमाको लाभ लिईसकेको भएपनि अर्काे थप पाँच बर्ष चाँही अतिरिक्त जोखिम व्यहोरिदिन्छौं । त्यसका लागि थप प्रिमियम लिँदैनौं । साधारणतयः २१ बर्षको उमेर भनेको विदेश अध्ययन गर्न जाने लहरको हो । त्यसैले केहि सहयोग पुगोस भनेर ५ बर्ष अतिरिक्त जोखिम बहन गरिदिएका हौं । नयाँ प्रडक्ट के के ल्याउँदै हुनुहुन्छ ? केहि प्रडक्ट डिजाइन भैरहेको छ । एक्चुरीसँग छलफल भैरहेको छ । करिब ४ वटा प्रडक्टबारे तयारी गरिरहेका छौं । केहि समयभित्रै बजारमा ल्याउँछौं । के के फिचर छन् भन्नेबारे चाँही अहिले नै नबोलौं । तर बजारका अन्य प्रडक्ट भन्दा भिन्न र आकर्षक चाँही पक्कै पनि हुनेछन् । नेटवर्क विस्तारको योजना के छ ? अहिले २२ वटा शाखा सञ्चालनमा छन् । आर्थिक बर्ष २०७५।७६ मा थप ४५ वटा शाखा खोल्ने योजना छ । बीमा समितिबाट स्वीकृति पनि पाईसकेका छौं । जनशक्ति व्यवस्थापन कसरी गरिरहनु भएको छ ? इन्स्योरेन्स सम्बन्धी दक्ष जनशक्तिको अभाव छ भन्ने कुरा सबैले स्वीकार गरेका छन् । अलि पहिले सेवा आरम्भ गरेका नयाँ कम्पनीले पुराना कम्पनीका राम्रा मान्छे लगिसकेका थिए । हामी अलिपछि सेवा आरम्भ गर्ने कम्पनीमा पर्यौं । त्यसकारण हामीले खासै मानिस पुराना कम्पनीबाट ल्याउन पाएनौं । फरक फरक कम्पनीबाट मानिस ल्याउँदा फरक फरक कार्य शैलीका कारण समस्या आउने सम्भावना पनि देखियो । त्यसकारण हामीले नयाँ मानिस लिएर काम गराईरहेका छौं । यसरी आफ्नै योजना र कार्यशैली अनुसार जनशक्ति उत्पादन गरेर अघि बढ्ने योजना छ । नेपालमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ, लाइफ इन्स्योरेन्स कम्पनी कसरी अघि बढ्छ ? पक्कै पनि नेपालका सन्दर्भमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ । सानिमाको इमेजलाई हामीले अझै बढाउँछौं । उर्जा कम्पनीदेखि बैंक हुँदै नन लाइफ र लाइफ इन्स्योरेन्ससम्म आईपुगेको छ यो नाम । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पनि अरुले जसरी नै ब्राण्ड इमेज बनाउँदै जानेछ । लाभदायी पोलिसी र राम्रो सर्भिस मार्फत ब्राण्ड इमेजलाई बढाउँदै लैजान्छौं । सानिमा बैंक, सानिमा जनरल इन्स्योरेन्स र सानिमा लाईफबीचको संस्थागत सम्बन्ध के हो ? यी सबै स्वायत्त संस्था हुन् । सानिमा लाइफ र जनरलमा सानिमा बैंकको संस्थागत लगानी छ । तर कार्य सम्पादनमा एकले अर्काेलाई हस्तक्षेप गर्दैनन् । लाइफमा ३८ जना जति प्रमोटर छन्, जनरलमा १९ जना प्रमोटर छन् । कम्पनीमा प्रबिधीको प्रयोग कसरी गरिरहनु भएको छ ? सानिमा लाइफले प्रबिधीको धेरै उपयोग गर्ने प्रयास गरिरहेको छ । हामीले देशभरका शाखाहरुको सूचना एकै पटक प्राप्त गर्न सकिने व्यवस्था गरिरहेका छौं । कुनै शाखाले एउटा प्रपोजल इन्ट्री गराउने वित्तिकै केन्द्रमा जानकारी प्राप्त हुन्छ । हामी तीन देखि चार महिनाभित्र सानिमा लाइफलाई पेपरलेश बनाउने प्रयासमा छौं । सानिमा लाइफको आईपीओ कहिले आउँछ ? पहिला असार मसान्तसम्मको वित्तिय विवरण तयार गर्नुपर्नेछ । वित्तिय विवरणलाई बीमा समितिबाट पास गराएर बार्षिक साधारण सभामा लैजान्छौं । साधारणबाट आईपीओको प्रस्ताव पारित गराउँछौं । फटाफट काम भयो भने यहि आर्थिक बर्षमा पनि आइपीओ आउन सक्छ । कम्पनी सञ्चालनमा आएको लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको नियुक्तीमा किन ढिलाई भयो ? हामीले अनुभवी सिर्इअाे खोजीरहेका छौं । त्यसका लागि प्रयास पनि भैरहेको छ । विज्ञापन पनि गरेका थियौं तर हामीले सोचेको जस्तो व्यक्तिबाट आवेदन नै आएन् । इन्स्योरेन्स क्षेत्रमा अनुभव नभएका व्यक्तिहरु त आएका थिए तर हामीले चाहेका जस्तो व्यक्तिहरु आएनन् । हामीले अहिलेसम्म सोचे जस्तो व्यक्ति फेला पारेका छैनौं । पाउने वित्तिकै नयाँ सिर्इअाे नियुक्त हुन्छ । अहिले पनि हामी खोजी गरिरहेका छौं । मेरो कुरा गर्नुहुन्छ भने म सिर्इअाे बन्न यहाँ आएको होइन । मैले सिर्इअाे मलाई चाँहिदैन, दोश्रो पदभन्दा तल पनि बस्दिन भनेरै कम्पनीमा आएका हुँ । अभिकर्ताहरुको संख्या र सामर्थ्य कस्तो छ ? सानिमा लाइफले ११ सय जना अभिकर्ता तयार पारिसकेको छ । यी सबै हामीले आफ्नै प्रयासबाट उत्पादन गरेका हौं । हामीले एक जना अभिकर्ता पनि अरु कम्पनीबाट लिएका छैनौं । उनीहरुको सामर्थ्य कस्तो छ भन्ने बुझ्न चाँही केहि समय अझै कुर्नुपर्छ । थप पाँच सात महिनाको काम हेरेपछि उनीहरुको सामर्थ्य थाहा हुन्छ । जनशक्ति तानातानको प्रतिष्पर्धा कस्तो छ ? अहिले बीमा बजारमा जनशक्ति तानातानदेखि हरेक क्षेत्रमा प्रतिष्पर्धा छ । हामीले पनि अरु कम्पनीका कर्मचारी तानेका छौं । हाम्रो कम्पनीका मानिस पनि अरु कम्पनीले लगेका छन् । हामीले ५० हजारमा ल्याएका कर्मचारीलाई अरुले ६० हजार दिएर लगेका छन् । कर्मचारी तानातानमा केहि कडाई गर्नुपर्ने कुरा पनि उठेको छ । तर हामीलाई मान्छे चाहिएको छ, काम चाहिएको छ । बजारमा जनशक्तिको अभाव छ । त्यसकारण १० हजार बढी तिरेर भएपनि कर्मचारी तानौं न भन्ने हुने रहेछ । हामीले अभिकर्ता चाँही शतप्रतिशत नै नयाँ तयार गरेका हौं । कर्मचारी चाँही केहि अरु कम्पनीबाट पनि ल्याएका छौं । म आफैं पनि अर्कै कम्पनीबाट आएको हुँ नी । बीमा बजारको प्रतिष्पर्धा चाँही कस्तो रहेछ ? गत बर्षको बजारलाई हेर्ने हो भने २४।२५ प्रतिशत बजार बढिरहेको देखिन्छ । म बीमा क्षेत्रमा आउँदा राजा महेन्द्रको भाई बुहारी हेलेन शाहको ३ लाख रुपैंयाँको बीमा गराउँदा सबै अचम्मित भएका थिए । म बीमा संस्थानमा थिएँ, सबैले वाफ रे वाफ ३ लाख रुपैंयाँको बीमा गरेको भन्थे । त्यो जमानाको अनुभव पनि बटुलेको छु । त्यतिबेला बीमा संस्थानले स्वास्थ्य परिक्षण नगरि कुनै पनि प्रपोजल स्वीकार गर्दैनथ्यो । हामीले एक जना साथीलाई भनेर २ हजारको म्यादी बीमाको फारम भर्न लगायौं । स्वास्थ्य परिक्षण शुल्क नै ३० रुपैंयाँ लाग्यो । उसले प्रिमियम २२ रुपैंया तिर्यो । कम्पनीलाई उल्टै ८ रुपैंयाँ घाटा लाग्यो । त्यसपछि स्वास्थ्य परिक्षण नगरी प्रपोजल लिने चलन बसेको हो । अहिले बजार यति माथी पुगी सक्यो की मेरो कम्पनीमै एक करोड ४० लाखका २ वटा बीमा पोलिसी बिकेको छ । उनीहरुले बार्षिक १० देखि १२ लाखसम्म प्रिमियम तिर्छन् । एक डेढ लाखका प्रपोजल त आउनै छाडिसक्यो । पाँच सात लाख भन्दा साना प्रपोजलको माग नै कम आउँछ । प्रतिष्पर्धा त बजारमा स्वभाविक नै हो । पुराना कम्पनी थिए, हामी नयाँ कम्पनी आयौं । अहिले बीमा सहभागीता ११ प्रतिशत पुगेको छ अर्थात ८९ प्रतिशत नागरिक अझै बीमाको पहुँच भन्दा बाहिर छन् । अहिले बीमा बजारमा प्रतिष्पर्धासँगै अवसर पनि ठूलै छ । सानिमा लाइफको लक्षित वर्ग चाँही कुन हो ? हामीले बिशेष लक्षित वर्ग बनाएका छैनौं । बढी भन्दा बढी नेपालीलाई बीमाको दायरामा ल्याउनुपर्छ भनेर प्रडक्ट बनाईरहेका छौं । औषतमा सबै नेपालीले सानिमा लाइफबाट बीमा गराउन सक्छन् । हरेक खालको आय भएका नेपालीलाई बीमा पोलिसी उपलब्ध गराउँछौं । एउटा नागरिकले बीमा कम्पनीमा आएर मेरो बीमा गराउनु पर्यो, के के छन् पोलिसी भन्ने दिन कहिले आउँला ? हाम्रो जस्तो बचतमा आधारित प्रडक्ट बढी बिक्ने देशमा नागरिकले बीमा कम्पनी खोज्दै हिड्ने दिन आउन समय लाग्छ नै । विदेशमा भने टर्म लाइफको योजना खोज्दै नागरिक बीमा कम्पनीसम्म पुगिरहेका हुन्छन् । हामीले बचतमुखी योजना बेच्नुपर्ने अवस्था छ । नेपालमा भने कमाई भएका बेलामा बीमा मार्फत बचत गरेका हुन्छन् । जागिरको अवधी सकिएपछि सरकारले नहेर्ने परिपाटी भएकाले कमाई भएका बेलामा बचत गर्ने नाममा बीमा गर्ने चलन हामी कहाँ छ । वास्तवमा बीमा भनेको जोखिम हस्तान्तरण हो । तर हामीले बचत वा लगानी दुबै समेत भन्ने गरेका छौं । यतिबेला चाँही बीमा भनेको जोखिम हस्तान्तरण र लगानी दुबै हो । एनआरएनहरुको बीमा गर्ने प्रक्रिया कहाँ पुग्यो ? कसरी हुन्छ ? सानिमा लाईफमा एनआरएनहरुको लगानी छ । उनीहरुको जीवन बीमा गर्नका लागि हामीले केहि पहल गरेका थियौं । एनआरएनहरुले पनि जीवन बीमा गर्न पाउनु पर्छ भनेका थिए । हामीले बीमा समितिसँग पनि छलफल गर्यौं । नन मेडिकल तर्फको २५ लाखसम्मको एनआरएनको बीमा गर्न सकिने निष्कर्ष आयो । अब एनआरएनहरुले नेपाली बैंकमा रहेको खाता मार्फत नेपाली रुपैंयाँमै प्रिमियम तिरेर बीमा गर्न सक्छन् । हामीले भुक्तानी गर्दा पनि नेपालमै रहेको बैंक खाता मार्फत नेपाली रुपैंयाँमा नै भुक्तानी गर्नेछौं । एनआरएनहरुको बीमा गर्छाै तर प्रिमियम पनि यहिँ लिन्छौं र भुक्तानी पनि यहिँ दिन्छौं । नेपाली कम्पनी, नेपालीमै कारोबार अनि नेपालीमै भुक्तानी दिन्छौं ।