रिटगनले नेपालको सडकमा क्रान्ति ल्याउँदैछ-विवेक दुगड
२३ बर्षदेखि व्यापार व्यवसायमा संलग्न विवेक दुगड यतिबेला एमभी दुगड ग्रुपको उपाध्यक्ष छन् । विगत ३ बर्षदेखि एमभी ग्रुपको अटोमोबाइल सेगमेन्टको नेतृत्व गरिरहेका उनले बजार बिस्तारमा आक्रामक रफ्तार कायम गराईरहेका छन् । दुगड परिवारको पाँचौं पुस्ताका रुपमा व्यससाय अघि बढाईरहेका विवेक आफ्नो ‘रगतमै व्यापार’ भएको बताउँछन् । १४० बर्ष अघि कपडा व्यापारबाट दुगड परिवारले व्यवसायीक यात्रा आरम्भ गरेको थियो र आज त्यसको एउटा महत्वपूर्ण हिस्सा विवेकले सम्हालिरहेका छन् । भारतको कलकत्ता स्थित सेन्ट जेभियर्स कलेजबाट बि.कम अध्ययन गरेर नेपाल फर्किएपछि व्यवसायमा हात हालेका विवेकसँग देशविकासले गरेको विकास बहस । विवेक दुगड, उपाध्यक्ष-एमभी दुगड ग्रुप एमभी दुगड ग्रुपले कुन कुन क्षेत्रमा लगानी गरेको छ ? एमभी दुगड ग्रुपले मुलतः तीन वटा क्षेत्रमा लगानी गरेको छ । एउटा वित्तिय क्षेत्र हो, जसमा सनराइज बैंक, गुराँस लाइफ इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनी हो । यी कम्पनीमा हामी मुख्य लगानी कर्ताका रुपमा छौं । हामीले लगानी गरेको दोश्रो क्षेत्र भनेको अटोमोबाइल हो । ४५ बर्ष अघि सुरु गरिएको अटोमोबाइल व्यवसायमा हामी देशमै पायोनियर भैसकेका छौं । हामीले बेच्ने हरेक सेगमेन्टमा टप ३ भित्र पर्छौ । अटोमोबाइल क्षेत्रलाई चाँही मैले नै नेतृत्व गरिरहेको छु । र म गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुँ । एमभी दुगड ग्रुपले लगानी गरेको तेश्रो क्षेत्र भनेको उर्जा हो । यसमा पनि निजी क्षेत्रको सबै भन्दा ठुलो प्रोजेक्ट हामी नै बनाउँदैछौं । लिखु १, लिखु २ र लिखु ८ को काम अहिले अघि बढिरहेको छ । ४५ बर्ष पहिले अटोमोबाइल क्षेत्रमा आउँदाको अवस्था र अहिले तपाईले नेतृत्व गर्दाको अवस्थामा के फरक आएछ ? तपाईका अग्रजहरुको अनुभव कस्तो रहेछ ? मैले ४५ बर्ष पहिले अटोमोबत्राइल क्षेत्रमा हाम्रो ग्रुप प्रवेश गर्दाको अनुभव बुवा र काकाहरुबाट पाएको छु । उहाँहरुको अनुभवले नै म अहिले काम गरिरहेको छु । त्यतिबेला अटोमोबाइल भनेको बिलासीको साधनका रुपमा हेरिन्थ्यो । थोरै मान्छे मात्रै गाडी चढ्ने हैसियतमा थिए । व्यवसायीहरुका लागि पनि कुनै कम्पनीको आधिकारीक बिक्रेता हुनु भनेको समाजमा रवाफ देखाउने वा हामी फलानो कम्पनीको बिक्रेता हौं भन्ने कुरा जस्तो मात्रै थियो । बर्षमा मुस्किलले १०/१२ वटा गाडी बेच्न सकिन्थ्यो । तर पछिल्लो १० बर्षदेखि भने नेपालका व्यापारिक घरानाहरुले अटोमोबाइल क्षेत्रलाई लगानीको प्रमुख क्षेत्रका रुपमा लिँदै आएका छन् । निरन्तर वृद्धि भैरहेको अटोमोबाइलको बजारले नेपाली जनताको प्रगतिको संकेत दिईरहेको छ । यतिबेला हामी ५/१० बर्षको व्यवसायीक योजना बनाएर काम गरिरहेका छौं । आज भन्दा ३ बर्ष पहिले १५ वटा सर्भिस सेन्टर थिए, आज ४० वटा भन्दा बढि सर्भिस सेन्टर खोलिसकेका छौं । आगामी ३ महिना भित्र ४५ वटा पुर्याउँछौं । यसरी शाखा विस्तारको काम पनि योजनावद्ध ढंगले नै गरिएको हो । हामी पछिल्लो तीन बर्षदेखि अटोमोबाइल क्षेत्रको बजारमा आक्रामक ढंगले अघि बढ्ने प्रयासमा छौं । हाम्रा बुवाहरु तीन बर्ष अघि छुट्टिनु भएको हो । परिवार छुट्टिएपछि हामीले वित्तिय क्षेत्र, अटोमोबाइल र उर्जालाई रोजेका हौं । अटो मोबाइलमा चाँही कुन कुन कम्पनीका के के उत्पादन बेचिरहनु भएको छ ? हामीले मोटर साइकलमा रोयल इनफिल्ड बेचिरहेका छौं । यो नेपालका लागि सर्वाधिक रुचाईएको मोटरसाइकल हो । यसले सडक पर्यटनको विकासमा पनि सघाईरहेको छ । अफ रोड टुरिजममा राम्रो भूमिका खेलिरहेको छ । हामीले १९ बर्षदेखि जोन डियर ट्याक्टर बेचिरहेका छौं र यो विश्वकै एक नम्बरमा पर्छ । नेपालको ट्याक्टर बजारमा जोन डियरको बजार हिस्सा तेश्रो नम्बरमा छ । तेश्रो प्रडक्टका रुपमा २७ बर्षदेखि महिन्द्राका कमर्सियल सवारीसाधनहरु बेचिरहेका छौं । लोड किंग त काठमाडौं शहरमा सर्वाधिक गुडिरहेको देख्न सकिन्छ । चार बर्ष पहिलेदेखि महिन्द्राकै स्मल कमर्सियल भेईकल(एससीभी)का रुपमा म्याक्सिमो बेचिरहेका छौं । यसै बर्षमा यो सेगमेन्टमा एक नम्बरको हुनेछौं । यसै बर्ष ट्रक र टिपर बेच्न सुरु गरेका थियौं, त्यसको बजार पनि राम्रो छ । २ बर्ष पहिलेदेखि सार्वजनिक यातायातका साधन पनि बेच्न थालेका छौं । साना बाटाहरुका लागि थ्रि ह्विलर पिआजिओ बेचिरहेका छौं । यसको बजार पनि निकै राम्रो छ । ८ महिनामै दुई नम्बरको बजार हिस्सा ओगट्न सफल भएका छौं । यसमा हामीले बैंकबाट फाइनान्सको सुबिधा पनि दिईरहेकै छौं १५ प्रतिशतसम्मको ब्याजदरमा । महिन्द्राकै एक्साभेटर र ग्रेडर मेसिन पनि बेचिरहेका छौं । यसको बजार पनि राम्रो छ । ब्याक्हो लोडरमा तीन नम्बरमा आईपुगिसकेका छौं । दशैंमा मध्यम साइजको ग्रेडर ल्याएका थियौं १० वटा बेचिसक्यौं । अटोमोबाइलमा नयाँ प्रडक्ट के आउँदैछन् ? यतिबेला भने हामीले नेपाली बजारमा ब्रेक थ्रुका रुपमा रिटगनका नयाँ उत्पादनहरु भित्र्याउँदै छौं । त्यसले नेपालको सडक पूर्वाधारमा क्रान्ति ल्याउँदैछौं । चार महिना पहिले मात्रै रिटगन कम्पनीले हामीलाई नेपालका लागि आधिकारिक बिक्रेताको प्रमाणपत्र दिएको छ । यो विश्वकै एक नम्बरको कम्पनी हो जसले सडक पूर्वाधारका समान उत्पादन गर्छ । ह्याम रोलर त नेपालमा पनि लोकप्रिय बनिसकेको समान हो । अब चाँही हामी ह्याम सहित अन्य तीन उत्पादन ल्याउँदैछौं । ह्यामको बजारलाई थप व्यवस्थित गराउँदै पेभर भित्र्याउँदै छौं । सडक विभागको ठेक्कामा आवेदन दिएका थियौं, ४ वटा छनौटमा परेका छन् । केहि समयभित्रै सडक विभागलाई पेभर हस्तान्तरण गर्दै छौं । यो भोग्ले अन्तर्गतको पेभर्स नेपाल ल्याउन लागेका हौं । हामीले ल्याउनु भन्दा अघि नै सडक विभागलाई टेण्डर मार्फत बेच्न सफल भएका छौं । यसले बिटुमिन, रोडा, ढुंगालाई आफैं पेलेर मेसिनले नै केमिकल कम्पोजिसन मिलाएर सडकमा बिछ्याउँछ । यसमा हिटिंग प्रबिधि हुन्छ, त्यसले कालोपत्रे गर्ने अलकत्रा, रोडा लगायतका पदार्थहरु आफैं पेलेर सेन्सरले आवश्यक मात्रामा सडकमा खन्याईदिन्छ । पेभरले गरेको कालोपत्रे अहिलेको भन्दा धेरै बलियो हुन्छ । यसले दिनभरमा ८ किलोमिटरसम्म कालोपत्रे गर्न सक्छ । टिपरमा अलकत्रा ल्याएर पिच गर्ने जमानाको यसले अन्त्य गर्छ । यसको मूल्य भने २ करोड ६० लाखदेखि ३ करोडसम्म पर्छ । पे ब्याक पिरियड एक बर्ष हो र १५ बर्षसम्म चलाउन सकिन्छ । रिटगनकै कोल्ड बिलिंग टेक्नोलोजी पनि ल्याउँदै छौं । त्यसले कालोपत्रे सडकलाई आवश्यक मात्रामा काट्छ र पुनः प्रयोगका लागि उपयुक्त बनाउँछ । आवश्यक मात्रामा मेसिनले काटिएको कालोपत्रेलाई पुनः प्रयोग गरेर ३५ प्रतिशतसम्म लागत जोगाउन सकिन्छ । अहिले पिच माथी पिच गर्ने चलन छ । पिच काटेर पुनः पिचमै त्यहि समान उपयोग गर्न सकिन्छ र त्यसले सडकहरु घर भन्दा अग्लो हुने समस्या पनि समाधान गर्छ । ब्लेडले कालोपत्रे काट्छ र कालोपत्रे गर्नु अघि सडक प्रयोग गर्न पनि सकिन्छ । यो प्रबिधिले सडकमा हुने उबड खाबड(होचो अग्लो)को समस्या पनि समाधान गर्छ । यसको मूल्य करिब ४ करोड पर्छ । चौथो उत्पादनका रुपमा हामीले रिटगनकै क्लिम्यान ल्याउन लागेका हौं । यसलाई मोबाइल क्रसर भन्ने गरिन्छ । यसमा गाडीको माथी नै क्रसर लागेको हुन्छ । यसले सडक खन्दा निस्किएका ढुंगालाई जहाँको त्यहि क्रसर गरेर गिट्टी बनाउन सकिन्छ । अहिलेसम्म सडक खन्दा निस्किएका ढुंगालाई क्रसर उद्योगसम्म लगेर गीट्टी बनाएर ल्याउनुपर्ने थियो । तर यसले सडक खन्दा निस्किएका ढुंगालाई त्यहिँ गिट्टी बनाइदिन्छ । क्लिम्यानलाई गाडीमा राखेर सहजै ठाउँ सार्न सकिन्छ । त्यसकारण यसलाई मोबाइल क्रसर भनिएको हो । यो विश्वमा अत्याधिक रुचाईएको प्रबिधि हो । यी समानहरु भित्रिएपछि नेपालको सडक पूर्वाधार निर्माणमा ठूलै क्रान्ति हुनेछ । यी प्रडक्टहरु बेच्नका लागि सम्भावित बजार अर्थात निर्माण व्यवसायीसँग कत्तिको छलफल गर्नु भएको छ ? प्रतिक्रिया कस्तो पाउनुभयो ? हामीले सुरुमै सडक विभागलाई ४ वटा पेभर बेच्न सफल भएका छौं । हामीले क वर्गका निर्माण व्यवसायीहरुलाई पहिलो चरणमा लक्षित वर्गका रुपमा हेरेका छौं । उनीहरुसँग नियमित छलफल गरिरहेका छौं । राम्रो प्रतिक्रिया पाईरहेका छौं । २४ घण्टा भित्र सर्भिस दिनेगरि ४० वटा सेन्टर विकास गरिसकेका छौं । अझै ४ वटा थप्ने तयारी गरिरहेका छौं । राम्रो बजार पाउने पूर्वानुमान गरेका छौं । ह्याम बाहेकका प्रबिधिहरु अलि जटिल खालका देखिए, जनशक्ति कसरी व्यवस्थापन गर्नु हुन्छ ? हामीले अहिलेदेखि नै भारतमा लगेर इञ्जिनियरहरुलाई तालिम दिईरहेका छौं । चालक, सहचालकहरुको तालिम पनि उतै लगेर गर्छाै । गाडी चलाउनेहरुलाई भारत पठाएर निःशुल्क तालिम दिन्छौं । एक डेढ महिनामै तालिम दिएर सक्षम बनाउँछौं । इञ्जिनियरहरुको तालिम त सम्पन्न गरिसकेका छौं । यी उत्पादनहरु कहिलेसम्म नेपाली बजारमा आईपुग्छन् ? ह्यामका उत्पादनहरु अहिले पनि बजारमा उपलब्ध छन् । सडक विभागलाई केहि महिना भित्रै ४ वटा पेभर उपलब्ध गराउँछौं । कोल्ड रोलिङ र अन्तिममा मोबाइल क्रसर ल्याउँछौं । आगामी ६ महिनाभित्र चार वटै उत्पादन नेपाल भित्र्याईसक्छौं ।
नर्भिक हस्पिटलले २ वर्षपछि २ सय शैय्याबाट सेवा दिन्छ- राजेन्द्र बहादुर सिंह
३० वर्षसम्म नेपाल प्रहरीमा सेवा गरी एअाइजीबाट अवकास पाएका राजेन्द्र बहादुर सिंह यतिबेला नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । फौजी अनुशासनमा तीन दशक बिताएका सिंहले नर्भिककाे कार्यकारी प्रमुख पद समालेकाे पनि १० वर्ष वितिसकेकाे छ । उनकाे नेतृत्वमा नर्भिककाे पूर्वाधार विकास र सेवा विस्तारका कार्य निकै अगाडि बढेकाे छ । प्रस्तुत छ नर्भिक इन्टरनेशनल हस्पिटलकाे सेवा, यसकाे भावी याेजनाका बारेमा केन्द्रीत भर्इ बस्नेतसँग गरिएकाे कुराकानी । राजेन्द्र बहादुर सिंह, कार्यकारी निर्देशक- नर्भिक इन्टरनेशनल हस्पिटल निजी क्षेत्रमा नयाँ नयाँ राम्रा अस्पतालहरु आइरहेका छन्, प्रतिष्पर्धा कस्तो छ ? अहिले पनि क्रिटिकल केयरका लागि नर्भिक एउटा उपयुक्त विकल्प हो । कहिँ पनि ठिक नभएपछि नर्भिकमा हुन सक्छ भन्ने इमेज बनेको छ । कुनै पनि रोगका लागि नर्भिक आए पनि अर्काे रोग देखिँदा समेत हामी उपचार सेवा उपलब्ध गराउन सक्छौं । नागरिकमा नर्भिक प्रतिको विश्वास बढिरहेको छ । हामीसँग सबै खाले सुबिधाहरु छन् । सबै खाले रोगहरुको उपचार हामी कहाँ सम्भव छ । कुरा रह्यो प्रतिष्पर्धाको । निजी अस्पतालहरु खुल्नु राम्रो कुरा हो । निजी लगानी बढ्नुपर्छ । नागरिकले सेवा रोज्न पाउनुपर्छ । नर्भिकको प्रतिष्पर्धा भनेको आफैंसँग हो । अरु अस्पताल खुलेकाले हामीलाई कुनै समस्या पर्दैन । नर्भिकको गुणस्तरीय सेवालाई अझै बढाउनु नै हाम्रो लागि प्रतिष्पर्धा र चुनौतिको कुरा हो । हामी अहिलेको गुणस्तर र सेवालाई अझै बढाउने, नयाँ प्रबिधि र सुबिधा कसरी बढाउने भन्नेबारे सोचिरहेका छौं । नयाँ अस्पतालले हामीलाई प्रतिष्पर्धामा कुनै समस्या हुन्न । यतिबेला नर्भिक हस्पिटलकाे उपचार क्षमता कस्ताे छ ? नर्भिक अस्पतालले २५ वर्ष पुरा गरेको छ । भाडाको घरमा २० वेडबाट सुरु गरेको अस्पताल आज १०० वेडसम्म विस्तार भैसकेको छ । हामी मल्टिनेशनल अस्पतालका रुपमा स्थापित भैसकेका छौं । अब २०० वेड क्षमता पुर्याउँदैछौं । सरकारले तोकेको सबै मापदण्डहरु पुरा गरिरहेका छौं । सेवा र गुणस्तर विस्तार हाम्रो मुल लक्ष्य हो । शतप्रतशित क्षमता विस्तार गर्दै हुनुहुन्छ, काम कहाँ पुग्यो ? वातावरणीय मूल्यांकन सम्पन्न गरिसकेका छौं । भवन निर्माण, उपकरण खरिद, जनशक्ति व्यवस्थापनको काम भैरहेको छ । २ वर्षभित्र २ सय वेडको अस्पताल सञ्चालनमा आउँछ । सरकारले वेड विस्तारको अनुमति दिईसकेको छ । मेडिकल कलेज सञ्चालनको कुरा थियो, त्यो कहाँ पुग्यो ? हामीले सुरुमा मेडिकल कलेज खोल्ने भनेका थियौं तर अहिले स्थगित गरेका छौं । सितापाइलामा पूर्वाधार बनाएर मेडिकल कलेज बनाउने तयारी थियो । १ सय रोपनी जमिन किनिसकेका थियौं । अस्पतालको १० किलोमिटर वरपर १ सय रोपनीमा कलेज हुनुपर्ने भन्ने थियो । त्यहि अनुसार जग्गा किनेका थियौं । अहिले त्यतिकै राखेका छौं । नर्भिकले कुन कुन सर्भिसलार्ई विस्तार गर्दैछ ? हामी अहिले मल्टिस्पेशल सेवा दिईरहेका छौं । अब सुपर स्पेशल सेवा दिन खोजिरहेका छौं । कार्डिकमा हामी गौरव गर्न सक्ने अवस्थामा छौं । ग्याष्ट्रो डिपार्टमेन्ट ल्याएका छौं । नयाँ भएपनि गाइनोमा पनि हाम्रो राम्रो छ । फोक्सो, न्युरोमा पनि हामीले नयाँ प्रबिधी ल्याएका छौं । न्युरोमा हामीसँग बिशेषज्ञ डाक्टरहरु छन्, जुन अहिले नर्भिक अस्पतालमा मात्रै छ । विश्वको स्वास्थ्य क्षेत्रमा नेटवर्कको सवाल पनि आउँछ, नर्भिकले कहाँ कहाँ सम्बन्ध विस्तार गरेको छ ? हामीले कार्डिकको लागि मेदान्तसँग सम्बन्ध राखेका छौं । स्कटको पनि मेदान्तसँग छ । बैंकको बुमुङग्रादसँग सम्बन्ध गाँसेका छौं । फोटिससँग पनि सम्बन्ध गाँसेका छौं । अहिले नर्भिकको सेवा विस्तारका लागि विदेशका डा. इडिक र डा. मार्टलाई सल्लाहकार नियुक्त गरेका छौं । नर्भिक इन्टरनेशनल अस्पताल नाम जस्तै गरि सेवा दिईरहेका छौं । नागरिकले नर्भिक अस्पताललाई महंगो अस्पतालका रुपमा लिन्छन, किन ? पहिलो कुरा यो निजी अस्पताल हो । हामीले हरेक वस्तु र सेवा खरिद गर्नुपर्छ । सुरुमा यो कार्डियो अस्पतालका रुपमा स्थापना भएको हो । कार्डियो भनेकै अलि महंगो सेवा हो । सुरुमा बीर अस्पतालसँग तुलना गरेर महंगो भनिएको थियो । अहिले नयाँ खुलेका अस्पतालहरु भन्दा हाम्रो सेवा सस्तो छ । बीर र गंगालाल अस्पतालसँग तुलना गरेर महंगो भनिएको मात्रै हो । हामीसँग जनरल वार्डदेखि डिलक्स वार्डसम्म छ । जनरल वार्ड पनि अरु अस्पतालको भन्दा हाम्रो राम्रो छ । जनरल वार्ड भएपनि कुरुवालाई बस्ने व्यवस्था समेत गरेका छौं । जनरल वार्ड र अरु वार्डमा खासै फरक देखिन्न । सेवा सुबिधा नै अरु भन्दा राम्रो भएपछि केहि महंगो त पक्कै हुन्छ नै । तिलगंगा अस्पतालमा पनि सरकारको लगानी छैन, आफ्नै आम्दानीले चरिहेको छ, तर त्यो चाँही सस्तो छ, नर्भिक चाँही किन महंगो ? तिलगंगाको के छ मैले भन्न मिल्दैन् । नर्भिकले नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेको छ । १० प्रतिशत वेड गरिबलाई दिएका छौं । १० प्रतिशत वेड गरिबलाई निःशुल्क दिने नर्भिक नै पहिलो अस्पताल हो । यो अस्पतालमा कसैले आर्थिक सहयोग गरेका छैनन् । हामी आफैंले लगानी गरेर खोलेका हौं । सकेसम्म सस्तोमै सेवा दिने प्रयास गरिरहेका छौं । नर्भिकमा उपचार राम्रो हुन्छ भन्ने सोच्ने तर महंगो भएकाले डराउने गरिबहरुलाई के सुझाव दिनुहुन्छ ? पहिलो कुरा जीवन बाँच्नु नै हो । आउनुस, उपचार गर्नुस् । पहिले बाँच्नुस । त्यस्ता मान्छे आएर बचाउन सकियो भने हाम्रो लागि पनि राम्रो कुरा हो । सबैलाई निःशुल्कै उपचार गर्छाै भनेर भन्दैनौं । तर उपचार गर्न आउनेहरुलाई पैसाकै अभावमा मर्न चाँही दिँदैनौं । एउटा कर्पाेरेट हाउसले आफ्ना ग्राहक वा कर्मचारीलाई फलानो अस्पतालमा यति प्रतिशत छुट भनिरहेका छन्, यस्तो छुट नियमित हो की बिशेष ? टाईअप गर्नु, सिस्टममा आउनु राम्रो हो । सिस्टममा आएर छुट पाउनु राम्रो हो । अनुरोध गरेर छुट पाउनु भन्दा सम्झौता गरेर छुट दिनु झनै राम्रो हो । त्यस्तो टाईअपले कति सेवा सुबिधा दियो भन्ने कुरा चाँही महत्वपूर्ण हो । नर्भिक अस्पतालले उपत्यका बाहिर सेवा विस्तार कहिले गर्छ ? अहिले चाँही हामी २ सय वेड क्षमता विस्तार अभियानमा छौं । त्यसपछि उपत्यका बाहिर पनि सेवा विस्तार गर्ने योजना छ । अहिले पनि हामी उपत्यका बाहिर सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वास्थ्य शिविरहरु लगिरहेका छौं । जाजरकोटमा झाडापखाला लाग्दा शिविर लगेका थियौं । लुक्लामा पनि स्वास्थ्य शिविर लगेका थियौं । काभ्रेमा पनि निःशुल्क स्वास्थ्य शिविर चलायौं । तर त्यहिँ स्थायी रुपमा तत्कालै जाने सोँच भने छैन् । दिर्घकालमा उपत्यका बाहिर पनि विस्तार गर्छाै । निजी क्षेत्रका अस्पतालहरुलाई सरकारले कसरी हेरिरहेको देख्नु हुन्छ ? निजी अस्पताललाई पनि सरकारले आफ्नै अस्पताल जसरी लिन सक्नु पर्छ । संबिधानले नै सबै नागरिकलाई स्वास्थ्यको अधिकार हुनेछ भनेको छ । स्वास्थ्यलाई मौलिक हक भन्ने कुरा कार्यान्वयन सरकारी अस्पतालले मात्रै सम्भव छैन् । त्यसको ८० प्रतिशत हिस्सा निजी अस्पतालले पुरा गरिरहेका छन् । निजी अस्पताललाई पनि सरकारले अपनत्व ग्रहण गर्न सक्यो भने सस्तोमा नागरिकले उपचार पाउने अवस्था बन्छ । सरकारले निजी अस्पताललाई पनि आफ्नै ठानेर सुबिधा दिनुपर्छ । सरकार बलियो हुँदै गर्दा सरकारी सेवा अब्बल बन्दै जाने देखिन्छ, शिक्षा र स्वास्थ्यमा गरिएको निजी लगानीको भविष्य कस्तो देख्नु हुन्छ ? विकासको पूर्वाधार भनेको शिक्षा र स्वास्थ्य हो । सरकारले शिक्षा र स्वास्थ्यमा गरिएको लगानीलाई मलजल गर्यो भने त्यसले उपलब्धि दिने हो । सरकारले आफै पूर्वाधार बनाउन नसकेको अवस्थामा निजी लगानीलाई प्रवद्र्धन गर्नु पर्छ । नर्भिक अस्पतालले बार्षिक रुपमा कति बिरामीको उपचार गर्छ ? १ सय वेडको अस्पताल हो । ९० प्रतिशत वेड भरिन्छन् । गुणस्तरिय सेवाकै कारण नागरिकको विश्वास जितिरहेका छौं भन्ने निष्कर्ष हो । त्यसकारण नै हामी शतप्रतिशत सेवा विस्तार गर्ने निचोडमा पुगेका हौं । अध्यक्षको दुरदर्शी नेतृत्वकै कारण नर्भिकले प्रगति गरिरहेको छ । नर्भिकको लगानी र प्रतिफल कति छ ? निजी लगानी भएकाले नाफा कमाउनु पर्छ नै । हामी राम्रो सेवा दिएर नाफा कमाउन उद्यत छौं । तर ठ्याक्कै कति नाफा हुन्छ भन्ने चाँही अहिले नै भन्न सक्ने अवस्था छैन् । नेपालमा भर्खरै कर्पाेरेट कल्चरको विकास भैरहेको छ । स्वास्थ्य सेवा भनेको ज्यादै सम्वेदनशिल छ । पलपलमा चुनौती छ, सानो घट्नाले पनि ठुलो धनजनको क्षति हुन सक्छ । त्यसकारण हामी सम्वेदनशिल ढंगले सेवा दिईरहेका छौं । स्वास्थ्यमा लगानी गर्नु भनेको सेवामा लगानी गर्नु हो भन्ने कुरालाई महत्व दिएका छौं । एक रसियन नागरिकको उपचारसँग जाेडिएर नर्भिक अस्पताल विवाद मुछियो छ, खास भएकाे के हाे ? नर्भिक अस्पताल भनेको निजी हो । यसले स्वास्थ्य सेवा प्रवाह गर्ने हो । बिरामी भएर आएको विदेशी नागरिकलाई सुरुमै पैसा माग्ने कुरा भएन् । हामीले नेपालीलाई पनि अस्पताल आउने वित्तिकै पैसा माग्दैनौं । जो अस्पतालमा आउँछ उसलाई बचाउनु हाम्रो पहिलो दायित्व हो । हेलिकप्टरसँग हाम्रो सम्बन्ध छैन । हामीले रसियन नागरिकको पासपोर्ट लिएका होइनौं । उसलाई उद्धार गरेर ल्याउने टोलीले नै हामीलाई पासपोर्ट बुझाएको हो । एक जना विदेशी सम्वेदनशिल अवस्थामा आएको थियो, हामीले उपचार गरेर बचाएका हौं । उनी हिमाली क्षेत्रमा घुम्न जाँदा विरापी परेकाे हामीले सुन्याै । रेस्क्यु हामीले गरेका होइनौं । ट्राभल एजेन्सीले रेस्क्यु गरेको हो पोखराको लामा होटलका फुर्वा भन्ने व्यक्तिले रसियनलाई उद्धार गरेर ल्याएको हो । उसको उपचार खर्च ३ लाख जति पुगेको छ । उसले म पैसा खोजेर ल्याउँछु भनेर गएको हो । रसियाली दुतावासका कर्मचारी पनि बुझ्न आएका थिए रे । उपचार गरेपछि त पैसा तिर्नु पर्ने हो । उपचारमा कुनै शंका लागेको छ भने हामी स्पष्ट पार्न तयार छौं । रेस्क्युमा गलत भएको हो भने अनुसन्धान गर्न सकिन्छ । सरकारले अनुसन्धान गरोस् । हामीले त अस्पताल आएको बिरामीको उपचार गरेका मात्रै हौं ।
स्थानीय तहका केवलकारले सर्वसाधारणलाई २० रुपैयाँमा सेवा दिइरहेका छन् : गुणराज ढकाल
गुणराज ढकाल, अध्यक्ष- रोप वे नेपाल प्रालि एक दशकदेखि केवलकारको अध्ययन तथा निमार्णमा लागेका गुणराज ढकालले अहिले ६२ स्थानमा केवलकार स्थापनाका लागि अध्ययन गरिरहनु भएको छ । कतिपय स्थानमा केवलकारको काम सुरु भएको छ । केही अध्ययनका चरणमा रहेका छन् । मनकामना केवलकार सञ्चालनमा आएको १५ वर्षपछि आईएमई ग्रुपले चन्द्रागिरी केवलकार बनाएको छ । नेपालमा २ हजार बढी केवलकार सञ्चालन गर्न संभावना रहेको रोप वे नेपालको अध्ययनले देखाएको छ । पछिल्लो समयमा केवलकार सञ्चालनमा निजी लगानी बढ्दै गएको छ । प्रस्तुत छ, नेपालमा केवलकार संभावनाका विषयमा केन्द्रीत रहेर अध्यक्ष ढकालसंग खेमराज श्रेष्ठले गरेको विकास वहस: यहाँ केवलकारको संभाव्यता अध्ययन र निर्माणमा कसरी लाग्नु भयो ? म जुन गाउँमा जन्मिए त्यसको पछाडी सेती गण्डकी नदी थियो । त्यसको छेउमा हाम्रो सानो किराना पसल थियो । पसलमा किनमेल गर्न आउनेमध्ये केही व्यक्तिको खोला तर्ने क्रममा मृत्यु भइरहेको हुन्थ्यो । नेताहरुले पुल बनाउने प्रतिवद्धता व्यक्त गरेर चुनाव मात्रै जित्थे । गाउँमा खोलाको पुल र खानेपानीको ठूलो समस्या थियो । लामाचौर इञ्जिनियरिङबाट डिप्लोमा गरेपछि गाउँको पहिलो समस्या समाधानका रुपमा झोलुंगे पुलको सर्भे गरियो । खानेपानीका लागि वाटर पम्पिङको योजना बनाईयो । ५२० मिटर लामो नदीमा झोलुंगे पुल बनाउन संभाव्य देखिएन । त्यसबेला अहिलेको जस्तो गतिलो प्रबिधि पनि थिएन । त्यसपछि तुइनको अध्ययन गरियो । १०० मिटर भन्दा लामो तुइन नबन्ने देखियो । त्यसपछि तुइनको सुधारिएको विकल्पको खोज्न थालियो । त्यतिबेला मनकामना केबलकार बनिसकेको थियो । हेटौँडाको रोप वेको पनि अध्ययन गरियो । तुईनको विकसित रुप तयार पार्न सकिन्छ भन्ने निष्कर्षमा हाम्रो टिम पुग्यो । त्यसपछि हामीले गियर बक्स र मोटर बनाएर ल्याबमा ५२० मिटरमा परिक्षण गरियो । कारखानामा परीक्षण सफल भएपछि हाम्रो टिमका साथी सुरज कार्कीले ड्राइभ पनि परीक्षण गर्नुभयो । त्यसपछि नदीमा फिट गर्ने काम मात्रै बाँकी थियो । त्यतिबेला माओवादी द्धन्द्ध आरम्भ भैसकेको थियो । आईएनजिओहरुमाथि माओवादीको आँखा लागेको थियो । विश्व बैंकले लौ न अब केहि गरौं भनेर अभियान चलायो । हामीले सोलार वाटर पम्प र यान्त्रिक पुलको प्रस्तावना विश्व बैंकमा पेश गर्यौं । २० मध्ये उत्कृष्ठ २ वटामा हाम्रो प्रस्ताव पर्यो । सोलारबाट १५० मिटर उचाईमा वाटर पम्पिङको आयोजनाको काम पायौं । हामीले डेनमार्क र अमेरिकाबाट पम्पहरु ल्याएर काम गर्यौं । अहिले बजेटमा धेरै यस्ता कार्यक्रम आउँछन त्यसका पछाडी हाम्रो कामले नै ढोका खोलेको थियो । यान्त्रिक पुलका सवालमा पनि विश्व बैंकले हामीलाई सहयोग गर्यो । द्धन्द्ध समाधानको उपायका रुपमा यान्त्रिक पुललाई अघि सार्ने विश्व बैंकको योजना थियो । तपाईले बनाउने केबलकार(यान्त्रिक पुल) कस्तो हो ? हामीले यान्त्रिक पुल बाहिरबाट बनाएरै ल्याउने होइन् । भारतमा महिन्द्राले बनाउने स्कोर्पियोको इञ्जिन मित्सुबिसीको हो नी । रोप वे पनि बाहिरबाटै ल्याउदा महंगो पर्छ । मनकामना केबलकार बनेको १५ बर्षपछि मात्रै अर्काे केबलकार बन्यो । त्यसमा मूल्य प्रमुख कुरा थियो । लागत महंगो भएपछि जनतालाई शुल्क पनि महंगो नै पर्छ । हामीले तनहुँमा १० बर्षदेखि २० रुपैंयाँमा केबल कार चढाईरहेका छौं । कुस्मामा अलि आधुनिक छ, त्यो १०० रुपैंयाँमा चढाईरहेका छौं । हामीले इञ्जिन, गिअर बक्स जस्ता समवेदनशिल सामान बाहेकका अरु सबै समान नेपालमै बनाउन सक्यौं भने केलबकार(यान्त्रिक पुल) सस्तो पर्न जान्छ । हामीले विदेशी कम्पनीहरुसँग सम्बन्ध बनाएर नेपालमै प्रविधिहरुको विकासमा ध्यान दिनुपर्छ । रोप वे नेपालले त्यस्तै काम गरिरहेको छ । मनकामना र चन्द्रागिरी जस्तै सबै कुरा उतैबाट ल्याएर बनाउनेहरुलाई पनि काम गर्न दिनुपर्छ । तर सबै ठाउँमा त्यतिकै लगानी गरेर केबल कार बनाउने अवस्था हुन्न । त्यस्ता ठाउँमा हामीले बनाएको जस्तो यान्त्रिक पुल बनाउने हो । हामीले रोप वे बनाउन नसके पनि टावर, गण्डोला बनाउन सक्छौं । हामीले त्यहि मोडलमा काम गरिरहेका छौं । केवलकार बनाउनका लागि कति ठाउँमा काम गरिरहनु भएको छ ? अहिले हामी संख्यामा भन्दा पनि अनुसन्धानका लागि काम गरिरहेका छौं । केबल कार भनेको विदेशबाट ल्याएर मात्रै होइन, आफ्नै प्रबिधिमा थोरै खर्च गरेर पनि बनाउन सकिन्छ है, भन्ने सन्देश दिनेगरि काम गरिरहेका छौं । दुर्गम ठाउँहरुमा थोरै लागतमा रोप वे बनाउन सकिन्छ । हामी अहिले अभियन्ताकै रुपमा डाडाँ काँडाहरुमा पर्यटन विकासका लागि काम गरिरहेका छौं । रारा ताल, से–फोक्सुण्डो ताल, नाम्चे बजार, गोसाईकुण्ड, हेलम्बु जस्ता ठाउँमा रोप वे बनाउन सकिन्छ । त्यस्ता ठाउँमा मान्छे मात्रै बोक्ने धेरै लागतका केबलकार बनाएर आम्दानी गर्न सकिन्न भन्ने सन्देश दिएर रोप वे बनाउन अभिप्रेरित गरिरहेका छौं । त्यस्ता ठाउँहरुको अध्ययन गरिरहेका छौं र निर्माण पनि गरिरहेका छौं । हामीले ६२ ठाउँमा रोप वेको गुरुयोजना बनाइरहेका छौं । २ हजार भन्दा धेरै ठाउँमा रोप वे बनाउन सकिन्छ भन्ने देखेका छौं । नेपालमै केवलकारका सबै पाटपुर्जा बनाउन सकिन्छ ? सबै पार्टपुर्जा बनाउन सकिन्न । तर भारतमा फोर्ड, टोयोटाका गाडी बने जसरी नेपालमा केवलकारका समान बनाउन सकिन्छ । त्यसो गरियो भने ३० प्रतिशतसम्म सस्तो हुन सक्छ । एसेम्बल मात्रै होइन, मर्मत सम्भारको पनि काम गर्न सकिन्छ । विदेशी कम्पनीहरुसँग सहकार्य गरेर मनकामना र चन्द्रागिरी कै जस्तो आधुनिक केबलकारहरु नेपालीहरुले आफै सहभागी भएर निर्माण गर्न सक्छन् । युरोपलाई छाड्ने हो भने चीन र भारतीय कम्पनीहरुसँग पनि मिलेर काम गर्न सकिन्छ । गियर बक्स चीनबाट ल्याइयो भने भारतबाट गण्डोला ल्याएर बनाउन पनि सकिन्छ । हामीसँग इच्छाशक्ति मात्रै चाहिन्छ । केवलकार बनाउन कतिसम्म लगानी आवश्यक पर्छ ? केबल कार सस्तो हुन्छ भनेर स्थापित गरेको हामीले नै हो । कोत्रेमा ५२ लाख, सिन्धुलीमा ६५ लाख र कुस्मामा ५ करोड रुपैयाँमा केवलकार बनाएका हौं । केबल कारको लागत २० करोड रुपैयाँबाट सुरु हुन्छ । बाँकी लागत भनेको दुरी र क्षमता र प्रबिधिमा निर्भर गर्छ । मुत्तिनाथले ४० अर्ब रुपैयाँ लगानी गरेर नेपालमै ८४ किलोमिटर लामो केबल कार बनाउने तयारी गरेको छ । यो बन्न कतिको संम्भव छ ? ८४ किलोमिटर मात्रै होइन ५ हजार किलो मिटर लामो पनि बन्न सक्छ । त्यसमा एउटै केबलकार हुन्न, सेरिज अफ केबलकार बन्ने हो । ८४ किलोमिटर लामो केबल कारमा एउटा इटालियन कम्पनी र हाम्रो सहभागीता छ । हामीले प्राबिधिक पक्षमा सहयोग गरिरहेका छौं । पछिल्लो समयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय वा स्थानीय निकाय कसले केवलकारका लाइसेन्समा दिने भन्ने विषयमा अन्यौलता देखिएको छ । यसले कस्तो असर पारेको छ ? अहिले नीति निर्माता र सरकारकाबीचमा केही अन्यौलता देखिएको छ । गाडीको लाइसेन्स एउटै मन्त्रालयले दिन्छ, त्यहाँ मल्टिनेशनल कम्पनीले डिल गरेको हुन्छ । केबल कारका सवालमा ७ वटा मन्त्रालय धाउनुपर्ने अवस्था छ । केबल कारलाई भौतिक मन्त्रालयले दावी गर्छ, उद्योगमा दर्ता गर्नै पर्यो । वन, वातावरण मन्त्रालयको पनि सरोकार रहन्छ । पर्यटन मन्त्रालयसँग पनि अनुमति लिनै पर्छ । यस्तै समान ल्याउन पैसा विदेश पठाउनुपर्ने भएकाले अर्थ मन्त्रालयको पनि सहमति लिनु पर्छ । हामीले सिस्टमबाट जाँदा केबल कार बनाउनै नसक्ने अवस्था छ । त्यसका लागि नेताहरु मार्फत जानुपर्ने वातावरण तयार भएको छ । सरकारले केबल कार बनाउनेहरुलाई कर छुट, जमिन उपलब्ध गराउने काम गर्नुपर्ने थियो । अहिले कार्यबिधि बनाएपछि मात्रै नयाँलाई अनुमति दिने भनेर सरकारले रोकिरहेको छ । सरकारले नै एउटा ठाउँमा केबल कार बनाएपछि अर्काेले बनाउन नपाउने भनिरहेको छ । यो सरकारले नै सिण्डिकेट लगाएको जस्तो भयो । लगानीकर्ताले केबल कार बनाउन लगानी गर्छु, अध्ययन गर्छु भन्दा पनि सरकारले दिईरहेको छैन् । वास्तवमा केबल कारमा सरकारले नै सिण्डीकेट लगाईरहेको छ । अहिले हामीले काम गरिरहेका ६२ वटै केबल कारको काम अधिकांश स्थानीय तहबाटै अघि बढेका हुन् । भौतिक मन्त्रालयले त पैसा नपाई कामै गर्दैनन् । पैसा नआउने भएपछि कामै गर्दैनन्, आयोजना अघि बढ्नै दिँदैनन् । केन्द्र सरकारलाई काम नगरेपनि मतलब देखिएन तर स्थानीय तहलाई काम गर्नै पर्ने बाध्यताका कारण केबल कारका कामहरु अघि बढिरहेका छन् । केबल कार बनाउन राज्यको लगानी कतिको आवश्यक देख्नुहुन्छ ? वन क्षेत्रको जग्गा दिने, निजी जमिन परेमा सरकारी मूल्यमा खरिद गरिदिने व्यवस्था सरकारले गरिदिनु पर्छ । सरकारी रेटमा सेयर लगानीका रुपमा व्यवस्था गरिदिए पनि हुन्छ । केबल कारमा सरकारले सहजीकरण मात्रै गरिदिए पुग्छ । मान्छेले जग्गा दिन्न भन्न सक्ने अवस्था छ । बाउको जग्गा छोरा नातीले पाउने व्यवस्था खारेज गर्नुपर्छ । वास्तवमा जुनसुकै ठाउँमा स्थानीय तहहरुले आफैं केबल कार निर्माण गर्न सक्छन् । केबलकार निर्माणका समस्याहरु के के हुन् ? यसको अध्ययन किताब वा विश्व विद्यालयहरुमा गर्न पाइन्न । अहिलेसम्म निजी कम्पनीहरुले मात्रै यसको पेटेन्ट राइट लिएका छन् । त्यसकारण हामीले केबल कार नभनेर यान्त्रिक पुल भनिरहेका छौं । यो अरु प्रबिधी भन्दा केहि महंगो छ । समान बोक्ने केबलकार सस्तो छ । यात्रु बोक्ने केबल कार महंगो छ । केबल कार बिग्रियो भने बनाउन अधिकार हामीसँग छैन् । त्यो काम विदेशीले मात्रै गर्न सक्छन् । अर्काे समस्या भनेको जग्गाको हो । एक लाखको जमिनलाई १ करोड भनेर भाँजो हाल्ने परिपाटी व्यापक बन्दै गएको छ । निकुञ्जहरुको जमिन नदिने सरकारी नीति पनि समस्या छ । निकुञ्ज हेर्न पर्यटक आउँछन तर निकुञ्जकै कारण केबल कार बन्न नदिने व्यवस्था छ । निकुञ्जमा बाटो बनाउन दिने तर केबलकार बनाउन नदिने कुरा न्याय संगत भएन् । लाइसेन्स वितरणको ढोका एउटै नहुनु पनि अर्काे समस्या हो । केबल कारका क्षेत्रमा सम्भावना भन्दा पनि समस्या धेरै भए । मनकामना केबल कार बनेको १५ बर्षपछि मात्रै चन्द्रागिरी केबल कार बन्यो । यो हाम्रा लागि बिडम्बनाको बिषय हो ।