राष्ट्र बैंकले ऋणीलाई फेरि राहत देउ भन्यो भने हामी थेग्न सक्दैनौंः गोविन्द ढकाल

नेपाल राष्ट्र बैंकले मंगलबार (आज) आफ्नो ६६ औं वार्षिकोत्सव मनाउँदै छ । नेपाली बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकले आफ्नो ६६औं वार्षिकोत्सव मनाइरहँदा देश कोरोना भाइरसको सन्त्रासमा छ । अब केही महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति पनि ल्याउँदैछ । कोरोना भाइरसको कारण ठूलो त्रासमा रहेका व्यवसायी र बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले कस्तो नीति ल्याउला ? त्यो भने सबैको प्रतिक्षाको विषय बनेको छ । राष्ट्र बैंकले ६६ औं वार्षिकोत्सव मनाइरहँदा राष्ट्र बैंकबाट वित्तीय संस्थाहरुको अपेक्षा, अब आउने मौद्रिक नीति लगायत विषयहरुमा  गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालसँग कुराकानी गरेका छौं । नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सव मनाउँदैछ । यो अवसरमा राष्ट्र बैंकलाई डेभलपमेन्ट बैंकर्स संघको सल्लाह–सुझाव के छ ? सर्वप्रथम राष्ट्र बैंकलाई शुभकामना छ । हामीले राष्ट्र बैंकले दिएका निर्देशन र सुझाव सल्लाह अनुसरण गर्दै आएका छौं । धेरै सल्लाह सुझावहरु हामी लिखित रुपमा पनि दिँदै आएका छौं । अब नयाँ मौद्रिक नीति ल्याउने समय पनि नजिकिँदै छ । विकास बैंकहरुको भूमिका धेरै छ । नेपालमा बैंकिङ्ग पहुँच विस्तार गर्नको लागि विकास बैंकहरुको भूमीका धेरै ठूलो छ भन्ने कुरा राष्ट्र बैंकलाई राम्रोसँग थाहा छ । हामीले गरेको यो कामलाई कदर गर्दै अब ल्याउने मौद्रिक नीतिमा पनि विकास बैंकहरुलाई सहज हुने नीति राष्ट्र बैंकले ल्याउने छ भन्ने विश्वास अपेक्षा हाम्रो छ । लोकल एलसी, सरकारी खाता सञ्चालनका विषयहरुमा हामीले केही नीतिगत विषयहरु उठाएका छौं । ती विषयहरुको समाधान गर्नको लागि राष्ट्र बैंकपछि पर्ने छैन भन्ने आशा हामीले गरेका छौं । अहिले पनि मर्जरको विषय धेरै उठिरहेको छ । मर्जर तथा एक्विजिसनमा विकास बैंक पनि अगाडि बढ्नु पर्छ भन्ने विषय छ । हाम्रो धारणा भनेको अब जति पनि विकास बैंकहरु छन्, यी विकास बैंकहरु यतिमै सीमित हुनु पर्छ भन्ने हो । विकास बैंक चाहिने हो भने राष्ट्र बैंकले विकास बैंकलाई हेर्ने नजरमा सहजता ल्याउनु पर्छ भन्ने हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनलाई प्राथमिकताका साथ हेरिरहेको छ, बैंक तथा वित्तीय संस्था कति हुनु पर्ने हो अर्थात कति हुँदा उचित हन्छ ? यसमा तपाईंहरुको धारणा के हो ? जति बेला नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीति ल्याएको थियो त्यतिबेला झण्डै ९० वटा विकास बैंकहरु थिए । त्यसबाट अहिले हामी १८ वटा विकास बैंकमा झरेका छौं । नेपाल राष्ट्र बैंकले ल्याएको नीति सबैभन्दा पहिला अनुसरण तथा कार्यान्वयन विकास बैंक र वित्तीय संस्थाहरुले गरेका छन् । अहिले नेपाल राष्ट्र बैंक पनि अब विकास बैंक मर्ज हुनुहुन्न भन्ने पक्षमा छ जस्तो हामीलाई महसुस भएको छ । प्रत्यक्ष भेटघाटमा उनीहरुले हामीलाई अब विकास बैंक मर्जर तथा एक्विजिसनमा जानुहुन्न भन्ने सुझाव दिइरहनु भएको छ । अब मर्ज वाणिज्य बैंकहरुबीच नै गर्ने प्रयास गर्नुपर्छ । वाणिज्य बैंकहरुको संख्या बढी भयो । उनीहरुबीच मर्जर गर्नु पर्छ र लघुवित्तहरुलाई पनि मर्ज गराउनु पर्छ भन्ने हो । अब आउने मौद्रिक नीतिमा विकास बैंकलाई मर्जर होइन कि विकास बैंकहरु अझ सस्टेन र अगाडि बढ्नको लागि आवश्यक सहज नीति ल्याउन तर्फ ध्यान दिनु पर्छ । हाम्रो बुझाई पनि त्यही छ । हुन त अहिले पनि विकास बैंकहरुलाई राष्ट्र बैंकले मर्जका लागि फोर्स गरेको अवस्था छैन । लगानीकर्ताहरुले स्वफुर्त रुपमा मर्जरमा गयो भने त्यो अलग विषय भयो तर नियमनकारी निकायबाट फोर्स मर्जर हुनु हुन्न भन्ने हाम्रो धारणा हो । अब विकास बैंक एक आपसमा मर्ज हुनुहन्न, अहिलेको संख्या ठीक छ भन्न खोज्नु भएको हो ? हो, अहिले राष्ट्रिय स्तरका विकास बैंकहरु जे छन् ठीक छन् । जुन क्षेत्रिय स्तरका विकास बैंकहरु छन् ती विकास बैंकहरुलाई केही गाह्रो छ । तिनीहरुलाई प्रादेशिक रुपमा मर्ज गरेर हुन्छ कि वा कसरी हुन्छ मर्ज गर्दा हुन्छ तर राष्ट्रिय स्तरका विकास बैंकहरुका लागि अब मर्जर आवश्यक छैन । अहिले पनि २५ प्रतिशत नागरिक वित्तीय पहुँचमा छैनन् । उनीहरुलाई अहिलेसम्म सबैभन्दा बढी बैंकिङ पहुँच पुर्याउन भूमीका खेल्ने विकास बैंकहरु नै हुन् । हिजो ९० वटा विकास बैंकहरु हुँदा जति हाम्रो योगदान थियो अहिले पनि त्यही नै अवस्था छ । बैंकहरुको संख्या घटेको छ तर यसको शाखा, जनशक्ति र पोर्टफोलियो घटेको छैन । नाम र बैंक मात्र घटेका छन् अरु सबै उही छ । हामीलाई चाहिएको बैंक राम्रो हो वा ठूलो हो ? हामीलाई राम्रो पनि चाहिएको छ, ठूलो र सानो बैंक पनि चाहिएको छ । याे ग्राहकको रोजाईमा पनि भर पर्छ । अहिले मध्यम र निम्नस्तरका मानिसको रोजाईमा विकास बैंक मात्र छन् । यो विषय हामी काठमाडौंभन्दा पनि काठमाडौं बाहिर गएर थाहा पाउँछौं । अहिले पनि मानिसहरु विकास बैंकमा सहजै प्रवेश गर्न सक्छन् तर वाणिज्य बैंकमा गाह्रो महसुस गर्छन् । मैले वाणिज्य बैंकको सेवा नराम्रो भन्न खोजको होइन । तर, सर्वसाधारणहरुको रोजाइ र उनीहरु सेवा लिन अहिले पनि विकास बैंकबाट सहज र सरल मान्छन् । त्यसैले हामीलाई ठूलो, राम्रो र सानो बैंकको आवश्यकता छ । अहिले विकास बैंकलाई पनि सानो भन्न मिल्दैन । हिजो वाणिज्य बैंकहरुको हुने पुँजीभन्दा बढी अहिले विकास बैंकहरुको पुगिसकेको छ । त्यसैले अहिले भएका राष्ट्रिय स्तरका विकास बैंकहरुलाई सानो भन्दा उपयुक्त हुँदैन । अहिले विकास बैंकहरु तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । रिपोर्टमा अधिकांश बैंकहरुको नाफा बढेको देखिए पनि कोर बिजनेसमा खासै वृद्धि भएको देखिँदैन, यसले नेपाली विकास बैंकहरु कस्तो दिशातर्फ अगाडि बढिरहेका छन् ? सुरुमा त कोभिडको कारणले पनि बैंकहरुको नाफा त्यति धेरै बढेको छैन । व्यापार व्यवसायमा कोरोनाको असर परेपछि त्यसको प्रत्यक्ष प्रभाव बैंक वित्तीय संस्थामा पनि परेको छ । यो स्वभाविक पनि हो । यो बिचमा प्रत्येक बैंक वित्तीय संस्थाको निक्षेपभन्दा पनि कर्जा बढी विस्तार भएको छ । हिजो २ सय अर्ब रुपैयाँ रहेको तरलता आज ४० अर्बमा झरेको छ । अहिले व्यवसायमा लगानी पनि बढेको छ । फेरि कोभिड बढिरहेको छ । अझ तपाईंले भने जस्तो अहिलेकोभन्दा पनि बिजनेस झन घटन् सक्छ । अघिल्लो वर्षको चैतमा लकडाउन भयो त्यसपछि केही राहतका प्याकेज बैंकहरुले नै दिनु पर्यो । तर, अहिले व्यापार व्यवसाय नै लयमा फर्किरहेको अवस्था छ । अहिले फेरि कोरोना बढ्दै गएको छ । भोलि के होला भन्ने विषय भने भन्न सकिने अवस्था छैन । राजनीतिले पनि केही असर र अन्यौलता छाएको छ । त्यसले पनि काेर विजनेशमा प्रभाव पारेको छ । राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीहरुका लागि राहत घोषणा गरेपछि बैंकहरुले आफ्नो आम्दानीको रकम घटाएर व्यवसायीलाई पनि दिए । यो प्रक्रियालाई डेभलपमेन्ट बैंकर्स संघले कसरी लिएको छ ? सरकारको नीति अनुसार हामीले कति गर्न सक्यौं, कति सकेनौं भन्ने विषय इतिहासलाई थाहा होला । तर, अहिलेको अवस्थामा साँच्चीकै भन्ने हो भने अहिले समस्या परेको व्यवसायीहरुलाई सहयोग गर्ने भनेको एक मात्रै क्षेत्र बैंकिङ्ग हो । बैंकहरुले आफुलाई मर्का पारेर पनि व्यवसायीहरुलाई राहत तथा सहयोग गरेका छन् । बैंक वित्तीय संस्थाहरुमा पनि लगानीकर्ता छन् । उनीहरुले पनि नाफाकै लागि बैंक वित्तीय संस्थामा लगानी गरेका छन् । हामीले अरुलाई मल्हम लगाउने अर्थात सहयोग गर्ने तर यहाँका लगानीकर्ताहरुलाई मर्का पार्नु हुँदैन भन्ने विषय पनि सोच्नु पर्छ । अहिले कुनै पनि बैंक वित्तीय संस्थाले राम्रो रिर्टन दिन सकेको अवस्था छैन । कारण त्यही नै हो । राहत पाउनेमा पनि वर्गिकरण गर्नु पर्छ । पाउनु पर्ने र नपाए पनि हुने वर्गिकरण गर्नु पर्छ । वास्तविक प्रभावितलाई सहयोग गर्नु पर्छ । राहत पाउनु पर्ने मान्छेले जति पाउनु पर्ने हाे उनीहरुले त्यति नपाउने तर नपाउनेले राहत पायाे कि भन्ने हाम्राे बुझाई हाे । यसमा अब ध्यान दिनु पर्छ । कोरोना फेरि बढ्दैछ, अझै लकडाउन हुने होकि भन्ने शंका धेरैमा छ, अब फेरि पहिलेकै अवस्था भयो तर राष्ट्र बैंकले त्यस्ता खालका कुनै राहतका प्याकेज ल्याएन भने विकास बैंकहरुलाई सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पर्छ ? अब बैंकिङ क्षेत्रले राहत दिन सक्ने अवस्था छैन । हामीले घटाएको व्याजदर अहिले पनि बढाएको स्थिती छैन । अहिले पनि ४/५ प्रतिशतभन्दा कुनै पनि बैंक वित्तीय संस्थाको स्प्रेड छैन । अहिले पनि हामी हाम्रो सेयरधनीहरुलाई १०/१२ प्रतिशतभन्दा बढी रिटर्न दिन सक्ने अवस्था छैन । त्यसैले अब हामी राहत दिने सहयोग गर्न सक्ने अवस्था छैन । बैंक वित्तीय संस्था पनि बाँच्नु पर्छ । यी विषयहरु राष्ट्र बैंकले पनि राम्रोसँग बझेको छ । हामीले डिजिटल सेवाको नाममा एटीएम निःशुल्क गरेका छौं । यस्तै अन्य धेरैमा सहज गरेका छौं । फेरि पनि राष्ट्र बैंकले राहत देउ, २ प्रतिशत व्याजमा कर्जा देउ भन्यो भने हामी थेग्न सक्ने अवस्थामा हुँदैनौं । हामीलाई ठूलो समस्या सिर्जना हुन्छ । मलाई लाग्छ, राष्ट्र बैंकले यस्तो नीति फेरि ल्याउँदैन । बैंक वित्तीय संस्था मर्ज तथा एक्विजिसन भइसकेपछि पुँजीगत र लाभांश कर छुट शेयरधीनले पाउँदै आएका छन् । यो छुट शेयरधनीले नै पाउनु पर्ने हो वा संस्थाले ? यसमा डेभलपमेन्ट बैंकर्स संघको धारणा के हो ? अहिले यो कर छुट शेयरधनी सबैले पाइरहेका छन् । यो नीति मर्जरलाई प्रोत्साहन गर्न र वाणिज्य बैंकहरुको संख्या घटाउनको लागि हो । राष्ट्र बैंकले क वर्गको बैंक ख वर्गको बैंकसँग मर्ज हुँदा यो छुट पाउनु हुन्न भन्ने नीति ल्याउन आवश्यक छ । अहिले कर छुट पाउनकै लागि पनि साना वित्तीय वा लघुवित्तहरुसँग मर्ज भइरहेको छ । अब राष्ट्र बैंकले वाणिज्य बैंकहरु मात्र एक आपसमा मर्ज हुँदा यस्तो खालको सुविधा तथा छुट दिनु पर्छ । वाणिजय बैंकसँग सी वा डी वर्गका बैंक वित्तीय संस्थासँग मर्ज भयो भने छुट नपाउने भन्ने व्यवस्था गर्न आवश्यक छ । सरकारले अब ल्याउने बजेट र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा के कस्ता नीतिहरु ल्याउन आवश्यक छ ? कोरोना भाइरसको कारण अझै समाप्त भइसकेको अवस्था छैन । फेरि पनि कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । यसलाई दृष्टिगत गर्दै सरकारले नै केही राहत ल्याउनु पर्छ । अब बैंकहरुले भन्दा पनि सरकारले नै राहत दिनु पर्छ । दोस्रो बैंक वित्तीय संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व भनेरै काम गर्न गाह्रो छ । हाम्रो प्रशस्त लगानी भएको ठाउँमा पनि हामीले शुल्क लिएका छैनौं । अर्को, हामीलाई सरकारी खाता सञ्चालन गर्ने विषय छ । क्रेडिट र एलसी खोल्नको लागि हामी सक्षम छौं । यसको पनि व्यवस्था हुनु पर्छ । अब पनि बैंकहरुले राहत दिनु पर्छ भने हामीले तिर्ने करबाट कटौती हुनु पर्छ । हामीले ३० प्रतिशत कर तिर्छौं भने त्यसको १० प्रतिशत व्यवसायी र अरु सरकारलाई तिर्न सकिन्छ । यस्तो व्यवस्था पनि गर्न सकिन्छ ।

कर छुटको नाममा मर्जरले ल्याउने सिनर्जीकाे विषयलाई बिर्सनु हुँदैनः सरोजकाजी तुलाधर

नेपाल राष्ट्र बैंकले मंगलबार (आज) आफ्नो ६६ औं वार्षिकोत्सव मनाउँदै छ । नेपाली बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकले आफ्नो ६६औं वार्षिकोत्सव मनाइरहँदा देश कोरोना भाइरसको सन्त्रासमा छ । अब केही महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति पनि ल्याउँदैछ । कोरोना भाइरसको कारण ठूलो त्रासमा रहेका व्यवसायी र बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले कस्तो नीति ल्याउला ? त्यो भने सबैको प्रतिक्षाको विषय बनेको छ । राष्ट्र बैंकले ६६ औं वार्षिकोत्सव मनाइरहँदा राष्ट्र बैंकबाट वित्तीय संस्थाहरुको अपेक्षा, अब आउने मौद्रिक नीति लगायत विषयहरुमा हामीले गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग कुराकानी गरेका छौं । नेपाल राष्ट्र बैंकले ६६औं वार्षिकोत्सव मनाउँदैछ । यो अवसरमा राष्ट्र बैंकलाई वित्तीय संस्था संंघको सल्लाह–सुझाव के छ ? सर्वप्रथम त राष्ट्र बैंकलाई शुभकामना छ । राष्ट्र बैंकको वार्षिकोत्सवकै समयमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । गत वर्ष पनि यही समयमा कोरोना बढिरहेको थियो । यो अवस्थामा पहिलेको जस्तै सबैलाई सहज हुने खालको नीति बनाएर अगाडि बढोस् भन्ने शुभकामना दिन चाहन्छु । अहिले हामी सबैको ध्यान कोरोना भाइरसको जोखिम कम गर्न र यसले सिर्जना गरको समस्या समाधान तर्फ जान जरुरी छ । राष्ट्र बैंकले ल्याउने नीतिहरु पनि कोरोना भाइरसले पारेको प्रभाव न्यूनिकरण गर्नतर्फ होस् । हामी सबैको अपेक्षा, चाहना र सल्लाह सुझाव पनि यही छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनलाई प्राथमिकताका साथ हेरिरहेको छ, बैंक तथा वित्तीय संस्था कति हुनु पर्ने, कति हुँदा उचित हन्छ ? यसमा तपाईंहरुको धारणा के हो ? नेपालमा बैंक तथा वित्तीय संस्था यति नै हुनु पर्ने हो भन्ने विषयमा अहिलेसम्म कुनै अध्ययन अनुसन्धान भएको छैन । यति नै संख्या हुनु पर्छ भन्न गाह्रो छ । नेपालको भौगलिक र सामाजिक– साँस्कृतिक अवस्था अन्य देशको भन्दा फरक छ । हामीले बिग मर्जरको कुरा गर्दै गर्दा ‘टु बि फेल सिन्ड्रम’बाट बच्न सक्नु पर्छ । मर्जरको नाममा बैंक वित्तीय संस्थाको संख्या कम भयो भने ग्राहकले पाउने सेवा सुविधा र सहजताबाट बञ्चित नहुन् भन्ने हाम्रो धारणा हो । यसमा राष्ट्र बैंक सचेत हुनु पर्छ । राष्ट्र बैंकको बैंक वित्तीय संस्था मर्जर तथा एक्विजिसनको नीतिमा तपाईंहरुको साथ समर्थन कस्तो छ ? बैंक तथा वित्तीय संस्थाहरु आफु अब्बल छन् भने उनीहरु तठस्त भएर काम गरिरहेका हुन्छन् । तिनीहरुका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरुको साहारा पनि चाहिँदैन । तर, अरुको सहयाेग चाहने बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको यो नीति अनुसार चलिरहेका छन् । मर्जर तथा एक्विजिसनको नीति अवलम्बन गरेर काम काम गरिरहेका छन् । नियामक निकायले ल्याउने सही नीतिमा हाम्रो जहिले पनि समर्थन रहन्छ । हामीलाई चाहिएको बैंक कस्तो हो ? राम्रो हो वा ठूलो ? ठूलो बैंक र सानो बैंकभन्दा पनि ग्राहकमैत्री र हाम्रो अर्थतन्त्रमैत्री बैंक हुनु पर्छ । यस्ता खालका बैंक वित्तीय संस्था रहनु पर्छ । बैंक तथा वित्तीय संस्थाहरु धेरै भएर प्रतिस्पर्धासँगै ग्राहकहरुले सेवा सुविधाहरु बढी पाइरहेका छन् । बैंक वित्तीय संस्थाहरुको संख्या कम गर्ने नाममा ग्राहकहरु सहज सेवाबाट बञ्चित हुन सक्छन् । यो कुरालाई हामीले ध्यान दिनु पर्छ । अहिले १८ वटा वित्तीय संस्थाहरु छन्, ती संस्थाहरु ठीकै छन् कि तिनीहरुबीच अझै मर्जर तथा एक्विजिसनको आवश्यकता छ ? मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने पहिला ८०/८२ वटा वित्तीय संस्थाहरुबाट अहिले १८/१९ को संख्यामा झरेका छन् । यो संख्या भनेको तल्लो स्तरका ऋणीहरु र नयाँ उद्यमीहरुलाई बैंकिङ्ग सिकाउने, ऋण लिन सिकाउने लगायतका बैंकिङ्ग साक्षरता यथावत राख्नको लागि यो संख्या आवश्यक जस्तो लाग्छ । वित्तीय साक्षरता र बैंकिङ पहुँच बढाउन वित्तीय संस्थाहरुले के कस्तो भूमीका खेलेका छन् ? घरानिया उद्योगपति र बैंकर बाहेक नयाँ आउने उद्यमीलाई वित्तीय संस्था र विकास बैंकले नै सर्पोट गरिरहेको छ । उनीहरुकै कारणले नै विकास बैंक र वित्तीय संस्थाहरु टेकिरहेका छन् । विकास बैंक र वित्तीय कम्पनीहरुले दुर्गम क्षेत्रमा बसेर बैंकिङ्ग पहुँच र बैंकिङ्ग साक्षरता दिइरहेका छन् । यस कारणले नेपालमा विकास बैंक र वित्तीय संस्थाहरु आवश्यक छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । रिपोर्टमा अधिकांश बैंकहरुको नाफा बढेको देखिए पनि कोर बिजनेसमा खासै वृद्धि भएको देखिँदैन, यसले नेपाली विकास बैंकहरु कस्तो दिशातर्फ अगाडि बढिरहेका छन् ? यो अहिले आइरहेको इस्यु हो । कतै बैंक तथा वित्तीय संस्थाहरु कोर बैंकिङबाट पछि हटेकी भन्ने बुझाई धेरैको छ । तर, कोर बैंकिङ नदेखिनको कारण कोरोना नै हो । यो समयमा सेयर बजारमा उछाल आएको कारणले पनि धेरैले त्यतातर्फ लगानी बढाएका हुन सक्छन् । अर्को, बैंकहरुले कोरोनाको समयमा २५/३० प्रतिशत नोक्सानमा गएर पनि प्रोभिजनिङमा गए । यस बारे विस्तृत रुपमा बुझ्न आवश्यक छ । कोर बैंकिङ्ग छोडे भन्न मिल्दैन । त्यसका लागि यो भन्दा १० वर्ष अगाडिको सिनारियो हेर्न आवश्यक छ । त्यसपछि मात्रै के भएको हो थाहा पाउन सकिन्छ । अहिले पनि धेरेको बिजनेस भोलुम त बढेको नै छ । स्प्रेड कम भएर यसमा कोरोनाको असर भएर नै कोर बिजनेसको प्रोफिटाविलिटी कम देखिएको हो । यो निरन्तर प्रक्रिया हो । कोरोना फेरि बढ्दैछ, अझै लकडाउन हुने होकि भन्ने शंका धेरैमा छ, अब फेरि पहिलेकै अवस्था भयो तर राष्ट्र बैंकले त्यस्ता खालका कुनै राहतका प्याकेज ल्याएन भने वित्तीय संस्थालाई कस्तो प्रभाव पर्छ ? कोरोनाले नकारात्मक प्रभाव नै देखाउने हो । त्यो नकरात्मक प्रभावलाई लङटर्म हुन नदिनको लागि विभिन्न उपाय ल्याउन राष्ट्र बैंक लाग्नु पर्छ । ती उपायलाई अवलम्बन तथा कार्यान्वयन गर्न हामीले सर्पोट गर्ने हो । राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीहरुका लागि राहत घोषणा गरेपछि बैंकहरुले आफ्नो आम्दानीको रकम घटाएर व्यवसायीलाई पनि दिए । यो प्रक्रियालाई वित्तीय संस्था संघले कसरी लिएको छ ? ऋणीले आज नभए पनि भोलि पैसा तिर्न सक्छन् । उहाँहरुले तिरेको व्याजबाट नै हामीले निक्षेपकर्तालाई व्याज तिर्ने हो । त्यसबाट नै हामीले हाम्रो अपरेटिङ कष्टहरु उठाउने हो । ऋणीहरुलाई समस्या परेको समयमा उनीहरुलाई तंग्रिनको लागि जे जस्तो साथ दिनु पर्ने हो त्यो दिन सकेनौं भने केही निश्चित समयको लागि नाफा भए पनि दीर्घकालिन रुपमा बैंक तथा वित्तीय संस्थाहरु बाँच्न सक्दैनन् । उनीहरु लङटर्म रहन सक्दैनन् । यो कुरा सबै बैंक वित्तीय संस्थाहरुले बुझेका छन् । त्यसैले पनि सबैले सर्पोर्ट गरेका छन् । एकतर्फि रुपमा रुपमा नीति आउनु हुँदैन । नीतिमार्फत ऋणी, निक्षेपकर्ता सबैलाई सहज हुने खालको नीति ल्याउनु पर्छ । फेरि कोरोना बढ्दैछ, राष्ट्र बैंकले फेरि ऋणाीलाई व्याज सहुलियत वा अन्य राहत देउ भन्यो भने वित्तीय संस्थाहरु धान्न सक्ने अवस्थामा छन् कि छैनन् ? राष्ट्र बैंकले धान्न नसक्ने किसिमले नीतिहरु ल्याउँदैन । उहाँहरुको रिसोर्स टिम एकदमै स्ट्रङ्ग छ । उहाँहरुले नीति ल्याउनु अगाडि विभिन्न छलफल तथा परामर्श गरेर ल्याउनु हुन्छ । त्यसैले बैंक वित्तीय संस्थाहरु डुब्ने गरी उहाँहरुले कुनै पनि नीतिहरु ल्याउँदैनन् । बैंक वित्तीय संस्था मर्ज तथा एक्विजिसन भइसकेपछि पुँजीगत र लाभांश कर छुट शेयरधीनले पाउँदै आएका छन् । यो छुट शेयरधनीले नै पाउनु पर्ने हो वा संस्थाले ? यसमा तपाईंहरुको धारणा के हो ? त्यही भएर नै बिग मर्जरको विषय उठरहेको हो । यो कुरा राष्ट्र बैंकले पनि राम्रोसँग बुझेको होला । कर छुट पाउने सुविधालाई मात्र हेरेर मर्ज गर्छौं भने मर्जबाट आउने सिनर्जीको कुरालाई बिर्सन्छौं होला । त्यस कारणले मर्ज सिनर्जीको लागि हुनु पर्छ । सरकारले अब ल्याउने बजेट र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने समय पनि नजिकिँदै छ, त्यसमा तपाईंहरुको सल्लाह सुझाव के छ ? अहिले संसार नै जटिल मोडमा छ । हामी पनि त्यसका असरबाट टाढा हुन सकेका छैनौं । सरकारलाई विभिन्न प्याकेज ल्याउनका लागि रेभिन्यु बढी चाहिन्छ । रेभिन्यु बढि चाहिनको लागि ट्याक्स रेट बढाउनु पर्ने हुन्छ । तर, व्यापारी तथा व्यवसायीहरुको सहजताको लागि कर कम गरेर रिभाइब गरिदिनु पर्ने हुन्छ ।  सरकारले बैंक वित्तीय संस्थाबाट लिँदै गरेको ३० प्रतिशत कर घटाउनु पर्छ । यो विषय हामी पहिलेदेखि नै भन्दै आएका छौं । व्यक्तिगत कर पनि घटाउनु पर्छ । सरकारले बजेट अनुपर्युक्त खर्च हुने क्षेत्रलाई टाल्नु पर्छ । यसबाट बच्ने पैसाबाट कोरोनाबाट असर परेको संस्थाहरुलाई सहयोग गर्नु पर्छ । कतिपय प्रोजेक्टका लागि भनेर सरकारले पैसा उठाइरहेको छ । त्यो फण्डहरु प्रयोग गरेर भएपनि कोरोना भाइरसको जोखमि न्यूनिकरणमा लाग्नु पर्छ । कमसेकम अर्को एक वर्षको लागि व्यापार बन्द गरेर समस्या हुने अवस्था सिर्जना नहुने वातावरण सरकारले सिर्जना गर्नु पर्छ । चुल्हो नबलेको कारणले विभिन्न समस्या ननिम्ताउनका लागि सरकार संवेदनशिल हुनु पर्छ । आगामी वर्षको सम्पूर्ण ध्यान कोरोना भाइरसको जोखिम न्यूनिकरण र यसले सिर्जिना गरेका समस्या समाधानमा केन्द्रित हुनु पर्छ ।

कोरोना महामारीमा पनि एलजीको व्यापार ५० प्रतिशतले बढ्याे: पुरुषोत्तम भण्डारीसँगको कुराकानी

विगत साढे ३ दशकदेखि नेपाली उपभोक्ताहरु माझ नयाँ–नयाँ टेक्नोलोजीका सामानको बिक्री गर्दै आएको एलजी परिचित ब्राण्ड हो । नेपालभर ५ सयभन्दा बढी डिलरहरुमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको एलजी अझै सबै नेपाली माझ पुग्ने उद्धेश्यले काम गरिरहेको छ । कोरोना महामारीमा एलजीले के-कसरी काम गरिरहेको छ ? व्यापार कस्तो छ ? ग्राहकका लागि एलजीले नयाँ के काम गरिरहेको छ ? लगायत विषयमा एलजी ब्राण्डका उपमहाप्रबन्धक पुरुषोत्तम भण्डारीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । कोरोना महामारीमा एलजी ब्राण्डको व्यापार कस्तो छ, कसरी काम गरिरहनु भएको छ ? कोरोनाको महामारीका वाबजुद पनि हामीले राम्रै व्यापार गरिरहेका छौं । ग्राहकहरुबाट पनि राम्रै माग आइरहेको छ । नर्मल समयको भन्दा ५० प्रतिशतको व्यापारमा ग्रोथ भएको छ । हामी प्रायः इलेक्ट्रोनिक सामानहरुलाई बढी बिक्री गरिरहेका छौं । हामी प्रत्येक ग्राहकसम्म पुगेका छौं । सबैभन्दा राम्रो पक्ष भनेको हामीले ग्राहकले चाहेको सामान अर्थात उनीहरुको डिमाण्डलाई तत्कालै पुरा गरिरहेका छौं । ग्राहकमा हामी प्रतिको विश्वास पनि त्यसैले बढेको हो । अहिले कोरोनाको समय पनि छ । सबै व्यापार व्यवसाय समस्यामा छन् तर तपाईंले एलजीको व्यापार झन बढेको छ भन्नुभयो, कोरोनाकालमै व्यापार बढ्नुको कारण के हो ? व्यापार अर्थात डिमाण्ड बढ्नुको मुख्य कारण हाम्रो सप्लाई चेन हो । अर्को, हामीले विभिन्न प्रडक्ट बजारमा दिइरहेका छौं । विद्युतको खपत कम हुने सामानहरु पनि ग्राहकलाई उपलब्ध गराउँदै आएका छौं । कोरोनाकालमा हाइजेनिक प्रडक्टलाई पनि प्राथमिकता दिइरहेका छौं । यो कारणले पनि व्यापार बढेको हुन सक्छ । व्यापार बढेपछि कम्पनीको नाफा पनि बढ्यो होला नि ? कोरोनाको समयमा सबै कम्पनीहरुलाई नाफा गर्न गाह्रो त भइ नै रहेको छ । जुन हिसावको माग बढिरहेको छ त्यही अनुसारको नाफा हाम्रो छैन । हामी धेरै नाफा लिएर काम गर्दैनौं । तर, ठीकै छ । ग्राहकको माग र सन्तुष्टिमा आधारित भएर काम गर्छौं । अहिले बाहिरबाट सामान आउँदा धरै महँगो भएको छ । तर, हामीले ग्राहकलाई बाहिरबाट बढेको सामानमा त्यति बढाएका छैनौं । त्यो हामीलाई समस्या छ । नाफा लक्ष्य लिए अनुरुप छैन । तर लक्ष्यको हाराहारीमा भने पुगेका छौं । उत्पादनको माग बढेको छ भन्नुभयो तर नाफाको लक्ष्य भेटाउन सकेका छैनौं भन्नुभयो, कसरी ? हामीले जति नाफा लिनु पर्ने हो त्यति नाफा लिन सकेका छैनौं । बजारमा मूल्य बढाउन गाह्रो भइरहेको छ । ग्राहकको आम्दानीको क्षमता पनि अहिले घटेको छ । त्यसलाई हेरेर नै हामीले मूल्य तय गर्ने हो । त्यसैले बाहिरबाट आउने सामानको मूल्य महँगो भएपनि हामीले पहिलेकै दरमा बिक्री गरिरहेका छौं । हामीले विशेषतः ग्राहकलाई ध्यानमा राखेर नै व्यापार गर्ने हो । अहिले सामान आयात गर्दा सप्लायरर्सदेखि ढुवानी खर्च बढेको छ । तर, हामीले कम मार्जिनमै व्यापार गरिरहेका छौं । एलजी ब्राण्डले के-कस्ता प्रडक्ट उत्पादन तथा बिक्री गरिरहेको छ ? हाम्रो मुख्य प्रडक्ट भनेको टीभी हो । टेलिभिजना ओलेटदेखि अल्ट्रा एलजी, स्मार्ट टिभी र नर्मल टीभीसम्म बिक्री गर्दै आएका छौं । योसँसँगै अडियो सिस्टम, इलेक्ट्रोनिक, घरायसी सामानहरु लगायतका प्रडक्ट बिक्री गर्दै आएका छौं । यस अन्तर्गत रेफ्रिजेटर, वासिन मेसिन र एसीहरु बिक्री गर्दै आएका छौं । हाम्रा प्रडक्ट ग्राहकले एकदमै मन पराइहरेका छन् । उपभोक्ताहरुले बढी रुचाएको अर्थात बढी माग हुने प्रडक्ट कुन हो ? हाम्रो नम्बर वान प्रडक्ट वासिन मेसिन हो । वासिन मेसिनको डिमाण्ड धेरै हुन्छ । त्यसपछि रेफ्रिजेटर, एलईडी टीभी लगायतका प्रडक्टहरु ग्राहकले धेरै रुचाएका छन् । यी लगायत अन्य धेरै प्रडक्टहरुको डिमाण्ड पनि बढिरहेको छ । हामीले ग्राहकको मागलाई मध्येनजरलाई ध्यान दिने भएकोले पनि हाम्रो प्रडक्ट र हाम्रो ब्राण्डप्रति उपभोक्ताहरु विश्वस्त हुनुहुन्छ । एलजी ब्राण्डले आफ्नो बजार विस्तार कसरी गरिरहेको छ ? हामीले विगत ३०/३५ वर्षदेखि काम गर्दै आएका छौं । हामी नयाँ ब्राण्ड पनि होइनौं । हामीले ग्राहकको सहजताका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरु राखेका छौं । हामीसँग देशभर ५ सयभन्दा बढी डिलरहरु छन् । हाम्रो जुन ठाउँमा डिलर छ त्यही ठाउँमा सर्भिस हुन्छ । हाम्रो प्रडक्टमा सर्भिसको आवश्यकता त पर्दैन तर यदी कुनैमा त्यस्तो खालको समस्या आइहाले भने २४ घण्टा भित्रै सामानको सर्भिस गर्छौं । सबै ठाउँमा हाम्रो उपस्थिती छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म हामी पुगेका छौं । केही पहाडी जिल्लाहरु बाहेक हाम्रो उपस्तिथि सबै जिल्लामा छौं । बजारमा एलजी ब्राण्डको प्रतिस्पर्धी को हो ? बजारमा धेरै ब्राण्डहरु छन् । प्रडक्ट अनुसार नै प्रतिस्पर्धी हुन्छन् । एलजीको प्रडक्टहरु प्रायःजसो घरायसी सामान नै हुन् । यस्तो खालको प्रडक्ट ग्राहकको मागलाई नै ध्यानमा राखेर बिक्री गर्ने कमै छन् । त्यसैले पनि हाम्रो त्यस्तो खालको ठूलै प्रतिस्पर्धी छ जस्तो हामीलाई लाग्दैन । हामी हाम्रो टेक्नोलोजीलाई अगाडि बढाइहरेका छौं । हामी हाम्रो ग्राहकको माग र आवश्यकतातर्फ नै ध्यान दिइहरेका छौं । एलजी ब्राण्डको सवल पक्ष अथार्त मुख्य विशेषता के हो ? प्रडक्टवाइज विभिन्न विशेषताहरु छन् । हामीले लाइफ गुड भनेर नै नारा दिएका छौं । हाम्रो प्रडक्टहरुले मानिसहरुको जीवनलाई सहज बनाउँछ । यसलाई नै ध्यान दिएर हामी काम गर्छौं । उपभोक्ताले एलजी ब्राण्डकै प्रडक्ट किन रोज्ने ? हामीले विश्वमा बन्ने नयाँ टेक्नोलोजी सबैभन्दा अगाडि भित्र्याउँछौं । ती प्रडक्टहरु प्रयोग गरेपछि ग्राहकको जीवन नै सरल हुन्छ । हामी यस्ता प्रडक्टहरु बिक्री गरिरहेका छौं कि जसले ग्राहकलाई सहजसँगै राम्रो पनि हुन्छ । जस्तै हामीसँग भएको वासिङ्ग मेसिनले एलर्जीको समस्या हुँदैन । हामी अफिसमा बसेर घरमा भएको वासिन मेसिन पनि अफ र अन गर्न सकछौं । यी विभिन्न सुविधाहरु हामीसँग छन् । अर्को, भ्वाइसद्वारा टीभीहरु खुला गर्न सकिन्छ । अन्य ब्राण्डहरुको तुलनामा एलजीको प्रडक्टको मूल्य बढी वा कम के कस्तो छ ? हाम्रो प्रडक्टहरु विशेष गरी मध्यम वर्ग र उच्च वर्गहरुलाई मध्येनजर गरेर उत्पादन गरेका छाैं । हाम्रो प्रडक्ट विभिन्न क्याटोगोरीका छन् । हामीसँग विभिन्न सामानहरुमा १४/१५ हजार रुपैयाँदेखि सुरु भएर १७/१८ लाख रुपैयाँसम्मका हामीसँग प्रडक्टहरु छन् । मल्टिनेश्नल कम्पनीहरुसँग एलजीको प्रतिस्पर्धा कस्तो छ ? सबै मल्टिनेश्नल कम्पनीहरुको आ–आफ्नै विशेषहरु छन् । हामी ग्राहकको माग र रुचीर्लाइ अनुसार कसरी अगाडि बढाउने भन्नेतर्फ हाम्रो ध्यान छ । अहिले त्यति धेरै प्रतिस्पर्धा छैन । आतिहाल्नु पर्ने अवस्था छैन । नयाँ वर्षको अवसरमा एलजीले के कस्ता अफरहरु ल्याएको छ ? हामीले एलजीका घरायसी सामानको खरिदमा विभिन्न छुटहरु ल्याएका छौं । नर्मल र स्मार्ट एलईडी टिभी, एयर पियुरिफायर, भ्याकुमक्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० रुपियाँ मूल्यको फ्रि माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २४५० रुपियाँको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् । यस्तै विभिन्न अफरहरु रहेका छन् । एलजीको आगामी योजना के हो ? हाम्रो चाहना र योजना नै ग्राहकलाई कसरी सन्तुष्टि दिने भन्ने नै हो । हामी बढी भन्दा बढी त्यसैमा ध्यान दिन्छौं । कोरियामा प्रयोग हुने टेक्नोलोजी छिटो भन्दा छिटो नेपालमा भित्र्याएर नेपाली ग्राहकहरुको माग पुरा गर्ने हो । अझ ग्राहकको जीवन सहज बनाउने हो । मार्केटको माग अनुसार हामी अगाडि बढ्छौं । एलएजी ब्राण्डका ग्राहकलाई तपाइँको सन्देश के हो ? एलजी नेपालको नम्बर वान इलेक्ट्रोनिक उत्पादन गर्ने ब्राण्ड हो । ग्राहकको माया ममताले हामी यो स्थानमा छौं । आगामी दिनमा पनि ग्राहकको जीवन अझ सहज बनाउनको लागि कोरियामा उत्पादन भएको प्रडक्टलाई तुरुन्तै नेपालमा ल्याउने प्रयास गर्छौं । हाम्रो मुख्य उद्धेश्य नै नेपालीको जीवनशैली माथि उचाल्ने नै हो ।