बुटबल र सिमरामा इलेक्ट्रिक स्कुटरको एसेम्बलिङ प्लान्ट स्थापना गर्न खोज्दैछौंः अशोक खड्गी
काठमाडाैं । नेपाली अटो बजारमा छोटो समयमा दुई पाँग्रे विद्युतीय सवारी साधनको वहस सिर्जना गर्ने मात्रै होइन, बिक्री वितरण पनि सुरु गर्ने महत्वपूर्ण कम्पनीका रुपमा चिनिन्छ ह्वाईट लोटस मोटर्स । यो कम्पनी स्थापना भएको १ वर्षमा नै ४ सयभन्दा बढी विद्युतीय स्कुटर बिक्री गरिसकेको छ । देशका १६ ठाउँमा आफ्नो डिलर नेटवर्क स्थापना गरेर देशभर विद्युतीय सवारी साधनको संख्या बढाउनु पर्छ भन्ने योजनाका साथ व्यवसाय सुरु गरेको यस कम्पनीले भारतीय ब्राण्ड ‘प्योर ईभी’को विद्युतीय स्कुटर नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको समय र सरकारले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्तारै विस्थापन गर्दै जानु पर्छ भन्ने नीति लिइरहेको बेला ह्वाईट लोटस मोटर्सले के कसरी काम गरिरहेको छ ? कम्पनीको व्यवसायिक योजना, र कम्पनीले बिक्रि गर्ने भारती ब्राण्डको प्योर इभीको विषयमा केन्द्रित भएर विकासन्युजका सन्तोष रोकायाले कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्गीसँग कुराकानी गरेका छन् । नेपाली अटो बजारमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरु धेरै छन् । त्यस्ता सवारी साधनको दवदवा रहेको अवस्थामा विद्युतीय सवारी साधन भित्र्याउने साहस कसरी गर्नुभयो ? अटो मोबाईल्स क्षेत्र एउटा कर्पाेरेट विजनेश हो । जसमा समाजसेवा, रोजगार सिर्जना लगायतका वस्तुलाई जोड्न सकिन्छ । विद्युतीय सवारी साधनलाई हामीले रोज्नुको एउटा कारण नेपालको अर्थतन्त्रका सकारात्मक पक्षहरुलाई जोड्न व्यवसाय सुरु गरेका हौँ । ह्वाईट लोटस मोटर्सले भारतीय विद्युतीय स्कुटर ‘प्योर इभी’ नेपाल भित्र्याएको एक वर्ष भयो, यो एक वर्षको अवधिमा के–कस्ता चुनौति भोग्नुभयो ? विशेष गरेर सिकाई र अनुभव कस्तो रह्यो ? हामीले व्यवसाय सुरु गर्नुभन्दा अगाडि नै धैरै अध्ययन तथा तयारी गरेका थियौँ । करिब १ वर्ष अवधि तयारीमा नै लाग्यो । हामीले प्रडक्ट ल्याउनुभन्दा अगाडि नै तयारी गरेर उपभोक्ताले खोजे जस्तो सवारी साधन ल्याउन सफल भएका हौँ । उपभोक्ताले विद्युतीय चार पाँग्रे सवारी साधन सहज रुपमा खरिद गर्न सक्दैनन् । चार पांग्रे खरिद गर्न नसक्ने उपभोक्तालाई लक्षित गर्दै हामीले दुई पाँग्रे विद्युतीय स्कुटर नेपाल ल्याएका हौँ । पछिल्लो समय देशभरको तथ्यांक हेर्दा पनि कुल सवारी आयातमध्ये दुई पाँग्रेको हिस्सा ८० प्रतिशत छ । हामीले गरेको अध्ययन अनुसार अन्य देशमा बनेका सवारी साधनको तुलनामा भारतमा बनेका धेरै सवारी साधन उपभोक्ताको रोजाईमा परेको पाइएपछि सोही अनुसार भारतीय कम्पनीले निर्माण गरेको विद्युतीय स्कुटर नेपाल ल्याएका हौँ । हामीले स्कुटर नेपाल ल्याएपछि केही समय सर्भिसमा दियाैँ । हामीले सवारी साधनको बिक्री वितरण सँगै आवश्यक उपकरणहरु समेत बिक्री वितरण सुरु गर्यौं । सुरुवाती चरणमा उपभोक्तामा हामीले ल्याएको साधनका बारेमा शंका थियो । हामीले ल्याएको साधन कत्तिसम्म टिक्छ भन्ने शंका पनि उपभोक्ताहरुमा थियो । एक वर्षको अवधिमा हामीले जसलाई सेवा दियौँ, व्यवसायिक तथा राईडरहरु जसले प्योर ईभी खरिद गर्नु भएको छ, उहाँहरुले खरिद गरेपछि उहाँहरुको आफन्त तथा अन्य उपभोक्ताहरु समेत खरिद गर्न आउनु भयो । एक/दुई जनाले खरिद गरेर लगेपछि विस्तारै अन्य ग्राहकहरु पनि उत्साहित भएर खरिदका लागि आउने क्रम जारी छ । हाम्रा इन्जिनियरहरु दक्ष हुनुहुन्छ । इभी विक्रीको एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ? हामीले एक वर्ष अगाडि नेपाली बजारमा ‘प्योर इभी’ सार्वजनिक गर्दा विद्युतीय सवारी साधनको संख्या न्यून थियो । एक वर्षको अवधिमा नै धेरै ब्राण्डका साधनहरु भित्रिएका छन् । विद्युतीय सवारीमा व्यवसायी सँगै उपभोक्ताको माग पनि राम्रो आउने गरेको छ । यी सबै इन्ड्रस्टीको ग्रोथका लागि राम्रो हो । यसलाई हामीले स्वस्थ प्रतिस्पर्धाका रुपमा लिनु पर्छ । हामीलाई केही ग्राहकले विद्युतीय साधनमा केही कुरा सुधार गर्न अनुरोध गर्नुभएको थियो । त्यही अनुसार हामीले सुधार समेत गरेका छौँ । कम्पनीले नेपालको भौगोलिक बनावटका लागि सुहाउने गरी मोडिफाइड समेत गर्ने गरेको छ । ग्राहक पनि हाम्रो प्रडक्टप्रति सन्तुष्ट हुनुहुन्छ । हामी अब यसलाई विस्तार कसरी गर्ने भन्नेतर्फ लागिरहेका छौं । समग्रमा यो एक वर्ष हाम्रा लागि निकै फलदायी नै बन्यो । एक वर्षको अवधिमा हामीले आन्तरिक रुपमा मार्केटीङ तथा इन्जीनियरिङ टीमलाई विस्तार गर्यौं । हामीले यो एक वर्षमा डिलर विस्तार पनि गर्यौं । भारतीय बजारको अवस्था हेर्दा एक पटक खरिद गरेपछि ५ वर्षसम्म केही नभएको पाइएको छ । हामीले काठमाडौंमा मात्र ल्याएर भएन । बाहिरका ग्राहकको माग अनुसार सेवा दिनुपर्र्याे भनेर हामीले उपत्यकाभन्दा बाहिर डिलर विस्तार गर्यौं । हामी अहिले उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर काम गरिरहेका छौं । हाम्रा प्राविधिकहरु पनि दक्ष भइसकेपछि मात्रै हामी डिलर खोल्छौं । अहिले नेपालमा भएका विद्युतीय सवारी साधनका डिलरहरुमा सबैभन्दा बढी ह्वाईट लोटसको छ । हाम्रो डिलर बन्न आएका सम्पूर्ण डिलरहरु हामीप्रति विश्वस्त र खुसी हुनुहुन्छ । ह्वाईट लोटस मोटर्सको डिलर नेटवर्क र जनशक्ति के कस्तो छ ? अहिले हामीसँग काठमाडौ उपत्यकामा ४ वटा र उपत्यका बाहिर १२ वटा गरी कुल १६ वटा डिलर नेटवर्क रहेका छन् । हामीले अहिले सर्भिस दिन सक्ने क्षेत्रमा मात्रै डिलर राखेका छौं । पूर्व झापादेखि पश्चिममा बुटवलसम्म हाम्रो डिलर नेटवर्क छ । बुटवल, पोखरा, हेटौंडा, चितवन, कावासोती, बर्दीबास, जनकपुर, धरान, इटहरी, दमक लगायतका ठाउँमा हाम्रा डिलरहरु छन् । प्रत्येक डिलरमा ३/४ जनाले काम पाउनु भएको छ । सबै दक्ष जनशक्ति हुनुहुन्छ । अहिले बजारमा भएका विद्युतीय सवारी साधन विशेष गरेर स्कुटरहरु चिनियाँ कम्पनीका देखिन्छन् तर, ह्वाईट लोटस मोटर्सले भारतबाट विद्युतीय स्कुटर आयात गर्छ, तपाईंहरुले भारतीय विद्युतीय स्कुटर रोज्नुको कारण के हो ? उपभोक्तालाई सस्तो, राम्रो गुणस्तरको सामान नै मन पर्छ । हामीले त्यो क्वालीटी भारतीय विद्युतीय स्कुटरमा भेटायौं । सर्भिसका सानातिना इस्यू आउँदा समयमै समाधान हुने भारतीय सवारी साधनमा भेटायौं । यसको मतलब मैले चिनियाँ सवारी साधन नराम्रो भनेको होइन । तर, भारतीय सर्भिस क्वालीटी र मूल्य नेपाली ग्राहकले मन पराएको हामीले पायौं । कतिपय अवस्थामा विगतमा व्यवसाय गर्नेहरुबाट पनि धेरै कुराहरु सिक्न सकिन्छ । विद्युतीय सवारी साधनका स्पेयर पार्टसहरु जति भारतबाट ल्याउँदा सजिलो हुन्छ, त्यति सजिलो चीनबाट ल्याउँदा हुँदैन । भारतसँग हाम्रो भाषा, मुद्रादेखि ट्रान्जिट समयले पनि धेरै सहज हुन्छ । ह्वाईट लोटस मोटर्सको प्रबन्धक निर्देशकको पदबाट भारतीय र चिनियाँ विद्युतीय सवारी साधनलाई नियाल्दा तुलनात्मक रुपमा कुन राम्रो ? अर्थात फरक के छ ? चीनमा बनेका र भारतमा बनेका सवारी साधनहरुका आ–आफ्नै विशेषताहरु छन् । यो राम्रोभन्दा पनि त्यसको प्रत्येक विशेषताहरु हेर्नुपर्ने हुन्छ । चीनमा बनेको सवारी साधनहरु पनि ग्लोवल स्टयाण्डर्डका छन् । तर, त्यसको मूल्य धेरै महँगो हुन्छ । ती प्रडक्टहरु यूरोपलाई ध्यानमा राखेर बनाइएका हुन्छन् । ती सवारीहरु नेपाल ल्याउँदा नेपाली उपभोक्ताले खरिद गर्र्न नसक्ने अवस्था नहुन सक्छ । अहिले हामीसँग भएका सवारी साधनहरु मूल्य कसरी कम गर्ने भन्ने तर्फ लाग्नु पर्छ । तर, भारतीय सवारी साधनहरु नेपाली उपभोक्तामैत्री छन् । भारतीय उपभोक्ताहरुको माइन्डसेट पनि नेपालीहरुको जस्तै छ । त्यसैले पनि भारतमा बनेका सवारी साधनहरु नेपालीले एफोर्ड (खरिद) गर्न सक्छन् । मूल्य, भु–बनावट र ग्राहकको माइन्डसेटको कारणले पनि अहिले प्योर इभीको स्कुटर उपभोक्ताले मन पराएका छन् । त्यसो भए नेपाली उपभोक्ताको सोचाई, आवश्यकता अनुसारको मूल्य नहुँदा नहुँदै पनि नेपाली व्यवसायीहरुको बढी रोजाईमा चिनीयाँ विदुतीय सवारी साधन किन पर्यो ? यसपछाडिको कारण तपाईंले के देख्नु भएको छ ? चीनमा बनेका सवारी साधन राम्रा पनि छन् । ती राम्रा हुँदाहुँदै पनि एउटा कर्पोरेट विजनेसका हिसावले पनि एउटा विजनेसम्यान चीनमा गएर उत्पादकसँग कुरा गरेर वितरकका रुपमा नेपालमा ल्याउनुहुन्छ । अर्को व्यवसायी जान्छ र त्यही कम्पनीले दिन्छ भनेपछि यहाँनेर नेपालको कानुन अनुसार नमिलेको हो कि जस्तो देखिन्छ । कुनै प्रडक्ट नेपालमा छ, सोही प्रडक्ट फेरि आउँछ । एउटा व्यक्तिले ठूलो लगानी गरेको हुन्छ । धेरै समय खर्च र स्रोत साधन गरेको हुन्छ । एउटा प्रडक्ट धेरै आयातकर्ताले ल्याउने जुन प्रवृति छ, त्यो राम्रो होइन कि भन्ने हो । तर, भारतमा कर्पोरेट अभ्यास राम्रो छ । हाम्रो भारतसँग भाषादेखि अन्य विषयहरु मिल्छ । उनीहरुले चाह्यो भने नेपालमा एकदिनमै र हामीले चाहे पनि भारतमा एकदिनमै जान सक्छौं । सर्भिस पनि छिट्टै गर्न सक्छौं । पाटपुर्जा ल्याउन पनि त्यति नै सहज हुन्छ । ह्वाईट लोटस मोटर्सले भारतीय कम्पनीको प्योर ईभी नेपालमा बिक्री गर्दै आएको छ, यसको विशेषताहरु के कस्ता छन् ? मोडल कति वटा छन् ? हाम्रो अध्ययनले भारतीय विद्युतीय सवारी साधन राम्रो हुन्छ भन्ने त देखायो तर, भारतमा पनि दुई÷तीन प्रकारको विद्युतीय स्कुटर हुने रहेछ । भारतमा लो स्पीडका स्कुटर धेरै बिक्री हुने रहेछन् । २५ किमि मात्रै स्पीड जाने, दर्ता नहुने र लाइसेन्स पनि नचाहिने बिक्री हुने रहेछन् । तर, हाम्रो उपभोक्तालाई त्यस्तो आवश्यक छैन । हाम्रो नेपाली उपभोक्तालाई पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बदालामा विद्युतीय सवारी साधन चाहिरहेका छन् । विद्युतीय सवारी साधन किनेपछि अर्को आवश्यक नपरोस् भन्ने हाम्रा उपभोक्ताहरु चाहन्छन् । हामीले त्यस्ता कम्पनीहरु छनोट गर्यौं जसको स्पीड उच्च छ । हामीले अन्तिममा प्योर ईभीलाई छान्यौं । यो नै नेपालीको खरिद गर्न सक्ने क्षमता र हाम्रो माटो सुहाउँदो जस्तो लागेर हामीले नेपाल भित्र्याएका हौं । हामीले अहलिे दुईटा मोडल आयात गरेर बिक्री गरिरहेका छौं । यो भारतमा लामो इतिहास भएको सवारी साधन हो । यो भएपछि अर्को पेट्रोलियम पदार्थको भर पर्नु पर्दैन । एक पटक चार्ज गरेपछि ११६ किलाेमिटर गुड्छ । साढे दुई घण्टामै फुल चार्ज हुन्छ । यसमा ब्याट्री साइज पनि ठूलो छ । तीन वर्षको वारेन्टी छ । हामीले एक वर्षको अवधिमा ४ सयभन्दा बढी स्कुटर बिक्री गरिसेका छौं । विद्युतीय सवारीमा हाम्रो दीर्घकालीन योजना छ । हामीले इलेक्ट्रिक मोटरसाइक, गाडीहरु ल्याउने पनि योजना बनाइहरेका छौं । प्योर ईभीको स्पेयर पार्टस् पाइनेदेखि अन्य सर्भिस पनि नेपालमै गर्न सकिन्छ कि भारतकै भर पर्नुपर्छ ? सबैको सुविधा नेपालमै छ । हामीसँग पूर्ण दक्ष जनशक्ति हुनुहुन्छ । स्पेयर पार्टहरु पनि हामीसँग स्टक छ । प्योर इभी मात्रै होइन, नन ब्राण्डका सवारी साधनको पार्टहरु पनि हाम्रोमा पाइन्छ । हामी सप्लाएर पनि हो । थन्केर बसेका सवारी साधनहरुको पार्टसहरु हाम्रोमा पाइन्छ । प्योर इभीका पार्टसका कारण थन्किएका विद्युतीय स्कुटर सञ्चालनमा आएका छन् । भारतबाटै सवारी साधन ल्याउनु पर्ने अवस्था छ, नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्न एसेम्बल उद्योग स्थापना गर्न सकिने अवस्था छैन ? यस विषयमा हामीले पनि धेरै अध्ययन गरेका छौं । केही तयारी पनि गरिरहेका छौं । नेपालमा एसेम्बलिङ गर्न सकिन्छ । हामीसँग दक्ष जनशक्ती पनि छ । नेपालमा विद्युतीय सवारी साधनको एसेब्ल उद्योग खोल्न सक्यो भने देशलाई नै धेरै फाइदा हुन्छ । रोजगारी सिर्जना, नेपालमै भ्यालु एडिसन गर्न सकिन्छ । अन्य कम्पनीहरु पनि आउने अवस्था हुन्छ । अहिले सरकारको भन्सार सम्बन्धि नियमालीमा विद्युतीय सवारी ल्याउँदा र पार्टहरु ल्याउँदा एउटै भन्सार दर पर्न जान्छ । सरकारले यसको पुनरावलोकन गर्न जरुरी छ । बिक्रीको दर पनि खासै उत्साहपूर्ण छैन । त्यस कारणले मात्रै काम रोकिएको छ । हामीले बुटवल र सिमारा प्लान्टका लागि ठाउँहरु पनि खोजेका छौं । आगामी वर्षको बजेटमार्फत दुई पाँग्रे विद्युतीय सवारी साधनको एसेम्बलिङमा केही छुट तथा सहज नीति ल्यायो भने नेपालमा पनि विद्युतीय सवारी साधनको एसेम्बलिङ प्लान्ट खोल्न सकिन्छ । पेट्रोलियम पदार्थका दुई पाँग्रे सवारी साधनका एसेम्बलिङमा दिए जस्तै सुविधाहरु हामीलाई पनि दियो भने हामी नेपालमै उत्पादन भएको दुई पाँग्रे विद्युतीय सवारी साधन चलाउन पाउँछौं । त्यसका लागि सरकार पनि तयार हुनु पर्छ । हामी तयार छौं । अहिलेकै अवस्थामा नेपालमा एसेम्बलिङ सञ्चालन गरेर विद्युतीय सवारी साधन उत्पादन गर्न सकिँदैन ? सकिन्छ तर, महँगो पर्न जान्छ । त्यो खालको महँगो सवारी साधन हामो उपभोक्ताले खरिद गर्न सक्छन् वा सक्दैनन् भन्ने विषय पनि महत्वपूर्ण हो । अहिले दुई पाँग्रे सवारी साधन जति बिक्री भइरहेका छन्, त्यसको १ प्रतिशतभन्दा कम विद्युतीय सवारी साधन बिक्री हुन्छन् । अझै पनि हामीले उपभोक्ताई विद्युतीय सवारी साधनमा बानी बसाल्न समय नै लाग्छ । तर, हामीले यो समयमा उपयुक्त विद्युतीय सवारी दियौैं भने यो दर ४/५ प्रतिशत पुग्न समय लाग्दैन । हामीले तयारी गरिरहेका छौं । कहाँबाट ल्याउने ? कसरी ल्याउने ? भनेर हाम्रो टीमले अध्ययन गरिरहेको छ । पक्कै लागत बढी नै लाग्छ । राज्यले सहयोगको भूमिका खेल्नुपर्छ । सरकारले पनि विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइरहेको छ, तपाईंहरु पनि विदुतीय सवारी साधनको बजार बढाउन लागिरहनु भएको छ, हाल सञ्चालन भइरहेका पेट्रोेलिय पदार्थबाट चल्ने सवारी साधन नेपालबाट सजिलै विस्थापन गर्न सकिन्छ, सजिलो छ ? सजिलो छ । अहिले छिमेकी देशहरुमा पनि विद्युतीय सवारी साधनको बिक्री वितरण बढेको छ । ती देशमा यस्ता सवारी साधनको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बर हुँदै गएको छ । यसले पनि नेपालमा पनि बढ्छ । चीन पनि नेपाल जस्तै भू–बनोट भएको देश हो । नर्वे र स्वीडल्याण्ड जस्ता देशहरुमा विद्युतीय सवारी साधन सहजै चल्छन् भने हाम्रो देशमा त झन सजिलो छ । यसका लागि सरकारले उपर्युक्त वातावरण सिर्जना गर्नु पर्छ । सरकारले विद्युतीय सवारी साधन आयतमा केही छुट दिएको छ, तपाईंहरुले पाइरहनु भएको छ ? छुटभन्दा पनि पुरानै नीतिलाई निरन्तरता दिएको हो । सरकारको पनि एउटा निकायले साथ दिँदा अर्को निकायले अवरोध गर्ने परिपाटीले पनि समस्या सिर्जना गर्छ । बागमती प्रदेशले नै सवारी साधनमा वार्षिक कर लगायो । रकम कतिभन्दा पनि यसले कस्तो सन्देश जान्छ भन्ने पनि हो । ह्वाईट लोटस मोटर्स आगामी दिनमा कसरी अगाडि बढ्दैछ, व्यवसाय विस्तारका योजना के छन् ? सुरुमा त हामी हाम्रो प्योर ईभीका स्कुटरहरु देशभरका डिलर नेटवर्कमा पुर्याउने योजना बनाउँदैछौं । हामी प्योर ईभीसँगै अर्को ब्राण्डको सवारी पनि होस् भन्ने चाहन्छौं । त्यसतर्फ पनि लागि नै रहेका छौं । हामी अहिले मार्केट सर्भेमा छौं । विद्युतीय मोटरसाइकल ल्याउने, तराई क्षेत्रको लागि विद्युतीय अटो ल्याउन सकिन्छ कि, पानी र तरकारी बोक्ने गाडी पनि विद्युतीय नै होस् भन्ने हामी चाहन्छौं । त्यसतर्फ पनि हामी अध्ययन गरिहरेका छौं । अहिले व्यवासयिक अन्तर शहरीय गाडीमा पनि सम्भावना पनि छ । सवारी साधन डेलिभरी गर्ने पनि हाम्रो योजना छ । डेलीभरी गर्ने गाडी पनि विद्युतीय नै हुन्छ । बजारमा अहिले पनि एक दर्जन बढी विद्युतीय दुई पाँग्रे सवारी साधन बिक्री गर्ने कम्पनी छन्, उपभोक्ताले प्योर ईभीकै स्कुटर किन रोज्ने ? प्योर ईभीलाई नेपाली उपभोक्ताले चलाइसके । उहाँहरुलाई यसको विशेषता राम्रोसँग थाहा भइसक्यो । यो क्यालीटी भेइकल हो । केही मानिसहरुको विद्युतीय सवारी साधन किनेको नमिठो अनुभव रहेछ । उहाँहरु हाम्रोमा आएपछि धेरै शंका पनि गर्नुभयो । तर, हाम्रो दुई पाँग्रे स्कुटर लिएर दुई÷तीन महिना चलाइसकेपछि उहाँहरु खुसी हुनु भयो । उहाँहरुको प्रतिक्रिया लिएर पछि हामीले रिभ्यू पनि बनायौं । अहिले एकपछि अर्को मानिस हाम्रोमा स्कुटर किन्न आउनु हुन्छ । जसले किनेको छ उहाँकै आफन्तहरु आउनुहुन्छ । हाम्रो मुलुकभर डिलर नेटवर्क छ । सर्भिसका लागि तालिम इन्जिनियरहरुको टिम छ । स्पेयर पार्टस्हरु पनि सरल मूल्यमा उपलब्ध छन् । प्रत्येक बैंकमा एक÷दुई स्कुटर लिनु भएको छ । विभिन्न डिलरमा पनि राम्रो माग छ । मूल्य कस्तो छ ? अहिले हामीसँग दुईटा मोडल छ । एउटा सेभेनजी भन्ने मोडल छ । त्यसको अहिले २ लाख ६० हजार रुपैयाँको हो । यसमा साढे दुई किलोवाट पोर्टेवेल ब्याट्री छ । जुन धेरै नै ठूलो हो । गाडीमै ५ किलोवाट हुन्छ । स्कुटरका लागि यो ठूलो ब्याट्री हो । अर्को इन्ट्रन्स लियो मोडल छ । यसको विशेषता पनि सेभेनजी जस्तै हो । यसको मोडल मात्रै फरक हो । यसको मूल्य २ लाख ४९ हजार रुपैयाँ हो । प्योर लियोको मोटरसाइकल पनि भारतमा बनिरहेको छ । हामी त्यसलाई पनि ल्याउने तयारी गर्दैछौं । त्यसको पनि मूल्य ३ लाख रुपैयाँको हाराहारी पर्छ ।
नाडा नेतृत्वको लागि थापाको प्यानल सक्षम छः अग्रवाल
नाडा अटोमोबाइल एसोसिएनको निर्वाचन नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरुको दौडधुप पनि बढेको छ । आगामी कार्यकालको लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले प्यानल नै बनाएर चुनाबी प्रतिस्पर्धा गर्दैछन् । थापाको प्यानलबाट कार्यसमिति सदस्यमा दीपक अग्रवालले पनि उम्मेदवारी दिएका छन् । अग्रवाल जगदम्बा मोटर्सको भाइस प्रेसिडेन्ट हुन् । अग्रवालसँग नाडाको आगामी नेतृत्वको प्राथमिकता, अटोमोबाइल क्षेत्रमा देखिएका समस्या समाधान लगायतका विषयमा विकासन्युजका लागि समुन्द्र घिमिरेले कुराकानी गरेकी छन् । तपाईले ध्रुव थापा प्यानल रोज्नु भएको छ, यसको खास कारण के हो ? यो प्यानलमा म सबैभन्दा पछाडी जोडिएको मान्छे हो । थापालाई मैले रोज्नुको मुख्य कारण नै समावेशी समूह नै हो । अहिलेको अवस्थामा नाडालाई चाहिएको नेतृत्व थापाले बनाउनु भएको छ । उहाँले विभिन्न क्षेत्रका व्यवसायीलाई समेटेर प्यानल बनाएको देखेर नै मैले उहाँलाई समर्थन गरेको हुँ । आज व्यक्तिगत स्वार्थबाट उठेर संस्थागत स्वार्थमा भिड्नुपर्ने अवस्था आएको छ । थापाजीले ल्याउनु भएका धेरै साथीलाई मैले चिनेको पनि रहेनछु । उहाँले नाडामा अहिलेसम्म लागू भएको सिन्डिकेटको अन्त्य गर्न नै सबै क्षेत्रलाई समेट्नु भएको छ । नाडाका लागि आवश्यक पर्ने समूह नै थापा प्यानल हो । उहाँले अलगअलग क्षेत्रबाट मोती ल्याएर धागोमा माला उन्ने काम गर्नुभएको छ । अटो मोबाइल्स क्षेत्रमा साझा परिवर्तन खोजिएको छ । थापा प्यानलले परिवर्तन ल्याउछ भनेर नै मैले उहाँलाई समर्थन गरेको हो । नाडाले अटो सो बाहेक अन्य केही गर्न सकेन भन्ने व्यवसायीले आरोप लगाउँदै आएका छन् । नाडाको नयाँ नेतृत्वले सो बाहेक अरु के काम गर्छ ? पहिलो काम त नाडालाई व्यवस्थित गर्नुछ । हामीले धेरै ठूला कुरा गर्छु भन्ने भन्दापनि आवश्यक कामहरु गर्नुपर्छ । हामी डाटा हव र हेल्प डेक्सको कुरा गर्दैछौं । अटो मोबाइल्स क्षेत्रमा नयाँ आउने व्यवसायीको लागि आवश्यक पर्ने सहयोग, नाडा आटो सोलाई काठमाडौं बाहेकका क्षेत्रमा कसरी व्यवस्थित गर्न सकिन्छ, त्यसतर्फ हाम्रो ध्यान केन्द्रीत रहनेछ । पार्ट एक्पो, दुई÷चार पांग्रे एक्पो, उपकरणको एक्पो लगायतका कामहरु पनि गर्न सकिन्छ । हाम्रो ध्यान नयाँ क्षेत्रमा रहन्छ । विगतमा नाडामा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने अभ्यास देखिन्छ । यसपाली प्यानलसहित निर्वाचन हुँदैछ । निर्वाचनपछि नाडा फुट्ने हो कि भन्ने चिन्ता पनि व्यवसायी माझ देखिन्छ । निर्वाचनको हारजितसँगै नाडा फूट्ने सम्भावना छ ? चुवानपछि नाडा फुट्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन । हामी सबै अटो मोबाइल्स व्यवसायी हौं । अहिले चुनावमा हाम्रो एजेण्डा फरक होला, हामी फरक पक्षलाई समर्थन गरौला तर, चुनाव सकिएपछि हामी सबै एकै क्षेत्रका व्यवसायी हौं । हामीले हाम्रो क्षेत्रलाई समेटेर लैजाने हो । टिम र प्यानल बन्दा सहजताको वातावरण बन्ने हो । यदि मिश्रित समूहबाट नाडामा नयाँ प्रतिनिधि आयौं भने मिलेर नै नाडालाई अगाडी बढाउने हो । नाडामा ठूला साना सबै व्यवसायी छन् । ठूला व्यवसायीले सानालाई महत्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो साना व्यवसायीको छ । यस्तो मतभेद कसरी हटाउने योजना बनाउनु भएको छ ? हाम्रो नारा नै अब बनाउनु छ नाडालाई सबै अटो मोबाइल्स व्यवसायीको साझा भन्ने छ । साझा बनाउने उद्धेश्य लिएर नै हामी अगाडी बढेका छौं । नाडालाई सबै व्यवसायीको साझा बनाउनकै लागि हामीले समावेशी प्यानल बनाएका छौं । सानादेखि ठूला व्यवसायीलाई सहभागिता गराएर नै उनीहरुको समस्या बाहिर ल्याउने हाम्रो अभियान हो । ध्रुव थापाको प्यानलको चाम नै समावेशी सहभागिता छ । हो, साना व्यवसायीको समस्या नाडामा आउदैन्, उनीहरुको समस्याहरु नसुनिने भएकै कारण हामीले मोफसलबाट प्रतिनिधित्व रहने गरी थापाको नेतृत्वमा समावेशी प्यानल निर्र्माण गरेका हौं । नेपाल भर छरिएर रहेका व्यवसायीका दबेका समस्याहरु हामी बाहिर ल्याउँछौँ, हाम्रो समावेशी प्यानलबाटै समाधान हुन्छ । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्नेभन्दै नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योगलाई सहुलियत घोषणा गरिसकेको छ । सरकारी नीतिअनुसार गाडी एसेम्बलिङमा नाडाको भूमिका कस्तो रहला ? यसको एउटा उदाहरण मै हुँ । नेपालमा पहिलो र दोस्रो एसेम्बलिङ उद्योगबाट टिभीएसले नेतृत्व लिएको छ । विगतमा टिभीएसको तर्फबाट मेरै नेतृत्वमा विभिन्न मन्त्रायलदेखि सरकारसम्म हामीले सहकार्य गर्दै आज यहाँसम्म ल्याउन सफल भएका छौं । भोलिका दिनहरुमा कसरी दक्ष जनशक्तिबाट नेपालमै स्वरोजगार उत्पादन गर्ने लगायतका विभिन्न कामहरु अझै बाँकी छ । सरकारले पनि एसेम्बल उद्योगलाई प्राथमिकतामा राखेको छ । उद्योग मात्र भनेर हुँदैन । पहिलो सुरुवात हामीले ससाना कुराहरुबाट गर्नुपर्छ । सरकारको नीति अनुसार एसेम्बलिङ उद्योगकै लागि पनि हाम्रो नेतृत्व नाडामा जरुरी छ । दुई पांग्रेबाट म र चार पांग्रेबाट लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, आकाश गोल्छाहरु हुनुहुन्छ । हाम्रो नेतृत्व नाडालाई आवश्यक छ । सवारी साधनमा सबैभन्दा बढी कर लगाउने देशको सूचिमा नेपाल पर्छ । भन्सार, अन्तशुल्क, भ्याट, सडक दस्तुर, वातावरणीय प्रदुशष शुल्क लगायत सबै कर सवारीधनीले तिर्नुपर्छ । करको दर कम गर्न नाडाले किन हस्तक्षेपकारी भूमिका खेल्न सकेन ? यो विषयमा हामीले विगत लामो समयदेखि छलफल गर्दै आएका छौ । नाडामा आवद्ध सदस्यहरुले राख्दै आएको माग नै यही हो । यसअघि सरकारले विद्युतीय सवारी साधनमा कर लगाएको थियो, यो अप्राविधिक भयो भनेर हामीले माग राखेपछि नै घटाईएको हो । पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा पनि चर्काे कर लगाइएको छ । ट्याक्स मात्र घटाएर समस्याको समाधान हुन्न । ट्याक्स घटाएर त्यसको कम्पन्सेन्ट कसरी गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ । हामीले दिएको ट्याक्सबाटै सरकार चलेको छ, त्यही पनि घटाईयो भने सरकारको आम्दानी पनि खुम्चिएला । कर घटाउन भन्दा पनि त्यसलाई कम्पन्सेन्ट कसरी गर्ने विषयमा हामी सबैले निष्कर्श निकाल्न सकिन्छ । अन्त्यमा, चुनाव आइसक्यो, अटोमोबाइल्स व्यवसायीलाई तपाईको म्यासेज ? अटो मोबाइल्स क्षेत्रमा परिवर्तन ल्याउन तपाईले खोज्नुभएको उत्कृष्ठ नेतृत्व नै ध्रुव थापा प्यानल हो । सबैकोे समावेशी प्यानल नै थापा प्यानल हो । यो कुरा ध्यानमा राखेर मतदान गरिदिनु होला भन्ने मेरो अनुरोध छ ।
नाडाका अधिकांश पूर्व अध्यक्षको साथ छ, हाम्रो प्यानलको जीत सुनिश्चित भयोः ध्रुव थापा
ध्रुवबहादुर थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । नाडा अटो मोबाइल्स एसोसिएसनको आगामी कार्यकालका लागि थापाले अध्यक्ष पदमा प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई हुन्डाईको नेपाली आधिकारिक बिक्रेता लक्ष्मी गुप्रको साथ रहेको छ । लक्ष्मी गुप्रका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको टिममा उम्मेदवार छन् । नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छाले थापालाई सहयोग गरेका छन् । अटो मोवाइल क्षेत्रमा बलियो उपस्थिति जनाएका शंकर ग्रुप, दुगड ग्रुप, गोल्छा अर्गनाइजेसन, बैद्य अर्गनाइजेशन, सारडा ग्रुप तथा कन्टिनेन्टल ग्रुपले थापालाई साथ दिएका छन् । नाडाको आगामी कार्यकालको लागि नेतृत्वमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका थापासँग विकासन्युजका लागि समुन्द्र घिमिरेले कुराकानी गरेकी छन् । नाडाको नयाँ नेतृत्वका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ, तपाईका एजेन्डाहरु कस्ता छन् ? सामान्य व्यवसायीदेखि इम्पोर्टस व्यवसायीहरु नाडामा आवद्ध छन् । सानादेखि ठूला सबै व्यवसायीलाई समेटेर लैजाने नेतृत्वको खाँचो छ । सबै व्यवसायीलाई समेट्नको लागि नाडाको नेतृत्वमा जानु नै मेरो मुख्य एजेण्डा हो । प्रादेशिक संरचनामा नाडा गैसक्केको छ । प्रादेशिक संरचनालाई अधिकार सम्पन्न बनाउनु पर्नेछ । अर्काे, हामीले प्रत्येक वर्ष नाडा अटो शो कार्यक्रम गर्दै आएका छौं । त्यसलाई पहिचान दिनुछ । नाडा अटो शोलाई अन्तर्राष्टियस्तरको बनाउने, अहिलेसम्म प्याटेन्ट दर्ता छैन, कसैले मैले गरेको भनेर दाबी गर्यो भने हामीले छोड्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले मुख्य काम नाडा अटो शोको प्याटेन्ट दर्ता गराउनु छ । यस्तै, धेरै नीति निर्माण हुन सकेको छैैन, बाँकी भएका नीति निर्माण गरेर व्यवसायीको हत हित केन्द्रीत नाडा बनाउनु नै मेरो मुख्य एजेण्डा हो । तपाई नाडाको २ कार्यकालसम्म उपाध्यक्ष भैसक्नु भएको छ, अध्यक्ष नै बन्नुपर्ने कारण ? नाडा अध्यक्ष प्रणालीमा रहेको छ । कार्यसमिति र अन्य पदाधिकारीमा भैरहदा अध्यक्षले ल्याएका एजेण्डाहरुलाई सहयोग गर्न बाहेक हाम्रो भूमिका खासै छैन । अध्यक्ष बाहेकका पदाधिकारीले आफ्नो तरिकाले नयाँ एजेन्डा ल्याउन पाइदैन । अध्यक्षमा जो हुनुहुन्छ, उहाँले ल्याएको एजेण्डालाई समर्थन गर्दा नै कार्यकाल सकियो । एजेण्डा ल्याउने हाम्रो हैसियत हुँदैन । नाडामा गर्नुपर्ने कामहरु धेरै छन् । उपाध्यक्ष हुँदा नै मैले नाडाकोे नेतृत्व लिएर धेरै काम गर्नुपर्छ भन्ने सोच बनाएको थिए, त्यही सोच अनुसार नाडाको व्यवस्था सुधार गर्नुछ । नाडा यर्थाथवादमा चलेको छ, त्यसलाई विस्तार गर्नुछ । निर्वाचन जित्ने आधारहरु के के छन् ? अहिले झन्डै नाडामा आबद्ध भएका ९५ प्रतिशत भन्दा बढी व्यवसायीहरु मझौला व्यवसायीहरु छन् । ६५ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यका बाहिरका व्यवसायीहरु नाडामा आवद्ध छन् । म स्वयम् उपत्यकाभन्दा बाहिरको व्यवसायी हूँ । नाडाको इतिहासमा नै मोफसलबाट अध्यक्षमा पहिलो पटक मैले उम्मेद्वारी दर्ता गराएको छु । म सानो व्यवसायबाट आएको हू । मैले धेरै अनुभव प्राप्त गरिसकेको छु । मेरो नेतृत्वमा सानादेखि ठूला क्षेत्रका सबै व्यवसायीलाई समेटेर मैले प्यानल बनाएको छु । सानादेखि ठूला व्यवसायीलाई समेटेर हामी अगाडी बढेका छौं । मेरो चुनाव जित्ने मुख्य आधार नै सबै व्यवसायीलाई समेटेर हो । विगतमा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने अभ्यास देखिन्छ । यसपाली प्यानलसहित निर्वाचन हुँदैछ । निर्वाचनपछि नाडा फुट्ने हो कि भन्ने चिन्ता पनि व्यवसायी माझ देखिन्छ । निर्वाचनको हारजितसँगै नाडा फूट्ने सम्भावना छ ? नाडा फुट्नुमा निर्वाचनसँग कुनै सम्बन्ध छैन । नाडामा आवद्ध भएका हामी जति व्यवसायीहरु छौं, हाम्रो व्यवसाय अटो मोबाइल्स नै हो । अहिलेको नाडा फुटाएर अर्काे एसोसिएसन बनाएर जान कसैलाई पनि फाइदा छैन । यो नितान्त व्यवसायिक संस्था हो । संस्थामा चुनाव हुन्छ, चुनाव हार्नेले नयाँ संस्था खोल्न थाल ेभने संस्थाकोे अस्तित्व नै हुँदैन । अहिले कार्यसमितिमा नसमेटिएका व्यवसायीहरु अर्काे पटक आउन सक्नुहुन्छ । त्यसैले निर्वाचन भएकै कारण नाडा फुट्ने कुनै सम्भावना छैन । निर्वाचनको नतिजालाई हामीले स्वीकार गर्नुपर्छ, स्वीकार गर्न हामी तयार छौं । निर्वाचनको तयारीकै बीचमा ठूलो संस्यामा सदस्यता विस्तार भएको छ । निर्वाचनको समयमा सदस्यता विस्तार गरेर ९ सयबाट किन ३२ सय बनाइयो ? हामीले गरेको अनुमान अनुसार अटो मोेबाइल्स क्षेत्रमा देशभर प्रत्यक्ष रुपमा झन्डै १० हजार व्यवसायी आवद्ध हुनुभएको छ । १० हजार बढी व्यवसायी अटो मोबाइल्स क्षेत्रमा रहँदा नाडामा जम्मा ३२ सय सदस्यहरु मात्र आवद्ध हुनुभएको छ । व्यवसायीसँगै प्रदेशगत रुपमा नाडाले प्रतिनिधित्व गर्दा सदस्य संख्या पनि विस्तार भएको हो । निर्वाचन नजिकिएसँगै केही नयाँ सदस्यहरु पनि थपिनु भएको छ । म थपिएनन् भन्न सक्दिनँ । तर, हामीले चुवावलाई लक्षित गरी नयाँ सदस्यता विस्तार गरेका छैनौं । नाडामा ठूला साना सबै व्यवसायी छन् । ठूला व्यवसायीले सानालाई महत्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो साना व्यवसायीको छ । यस्तो मतभेद कसरी हटाउने योजना बनाउनु भएको छ ? विगतमा नाडामा नेतृत्व गरेका व्यवसायीहरुले हामी जस्ता मोफसलमा बसेका तथा साना व्यवसायीहरुलाई बेवास्ता गर्ने प्रचलन थियो । ठूला व्यवसायीले गर्ने व्यवहारका कारण नै मोफसलबाट पनि नाडामा नेतृत्व लिनुपर्छ भनेर नै मैले पहिलो पटक अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको हूँ । नाडाको अध्यक्षमा मैले उम्मेद्वारी दर्ता गर्नुको मुख्य कारण नै नाडामा हुने गरेको मतभेद तथा भेदभाव हटाउनु हो । नाडामा सिमित व्यवसायीको माग मात्र सरकारसँग पुग्ने गर्यो । साना तथा मझौला व्यवसायीको माग सरकारसँग पुग्ने गरेको छैन । मैले सानाठूला सबै व्यवसायीलाई समेटेर सबैको माग सरकारसँग पुर्याउने पहल गर्नेछु । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योगलाई सहुलियत घोषणा गरिसकेको छ । सरकारी नीतिअनुसार गाडी एसेम्बलिङमा नाडाको भूमिका कस्तो रहला ? एसेम्बलिङ उद्योगमा नाडा सकरात्मक छ । विगतदेखि नै हामीले एसेम्बल उद्योगलका लागि छुट्टै नीति बनाउनुपर्छ भनेर लागिपरेका पनि हौं । नीति अझै बनेको छैन, हामी नीति छिटो बन्नुपर्छ भन्नेतर्फ लागिपरेका छौं । नीतिका लागि सरकारको ढोका ढक्ढकाउँदै आएका छौं । अहिले २ पांग्रे सवारी साधनको मात्र तयारी भएको अवस्थामा विस्तारै चार पांग्रेको पनि माग राख्दै आएका छौं । यसका लागि आवश्यक पर्ने नीति बनाउन हामी पनि सरकारलाई सहयोग गर्न तयार छौं । सवारी साधनमा सबैभन्दा बढी कर लगाउने देशको सूचिमा नेपाल पर्छ । भन्सार, अन्तःशुल्क, भ्याट, सडक दस्तुर, वातावरणीय प्रदुषण शुल्क लगायत सबै कर सवारीधनीले तिर्नुपर्छ । करको दर कम गर्न नाडाले किन हस्तक्षेपकारी भूमिका खेल्न सकेन ? यसमा नाडाले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैन । कर घटाउने विषयमा नाडाले पटक पटक सरकारसँग माग राख्दै आएको छ, तर अहिलेसम्म कार्यान्वयन हुन भने सकेको छैन । सबैभन्दा बढी कर तिरेर सवारी साधन चढ्ने भनेको नै नेपालीले मात्र हो । हाल संरसारकै महङ्गो गाडीमा भारतीयले भन्दा ५ गुुणा, अमेरिकीले भन्दा ३ गुण बढी कर नेपाली तिर्नुपर्ने अवस्था छ । सरकारले जहिलेसम्म सवारी साधनलाई आधारभूत आवश्यकतामा राख्दैन्, तवसम्म कर घट्दैन । अहिले नेपालमा यति धेरै सवारी साधनहरु भएका छन् । आधारभूत आवश्यकता नै भैसकेको छ अहिले सवारी सधान । सवारीधनीले तिरेकोे करले नै देश चलेको छ । हामीले कर घटाउन हिजो पनि पहल गरेका थियौं, आज पनि गरिरहेका छौं र भोलि पनि हाम्रो पहल जारी रहनेछ । तपाईंले मोफसल क्षेत्रको प्रतिनिधित्व गरी नाडाको अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । निर्वाचनमा होमिदै गर्दा ठूला व्यवसायिक घरानाको साथ छैन भन्ने सुनिन्छ नि ? यो त बाहिर भन्ने कुरा नै भयो । सानादेखि ठूला सबै क्षेत्रका व्यवसायीहरुको साथ र समर्थन मलाई छ । मसँगै हुण्डाई, फोर्ड, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगर्डदेखि बाहिरबाट धेरै व्यवसायीले मलाई सपोर्ट गरिराख्नु भएको छ । नाडाको अधिकांश पूर्व अध्यक्षको साथ मलाई छ । पूर्वअध्यक्ष भन्नासाथ ठूला व्यवसायिक घरानाको साथ भन्ने बुझिन्छ । हामीलाई धेरै व्यवसायिक साथीहरुले साथ र सपोट छ । हामीले चुनाव जितिसकेका छौं, चुनावी लहरले यो स्वतःसिद्ध गरिसकेको छ कि, हाम्रो जित सुनिश्चित भैसकेको छ । तरपनि प्राविधिक कारणले चुनावको दिनसम्म कुर्नुपर्ने वाध्यता छ । हाम्रो प्यानलले चुनाव जितिसक्यो । तपाईले नाडाले नेतृत्व पाउनुभयोे भने, मोफसल र उपत्यकाका व्यवसायीलाई हेर्ने तपाईको नजर कस्तो हुन्छ ? मोफसलबाट आयो भनेर काठमाडौं उपत्यकाका व्यवसायीहरुलाई हेर्ने मेरो नजरमा केही फरक हुँदैन । उपत्यकामा पनि झन्डै एक तिहाई व्यवसायी हुनुहुन्छ, उहाँहरुले मलाई ठूलो साथ र सपोर्ट गर्नुभएको छ । ३२ सयमध्येमा झन्डै ११ सय सदस्य काठमाडौंमा मात्रै हुनुहुन्छ । मैले चुनाव जितेर अध्यक्षको नेतृत्व सम्हालिरहँदा सबै व्यवसायीलाई समान व्यवहार मैले गर्छु । सबै व्यवसायीलाई समेटेर उहाँहरुको माग सरकारसँग पुर्याउने मेरो मुख्य भूमिका रहन्छ । नाडा भनेको एउटा माध्यम हो, मैले त्यो माध्यमको पूर्ण रुपमा उपयोग गर्नेछु ।