‘मेरो कार्यकालभर प्राधिकरणलाई स्वायत्त र स्वतन्त्र संस्था बनाउँछु, राष्ट्र बैंक र विभागसँग विवाद हुँदैन’

लामो बहस र प्रतिक्षापछि सरकारले सहकारी क्षेत्रको नियामक ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ स्थापना गरेको छ । सहकारी क्षेत्रमा अनियमिता, बचत अपचलन तथा शुसासनको अभाव बल्झिरहेको बेला प्राधिकरणको स्थापनाले सहकारी क्षेत्रमा सुधार हुने र बचतकर्ताले बचत फिर्ता पाउने अपेक्षा गरिएको छ । स्वायत्त, स्वतन्त्र र व्यावसायिक नियामकका रुपमा लिइएको प्राधिकरणको संस्थापक अध्यक्ष बन्ने अवसर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अजुर्नप्रसाद पोखरेलले पाएका छन् । पोखरेलले नेपाली सहकारी क्षेत्रको वर्तमान समस्यालाई समाधान गर्न सक्लान् त ? लामो समयदेखि बचत फिर्ताको अपेक्षामा रहेका बचतकर्तालाई पोखरेल नेतृत्वको प्राधिकरणले बचत फिर्ता गर्न सफल होला ? स्वनियमनको नाराले बेलगाम बनिरहेको सहकारी क्षेत्रलाई पोखरेलले प्रभावकारी नियमनको ओखती खुवाउन सक्षम होलान् त ? यी र यस्तै विषयमा केन्द्रित रहेर विकासन्युजका लागि बटुराज गिरीले अध्यक्ष पोखरेलसँग विकास वहस गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी । डेढ देशकदेखिको प्रतिक्षाको विषय सेकेण्ड टायर इन्स्टिच्युट (एसटीआई)को परिस्कृत स्वरुप राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएको छ, यो प्राधिकरणको संस्थापक अध्यक्ष बन्ने अवसर तपाईंले पाउनु भयो, यो विषयलाई कसरी लिनु भएको छ ? सहकारी क्षेत्रमा सेकेण्ड टायर इन्स्टिच्युट स्थापना गर्ने भन्ने विषयको आवाज लामो समयदेखि नै उठ्दै आएको थियो । सरकारले पनि हरेक बजेट र नीति तथा कार्यक्रममा पनि त्यो विषय उल्लेख गर्दै आएको थियो । सहकारी ऐन २०७४ ले पनि सहकारीमा छुट्टै नियामकको आवश्यता रहेको विषय उल्लेख थियो । अहिले बचत अपचलनको विषय गहन रुपमा उठेपछि अध्यादेशमार्फत् राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको छ । अध्यादेशबाटै कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायाधीकरणको गठन गर्ने गरी काम अगाडि बढाइएको छ । नियामक क्षेत्रमा स्वायत्त तथा व्यावसायिक संस्थाको आवश्यक भएकोले नै प्राधिकरण गठन भएको हो । अहिले म दुइटा भूमिकामा छु । पहिलो, म भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव र दोस्रो भूमिकामा प्राधिकरणको अध्यक्ष पनि हुँ । मैले यसअघि विभिन्न महत्वपूर्ण भूमिकामा बसिसकेको हुनाले मैले वर्तमान सहकारीका समस्या समाधान गर्न सक्छु भन्ने विश्वास छ । मेरो व्यावसायिक ज्ञानले भ्याएसम्म काम गर्ने प्रतिवद्धता गर्दछु । सहकारी क्षेत्र ठूलो समस्यामै रहेको बेला तपाईं सहकारी मन्त्रालयमै आउनु भयो, प्राधिकरणको अध्यक्ष पनि बन्नु भयो, तपाईंमाथि चुनौतीका चाङहरु त थुप्रिए नी ? सहकारी क्षेत्रमा चुनौतीहरु छन् भन्ने कुरा सबैले अनुभूति गरेको विषय हो । मैले पनि महसुस गरेको छु । हामीले २०७४ सालमा सहकारी ऐन ल्यायौं । त्यो ऐनले परिकल्पना गरेका केही संस्थागत प्रबन्धहरु हामीले कार्यान्वयन गरिहाल्ने अवस्था थिएन । अहिले आएर प्राधिकरण गठन भएर सरकारले पूर्णता दिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको छ । सहकारीमा चुनौती छन्, हामी कर्मचारीले देशलाई समस्या र अप्ठ्यारो परेकै बेला काम गर्ने हो । म त्यो किसिमको चिन्तन र विश्वास राख्छु । म काम पनि त्यसरी नै गर्छु । ऐनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण एउटा स्वायत्त र स्वतन्त्र निकाय बन्न सक्ने विषय उल्लेख छ । खुला प्रस्पिर्धाबाट यसको कार्यकारी अध्यक्ष बन्ने व्यवस्था पनि छ । तपाईं सरकारको सचिव र प्राधिकरणको अध्यक्ष बन्नुभयो, धेरैले सुरुवातमै स्वायत्तता हनन् भयो, सरकारको हस्तक्षेप भयो भन्ने कुरा उठाइरहेका छन्, यस विषयमा तपाईंको ध्यान गएको छकि छैन ? जनताको असल अभिभावक सरकार नै हो । सरकारले गरेका राम्रा कामलाई प्रशंसा गर्न सक्नुपर्छ । आशंकाबाट हेर्नु हुँदैन । यदि त्यस्तो थियो भने सरकारले प्राधिकरण किन गठन गथ्र्यो ? यो संस्थाको गठन प्रक्रिया कति स्वायक्त छ भन्ने कुरा हेर्नुपर्छ । यसको स्वायत्तता र व्यावसायिकतालाई ख्याल गरेर गठन प्रक्रिया अगाडि बढाएका छौं । प्राधिकरणको अध्यक्ष, एक जना विज्ञ सञ्चालक र एक जना चार्टर्ड एकाउन्टेन्टलाई खुल्लाबाट नियुक्त गर्ने प्रबन्ध गरेका छौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक र सहकारी मन्त्रालयको सहसचिलाई पनि सञ्चालकमा राखेका छौं । यसलाई हामीले सुझबुझका साथ अगाडि बढाएका छौं । यसको व्यावसायिक स्वायत्तता पनि रहोस् र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने व्यावसायिक कार्यविधिहरु पनि यो संस्थामा प्रयोग होउन् भनेर राष्ट्र बैंकको कार्यकारी निर्देशकलाई सञ्चालकमा राखेका छौं । सरकार तथा मन्त्रालयलाई पनि ब्रिजिङ गर्नका लागि मन्त्रालयको सहसचिवलाई पनि सञ्चालकमा राखेका छौं । यो संस्था पूर्ण स्वायत्तता र व्यावसायिक हुन्छ । कानुनले तोकेअनुसार यो संस्थाले काम गर्छ । म प्राधिकरणको अध्यक्ष भएर काम गर्दा मन्त्रालयको सचिवको भूमिका बिर्सिन्छु । अहिले सहकारी क्षेत्रमै बढी समस्या छ, धेरै काम गर्नुपर्नेछ, एकातिर सचिव र अर्कोतर्फ अध्यक्षको जिम्मेवारीका लागि समय व्यवस्थापन कसरी गर्नुहुन्छ ? फेरि दोहोरो सुविधा पनि लिन नपाइएला, सुविधा कुन निकायको लिनुहुन्छ ? हो, म दुइटै संस्थाको नेतृत्व गरिरहेको छु । समय व्यवस्थापन कठीन छ । तर, म व्यवस्थापन गर्न सक्छु । अहिले हामीले विदाको दिन पनि साँझ–बिहान काम गरिरहेका छौं । प्राधिकरणको पुस १४ गते विधिपूर्वक कामको थालनी गरेका थियौं । १४ गते नै र गत बिहीबार सञ्चालक समितिको बैठक बसेको छ । नयाँ संस्था भएकोले प्राधिकरणको कामलाई बढी प्राथमिकतामा दिइरहेको छु । मन्त्रालयको नियमित काम बाहेक गरेको छैन । सेवा सुविधा पनि सचिवकै लिइरहेको छु । मन्त्रालयमा सचिवले नपाउने र प्राधिकरणको अध्यक्षले पाउने सुविधा भने लिइरहेको छु । प्राधिकरण बनेपछि बचत फिर्ता पाउन नसकेका बचतकर्ताले बचत फिर्ता पाउँछन्, सिद्धान्त विपरित सञ्चालन भएका सहकारी ‘वेल रेगुलेटेड’ हुन्छन्, देशमा सहकारीको समस्या पूर्ण रुपमा समाधान हुन्छ भन्ने कुराको विश्वास गर्न सकिन्छ ? त्यो विश्वास गर्नैका लागि हामीले यो संस्थालाई खडा गरेका हौं । जस्ताको त्यस्तै समस्या रहने हो भने यो संस्था किन आवश्यक हुन्थ्यो । यो संस्थाको क्रियाशिलता बढ्ने बित्तिकै अहिलेका समस्या समाधान हुँदै जान्छन् । यो नियमन गर्ने संस्था हो । अहिले तीन वटा संस्थाबाट काम भइरहेको छ । हामीले सुरुमा समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारी संस्थाहरुमध्ये तीन वटा सहकारी संस्थाको समस्या समाधान भइसकेको छ । १९ वटा सहकारी संस्थाको सम्पत्ति रोक्का गर्ने, बिक्री गर्ने तथा बचतकर्ताको बचत फिर्ता गर्ने काम भइरहेको छ । त्यो काम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरिरहेको छ भने बचत अपचलन गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ । अर्को, अब हामीले नियमन गर्ने, गलत गर्नेलाई कारवाही गर्ने काम गर्छौं । कतिपय ऋणी पनि अन्यायमा परेको विषय मेरो बुझाइ छ । एउटा सहकारीबाट ऋण लिएको छ, त्यही धितो राखेर अर्को सहकारीबाट ऋण लिएको छ, म ऋण तिर्छु मेरो धितो फुकुवा गर्नु भनेपनि फुकुवा नभएको अवस्था छ । विगतमा वेवारिसेजस्तै बनेको सहकारी विकास बोर्डकै कर्मचारीलाई प्राधिकरणमा सेटल गरिएको छ, प्राधिकरणको काम कारवाही र कामको प्रभावकारिताका लागि दक्ष जनशक्ति आवश्यक हुन्छ, सुरुवाती चरणमा दक्ष जनशक्तिको आपुर्ति कसरी गर्दै हुनुहुन्छ ? सहकारी गठन आदेशमा प्राधिकरणको आफ्नै कर्मचारी नभएसम्म नेपाल सरकारको जुनसुकै निकायबाट कर्मचारी ल्याउन सकिने व्यवस्था छ । सरकारको स्वामित्व रहेको बैंक तथा वित्तीय क्षेत्रबाट पनि कर्मचारीलाई काजमा ल्याउन पाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कर्मचारी पुर्ति गर्छौं । अर्को, सहकारी विकास बोर्डकै कर्मचारी पनि हामीसँग हुनुहुन्छ । उहाँहरुलाई पनि मिल्दो पदमा मिलान गरेर अगाडि बढ्छौं । तर, विनियमावली बनेपछि उहाँहरुलाई समायोजन गर्ने काम हुन्छ । तर, अहिले बोर्डकै कर्मचारीलाई स्वतः प्राधिकरणमा ल्याएर काम भइरहेको छ । आफ्नो कार्यकालमा सहकारीको समस्या कति प्रतिशतसम्म समाधान गर्न सकिएला जस्तो लाग्छ ? मलाई सरकारले दिएको यो विशेष जिम्मेवारी हो । विशेष जिम्मेवारी दिएपछि म एकदिन पनि खालि बसेको छैन । मैले प्रत्येक दिन प्राधिकरणको काम गरिरहेको छु । मेरो पहिलो जिम्मेवारी भनेको यसलाई संस्थागत बनाउने हो । नियम, कानुन बनाउने र पूर्वाधार तयार पार्ने काम भइरहेको छ । मेरो पहिलो कर्तव्य नै यो संस्थालाई चाहिने पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन हो । पहिलो बैठकमार्फत् हामीले १५ वटा निर्णय गर्यौं । ती १५ वटा निर्णयमध्ये १४ वटा प्रशासनिक र एउटा नियमन सम्बन्धी थियो । अन्य मुलुकले कसरी नियमन गरिरहेका छन् भन्ने विषयको अध्ययन गर्न हामीले कार्यदल नै गठन गरेका छौं । पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा प्राविधिक काम भएपछि हामीले अन्य कामको थालनी गर्ने हो । अहिले बचतकर्ताको बचत फिर्ता गराउनेतर्फ भन्दा पनि सञ्चालकलाई पक्राउ गरेर जेल कोच्ने परिपाटी हावी भइरहेको छ, यो कार्यशैलीले सहकारीको समस्या समाधान गर्न सहयोग गर्ला र ? ठगी गर्नेलाई पक्राउ गरिएन भने बचतकर्ताको पैसा कसरी फिर्ता गर्न सकिन्छ ? जसले बदमासी गरेको छ, बचत अपचलन गरेको छ, उसलाई कानूनी कारवाहीमा सरकारले निर्ममतापूर्वक ल्याउनैपर्छ । उसलाई कारवाही गरिएन भने बचत फिर्ताको लागि पैसा कहाँबाट आउँछ ? एउटा व्यक्तिले संस्थाको करोडौं पैसा लिएर भागेको छ भने उसलाई नसमातेर बचत फिर्ता गर्न सकिँदैन । हामीले उसको चल-अचल सम्पत्ति रोक्का राखेका छौं । राहदार्नी रोक्का राखेका छौं । अन्य विधि पनि प्रयोग गरेका छौं । हामीले भएसम्मको असुल उपर गर्ने प्रयास गरिरहेका छौं । जुनसुकै अवस्थामा भएपनि बचत फिर्ता गरिन्छ भने मिलापत्र गर्न पाउने व्यवस्था गरेका छौं । हामीले गत कात्तिक १४ गते ६ हजार बचतकर्तालाई १ अर्ब ५२ करोड रुपैयाँ बचत फिर्ता गर्यौं । हाम्रो पहिलो उद्देश्य भनेको बचत फिर्ता नै हो । सरकारले सहकारी अध्यादेशबाट बचत तथा ऋणको सीमा र सञ्चालकको कार्यकालको अवधिको विषयमा व्यवस्था गरेपछि सहकारीकर्मीले त्यसको विरोध गरिरहेका छन्, यो व्यवस्थालाई हटाउनुपर्ने माग उनीहरुको छ, यसमा तपाईंको बुझाइ के हो ? हामीसँग पनि त्यो विषय आइपुगेको छ । यो विषयलाई हामीले समसामयिक बनाएर लैजान्छौं । यसले काम गर्न नसकिने अवस्था अथवा सहकारी अभियानलाई पछि धकल्ने अवस्था हामी हुन दिन्नौं । सहकारी सञ्चालक अर्थात् एकै व्यक्तिले कतिवटा संस्था र कति वटा कार्यकाल बस्न पाउने भन्ने विषय पनि उठेको छ । बचतको सीमा पनि छ । यसलाई समसामयिक बनाएर लैजान्छौं । सहकारीलाई मजबुद् बनाउनका लागि मर्जर पनि राम्रो नीति बन्न सक्छ भनेर लामो समयदेखि कुरा उठ्दै आएको छ, तपाईंको कार्यकालमा सहकारी संस्था मर्जरलाई कति प्राथमिकता दिनुहुन्छ ? मैले जुन समयबाट यो मन्त्रालयमा काम गरेँ, त्यसबेला सहकारी क्षेत्रमा समस्या आइसकेको थियो । सहकारी अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रको अभिन्न अंग हो । सहकारी अर्थतन्त्रको विकास र विश्वासबिना राष्ट्रिय अर्थतन्त्र सबल बन्न सक्दैन भन्ने किसिमले हामीले काम गरिरहेका छौं । सहकारी मर्जरको अभ्यास र मर्जरका कन्डिसन के कस्ता छन् ? भन्ने विषयलाई हेरेर अगाडि बढ्नुपर्छ । एउटै प्रकृतिका सहकारीको मर्जर आवश्यक नै पर्छ । तर, कुनै पनि सर्त नराखेर मर्जर हुँदैन । सर्तसहितको मर्जर आवश्यक हुन्छ । सहकारीको उद्देश्य, सहकारीका सदस्यको इच्छा आकांक्षा लगायतका विषयहरु हेरेर मर्जर हुनुपर्छ । मेरो अहिलेसम्मको सामान्य ज्ञानले मर्जर सर्तसहित हुनुपर्छ भन्ने हो । अब प्राधिकरणको स्थापनासँगै सहकारीलाई राष्ट्र बैंकले हेर्न आवश्यक नरहेको पनि आवाज उठ्न थालेको छ, तपाईंको धारणा के हो ? राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेपछि सहकारी विभागको के काम ? प्राधिकरण गठन भएपछि नेपाल राष्ट्र बैकले सहकारीलाई हेर्छ वा हेर्दैन ? भन्ने विषयमा सबैको चासो बढेको छ । अहिलेको व्यवस्थाअनुसार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको काम नियमन मात्रै हो । यसले नियमन तथा अनुगमन गर्ने हो । मौद्रिक नीतिको काम त राष्ट्र बैंकले नै गर्ने हो । कतिपय अवस्थामा प्राधिकरणसँग समन्वय गर्छ । प्राधिकरणले जारी गर्ने नीति नियम पनि हामीले राष्ट्र बैंकसँग समन्वय गरेर गर्छौं । ती दुइटालाई पूर्णरुपमा छुट्याएर हेर्न सक्दैनौं । त्यसैले पनि हामीले राष्ट्र बैंकको कार्यकारी निर्देशकलाई सञ्चालक समितिमा राखेका छौं । राष्ट्र बैंक र हामीबीच कुनै दरार हुँदैन । सौहार्दपूर्ण ढंगबाट हामी काम गर्छौं । म नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पनि बसिसकेको अनुभव हुनाले त्यहाँको कार्यशैली विधिहरु मलाई थाहा छ । अब हामी दुइटा संस्थाले यो तेरो क्षेत्र यो मेरो क्षेत्र भनेर विवाद गर्नेभन्दा पनि एकापसमा समझदारी तथा समन्वय गरेर काम गर्छौं । हाम्रो समस्या एउटै छ, मिलेर समाधान गर्ने हो । सहकारी विभाग र प्राधिकरणको क्षेत्राधिकार र काम कारवाही एउटै हुने देखियो, यो किसिमको दुविधा कसरी हटाउनु हुन्छ ? अब प्राधिकणको काम के हुन्छ, विभागको के हुन्छ ? हामी आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी गर्दैछौं । त्योभन्दा अगाडि हामी बसेर आ-आफ्नो क्षेत्राधिकारको विषय टुङ्गयाउँछौं । नियमन तथा अनुगमनको विषय प्राधिकरणले गर्छ । प्रबद्र्धन, अध्ययन, अनुसन्धान तथा तालिमका काम विभागले गर्छ । एउटै काम दुइटै संस्थाले गर्नु उचित हुँदैन । तपाईंको बचत फिर्ता हुन्छ, सहकारीको समस्या चाँडै समाधान हुन्छ भन्ने विषयको विश्वस्तता बचतकर्तालाई कसरी दिनुहुन्छ ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकाी संस्था तथा सञ्चालकको चल-अचल सम्पत्ति रोक्का गर्ने, बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने काम गरिरहेको छ । नेपाल प्रहरीले पनि बचत अपचलन गर्नेलाई पक्राउ गरेर कानूनी कटघरामा ल्याइरहेको छ । हामीले पनि नियमन गर्ने काम सुरु गरिसकेका छौं । समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि अहिले मन्त्रालयमा सिफारिस गर्ने व्यवस्था छ । हामीले छुट्टाछुट्टै समिति बनाएर पनि काम गरिरहेका छौं । प्रदेशहरुले पनि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेर काम गरिरहेका छन् । अब हामी सबैको उद्देश्य भनेको बचतकर्ताको बचत फिर्ता नै हो । म विश्वस्त छु कि हामी यसमा सफल पनि हुन्छौं । विधि र व्यवस्थामै रहेर काम गरिरहेका छौं । सबै ऋणी गलत हुन् भन्ने मलाई लाग्दैन । कतिपय ऋणी पनि अन्यायमा परेको विषय मेरो बुझाइ छ । एउटा सहकारीबाट ऋण लिएको छ, त्यही धितो राखेर अर्को सहकारीबाट ऋण लिएको छ, म ऋण तिर्छु मेरो धितो फुकुवा गर्नु भनेपनि फुकुवा नभएको अवस्था छ । हाम्रो पहिलो प्राथमिकता भनेको बचत फिर्ता नै हो । बचतकताईलाई विश्वस्त हुन आग्रह गर्छु । अन्तिममा, प्राधिकरणलाई साँच्चिकै विश्वासिलो निकाय बनाउन तपाईंको कार्ययोजना के छन् ? आफ्नो कार्यकालभर प्राधिकरणको इमेज कस्तो बनाउनुहुन्छ ? प्राधिकरणलाई व्यावसायिक संस्थाका रुपमा विकास गर्ने लक्ष्य छ । त्यसैले पहिलो दिनदेखि नै व्यावसायिक संस्था बनाउनका लागि काम गरिरहेको छु । व्यावसायिक संस्था भएमात्रै समस्याको समाधान गर्छ र आगामी दिनमा पनि समस्या सिर्जना हुँदैनन् भन्ने मेरो बुझाइ हो । यो संस्था नियामकीय निकाय हो । सुरुवाती चरणमा जनताले अपेक्षा गरेअनुसार काम नहोला । तर, उद्देश्यमा कुनै बिचलन छैन । अहिले मुलुकमा भएका अन्य नियामक निकायमा कुनै बिचलन छैन । यो संस्थामा पनि त्यस्तो समस्या आउँदैन । मेरो नेतृत्व रहँदासम्म यो संस्था व्यावसायिक र सक्षम संस्था बन्छ । यसले स्वतन्त्र रुपले काम गर्छ । यसमा आशंका गर्ने कुनै ठाउँ छैन । मैले हिजोका दिनमा के कसरी काम गरेको छु, त्यो रेकर्ड हेर्न सक्नुहुन्छ । २०७४ सालमा सहकारी ऐन आएको हो । आज कति वर्षपछि प्राधिकरण गठन भयो ? भनेपछि हामी चिन्तित नभएको भए यो संस्था आउँथेन । मेरो पहिलो जिम्मेवारी सचिव त छदैछ । म जति काम गर्छु, सरकारले दिएको जिम्मेवारीमा पूर्णरुपमा बफादार रहेर गर्छु । तस्वीर/भिडियो : नरेश बोहरा

वाणिज्य बैंकलाई १२/१४ वटासम्म झार्नुपर्छ, नबिल अहिले पनि ‘नम्बर वान’ नै हो : सुजित शाक्य

नेपाली बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंकर हुन् सुजित शाक्य । शालीन र सजगरूपमा प्रस्तुत हुन रुचाउने शाक्य अहिले नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत छन् । नेपाली बैंकिङ क्षेत्रमा साढे दुई दशक बढी कार्यानुभव भएका शाक्यले आधा दर्जन बैंकमा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । उनै बैंकर शाक्यसँग पछिल्लो बैंकिङ क्षेत्रले भोग्नु परेका विभिन्न आरोह-अवरोह र नबिल बैंकको व्यवसायको विषयमा विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको कुराकानीको सम्पादित अंश : कुनैबेला निक्षेपको ब्याजदर १४ प्रतिशत र कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले घटेर ५ प्रतिशत हुँदापनि निक्षेपको ब्याजदरले थिचिए भनेर सुनिन्छ । बैंकिङ क्षेत्रमा ब्याजदरमा यो किसिमको उतारचढाव किन हुन्छ ? यो अर्थतन्त्रको चक्र हो । चक्र भएपनि किन यति धेरै छिटो घटबढ हुन्छ ? हाम्रो बजारमा त्यो किसिमको गहिराइ छैन । अहिले तरलता सहज छ । निक्षेप परिचालन गर्न अर्थतन्त्रमा लगानीका अवसर हुनुपर्छ । अर्थतन्त्र चलायमान हुँदा नयाँ किसिमका लगानीका अवसर आउँछन् । लगानीका अवसर भयो भने कर्जाको माग बढ्ने हो । कर्जाको माग भएपछि निक्षेप सोसिएर जान्छ । कर्जाको माग अझै बढ्न सकेको छैन । गत वर्ष कमजोर मनोबलमा अर्थतन्त्र चलिरहेको थियो । आजको दिनमा व्यापारीहरूसँग कुराकानी गर्दा घट्न कम भयो, माथि आउन अझै समय लाग्छ भन्नुहुन्छ । विगत २ वर्षमा व्यवसायमा घाटा भयो । घाटा भएको पूर्ति हुन सकेको छैन । रेमिट्यान्स बढेको छ । अन्य सूचकमा पनि सुधार हुँदैछ । तर, माग किन भएन ? भनेर उद्योगी व्यवसायीहरूसँग सोधपुछ गर्दा अझै पनि ‘स्ट्रङ डिमाण्ड’ आएको छैन भन्नुहुन्छ । उपभोक्ताको माग नआउँदासम्म बैंकमा त्यसको प्रभाव पर्दैन । नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा ‘ढुक्क घर कर्जा’ योजना ल्याएको छ । यही ब्याजदरमा कर्जाको माग ह्वार्र आउनुपर्ने हो । तर, खासै सन्तोषजनक माग छैन । त्यसैले अर्थतन्त्र चलायमान गर्न ‘ग्रासरूट’ मा मनोबल उच्च हुन जरूरी छ । एउटा ठूलो उद्योग वा व्यापार कम्पनीले राम्रो गरेर मात्रै हुँदैन । १५/२० जनासम्म रोजगारी दिइरहेका साना तथा मझौला उद्योगमा माग नआउँदासम्म बैंकमा कर्जाको माग बढ्न सक्दैन । अहिले समस्या पनि त्यही नै भएको देखिन्छ । सबै सामान स्टकमा बसेको छ । बिक्री भएको सामानको पैसा पनि उठ्न सकेको छैन । नयाँ गरौं कि नगरौं भनेर अलमलमा पनि छन् । माग नआउनुको अर्काे कारण भनेको सबै मान्छे विदेश पलायन भएका छन् । आन्तरिकतर्फ पहाडबाट तराई वा सहरमा बसाइँसराइ सर्ने र बाह्यतर्फ क्यानडा, अष्ट्रेलिया, जापान लगायतका देशमा युवा पलायन भइरहेका छन् । युवाहरू खपत गर्ने पिल्लर हुन् । दुई पाङ्ग्रे सवारीसाधनको बिक्री ४० प्रतिशत घटेको छ । बाइक चलाउने युवाहरू विदेश गएपछि बाइक कहाँबाट बिक्री हुन्छ ? ती युवाहरू अष्ट्रेलिया, क्यानडा, जापान गएर त्यहाँ काम गरेर पैसा फिर्ता पठाएर यहाँ घरघडेरी किन्ने समूह होइन । उल्टै यहाँको पैसा विदेश लैजान्छन् । त्यसको प्रभाव घरकर्जामा देखिएको छ । किनभने परिवारमा मेरो छोरालाई घर बनाउनुपर्छ भन्ने नलागेर पनि कर्जाको माग नआएको हामीले महसुस गरिरहेका छौं । ठेकेदारहरूलाई सरकारको भुक्तानी गर्ने क्षमता नहुनु पनि अर्काे कारण हो । ठेकेदारले पैसा नपाएपछि मजदुरले ज्याला पाएको छैन । मजदुरले पैसा नपाएपछि मासु खान छोडेको छ । जबकि उहाँहरूको मुख्य स्रोत भनेकै प्रोटिन हो । जसको प्रत्यक्ष प्रभाव ह्याचरी, पोल्ट्री फर्ममा पनि परेको छ । केही फर्महरू बन्द भए । केही व्यवसायीहरू डुबे । युवापुस्ता विदेश पलायन हुँदा बैंकलाई कस्तो प्रभाव परेको छ ? बैंकमा संलग्न कर्मचारी राजीनामा दिएर बाहिरिने कति छन् ? नयाँ जनशक्ति ल्याउन कतिको सकस भइरहेको छ ? पहिलाभन्दा अहिले छोड्ने दर बढेको छ । तर, नबिल बैंकमा त्यति धेरै छोडेका छैनन् । विगतमा पढ्नका लागि जान्थे भने अहिले विदेश जानका लागि छाड्नेहरू छन् । त्यसलाई पूर्ति गर्न बजारबाट मान्छेहरू ल्याउँदा पहिलाको जस्तो गुणस्तरीय जनशक्ति पाउन गाह्रो छ । जबकि २/४ वर्ष अघिसम्म गुणस्तरीय जनशक्ति आउँथे । अहिले त्यो गुणस्तर पनि घटेको छ । एक दशक अगाडिसम्म सम्पत्ति बेचेर क्यानडा, अष्ट्रेलिया जान्छु भन्ने थिएनन् । अहिले छोराछोरी विदेश छन्, म पनि घरजग्गा बेचेर उतै जान्छु भन्ने धेरै भेटिन्छन् । तपाईंहरूको नजरमा यो आकार कति ठूलो छ ? ठ्याक्कै आकार निकाल्न सकिँदैन । तर, प्रत्येक दिन बढ्दो क्रममा छ । यसैसँग सम्बन्धित शिक्षा कर्जाको कथा छ । शिक्षा कर्जामा नबिल बैंक मार्केट लिडर हो । गाउँगाउँ, दुर्गम गाउँ, पहाडबाट परिवारका मान्छेहरूले शिक्षा कर्जा लिएर आफ्ना बच्चाहरूलाई पढाउँदैछन् । साना तथा मझौला व्यवसाय अहिलेको अवस्थामा धान्न सकेनन् । धेरै असफल भए । असफल दर बढी भएपछि बैंकले राष्ट्र बैंकको नियमभित्र रहेर डिफल्ट भएका कर्जाको धितो लिलामीमा राखेको हुन् । किनभने लिलामीका सूचना निकाल्नुपर्ने कानूनी प्रावधान भएकाले प्रक्रिया पूरा गर्न सूचना धेरै आएका हुन सक्छन् । कतिपय त्यस्ता सम्पत्ति फोर्स सेलमा बिक्रीमा आए । हाम्रो समुदायमा सम्पत्ति लिलामीमा आएपछि वा तीनपुस्ते सार्वजनिक भएपछि कर्जा तिर्न खोज्छन् । नियतवस तिर्न नखोजेको होइन । तर, व्यवसाय असफल भएपछि घरजग्गा बिक्रीको संख्या बढेको हुन सक्छ । धेरै सम्पत्ति बिक्रीमा आएपछि छानीछानी किन्न मिल्छ । त्यसैले पनि मूल्य घटेको हो । काठमाडौंको घरजग्गाको मूल्य कति प्रतिशत घटेको छ ? घरजग्गाको मूल्य २० प्रतिशतदेखि ३० प्रतिशतसम्म घटेको हुनसक्छ । अबको ट्रेण्ड के हुन सक्छ ? ट्रेण्ड ठ्याक्कै निर्क्याैल गर्न गाह्रो छ । त्यसका लागि अर्थतन्त्रमा सुधार हुनुपर्ने हो । जस्तो पुँजी बजार सुधारको अवस्थामा छ । २ हजार बिन्दुमा रहेको सेयर बजार अहिले २७ सय अंकमा पुगेको छ । लगानीकर्ता लगानी गरिरहेका छन् । त्यो पैसा अलिअलि घरजग्गामा पनि आउँछ । त्यो पैसा आयो भने एक राउण्ड फेरि खरिदबिक्री बढ्न सक्छ । मान्छेहरूले जति विदेश जाने कुरा गरेपनि यही‌ं बस्ने मान्छेले माटोमा लगानी गर्न रुचाउँछन् । त्यो अवसर आयो भने यी सबै सम्पत्ति बिक्री हुन्छ । तर, यो परिस्थितिबाट उम्किन त्यति सजिलो छैन । शिक्षा कर्जाका लागि गाउँगाउँ, दुर्गमबाट फोन गर्छन् भन्नुभयो । शाखा कार्यालयबाट निश्चित दूरीभन्दा टाढाको धितो राख्न नपाइने व्यवस्था छ । नबिल बैंकले कसरी कर्जा दिइरहेको छ ? नबिल बैंकमा यो समस्या तीन/चार वर्ष अगाडि थियो । किनभने त्यतिबेला नबिल बैंकको शाखा सञ्जाल विस्तार भएको थिएन । ५९ वटा मात्रै शाखा कार्यालय थिए । तर, आजको दिनमा नबिल बैंक आफैंले शाखा विस्तार गरेर २६८ शाखा कार्यालय पुगेका छन् । देशका कुनाकाप्चामा नबिल बैंकको पहुँच पुगेको छ । त्यसैले धितो राख्ने समस्या अहिले छैन । बैंकको शाखा कार्यालयबाट २५/३० किलोमिटरको दूरीमा रहेको धितो बैंकले लिने गरेको छ । मान्छे गाउँमा जन्मियो, गरिब नै रह्यो । उसको सम्पत्ति छ । तर, बैंकको लागि स्वीकार्य छैन । दुर्गम क्षेत्रमा जन्मिएको कारण क्षमता भएर पनि विदेश गएर पढ्ने मौका नपाउने अवस्था हुन सक्छ । बैंकले यस्तो केसमा कसरी सहजीकरण गर्छ ? बैंकले लिन सक्ने सीमासम्म सहजीकरण हुन्छ । कतिपय केसमा १० फिटको बाटो चाहिनेमा ८ फिट मात्रै छ भनेपनि बैंकले स्वीकार गरेको हुन्छ । शाखा कार्यालयबाट ३० किलोमिटर टाढाको धितो आएमा नगर्ने भन्ने हुँदैन । बैंकले स्वीकार गरिरहेको हुन्छ । अन्य प्वाइन्टले पनि सहयोग गरिरहेको हुन्छ । त्यो नगरीकन नबिल बैंक शिक्षा कर्जामा मार्केट लिडर हुन सक्दैन । किनभने कुनाकाप्चाबाट प्रस्तावहरू आइरहेका छन् । अहिले सस्तो ब्याजदरमा कर्जा दिएपनि कुन दिन ह्वात्तै बढाइदिन्छ भन्ने ऋणीको मनमा त्रास छ । बैंकबाट कर्जा लिएर जोखिम मोल्नु हुँदैन भन्ने एकथरिको पीडा छ । त्यो पीडाको असर कर्जाको माग नहुनुमा परेको हो कि ? निक्षेपकर्ताले पाउने ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म छ । यो बजारका लागि राम्रो होइन । कर्जा लिने जहिले पनि सीमित हुन्छन् । निक्षेपकर्ता जहिले पनि बढी नै हुन्छन् । ब्याजदर कम हुँदा त्यो वर्गमा असर पर्छ । जब निक्षेपको ब्याजदर सस्तो हुँदै जान्छ । बजारमा तरलता सहज हुन्छ र कर्जाको ब्याजदर पनि घट्छ । कर्जाको ब्याजदर जब धेरै नै सस्तो हुन्छ, तब मान्छेहरू अन्य क्रियाकलाप गर्न थाल्छन् । वास्तविक व्यवसाय हुँदैन । त्यसैले वास्तविक व्यवसायलाई बढाउन निक्षेपको ब्याजदर मुद्रास्फितीभन्दा माथि राख्ने गरिन्छ । नबिल बैंकको कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको छ । १४/१५ प्रतिशत ब्याजदर महँगो हो भने ७ प्रतिशतमै कर्जा पाउने पनि अर्थतन्त्रका लागि राम्रो होइन । साढे ९/१० प्रतिशतको हाराहारीमा ब्याजदर रह्यो भने व्यापारमा पनि वास्तविक व्यवसायी मात्रै आउँछन् । व्यापार गर्ने मनसाय भएका आउँदैनन् । व्यापार गर्ने मनसाय भएका व्यक्ति जब छिर्छन्, तब अर्थतन्त्र समस्यामा परेका बेला उनीहरूले घाटा खान्छन् । अहिलेको रेञ्जभन्दा नघट्ने गरी स्थिर राख्न सकियो भने राम्रो हुन्छ । निक्षेपकको ब्याजदर तोक्ने विषय बेलाबखत राष्ट्र बैंकबाट पनि निर्देशित हुन्छ । तपाईंहरुको काबुभन्दा बाहिरि किन गयो ? ग्राहक संरक्षणमा राष्ट्र बैंकले गरिरहेका काम उत्कृष्ट छन् । जस्तो ब्याज बढाउँदा राष्ट्र बैंकले बैंकहरूलाई फिर्ता गर्न लगायो । प्रतिस्पर्धी बजारमा बढाउने दबाब आउँदा अधिकांशले बढाए । ग्राहक संरक्षणमा जसरी नियमन भइरहेको छ ब्याजदर घट्दा र बढ्दा बैंकहरूलाई खेल्न दिनुपर्छ । तर, बैंकहरूको प्रोटेक्सनमा कुनै काम भएको छैन । जस्तो ब्याजदर घट्दैछ । बैंकले जलविद्युत आयोजनामा लगानी गरेको थियो । जलविद्युत आयोजनाको जोखिम बैंकले लिएको थियो । आयोजनाबाट बत्ति बल्न सुरु भयो । बत्ति बल्न सुरु हुँदा उतिबेला बैंकले लिएको जोखिम देखेर २५/५० पैसा बढायो भने त्यो आयोजनामा तुरुन्तै अर्काे बैंक जान सक्छ । तर, बैंकलाई संरक्षण गरिएको छैन । त्यस किसिमका संरक्षण गर्दै जाने हो भने बजारमा रहेको उथलपुथल मत्थर हुन्थ्यो । बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउँदा अस्वस्थ प्रतिस्पर्धा घटेर स्वस्थ प्रतिस्पर्धा हुने अपेक्षा थियो । नियामक र संस्थाले पनि त्यही अपेक्षा राखेका थिए । तर, हुन सकेन नी ? ३२ वटा बैंक हुँदा र २० वटा बैंक हुँदा धेरै परिवर्तन आएको छ, सुधार पनि भएको छ । अर्थतन्त्रलाई कति वटा बैंक ठिक होला भन्ने प्रश्न आफ्नो ठाउँमा छ । १२ वटा बैंकमा झार्नुपर्छ भन्ने विभिन्न किसिमका तर्क हुन सक्छन् । त्यसमा पनि तीन वटा सरकारी बैंक छन् । हाम्रो अर्थतन्त्रको आकार र भविष्यको वृद्धिका लागि २० वटाबाट कन्सोलिडेन्स भएर १२/१४ मा झर्नुपर्ने होकि जस्तो लाग्छ । १२/१४ वटा भयो भने अझै स्ट्याण्डर्ड कायम गर्न सकिन्छ । अहिलेको भन्दा बढी स्थिरता आउँछ । पहिला ३२ वटा बैंक हुँदाको तुलना गर्ने हो भने अहिले धेरै स्थिर छ । पहिला क्रेडिट स्ट्याण्डर्ड कायम थिएन । स्ट्याण्डर्डमा बस्ने बैंकलाई पनि दबाब आउँथ्यो । त्यो आजको दिनमा छैन । बैंकको कन्सोलिडेसन राम्रो नै भएको छ । थप कन्सोलिडेसन जरूरी हुन सक्छ । त्यो अर्काे २/४ वर्षमा पूरा होला । नबिल बैंकले थप मर्जरका लागि केही गृहकार्य गरिरहेको छ ? तत्काल आन्तरिक रूपमा सोचेका छैनौं । तर, त्यो बाटो जहिल्यै पनि खुला रहन्छ । किनभने प्रतिस्पर्धाको दबाब छ । बजारमा नम्बर वान कायम रहनुछ । टप वा बटम लाइनबाट नहुन पनि सक्छ । कार्वन शून्यमा हामी नेृतत्व गरिरहेका छौं । नयाँ-नयाँ सोचको विकास गर्नुपर्छ । व्यवसायमा हार खाएपछि नयाँ सोच्ने हो ? आजको दिनमा हेर्ने हो भने बटम लाइनमा नबिल बैंक नै नम्बर वान छ । पुँजीमा नम्बर वान नहोला तर बटम लाइनमा नम्बर वान छ । पुँजी राम्रोसँग प्रयोग गरेर लागत व्यवस्थापन गरिएको छ । नबिललाई धेरै समय लिडर बैंकको रूपमा बजारले स्वीकार गरेको थियो । बजारमा आइडियल बैंकका रूपमा लिन्थे । पछिल्लो समय त्यो स्वीकार्यता गिर्दै गएको भन्ने आरोप छ । नबिललाई लिडर बैंकको पोजिसनमा राख्न पुँजी, नेटवर्क, सेयर मूल्य, नाफा, धेरै कर तिर्ने, व्यवसाय अभ्यासमा सुशासन लगायतका सूचकमा अगाडि देख्न सकिन्छ कि सकिँदैन ? सबै प्यारामिटरमा देख्न पाइनेछ । आजको दिनमा पनि नबिल बैंक हरेक कोणबाट नम्बर वान हो । वित्तीय विवरणको आकार टप लाइनको मात्रै हेर्नु हुँदैन । लिडरसिपको सोचाई, ब्राण्ड लिवरेज र ब्राण्डको क्लाउड प्रयोग गरेर समाजमा के-के परिवर्तन ल्याएको छ भनेर पनि हेर्नुपर्छ । बैंकले नबिल स्कुल अफ सोसियल इन्टप्राइज ल्याएको छ । कार्वन ट्रेडिङको व्यापार काम भइरहेको छ । यी सबै उदाहरणले पनि नबिल नम्बर वान कायम छ । विगतमा सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कम्बल बाँडेर सकिन्थ्यो । अब नबिल स्कुल अफ सोसियल इन्टप्राइजमा लगानी गर्दा राम्रो काम गरेको महसुस भएको छ । यसले उद्यमी जन्माएको छ । कतिपयले अन्तर्राष्ट्रिय स्टेजमा गएर अवार्ड जितेर ल्याउनु भएको छ । अझै राम्रो भयो भने नयाँ सोच ल्याउन सहयोग पुग्नेछ । समग्र ब्राण्डको लेविरेज र ब्राण्ड इक्विटीबाट बेस्ट बैंक अफ इण्डिष्ट्रिका रुपमा नबिल बैंकलाई लिन्छु । नबिल बैंकको रिजर्भ जति हुन्थ्यो, अरू कुनै बैंकसँग हुँदैनथ्यो । सेयर मूल्यमा नम्बर वान थियो । बैंकको नाफा र बैंकले दिने लाभांशदर अन्य बैंकको भन्दा उच्च थियो । अहिले यी सबै सूचकमा अरू बैंक नै अगाडि छन् । पुँजीवादी अर्थतन्त्रमा ठूलो अंकले पनि ठूलो भूमिका खेल्छ । त्यसैले यी सबै सूचकमा नबिल नम्बर वान भएको कहिले देख्न पाइन्छ ? यो चाँडै पुरा हुन्छ । किनभने दैनिक त्यही पुरा गर्न भिडिरहेका छौं । नयाँ उपकरण अग्राधिकार सेयरका लागि पनि आवेदन दिएका छौं । अग्राधिकार सेयर जारी गरेर थप व्यवसाय आर्जन गर्न सकिनेछ । व्यवसाय गर्ने क्षमता वृद्धिका लागि अग्राधिकार सेयर जारी गर्न लागिएको हो । २६८ वटा शाखाबाट सेयर कर्जा, शैक्षिक कर्जा, घरजग्गा कर्जा सहज रूपमा पाउन सकिन्छ । १ सय अर्बको पोर्टफोलियो रिटेल बैंकिङको मात्रै भइसकेको छ । जबकि विगतमा एउटा बैंकको कर्जाको पोर्टफोलियो हुन्थ्यो । एसएमईजमा आक्रामक भएर काम गरिरहेका छौं । ती सबैमा नबिल बैंक पछाडि पर्दैन । चाँडै नै त्यो पुरा हुन्छ । नबिल बैंकले ६ अर्ब पोर्टफोलियो भएको सानो फाइनान्स कम्पनी र ७०/८० अर्ब पोर्टफोलियो भएको बैंक प्राप्ति गरेको हो । कुनै बैंकले ३/४ वटा बैंकसम्म मर्ज गरेको छ । त्यसैले त्यसमा पनि तुलना हुन आवश्यक छ । आन्तरिक प्रणाली र व्यवस्थापन डेफ्थ पनि हेर्नुपर्छ । उच्च व्यवस्थापकमा सीईओ, सिनियर डीसीईओ २ जना, एक जना डीसीईओ छन् । सायद यस किसिमको म्यानेजमेन्ट डेफ्थ अन्य बैंकमा देखिँदैन । कतिपय बैंकमा लिडरसिप अभाव वा संकट पनि छ । तर, नबिल बैंकमा त्यो छैन । मध्यम तहको व्यवस्थापनमा पनि नबिल बैंक अग्रस्थानमा छ, बलियो पनि छ । विगतमा नबिल बैंकको सेयर मूल्य ६ हजारभन्दा बढी थियो । अहिले ५ सयमुनि छ । बैंक बलियो हुँदै गयो सेयर भ्यालू घट्दै गयो । किन ? म सेयरको विज्ञ होइन । बैंकको पुँजी बढेको छ । बोनस सेयर थप्दै गएपछि सेवामा गाह्रो हुन्छ । जसकारण प्रतिफल कम हुँदै गएको हो । कतिपय बैंकले कोरोनादेखिको लाभांश नदिइकन राखेको पैसा तीन वर्षमा एकैपटक दिएको छ । कसैले बचाएर अलिअलि दिएको छ । त्यसको असर पनि परेको हुन सक्छ । अनि विगतमा सेयर बजारमा बैंकको दबदबा थियो । अन्य क्षेत्रको सेयर खासै थिएन । अहिले विविधिकरण भएको छ । सेयर बजारमा अलिअलि स्पेकुलेसन भइहाल्छ । त्यही बजार हो, नबिल बैंकको सेयर मूल्य ६ हजारको हाराहारीमा हुँदा यूनिलिभर नेपालको सेयर मूल्य ११ हजारको हाराहारीमा थियो । अहिले पनि त्यही बजार हो, यूनिलिभरको सेयर मूल्य ५० हजार रुपैयाँ पुगेको छ भने नबिल बैंकको सेयर मूल्य ५ सयमा झरेको छ । यसले त स्पेकुलेसन हुन्छ भनेर जस्टिफाइ गरेन नि ? त्यतिबेला बजारको दायरा फराकिलो नहुँदा सबै बैंकहरूको सेयर मूल्य उच्च थियो । अहिले सबै बैंकको घटेको छ । बैंकहरूको होल्डिङ चौडा हुन्छ । आजको दिनमा फाइनान्स कम्पनीको सेयर मूल्य बैंकको भन्दा उच्च छ । त्यसलाई पनि जस्टिफाइ गर्न सकिँदैन । पुँजी बजारका लगानीकर्ता धेरै चलाख र स्मार्ट हुन्छन्, त्यसकारण उनीहरूले सही मूल्याङ्कन गरेका हुन्छन् भन्ने लाग्छ । नबिल जस्तो राम्रो मार्केट, नेटवर्थ, ब्राण्ड भ्यालू र रेपुटेसन छ । तर, त्यसको प्रभाव बजारमा देखिएन नी ? आज पनि नबिल बैंक ब्लुचिफ स्टक हो । दीर्घकाल सोच्नेहरूले नबिल खरिद गरिरहेका छन् । जहाँ सेयर कम छ त्यहाँ सर्टटम लगानीकर्ताले स्पेकुलेसन वा कर्नरिङ हुन्छ । संसारभरि नै सेयर बजारमा स्पेकुलेसन हुन्छ । २० प्रतिशत विश्लेषण गरेर खरिदबिक्री गर्छन भने ८० प्रतिशत स्पेकुलेसन हुन्छ । अहिले नियम अनुसार ८ अर्ब मात्रै पुँजी भनेको छ । राष्ट्र बैंकले तोकेकोभन्दा तीन गुणा माथि भइसक्यो नि ? बोनस दिँदै गयो भने सर्भिसेज क्षमता घट्दै जान्छ । त्यसमा अनेकन रेगुलेटरी फ्रेमवर्क छन् । त्यही विषय भारतको बैंकमा १० रुपैयाँको सेयर हुने क्यापिटल सानो हुन्छ । रिटेन्ड अर्निङमा राखेर कति राम्रो सेयर मूल्य गरेका छन् । विगतको तुलनामा नबिल बैंकले १३ प्रतिशतमा झरेको छ । आगामी दिनमा यो अझै घट्छ कि बढ्छ ? त्यसलाई घटबढ भन्दा पनि जस्टिफाइड रिटर्न, स्थिर र ग्रोथको प्रयास रहनेछ । अंकमा भन्न अलिकति गाह्रो छ । चौथो त्रैमासको लाभांश क्षमता १४ प्रतिशत छ । गत वर्ष स्थित र एनपीएलले हिट गरेको हो । त्यो एनपीए सकारात्मक भएपछि फिर्ता आउँछ । अर्थतन्त्र एक राउण्डको टर्नओभर भएर ग्रोथ भयो भने यो वर्षभित्र प्रोभिजनमा राखेको पैसा फिर्ता आउँछ । धेरै बैंकलाई सम्पत्ति व्यवस्थापन गर्न गाह्रो भएको देखिन्छ । नबिल बैंकको अवस्था के छ ? यूनाइटेड फाइनान्स अक्वायर गरेपछि व्यावसायीक सवारी धेरै आएका छन । त्यसमा रिकभरीका प्रयास भएका पनि छन् । व्यावसायिक सवारी टिप्परहरू, स्काभेटर पहाडतिर गएका हुन्छन्, तिनीहरूलाई ल्याउन सजिलो छैन । ती ल्याएर कतै भाडामा लिएपछि राख्नुपर्छ । तिनीहरू भाडामा राखिएका छन् । विशालनगरको जग्गामा पनि राखेका छौं । आइरहन्छन्, गइरहन्छन् । जग्गा जमीन व्यवस्थापन वा बिक्री गर्न कति गाह्रो भइरहेको छ ? मार्केटबाट हामी अछुतो छैनौं । नबिल बैंकले अक्सन गर्‍यो भन्दैमा किन्ने र अरूले अक्सन गर्‍यो भन्दैमा नकिन्ने भन्ने हुँदैन । बजारमा घरजग्गा कारोबारमा मनोबल बढेको छैन । अहिल गैर बैंकिङ सम्पत्ति बिक्री गर्न गाह्रो नै छ । बैंकको व्यवसाय बदल्न अब कार्बन व्यापार

५० वर्षपछि देखिनुपर्ने रोग आजभोलि कम उमेरमै देखिन्छन् : डा. आदित्य महासेठ

काठमाडौं । जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । केएमसी हस्पिटलका मुटुरोग विशेषज्ञ डा.आदत्य महासेठले संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको बताए । प्रश्तुत छः केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठसँग गरेको कुराकानीनको सम्पादित अंश । मुटुमा समस्या भएको कसरी थाहा पाउने, मुटु रोगलाई कसरि बुझ्ने ? मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरु पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बुढो मान्छेमा लाग्ने रोगहरु हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदाखेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरु लाग्छन् । हाम्रो देशहरुमा चाहीँ कमन हार्ट डिजिजहरु भन्छन् । त्यो अन्य देशमा पाइँदैन हाम्रो देशमै बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा कमनल्ली बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हार्ट अट्याक, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरु मादक पदार्थ सेवन गर्दा हुने रोगहरु यस अन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरु, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरु धेरै भएपनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो । मुटु र हृदयघातको सम्बन्ध कस्तो हुन्छ, अनि के कारणले हृदयघात बढी हुने गर्दछ ? हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अंगहरुमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरुमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र बिस्तारै पनि हुनसक्छ । एक्कासी भएको अवस्थामा हामी हृदयघात भन्छौं । बिस्तारै भएकोलाई चाहीँ एनजाइना भन्छौं । यो बढ्दै भएपछि हृदयघात हुनसक्छ । पछिल्लो समय हृदयघात वृद्धवद्धामा भन्दापनि युवा अवस्थाका मान्छेहरुमा पनि बढ्दै गएको हो, कस्तो उमेरका बिरामीहरु आउने गर्दछन् ? पछिल्लो समय तपाईंले भनेजस्तै २० देखि ३५ वर्ष सम्मका बिरामी पनि उपचारका लागि आउने गर्नुहुन्छ । हृदयघात भनेको जीवनस्तर अनुसारको रोग हो । पहिलेका मान्छेहरुसँग पैसा थोरै थियो, बढी काम हुन्थ्यो । दिनभर स्वस्थ काम गथ्र्यो । अहिले दिनभर अफिसमा कम्युटरमा बस्छन् । खानपनि जंकफुड खाने गरिन्छ । कसैलाई पनि खाना पकाउने फुर्सद छैन । यसमा धुम्रपान सेवन पनि गर्ने कारणले यस्तो समस्याहरु बढदै गएको हो । यिनै समस्याका कारण ५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमा देखिरहेका छौं । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणले चुरोट सेवन हुनु अध्ययनले देखाएको छ । अर्को कुरा पछिल्लो समय मान्छेरुको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरमा भएको कोषहरुले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएको छ । यसले मुटुको नसाहरुमा ब्लक गरिदिने गर्छ । यसले गर्दापनि हृदयघात बढिरहेको छ । अनि हामीले मुख्य कुरा त घरको खाना नखाएर बजारको खानेकुराहरु बढी खाइरहेका हुन्छौं । यसले गर्दा खानपिनमा आएको परिवर्तन, हाम्रो जीवनमा भएको परिवर्तन र सुगर हामी बढी खाने गर्दछौं । सुगरले पनि शरीरमा कोलेस्ट्रोल नै बढाउने हो । बच्चाबेलादेखि नै हाम्रो बानी पहिलेको जस्तो छैन बिग्रिएको छ । त्यसले गर्दा एकदमै युवा अवस्थामा नै हृदयघात देखिरहेको छ । मुटु रोगबाट बच्नको लागि खानाको सन्तुलन कसरी मिलाउने ? खानाको सन्तुलनको कुरा गर्दा हाम्रो शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पाइने गरी खाइरहेका छौं । मैले दिनभरमा कार्यालयमा बस्छु, काम गर्छु भने मलाई धेरै क्यालोरी चाहिँदैन । बिहानदेखि साँझसम्म खेतमा काम गर्ने मान्छे छ भने उसलाई क्यालोरी बढी चाहिन्छ । हाम्रो शरीरलाई अरु सुगरको जरुरत छैन । बरु मान्छेलाई बोसोको जरुरत हुन्छ तर सुगरको जरुरत हुँदैन । प्रोटिनको जरुरत हुँदैन । हामीले चिनी खानु हुँदैन । त्यसलाई खानु हुँदैन । यसमा सिम्पल कुरा राख्ने हो भने प्राकृतिक कुराहरु खाने हो । जुट र कम्पनीमा पनि बनेका खानेकुराहरु खाने होइन । हामीले आफ्नो शरीरको मागअनुसारको खाना खाने हो । हामीले बढी खाना खायो भने पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने हो । मुटु रोग र उमेर समूहको अन्तरसम्बन्ध के हुन्छ, तपाईको अनुभवले कस्तो पाउनुभएको छ, कुन उमेर समूहको मान्छेलाई मुटु रोगको जोखिम हुन्छ ? अहिले पनि सामान्यतः मुटुसम्बन्धी रोग बढी लाग्ने भनेको ४५ वर्ष केटेको मान्छेमा नै हो । तर पछिल्लो समय युवा अवस्थाको मान्छेमा पनि भेटिन थालेको छ । विषेश गरी चुरोट खाने मान्छेमा । नेपाल र नेपालबाहिरको अध्ययनले खासगरी चुरोट खाने मान्छेमा हृदयघात हुने देखाएको छ । त्यसबाहेक कसैलाई पारिवारिक पृष्ठभूमिको आधारमा पनि हुने गर्दछ । तर अहिले पनि कमनल्ली भन्ने हो भने हृदयघात ४५ वर्ष कटेपछि मात्रै हो । शरीर जति बुढो हुँदै गयो त्यति नै सन्तुलित खानपान खाँदै गयौं । र जंकफुडहरु, चुरोट, मादक पदार्थ पिउने, शारीरिक अभ्यास नगर्ने र खाएको पनि नपचाउने बानीले हामीमा मुटु रोगको जोखिम बढाउँदै जान्छ । त्यसकारणले शरीरमा बनेको क्यालेस्ट्रोलले कहीँकहीँ त अटाउनु पर्यो नि । कि त नसामा कि त मुटुमा, कि त शरीरमा त्यहाँ नअटाएको खण्डमा उमेर बढ्दै गएपछि हृदयघात हुने हो । तपाईले दैनिक कम्प्युटरमा लामो समय बस्ने मान्छे र शारीरिक अभ्यास कम गर्ने मान्छेमा हृदयघातको जोखिम बढी हुन्छ भन्नुभयो, यसलाई थप स्पष्ट पारिदिनुस् न ? मुटु रोगको रिस्क फ्याक्टरमध्ये शारीरिक अभ्यास नगर्नु पनि एक हो । शारीरिक अभ्यासले एक त मुटुको कन्डिसनलाई ठिक राख्छ । अभ्यास गर्ने क्षमता पनि बढाउँछ । यसले सुगर र प्रेसर नियन्त्रण गर्नको लागि पनि काम लाग्छ । हामीले एक्स्ट्रा खाइरहेको क्यालोरीलाई पचाउन पनि मद्दत गर्छ । त्यसले गर्दा मुटु रोग पनि कम देखिन्छ । खानपानसँगै मुटुको स्याहार कसरि गर्नुपर्छ, अनि चुरोट र मादकपदार्थ गर्ने मान्छेलाई हृदयघात नहुने र नखाने मान्छेलाई हुने भन्ने भाष्य छ नि ? चुरोट सेवन गरेर मात्र हृदयघात हुन्छ भन्ने त कुनैपनि अध्ययनमा छैन । तर चुरोट खाने मान्छेमा चुरोट नखाने मान्छेभन्दा तीन गुणा बढी नै हृदयघात भएको देखिएको छ । यो चाहीँ अध्ययनले देखाएको छ । हृदयघात भनेको हाम्रो जीवनशैलीको आउटकमको रुप हो । कसैलाई हुनसक्छ । तर कसैलाई हृदयघात नभईकन चुरोट सेवनका कारण क्यान्सरले पहिले नै मृत्यु पनि हुनसक्छ । हामीले मेडिकल साइन्समा सम्भावनाको कुरा गर्ने हो । कसैलाई डायबिटिज पनि छ, प्रेसर पनि छ । परिवारमा मुटु रोग पनि भएको छ र उसले चुरोट पनि सेवन गर्छ भने उसको हृदयघात हुने सम्भावना अझै बढी भयो । कसैको परिवारमा सुगर र प्रेसर पनि छैन, डायबिटिज पनि छैन र कोलेस्ट्रोल पनि छैन भने हृदयघात हुने सम्भवना न्युन हुन्छ । त्यस्तो मान्छेले चुरोट खायो भने पनि हार्ट अट्याक हुने रिस्क एकदम कम होला । तर हुँदै नहुने भन्ने हुँदैन । यो विज्ञान हो हुन्छ नै र हुँदैन भनेर भन्न चाहीँ अलि गाह्रो नै हुन्छ । अर्को कुरा खानपानको कुरा गर्ने हो भने इटालीतिरका मान्छेमा हृदयघात कम भएको देखिएको छ । किनभने उनीहरुले खाने खानामा जुन तेल हुन्छ नि त्यसमा प्राकृतिक तेलहरु हुन्छ नि बीउबाट बनेको त्यसको मात्रा बढी हुने र माछामासुमा पनि लिन फ्याडहरु खाने गरेको पाइन्छ । चारखुट्टे जनावर होइन कि अरु नै खानाका जनावरहरुको मासु खाने देखिएको छ । खानपिनमा तपाईले फ्याक्ट्रीहरु बनेको प्रशोधित खानेकुरा कम खानुपर्यो । र पशुजन्य मासु कम खानुपर्यो । यसमा चारखुट्टे जनावरको मासु भयो र दुधबाट बनेको परिकारहरु घ्यु, बटर, चिजको मात्रा कम गर्ने र खानामा सलाद र अन्य अन्नहरुको मात्रा राखेर गर्नुभयो भने त्यो सबैभन्दा बेस्ट हुन्छ । मौसम र मुटुको सम्बन्ध कस्तो हुन्छ, जाडो समयमा मुटुसम्बन्धी समस्याहरु बढ्दै जाने हुन् ? यसमा दुईवटा कुरा छन् । मौसम परिवर्तन र वातावरणमा आएको परिवर्तनले निकै फरक पार्दछ । जाडो र गर्मी त भइरहन्छ नै । तर पछिल्लो वर्षहरुमा जलवायु परिवर्तनको कारण वातावरणमा परिवर्तन पनि आइरहेको छ । आजभोलि गरिएको एक अध्ययनले मुटुसम्बन्धी रोगहरुको मेजर इफेक्टरमा चाहीँ स्ट्रेस अथवा एन्जाइटी र दुषित वातावरण पनि छ । अहिले काठमाडौंको वातावरण पनि सामान्य छैन । प्रदुषणले हाम्रो शरीरमा भएको सामान्य क्यालेस्ट्रोललाई अक्सिजन रेडिकलहरु बनाउँदो रहेछ । र त्यही रेडिकलहरु शरीरको रगतमा गएर जम्मा भइदिने हुन्छ । त्यो पनि हृदयघातको एउटा प्रमुख कारण हो । अर्को कुरा चिसो समयमा चिसोले गर्दा मुटुको चल बढ्ने र प्रेसर बढ्ने हुन्छ । मुटुसम्बन्धी समस्या भएका मान्छेलाई प्रेसर बढ्ने र मुुटुको चाल बढ्ने कुरा त्यति राम्रो हुँदैन । त्यसकारण पहिलेदेखि समस्या भएका मान्छेहरुमा हृदयघात हुने सम्भावना चिसो महिनामा धेरै हुन्छ । निमोनिया हुने सिजन पनि भएको हुनाले इन्फेक्सन भएको सात दिन भित्र हार्ट अट्याक भएको अध्ययनले पनि देखाएको छ । मुटु रोगको घरेलु उपचार हुन्छ कि हुँदैन, मुटुमा कस्तो समस्या आएपछि चिकित्सकको मा जाने ? मुटु रोग भनेको एक दिनको रोग होइन । यो भनेको ३० देखि ४० वर्षको रोग हो । हामीले बच्चा बेलादेखि नै हाम्रो जीवनशैली सही राख्नसक्यौं भने चाहीँ यस्ता चान्सहरु कम गर्नसक्छौँ । घरेलु उपचार भन्नुहुन्छ भने हामीले गर्नसक्ने भनेको दुई वटा कुरा मात्रै हो । खानपिन राम्रो गर्नसक्छौं र शारीरिक अभ्यास गर्नसक्छौं । हामीले विषेशगरी चिल्लो खानेकुराहरु खानु भएन । प्राकृतिक कुराहरु फलफूल र सलाद लगायतका खानेकुराहरु खानुपर्दछ । अनि उमेर २० वर्ष पुगेपछि एकपल्ट कोलेस्ट्रोलको जाँच गर्ने । परिवारमा प्रेसर मुटुको समस्या भएको छ भने त्यो मान्छेले २० वर्ष पुगेपछि एकपटक जाँच गर्नैपर्छ । होइन भने ४० वर्ष कटेपछि एकपल्ट पे्रसर र सुगरको जाँच गर्नुप¥यो । चुरोट खानु भएन । मादक पदार्थ पनि खानु भएन । हामीले मुटुको सुरक्षा कसरी गर्ने ? मुटुलाई माया गर्नको लागि शुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुपर्यो । त्यसको लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै शुरु हुन्छ । त्यसपछि तपाईले मुटुसम्बन्धी कुनैपनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुपर्यो । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तपाईले तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ । त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरु देखिएको छ भने तपाईंले औषधि शुरु गर्नैपर्यो । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिंगटा लाग्ने प्रमुख कारणहरु हो । हाम्रोमा औषधि नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधि खाएर त्यति फाइदा चाहीँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा कन्फर्म गर्नुपर्यो । त्यसपछि रहेछ भने औषधि शुरु गर्नुपर्यो । अहिले केएमसीमा मुटुसम्बन्धी रोगको निदानात्मक व्यवस्था र जनशक्तिको अवस्था कस्तो छ ? म विगत दुई वर्षदेखि यहाँ कार्यरत छु । हामीले अहिले क्याथेल्याब सेवा शुरु गरेका छौं । अनि मुटुको ओपिडि दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलि नै रहेको छ । त्यसैगरि हाम्रो आपतकालीन सेवा २४ सै घण्टा शुरु नै हुन्छ । दिनको एक जना मान्छे ड्युटिमा जहिले पनि हुन्छ । हामीले मुटुको जाँचमा पे्रसर, सुगर, कोलेस्ट्रोल बाहेक रगतको सबै जाँचहरु भइ नै हाल्छ । त्यसबाहेक मुटुको इसिजि, इको, टिएमटी र सिटिस्क्यान गर्दछौं । यहाँ मुटुको एमआरआई पनि हुन्छ । मुटुसम्बन्धी अपरेसनहरु नगरिकन गर्ने सम्पूर्ण उपचारहरु म आफैँ गर्छु । अब छिट्टै छाती चिरेर गर्नुपर्ने अपरेसनहरु पनि शुरु हुने तयारीमा छ । सरकारबाट पाउने एक लाखको विपन्न नागरिक स्किम छ त्यो चाहीँ सबै प्यासेन्टलाई उपलब्ध छ । जे होस् मुटु रोगको लागि नेपालमा हुने जतिपनि जाँचहरु र अपरेसनहरु सबै नै यहाँ भइरहेको छ । सरकारले मुटुसम्बन्धी रोगका लागि गरेको लगानी पर्याप्त छ कि छैन ? वास्तवमा भन्ने हो भने मुटुरोगलाई सरकारले एकदमै ध्यान दिएर हेरेको छ । संसारमा नेपालभन्दा सस्तो मूल्यमा मुटु रोगको उपचार कहीँ पनि छैन । अर्को कुरा जनशक्तिको कुरा गर्नुहुन्छ भने काठमाडौंमा केन्द्रित चाहीँ छ । काठमाडौं बाहिर भने अहिले पनि जनशक्ति पुगेको छैन । पूर्व र पश्चिममा पनि बिस्तारै स्वास्थ्य क्षेत्रको विकास त हुँदैछ । तर मान्छेमा जनचेतनाको अभाव छ । मान्छेमा हृदयघात भयो भनेपनि ग्यास्ट्रिक भन्ने गरेको पाइन्छ । त्यसकारण जनशक्ति बिस्तार त गर्नुपर्यो । काठमाडाैंमा भने बिस्तारै सबै हस्पिटलहरुमा क्याथल्याबको सेवाहरु बढ्दैछ । मुटुको रोग आजभन्दा तीन वर्षपछि अगाडि बढ्नेवाला छ त्यहीअुसार हामीले तयारी गरेर हामीले अगाडि बढ्नुपर्नेछ । तर गाम्रिण भेगमा जनशक्ति बिस्तार गर्नुपर्ने आवश्यकता छ । आम नागरिकलाई तपाईंको सन्देश के छ ? संसरमा सबैभन्दा बढी मृत्यु हुने रोग मुटुसम्बन्धी नै हो । जसलाई डाइग्नोस गर्नको लागि केही पनि पैसा चाहिँदैन । खालि एउटा चिकित्सकले एउटा ब्लड प्रेसर नापेर पुग्छ । त्यसको सबैभन्दा सजिलो उपचार भनेको एउटा दुई रुपैयाँको औषधि हुन्छ । त्यसलाई दिनको एकपल्ट खाने हो । त्यही भएर मुटुसम्बन्धी मुख्य रोगरुलाई बेवास्ता गर्नुभएन । मुुटु रोगसम्बन्धी लक्षण आइसकेपछि त्यसको जाँच गरेर त्यसको उपचार समयमै गर्नुपर्यो । नेपाल एउटा गरिब देश हो । सरकारले पनि धेरे नै सहजता प्रदान गरेको छ । स्वास्थ्य बीमा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष छ त्यसबाट पनि उपचार गर्न सकिन्छ । त्यसकारण सबैले मुटुलाई माया गर्न सुझाव दिन्छु ।