मौलाउँदै बैंक्यास्योरेन्स कल्चर र बैंकमाथि निर्भर निर्जीवन बीमा व्यवसाय

पछिल्लो समय बैंक र बीमा कम्पनीबीच बैंक्यास्योरेन्स गर्ने समझदारी भएको कर्पोरेट समाचारहरु धेरै प्रकाशित हुने गरेका छन् । बैंक्यास्योरेन्स भनेको बैंक बीमा कम्पनीको संस्थागत एजेन्ट बन्नु हो । बैंकमा आएका ग्राहकलाई बीमा सेवा पनि दिनु हो । बैंकले सम्झौता गरेर कुनै बीमा कम्पनीको पोलिसी बेच्ने काम नै बैंक्यास्योरेन्स हो । अहिले बैंकले गरिरहेको इन्स्योरेन्स एजेन्टको काम नयाँ भने हैन । आफ्ना ग्राहकलाई बीमा सेवा दिन नेपाल बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना गरेको थियो । यो २००४ सालको कुरा हो । त्यतिबेला देखि नै नेपाल बैंकले इन्स्योरेन्सको तर्फबाट घरलगायत अन्य कर्जाको बीमा गर्दै आएको थियो । त्यसमा नेपाल बैंकले निश्चित कमिशन लिने गरेको थियो । बीचमा बैक्यास्योरेन्स सेवा बैंकले गर्न नपाउने व्यवस्था भयो । बैंक र बीमाले आफ्नै शैलीमा सेवा दिदै आए । फेरी बैंकले पनि इन्स्योेरेन्सको एजेन्ट भएर काम गर्न पाउने व्यवस्था भएको छ र अहिले धमाधम बैंकले बैंक्यास्योन्सको सेवा दिन थालेका छन् । बैंकले आफनो प्रोडक्ट जस्तै काउन्टरबाट बीमा सेवा पनि बेच्ने गरेको छ । बीमा कम्पनी नपुगेको ठाउँमा बैंक पुगेको छ, त्यसैले बीमा कम्पनीलाई पनि सहज भएको छ । बैंक्यास्योन्सले गर्दा एकै पटक बैंकहरुको २ हजारभन्दा बढी शाखाबाट बीमा सेवा शुरु भएको छ । गाडी किन्दा, घर बनाउन कर्जा लिदा पहिला पनि बीमा गर्नु पथ्र्यौ र अहिले पनि गर्नुपर्छ । जग्गाको बाहेक सबैको बीमा हुन्छ । कुनै बैंकले आफ्ना निक्षेपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने भनेको हुन्छ । त्यस्तो बीमामा प्रिमियम धेरै महँगो हुँदैन । यस्तो बीमा गर्दा बैंकलाई बीमा कम्पनीबाट प्रत्यक्ष फाइदा हुँदैन तर निक्षेप बढाउन मद्दत मिल्छ । बैंक र बीमाबीचको अन्तर सम्बन्ध विकास बैंकले कोर बैकिङ बाहेक सेवाग्राहीलाई अन्य १० औं सेवा दिईरहेको हुन्छ । त्यसमध्ये बीमा पनि बैंकले दिने एक सेवा हो । पैसा साट्न र मुद्दति रसिद बनाउने र कर्जा लिन आउने ग्राहकलाई बैंकले बीमा सेवा पनि छ है भनेर जानकारी दिन्छ । ग्राहकले स्वेच्छाले आवश्यक सेवा लिन सक्छन् । गाडीको बीमा, घरको बीमा, ऋण लिने व्यवसायीको गोदामको बीमा, उद्योगको बीमा, ऋण लिएर किन्ने मोवाईल, टिभी, क्यामेराको बीमा पनि बैंकले गराईदिन सक्छ । यसले गर्दा ग्राहकलाई र बीमा कम्पनी दुबैलाई सहज हुने गरेको छ । बैंक बीमा कम्पनीको संस्थागत एजेन्ट भएकोले व्यक्ति जस्तो बीमा सेवा दिन कै लागि गाउँगाउँमा जानुपर्दैन, ग्राहकको घरघरमा सेवा बेच्न जानुपर्दैन । बैंक काउन्टरमा आउने ग्राहकलाई बीमा सेवा दिने गरिन्छ । बैंकले हरेक शाखाको काउन्टरमा एकजना कर्मचारी राखेर बीमाको सेवा दिईरहेको हुन्छ । बैंकका कर्मचारीलाई बीमा कम्पनीले बीमा सेवा सम्बन्धि तालिम दिएका हुन्छन् । बीमाका प्रडक्टहरु बीमा कम्पनीले नै बनाउँछन् । कहिलेकाही बैंकले पनि आइडिया दिने गर्दछ । समग्रमा बीमा पोलिसी बनाउने बीमा कम्पनीले नै हो । जसरी आवास कर्जा र समृद्धि वचत योजना बैंकले बनाउछ, त्यसरी नै बीमा कम्पनीले बीमा पोलिस बनाउँछन् । बीमा प्रिमियमको मुख्य हिस्सा बीमा कम्पनीले लैजाने हो । बैंकले सामान्य कमिशन पाउने हो । तर धेरै ग्राहकले बीमा सेवा लिने भएकोले बैंकलाई पनि राम्रै आम्दानी हुन्छ । बीमा कम्पनीको पनि व्यवसाय बढिरहेको हुन्छ । निर्जीवन बीमाको निर्भरता बैंकमा धेरै हुन्छ । पहिला पनि त्यस्तै थियो । अहिले पनि छ । एउटा गाडी किन्दा बीमा गर्नुपर्छ । २ लाख रुपैयाँमा ठूलो टिभी किन्दा बीमा गर्ने सोचाइ हुदैन । तर त्यो टीभी किन्न बैंकले लगानी गरेको छ भने बीमा अनिवार्य गरिएको हुन्छ । बैंकबाट ऋण लिएर बनेका बाहेक अधिकाश घरको बीमा भएको देखिदैन । यसले के संकेत गर्छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय धेरै हदसम्म बैंकमा निर्भर हुने गरेको देखिन्छ । आयातमा एलसी खोल्दा आयातकर्ताको नामबाट सामान आयात भएको हुन्छ । एलसी खोल्दा जुन देशबाट सामान पठाउने हो त्यही नै बीमा गरिएको हुन्छ । गोदाममा आएपछि पनि बैंकको ऋण छ भने फेरी स्थानीय कम्पनीसंग बीमा गराउनुपर्छ । कर्जा लिने वित्तीक सबैको बीमा गरिएको हुन्छ । बैंकबाट कर्जा लिएको छैन भने मतलव हुदैन् । औद्योगिक गोदाम, जलविद्यतको सबै संरचनाको बीमा गरिएको हुन्छ । बैंकलाई नेपाल राष्ट्र बैंकले नियमन गरे जस्तै प्रिमियमको दर बीमा समितिले तोक्ने गर्छ । त्यसमा एजेन्सी कमिसन कति भनेर समेत तोकिएको हुन्छ । कमिशनमा मोलमोलाई हुँदैन । (सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमसँग गरिएको कुराकानीमा आधारित)

सरकारले नै गर्दैन आफ्नो सम्पत्तिको बीमा

जनस्तरमा बीमा बारे ज्ञान र बीमाको अभ्यास कम भएकोमा चर्चा धेरै हुन्छ । तर सरकारी अधिकारीहरुमा नै बीमाको ज्ञान छैन, बीमा गर्ने तत्परता छैन, बीमाको लागि बजेट राखिदैन । यसले नेपालको बीमाको विकास कुन स्तरमा रहेको छ भन्ने संकेत गर्दछ । २०७२ सालको भूकम्पपछि आइसकेपछि हामीले सरकारी सम्पत्तिहरुको बीमा गराउनको लागि प्रस्ताव मन्त्रालयमा पेश गरेका थियौं । सरकारले त्यसलाई आफ्नो नीति तथा कार्यक्रममा राखेको थियो । जलविद्युत गृह र सरकारी भवनहरुको बीमा गर्ने घोषणा पनि भयो । यो कुरा सरकारको नीति तथा कार्यक्रममा आयो, तर बजेटमा आएन । त्यसपछि पनि तीन पटक सरकारको नीति तथा कार्यक्रम आए, बजेट आए । सरकारी सम्पत्तिको बीमा गर्ने विषय अगाडि बढेन । हामीले सम्बन्धित मन्त्री र सचिवहरुलाई यस विषयलाई सम्झाउने काम गर्दै आएका छौं । तर उनीहरुले यस विषयलाई महत्व नदिएको देखिन्छ । जसरी सर्वसाधारणले भूकम्प बिर्सिसके र सरकारले पनि त्यसरी नै बिर्सेको देखिन्छ । सरकारी स्वमित्वमा रहेका सम्पत्ति कुनैको पनि बीमा भएको छैन । सरकारी भवनहरुको कही पनि बीमा भएको छैन । सरकारी गाडीहरुको पनि पूर्ण बीमा भएको छैन । तेस्रो पक्ष बीमा माग गरिएको छ । बीमा भएकाहरुको पनि समयमा नविकरण गरिदैन । कतिपय बीमा दावी नविकरण फेल खाएपछि आइरहेका हुन्छन् । सरकारी संस्था तथा सम्पत्तिहरुको बीमाको लागि समस्या देखिएको छ । सरकारले बजेट बनाउँदा सम्पत्तिको बीमा गर्न बीमा शुल्कको लागि पैसा छुट्याएको हुँदैन । सिंहदरवारदेखि जिल्लाका सरकारी भवनहरु, स्कूल, कलेज, अस्पताल, हेल्थपोष्ट केहीको पनि बीमा भएको हुँदैन । हामीले शुरुमा सिंहदरबार भित्रको भवनहरुको बीमा गर्न आग्रह गर्यौ । सिंहदरबावर भित्रका भवनहरुको मात्र बीमा गर्ने हो भने वर्षमा २५÷३० करोड रुपैयाँ बीमा शुल्क लाग्छ । देशभरको सरकारी भवनहरुको बीमा गर्न ठूलै रकम खर्च हुन्छ । सरकारले बीमाको लागि बजेट विनियोजन नगरेसम्म कार्यलय तहबाट बीमा गराउन सकिदैन । सबैभन्दा ठूलो जोखिम सरकारी जलविद्युत परियोजनामा देखिन्छ । निजी क्षेत्रबाट बनेको सबै जलविद्युत परियोजनाहरुको बीमा भएको छ । तर सरकारले बनाएका, सञ्चालन गरिरहेको ठूला–ठूला जलासाययुक्त हाइड्रो पावरहरु छन् । ती हाइड्रो पावरहरुको बीमा गरिएको हुदैन । २०७२ सालको भूकम्पले धेरै जलविद्युत गृहमा क्षति पुर्यायो । कुलेखानी जलाशय भत्किएको भए परियोजनालाई मात्र होइन, ड्याम भन्दा तलको बस्तीलाई ठूलो क्षति हुने थियो । बीमा भएको अवस्थामा भत्किएको वा विग्रेको बेलामा मर्मत सम्भार गर्न, तेस्रो पक्षहरुलाई पनि राहत दिन सकिन्छ । तर सरकारले अझै सोचेको छैन । सरकारको पूर्ण स्वामित्वमा ८ वटा हाइड्रोपावर छन् । सबैको प्याकेज डिल गरेर बीमा गर्ने हो भने बीमा शुल्क पनि कम पर्छ । एउटाको लागि मात्रै बीमा गर्दा अघि महँगो पर्न जान्छ । एउटाको बीमामा बढी जोखिम हुन्छ भने धेरैको बीमामा कम जोखिम सेयर हुन्छ । धेरैको बीमा गर्दा सेवा लागत पनि हुन्छ । सरकारले सबै परियोजनाबाट कर उठाइरहेको हुन्छ । त्यसको अलिकति मात्र बीमामा खर्च गर्ने हो भने परियोजन सुरक्षित हुन्छ । एयरपोर्टको बीमा नेपाल नागरिक उड्यान प्राधिकरणले गरेको छ । त्यो पनि सहि तरिकाबाट भएको छैन । मानौं, एउटा प्लेन एयरपोर्टमा पूर्ण रुपले दुर्घटना भयो । त्यसले कति क्षति पार्छ भन्ने कुरै भएको छैन । त्यसले अरु एयरलाइन्सलाई कति असर गर्छ भन्ने कुरै छैन । तेस्रो पक्षलाई पुग्ने क्षतिको बारेमा बीमा पोलिसीमा केही उल्लेख गरिएको हुँदैन । यस भित्र ठूलो जोखिम छ र यसले नागरिक उड्या प्राधिकरणलाई नै असर पार्छ । बीमा कम्पनीले जतिको बीमा गरिएको छ त्यति बराबरको रकम दिने हो । सडक, पुल, सिंचाई योजनाको बीमामा पनि त्यस्तै समस्या छन् । ठेकेदारहरुले सरकारी भुक्तानी लिन बील पास गराउने उदेश्यले मात्र बीमा गरेको हुन्छन् । सडक बीमामा पनि अनेक बेथिति छन्, बीमा गर्न पनि बीमा कम्पनीहरु डराउनुपर्ने, धेरै कुरामा होसियार बन्नु पर्ने अवस्था सिर्जना भएका छ । उनीहरुले कन्स्ट्रक्सन र १/२ वर्षसम्मको मेन्टिनेन्सको लागि मात्रै बीमा गरेका हुन्छन । त्यसपछिको बीमा हुदैन । जब सरकारको स्वामित्वमा उक्त पुल आउछ । त्यसपछि पुलको बीमा हुदैन । वास्तवमा त्यसपछि पनि सो पुलको बीमा हुनु पर्ने हो । भूकम्प पछि केही मान्छेहरु बीमा गर्न कम्पनीहरुमा पुगेका थिए । तर सबैले अहिले बिर्सिसकेका छन् । अझै पनि इन्स्योरेन्सको सचेतना फैलिएको छैन । बीमा सचेतना गराउन कम्पनीहरुको प्रयास मात्र प्रयाप्त हुँदैन । सरकारी तवरले नै गर्नुपर्छ । (रायमाझी राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्)

‘लर्निङ वाई डुईङ’ बीमा क्षेत्रमा जनशक्तिको आधार

नेपाली अर्थतन्त्रमा बीमा र बैकिङ क्षेत्रको संस्थागत विकास अरु क्षेत्रको तुलनामा राम्रो छ । १९९४ सालमा नेपाल बैंकको स्थापना भयो । त्यसको एक दशकपछि २००४ मा नेपाल इन्स्योरेन्स कम्पनी स्थापना भयो । नियामक निकाय पनि त्यस्तै भयो । बैंकहरुको नियामक निकाय राष्ट्र बैंकको स्थापना २०१३ सालमा भएको थियो बीमा कम्पनीहरुको नियामक २०२४ सालमा भएको हो । बैशाख १४ गते राष्ट्र बैंकले ६३औँ वार्षिक उत्सव मनाउँदा बीमा समितिले जेठ १ गते ५० औँ वार्षिक उत्सव मनाउँदैछ । हालसम्ममा ३९ वटा बीमा कम्पनी भएका छन् । बीमा समितिको निर्देशन अनुसार १८ जीवन बीमा कम्पनीहरुमा ३६ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुँदैछ । २० वटा निर्जीवन बीमा कम्पनीमा २० अर्ब रुपैयाँ लगानी हुँदैछ । पुर्नबीमा कम्पनीमा ५ अर्ब रुपैयाँ लगानी भईसकेको छ । ३९ वटा कम्पनीमा करिव ६० अर्ब रुपैयाँ सेयर पुँजीको लगानी हुँदैछ । ६० अर्बको पुँजीमा लगानी हुँदा सबै कम्पनीको प्रिमियम बजार १०० अर्ब भन्दा बढी छ । प्रत्येक बीमा कम्पनीमा कम्तिमा १५० जना कर्मचारी छन् । सबै कम्पनीको जनशक्तिको एक ठाउँमा जमघट हुँदा निकै ठूलो समूहहरु देखिन थालेको छ । पुराना कम्पनीहरुबाट अनुभवी कर्मचारीहरु तयार भईरहेका छन् भने नयाँ तथा पुराना कम्पनीमा नयाँ कर्मचारीको प्रवेश पनि उल्लेख्य हुनुपर्छ । बीमा कम्पनीहरुले प्रकाशन गर्ने भ्याकेन्सी नोटिसले त्यसको संकेत गरिरहेको छ । बीमा कम्पनीहरुबीच कर्मचारी तानातानको अभ्यास सबै बीमा कम्पनीहरुको लागि पेचिलो बन्दै गएको छ । अझैसम्म स्कूल, कलेजमा बीमा पढाईदैन भन्दा हुन्छ । पछिल्लो समय केही कलेजमा बीमा विषयले स्थान पाएको छ । त्यहाँबाट उत्पादित जनशक्ति अझै बीमा कम्पनीमा प्रवेश गरिसकेका छैनन् । बीमाको विषयमा तालिम दिने स्वतन्त्र संस्थाहरु पनि छैनन् । त्यसैले बीमा क्षेत्रमा ‘लर्निङ बाई डुईङ’को विकल्प छैन । सबै बीमा कम्पनीहरु ‘लर्निङ वाई डुईङ’मा चलिरहेका छन् । विश्वमा बीमाको पहुँच र प्रभाव जसरी अघि बढेको छ, त्यसलाई चाँडो रिप्लिकेड गर्ने स्थितिमा हामी छैनौं । त्यसको एउटा कारण जनशक्ति हो भने सानो स्केलको लगानी, सानो बजार र उचित प्रविधिको प्रयोग हुन नसक्नु पनि हो । सरकार, बीमा समिति र बीमा कम्पनी सबै ‘लर्निङ वाई डुईङ’मा छौं । बीमा क्षेत्रले बेष्ट ब्रेनलाई आकर्षित गर्न सकेको छैन । ट्यालेन्ट मान्छे बीमा क्षेत्रमा आकार्षित नहुनुमा बीमा कम्पनीको इतिहास, वर्तमान, बीमा कम्पनीहरुलाई समाजले हेर्ने दृष्टिकोण लगायतका कारण छन् । मुलतः बीमा कम्पनीप्रति समाजमा सकारात्मक सोचको विकास गर्न जरुरी छ । राज्य, अदालत, समाज तथा पारिवारिक बीमाप्रति सकारात्मक सोचको विकास गर्नुपर्छ । त्यसको लागि कक्षा एकदेखि नै बीमाबारे बालबालिकालाई ज्ञान दिनुपर्छ । बीमाको महत्व बुझाउनुपर्छ । साना साना बाबुनानीले घर परिवारमा गएर आमाबाबालाई बीमाको महत्व बुझाउन सक्ने सक्षम व्यक्ति बनाउन जन्माउनुपर्छ । जब सोचमा परिवर्तन आउँछ तब बीमा कम्पनीप्रति नयाँ पुस्ता आकर्षित हुन्छ । बीमालाई नैतिक शिक्षामा ढाल्न आवश्यक छ । जस्तै बीमा भनेको समाजको लागि अनिवार्य र अपिहार्य हो । यसले समाजलाई आर्थिक रुपमा सुदृढ, सक्षम बनाउँछ भनेर विश्वास दिलाउनु जरुरी छ । समाजमा बीमालाई विश्वसनीयताको साथ अगाडी बढाउन सकिने विश्वास दिलाउन सकिँदैन, सक्षम जनशक्तिहरुलाई आकर्षण गर्न सकिने अवस्था छैन । जसरी वनको उपयोगिता भनेर कक्षा १ देखि पढेका छौं । त्यसरी नै बीमाको उपयोगिता भनेर पढाउनु पर्छ । कोर्ष तयार गरेर १० कक्षासम्म पढाउनु पर्छ । १० कक्षाभन्दा माथि प्राविधिक कुराहरु रहन्छ । यहाँ विभिन्न अर्गनाइजेशनले बीमा क्षमताको विकास गर्नु पर्यो, विगतको मानसिकता हटाउन पर्यो भनिन्छ । तर त्यसअनुसारको यस क्षेत्रमा लगानी गर्न सकिरहेका छैनौं । यसमा दुई वटा कुरो छ । हामीसँग बढी स्रोतहरु छैन । धेरै खर्च गर्न सक्दैनौं । स्रोतको कमीले गर्दा एचआरलाई क्षमता अभिवृद्धि गर्न गरिने लगानीको कन्जुस्याई गरिरहेका छौं । त्यसकारण जनशक्तिलाई प्रखर बनाउन सकिरहेका छैनौं । तालिम गर्नुपर्छ, दिनुपर्छ भन्ने सामान्य सिद्धान्त रेगुलेशनमा छ । त्यस्तो किसिमको तालिम कुन लेबलमा कसरी गर्नुपर्छ भन्ने निजी कम्पनीले पनि सोचेका छैन । कम्पनीदेखि बाहेक अन्य क्षेत्रले पनि त्यसप्रति चासो दिएको देखिँदैन । त्यसो भयो भन्दैमा काम नभएको भन्न मिल्दैन । तर समयअनुसार जुन काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले केही कम्पनीहरुले आफ्नो क्षमताअनुसारको तालिमको लागि कर्मचारीहरुलाई विदेशमा पठाइरहेका छन् । बीमा समितिले पनि नयाँ कुराको लागि सम्भाव्य र यसमा हुने जोखिमको तालिमहरु गरिनै रहेको छ । कर्मचारी, प्रमुख कार्यकारी अधिकारी या तल्लो तहका कर्मचारीहरु समेतले अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइरहेका हुन्छन् । त्यस्तै विभिन्न सम्मेलन/गोष्ठीहरुको लागि मुलुकबाहिर पनि गएका हुन्छन् । विदेशका सम्मेलन, तालिम, गोष्ठीमा भाग लिएकाहरुले मुलुकको लागि बीमा आवश्यक छ, यसलाई विकास गरेर लानुपर्छ, सम्भव छ भन्ने कुरा गरेको देखिन्छ । त्यो सकरात्मक पक्ष हो । सायद त्यसैले गर्दा हुनुपर्छ–एउटा राम्रोे ट्रेनिङ इन्स्टिच्युट हुनुपर्यो भन्ने आवाज अगाडी बढिरहेको छ । त्यसले चाँडै पूर्णता पाउने देखिन्छ । बीमा समितिले पनि राम्रो प्रयास गरिरहेको छ । केही वर्षयता विभिन्न कम्पनीहरुले आफ्नो तालिम कन्ट्याक्ट गर्ने, विषय वस्तु र भावना वस्तुमा कम्पनीभित्र छलफल, अन्तरक्रिया, भेटको कार्यक्रमहरु गरिरहेको देखिएको छ । स्केल मात्र धेर थोर हो । त्यसले हामीलाई अप्रेसन लेबलमा काम गर्दाखेरी कस्तो किसिमको बाधा अड्को आउन सक्छ । सुशासित भएर कसरी सम्पन्न गर्ने भन्ने कुरामा सहयोगी भूमिका खेल्दछ । कर्मचारीमा दुई वटा गुण हुुनुपर्छ । एक, दिएको कामलाई सम्पन्न गर्न सक्ने क्षमता, त्यसैअन्तर्गत अप्रेशन र प्राविधिक सीप पर्दछ । अर्को क्षमता भनेको इमान्दारिता, सहनशीलता, मर्यादाका कुराहरु पर्दछ । यो दुईको फ्युजनले कुनै पनि व्यक्तिलाई राम्रो कर्मचारीमा स्थापित गर्न सक्छ । एउटा कर्मचारीमा हेर्ने प्यारोमिटर यही हो । अहिले इमान्दारीता पक्ष समान छ । त्यसकोे लागि हामीले अन्यथा भन्न मिल्दैन । अहिलेको जनशक्तिमा पढाइ वा विभिन्न सञ्चार माध्यम, हाइटेक मिडिया लगायतको कारण उनीहरुमा विषय वस्तु बुझ्ने पावर, टाइम फ्रेम तत्कालिनको अवस्थाको भन्दा चाँडो विकास भएको देखिन्छ । कार्य सम्पन्न गर्ने क्षमता नयाँ पुस्तामा पहिलेकोभन्दा अहिले बढी भएको हो कि भन्ने महशुस हुन्छ । बीमा क्षेत्रको इन्डस्ट्रिज छोडेर जाने क्षेत्र भनेको बैंकिङ क्षेत्र हो । बीमामा काम गरिसकेपछि निजी क्षेत्रमा जान सक्दैनन् । यहाँ केही निश्चित सुविधा, जब सेक्युरीटी र कानूनी नियम छ । आफ्नो दक्षता र पर्फमेन्सको आधारमा करीयर ग्रोथ गर्न सकिन्छ । त्यसैकारणले निजी क्षेत्रमा गएर काम गर्नु हिच्किचाउँछन् । त्यसैले बीमा छेत्रमा काम गरेकाहरु हत्तपत्त यो क्षेत्र छोडेर अन्त जाँदैनन् । चाँडो गर्ने, धैर्य गर्न नसक्ने, जम्प गर्न खोज्नेहरु बीमा क्षेत्रमा आउँदैनन् । त्यस्ता प्रोफेशनल बीमा क्षेत्रमा आए भने चाँडै छोडेर जान्छन् । त्यस्ता महत्वकांक्षीहरुलाई इन्स्योरेन्स कम्पनीले थेग्न पनि सक्दैन, राख्न पनि सक्दैन र उनीहरु बस्दैनन् पनि । समग्रमा बीमाको अन्तर्राष्ट्रिय अवस्थाको कारण युवा पुस्ता यस क्षेत्रमा आकर्षित हुन सक्छन् । बीमा क्षेत्रले बृद्धि गरिरहेको छ । सुशासीत हुन सजिलो छ । मोनिटरी हिसाबले कसैलाई मोटीभेट गर्न सकिँदैन । नयाँ ढंगले बीमा अघि बढ्छ भन्ने सोच राज्यमा पनि आएको छ । बीमालाई अर्थतन्त्रको मेरुदण्डको रुपमा हेरिएको छ । यो क्षेत्र अबको दिनमा वृहत्त गरि फैलन सक्छ । सामान्यतया ५८/६० वर्षको उमेर रीटायरमेन्ट एज हो । बीमा क्षेत्रमा त्योभन्दा पछि पनि काम गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रुपमा हेर्दा बीमा क्षेत्रमा आफ्टर रीटायरपछि पनि जागिर पाइने गरेको छ । विश्वास गरे तत्काल बीमा गर्न सकिन्छ । रीटायरपछि पनि कानूनी रुपमा आर्थिक स्रोतको रुपमा उपयोग गर्न सकिन्छ । कानूनी रुपमा अभिकर्ता भएर काम गर्न सकिन्छ । त्यसको पारिश्रमिक समेत बीमा समितिले निर्धारण गरेको छ । यो जीवन रहेसम्म, शरीर चलेसम्म काम गर्न सक्ने क्षेत्र हो । निश्चित समयसम्म काम गरिसकेपछि अनुभवको कारण सर्भेयर भएर पनि काम गर्न सकिन्छ । बीमाको काम बृद्धि भइरहेको छ । रीटायरमेन्ट भइसकेपछि पनि क्षमताले भ्याएसम्म काम गरिरहन सकिन्छ । भर्रखरै संशोधित सुशासन निर्देशिका आएको छ । त्यहाँ कर्मचारी विनियामावली बीमा समितिबाट पास गर्नुपर्छ भन्ने व्यवस्था छ । त्यसले ठूलो महत्व राख्दछ । कर्मचारीहरुको स्ट्यान्डर नम्स बीमा समितिले बनाउन खोजेको छ । त्यसले कर्मचारीहरुलाई हौसला मिल्छ । (पन्त एनएलजी इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत हुन् ।)