नेपाल मोबिलिटी एक्स्पोमा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकल सार्वजनिक

काठमाडौं । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी ३५२ एक्स र टी २५२ एक्स पहिलो पटक सार्वजनिक गरेको छ।  इटालीयन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू(भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टी ३५२ एक्स उच्च प्रदर्शन र साहसिक क्षमताको एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो ।  यसमा ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन, ४०.९ एचपी, ८ हजार ५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६- स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७-इन्च टीएफटी डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत)। रहेको छ । साथै यसमा मल्टी-लिङ्क रियर सस्पेन्सन र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध छ । यसको शोरुम मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने नाइमा मोबिलिटी एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिन्छ ।  मोर्बिडेली टी २५२ एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन ( ३३.५ एचपी, १२ हजार आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६- स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच रहेको छ । साथै यो १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क र टीएफटी डिस्प्लेमा पनि उपलब्ध छ ।   मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै एक्स्पोमा बेनेलीका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ ।

नाइमा मोबिलिटी एक्स्पोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।  एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज, भोलि’,  ‘वर्कफोर्स डेभलपमेन्ट,’  र ‘सेफ मोबिलिटी’  जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ ।  तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज    

नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी सिगल सार्वजनिक, मूल्य २८.९५ लाखदेखि सुरु

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नयाँ इलेक्ट्रिक ह्याचब्याक 'बीवाईडी सिगल' सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले उक्त गाडी सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २८.९५ लाख रुपैयाँ तोकेको छ । साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साजन श्रेष्ठ र ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले संयुक्त रूपमा गाडीको अनावरण गरे । बीवाईडी सिगल दुई भेरियन्टमा उपलब्ध छस् डाइनामिक र प्रिमियम। डाइनामिक भेरियन्टले एक पटकको फुल चार्जमा २३० किलोमिटर र प्रिमियम भेरियन्टले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।  नवीनतम डिजाइन, आकर्षक मूल्य र दिगोपनलाई एकसाथ समेटेको बीवाईडी सिगलले नेपाली शहरी क्षेत्रका ग्राहकहरूलाई विशेष लक्षित गरेको छ। अन्तर्राष्ट्रिय बजारमा यो गाडीले 'वर्ल्ड कार अवार्ड' जस्ता प्रतिष्ठित पुरस्कार जित्नुका साथै १ मिलियनभन्दा बढी युनिट बिक्री भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेसडर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले आफूले साढे दुई वर्षदेखि बीवाईडीको गाडी प्रयोग गरिरहेको र अहिलेसम्म कुनै समस्या नआएको बताए ।   उनले भने,  'मैले यो गाडीलाई कठिन ठाउँहरूमा पनि लगेको छु, तर यसको प्रदर्शन र विश्वसनीयताले मलाई कहिल्यै निराश पारेन । बीवाईडी फ्याक्ट्रीको भ्रमणपछि म यसको प्रविधि र गुणस्तरप्रति झनै विश्वस्त भएको छु ।' त्यस्तै, कार्यक्रममा उपस्थित अर्का व्यक्तित्व सुदिप गिरीले आफू लामो समयदेखि इलेक्ट्रिक गाडीको प्रयोगकर्ता भएको र बीवाईडीको प्रविधिप्रति विश्वस्त भएर नै यो ब्राण्ड रोजेको बताए । यस्तै, अश्मी श्रेष्ठले बीवाईडी चीनमा नम्बर एक ब्राण्ड भएको र यसको उत्पादन प्रक्रिया र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको रहेको आफ्नो अनुभव सुनाइन् ।  उनले भनिन्, 'बीवाईडीले हरेक मूल्य श्रेणीका लागि गाडी उपलब्ध गराएको छ र सिगलको आगमनले ग्राहकलाई थप विकल्प दिएको छ । म सबैलाई ढुक्क भएर बीवाईडी खरिद गर्न आग्रह गर्दछु ।' आकर्षक मूल्य र उत्कृष्ट फिचरहरूका साथ सार्वजनिक भएको बीवाईडी सिगलले नेपाली इलेक्ट्रिक गाडी बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।