नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै
काठमाडौं, १३ भदौ । भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं अटो शो हुँदैछ । नजिकिँदै गरेका चाडबाडलाई लक्षित गरेर आयोजना हुँदै आएको अटो शोमा सहभागी अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गर्दैछन् । केहि कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरिसकेका छन् भने केहिले शोकै दौरान सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । टाटाले ल्यायो टिआगो मोटर, मूल्य २२ लाख ५५ हजार रुपैयाँ नजिकिँदै गरेको चाडबाडका अवसरलाई छोपेर आयोजना गरिएको अटो शोको पुर्व सन्धयामा टाटा मोटर्सले नयाँ उत्पादन टिओगो नेपाली बजारमा भित्र्याएको हो । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याचव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका थिए । अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १ दशमलब २ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ । कार बिग्रेमा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । टिआगोको बजार मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । यो कार सन् २०१६ को फेब्रुअरीमा भारतमा पहिलो पटक बिक्री शुरु गरिएको थियो । हाल यो कार भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले ओगटेको कम्पनीको दावी छ । रेनाउल्टको डस्टर र क्विड आयो रेनाउल्ट कम्पनीको ह्याच ब्याग सेगमेन्टका कार डस्टर र क्विड नेपाली बजारमा भित्रिएका छन् । रेनाउल्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत सुमित सावानीको उपस्थितीमा नेपाली बजारमा भित्र्र्याइको हो । बिशाल ग्रुपको एडभान्स अटोमोबाइल प्रालीले रेनाउल्टको कार नेपाली बजारमा भित्र्याएको हो । अटो शोमा व्यापाक बजारीकरण गर्ने उदश्यसहित रेनाउल्टका कार नेपाल भित्र्याएको एडभान्स अटोमोबाइल प्रालीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले बताए । कियाको स्पोर्टेएज नयाँ लुक्ससहित किया मोटर्सको एसयुभी गाडी स्पोर्टेज नयाँ लुक्ससहित नयाँ भर्सनमा आएको छ । नाडा अटो शोलाई लक्षित गरेर कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले स्पोर्टएजलाइ नेपाली बजारमा भित्र्याएको हो । यसमा पहिलेभन्दा स्पोर्टी लुक्स थपिएको छ भने सेफ्टी फिचर्सहरु पनि बढाइएको छ । १९९९ सीसीको इञ्जीन छ रहेको कारले शहरी इलाकामा प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो कार डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध छन् । यसका ८ वटा भेरियन्टहरु नेपाली बजारमा ल्याएको छ । तीमध्ये पनि पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । एलएक्स वान, एलएक्सटु र इएक्स वान पेट्रोल भर्सनका स्पोर्टएज हुन् । त्यसैगरी डिजेल इञ्जिनमा ६ वटा भेरियन्ट उपलब्ध छन् । एलएक्स वान, एलएक्स टु, इएक्स वान, इएक्स टु, इएक्स (अटो ट्रान्समिसन) भेरियन्ट नेपालमा आएको छ । क्रुस कन्ट्रोल, फगलाइट, डे टाइम रनिङ लाइट, १९ इन्चसम्मको एलो ह्वील लगायतका स्पेशल फिचर्सहरु पनि गाडीमा छन् । स्पोर्टएज विभिन्न आठ कलरमा उपलब्धे छन् । क्लीयर ह्वाइट, स्नो ह्वाइट पर्ल, स्पार्किङ सिल्भर, मिरल सिल्भर, पेन्टिया गोल्ड, फेरि रेड, मर्करी ब्लु र चेरि ब्ल्याक रंगमा स्पोर्टेज उपलब्ध छ । पेट्रोल इञ्जिनको एलएक्स वानको बजार मूल्य ७६ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ७८ लाख ९५ हजार र र इएक्स वानको ७९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डिजेल इञ्जिन तर्फ भने एलएक्स वानको मूल्य ९२ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ८४ लाख ९५ हजार, इएक्स वानको ८५ लाख ९५ हजार, इएक्स टुको ८७ लाख ९५ हजार र इएक्स (अटो ट्रान्समिसन)को ८९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डाट्सुन रेडी गो कार नेपाली बजारमा, १३ लाख ९९ हजार मूल्य डाट्सुनको रेडी गो कार नेपाली बजारमा साउन ११ गते नै भित्रिएको हो । साधारण आम्दानी भएका नेपालीहरुलाई समेत कार चढ्ने अवसर प्रदान गर्न भन्दै डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्र्याएको पायोनियर मोटो कर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले बताए । नयाँ कारको मुल्य जम्मा १३ लाख ९९ हजार तोकिएको छ । विभिन्न पाँच रंगमा उपलब्ध हुने डाट्सुन रेडी गो कारले न्युनतम इन्धन खपत दिनेछ । यो कार सेतो, सिल्भर, ग्रे, रुबी र लाइम रंगमा उपलब्ध छन् । प्रतिलिटर २५ दशमलब १७ किलोमिटरको माइलेज, वृहत सेफ्टी प्याकेज, ३० हजार किलोमिटरको वारेन्टी सुबिधा रहेको छ । दुई वर्षअघि देखि नेपाली बजारमा भित्रिएका डाट्सुनका ८ सय वटा कार बिक्रि भैसकेका छन् । पायोनियर मोटोकर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले न्युन आय भएका नेपालीहरुका लागि समेत अब कार चढ्ने सपना पुरा हुने बताए । मासिक २५र३० हजारको आम्दानी गर्ने नेपालीहरुका लागि पनि कार चढ्ने कुरा कठिन नहुने उनलको दावी छ । हाल डाट्सुनले देशभरका १० वटा डिलरबाट कार बेच्दै आएको छ । जापानी कम्पनीको डाट्सुन कार ८ सय सिसीमा उपलब्ध छ । अशोक लेलैण्डको प्यासेजर भेइकल आउँदै नाडा अटो शो २०७३ मै आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरु भित्र्याउँदैछ । यु२५१८ टिपर र लाइट कमर्सियल भेइकल दोस्त ल्याउन लागेको हो । नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानी कर्ताहरुको मन जित्न सफल मानिएको दोस्त प्यासेञ्जर नामक अर्को एसीभी गाडीको सफ्ट लञ्च गर्दैछ । त्यसको बुकिङ पनि आरम्भ हुँदैछ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी सनसाइन स्कुल बसको पनि अटो शोमै कन्सेप्ट लञ्च गरिँदैछ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने जानकारी दिए । टोयोटाको इनोभा आउँदै टोयोटा कम्पनीको आधिकारीक नेपाल बिक्रेता युनाटेड टे«डर्स सीण्डीकेटले टोयोटाको इनोभा एसयुभी कार बजारमा ल्याउँदैछ । नाडा अटो शोकै दौरान सो कार सार्वजनिक गरिने कम्पनीले जनाएको छ । हुण्डाइको टक्सान नयाँ मोडलमा यसैबिच, हुण्डाईले नेपाली बजारमा राम्रो हिस्सा ओगट्न सफल टक्सान कारको नयाँ मोडल अटो शोकै दौरान सार्वजनिक गर्ने जनाएको छ । आइसरको प्रो सेरिज पनि नयाँ मोडलमा आइसर मोटर्सको नेपाली बिक्रेता बतास अर्गनाईजेसनले आइसर प्रो सेरिजिका सवारी साधनको नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । करिब छ महिना पहिले नै प्रो सेरिज नेपाली बजारमा भित्र्याएको कम्पनीले त्यसको सफलतासँगै नयाँ मोडलमा ल्याउन लागिएको जनाएको छ । नेपाली बजारमा उपस्थिती जनाएका अधिकांश कम्पनीहरुले कुनै न कुनै प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको नाडाले जनाएको छ । नेपालमा गत आर्थिक वर्षमा ६५ अर्ब ६९ करोड मुल्य बराबरका सवारी साधन तथा तिनका पार्टपुर्जा आयात भएको थियो । नेपाली सडकमा २३ लाख ३९ हजार एक सय ६९ वटा सवारी साधन गुडिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
टाटा मोटर्सको टिआगो नेपाली बजारमा, मूल्य २२ लाख ५५ हजार रुपैयाँ
काठमाडौं, १३ भदौ । टाटा मोटर्सको नयाँ उत्पादन टिओगो आइतबारदेखि नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याजव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको लागि बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका छन् । जोनी ओम्मेनले सबैले रोजेको र खोजेको ह्याचव्यक टिआगो नेपाली बजारमा बिक्री शुरु गर्न पाएकोमा खुशी व्यक्त गरे । अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ । गाडी बिक्रीपछिको सेवालाई निकै जोड दिएको कम्पनीले जनाएको छ । टाटा मोटर्सले गाडीका उपभोक्तालाई छिटो सुविधा दिन टाटा मोटर्स कनेक्ट एप्लिकेशन सुविधा समेत बनाएको छ । कार विग्रेको अवस्थामा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । सन् २०१६ को फेब्रुवरीमा भारतमा पहिलो पटक बिक्री शुरु भएको यो गाडी भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । यस कारको बारेमा नेपालमा गरिएको सर्बेक्षण रिपोर्टले अत्याधिक रुचाएको देखाएपछि नेपालमा भित्र्याउने निर्णय भएको श्रेष्ठले बताए । हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले लिएको उनले बताए । भारतमा करिव ९० लाख टाटा गाडी गुडिरहेको कम्पनीले जनाएको छ ।
लुब्रिकेन्ट्स, टायर र ट्यूव उद्योग तत्काल विकास गर्न सकिन्छ-कृष्णप्रसाद दुलाल
कृष्णप्रसाद दुलाल, महासचिव–नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल नाडा अटोमावाइल्स एसोसिएशन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलाल युवा उद्यमी हुनुहुन्छ । नेपालमा उत्पादन मुलक उद्योग चलाउनु सबैभन्दा कठिन व्यवसाय मानिन्छ । तर दुलालले उद्योग क्षेत्रमा नै सफलता हासिल गर्दै आउनु भएको छ । उहाँको उद्योग पूर्वाञ्चल ल्यूव आयलले नेपाली बजारमा महत्वपूर्ण स्थान लिईसकेको छ । प्रस्तुत छ अटोमोवाइल्स क्षेत्रमा उद्योगको अवस्था र यस क्षेत्रको भविष्यबारे केन्द्रित उहाँसँग गरिएको विकास वहस । नेपालमा अटोमोवाइल्स बजारमा वार्षिक करिब ५००० करोड रुपैयाँ बराबर कारोबार हुन्छ । तर सबै आयातित बस्तु बिक्री हुन्छ । आन्तरिक उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ ? तपाईले भने जस्तै नेपालको अटोमोवाइल्स क्षेत्रमा वार्षिक करिब ५००० करोड रुपैयाँको कारोबार हुने हुन्छ । त्यसमा उद्योगको हिस्सा धेरै कम छ । अटोमोवाइल्स उद्योगको विकास गर्न सरकारको भूमिका बढी हुन्छ । सवारी निर्माण सम्बन्धी उद्योग लगाउन ठूलो पूर्वाधार चाहिन्छ । नेपालमा जग्गा यसरी खण्डिकरण भयो कि ठूला उद्योग लगाउनु पर्यो भने आवश्यक जमिन पनि पाईदैन । दोस्रो, उद्योग लगाउन विद्युतको अभाव छ । अटोमोवाइल्ससँग सम्बन्धित उद्योगमा बिजुली धेरै चाहिन्छ । हामीकहाँ दैनिक १२/१४ घण्टासम्म लोडसेडिङ हुन्छ । यो समस्या कहिले समाधान हुन्छ, त्यो अनिश्चित छ । तेस्रो, नेपालमा भएका उद्योगहरुको पनि सहि व्यवस्थापन र प्रवद्र्धन हुन सकेको छैन । यस्तो अवस्थामा नयाँ उद्योगमा लगानी आकर्षित हुनसक्दैन । बिजुली, सडक, पानी, ढल, सुरक्षा प्रबन्धसहितको व्यवस्थित औद्योगिक क्षेत्र छैन । यस्ता पूर्वाधार निर्माणतर्फ सरकारको तर्फबाट गर्नु पर्ने लगानी भएन । उत्पादन मुलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमको प्रस्थान विन्दु के हुन सक्छ ? पहिला भएका उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ । भएका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन हुने वातावरण बनाउनुपर्छ, भलै १० वटा उद्योग मात्र किन नहोस् । अटोमोवाइल्स क्षेत्रमा सबैभन्दा बढी सम्भावना टयर उद्योगमा छ । गोरखकाली टायर उद्योगले गुणस्तरीय उत्पादन गरेको पनि हो । त्यो उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्न सकिन्छ । गोरखकाली जस्ता २/३ वटा टायर उद्योग नेपालमा चल्न सक्छन् । त्यस्तै, नेपाली लुब्रिकेन्ट्स उद्योगहरुलाई अलिकति प्रोत्साहित गर्ने हो भने कुल बजारको ५०/६० प्रतिशत हिस्सा नेपाली लुब्रिकेन्ट्सले लिन्छ । त्यति मात्र भयो भने वार्षिक १५ अर्ब रुपैयाँ भन्दा बढीको बजार नेपाली उत्पादनले लिन्छ । त्यसपछि ट्युब उत्पादन गर्ने उद्योग निर्माण गर्न सकिन्छ । हेलमेट उत्पादन गर्ने उद्योग चलाउन सकिन्छ । गाडीका सजावटका सामान बनाउन सकिन्छ । एसेसरीज उत्पादन गर्न सकिन्छ । शुरुमा एसेम्बिलिङ उद्योगलाई ल्याउन सक्नुपर्छ । त्यसपछि क्रमश फुलफेजको उद्योगहरु सञ्चालनमा आउन सक्छन् । समग्रमा उद्योगको विकास गर्नको लागि सरकारी निकायको नेतृत्वमा रहेका व्यक्तिहरुमा इच्छाशक्ति आवश्यक छ । हालको नीतिमा केही सुधार जरुरी छ । लुब्रिकेन्ट्सको बजार कस्तो छ ? राम्रो छ । गत आर्थिक वर्षमा लुब्रिकेन्ट्सको बजार ३० प्रतिशत विस्तार भएको छ । लुब्रिकेन्ट्स बजारको करिव ३३ प्रतिशत नेपाली उत्पादनले लिएको छ भने ६७ प्रतिशत आयातित लुब्रिकेन्ट्स प्रयोग हुन्छ । नेपाली उत्पादनलाई प्रयोग गर्ने सरकारी नीति लागू मात्र गरिदिने हो भने पनि बजार धेरै विस्तार हुन्छ । कच्चा पदार्थको भन्सार थोरै मात्र छुट दिएमा नेपाली लुब्रिकेन्ट्सले कुल बजारको ५० प्रतिशत लिन्छ । तपाई नाडाको नेतृत्व तहमा हुनुहुन्छ । यस्ता नीतिगत एड्भोकेशीका विषयमा नाडाले के भूमिका खेलिरहेको छ ? नाडाले काम गरिरहेको छ । हरेक पटक बजेट बनाउने समयमा हामीले यो क्षेत्रमा गर्न पर्ने सुधारका लागि विभिन्न सुझाव दिँदै आएका छौं । तर सरकार छिटोछिटो परिवर्तन हुने भएकोले, मन्त्री, सचिव, विभागीय प्रमुखहरु परिवर्तन भईरहनाले बुझाउन र त्यसलाई कार्यान्वयन गराउन गाह्रो भयो । बनेका नीति र कार्यक्रमहरुका कार्यन्वयन पनि हुन सकेन । ९/९ महिनामा सरकार परिवर्तन हुन्छन् र सबै सरकार असफल हुँदै ढल्दै गरेका छन् । अटोमोवाइल्स बजारको विकास कुन अवस्थामा छ ? विकासको शुरुवात मात्र भएको छ । यो बजारको विस्तार वार्षिक २५/३० प्रतिशतले भईराखेको छ । अझै २० वर्षसम्म यस्तो वृद्धिदर कायम नै रहन्छ । सडक विस्तारका काम भईराखेका छन् । रोडको पहुँच विस्तारसँगै, निजी सवारी, सार्वजनिक सवारी, ढुवानीका सवारी, निर्माण क्षेत्रमा प्रयोग हुने हेभिइक्वीप्मेन्ट लगायत सबै प्रकारका सवारीको माग बढ्छ । कम्तिमा ४/५ जनाको परिवारमा एउटा कार, कुल जनसंख्याको ७०/८० प्रतिशतसँग मोटरसाईकल भएको अवस्थामा बल्ल अटोमोवाइल्स बजार विकसित भयो भन्न सकिन्छ । अहिले कुल जनसंख्याको करिव ७ प्रतिशत जनतासँग निजी सवारी छ । ७५ प्रतिशत नेपालीसँग मोटरसाईकल र ५० प्रतिशत नेपालीसँग चार पाङ्ग्रे सवारी भएकोमा मात्र यो क्षेत्रलाई विकशित अवस्थामा पुगेको भन्न सकिन्छ । अहिले नै राजधानीमा पाँच किलोमिटर पार गर्न १/२ घण्टा बिताउनुपर्छ । तपाईले भने जस्तो ५० प्रतिशत नेपालीसँग चार पाङ्ग्रे सवारी र ७५ प्रतिशतसँग मोटरसाईकल हुने हो भने ट्राफिक म्यानेजमेन्ट कसरी हुन्छ ? राजधानीको २२ किलोमिटरको चक्रपथ भित्रको समस्यालाई मात्र हेरेर सिङ्गो नेपालको अटोमोवाइल्स क्षेत्रबारे कुरा गर्नु गलत हुन्छ । बल्ल सबै जिल्ला सदरमुकाममा बाटोले छुदैछ । हरेक निर्वाचन क्षेत्रमा सडक पुर्याउने नीति भरर्खरै बन्दै छ । हरेक गाविसमा सडक जोड्ने, हरेक गाउँ र बस्तीमा बाटो पुर्याउने योजना अझै बनेका छैनन् । राजधानी लगायतका सहरी क्षेत्रमा नयाँ रिङरोड खोल्ने, ओभरफ्लो ब्रिज बनाउने, फष्ट ट्रयाक बनाउने काम गर्नु जरुरी छ । वाहिरी चक्रपथ बनाउने १० वर्ष पुरानो योजना अझै कार्यान्वयन भईराखेको छैन । यतिबेला अण्डरग्राउण्ड मेट्रो रेल निर्माणतर्फ काम शुरु हुनु पर्ने हो । हरेक जनताको पहुँचमा यातायातको साधन पुग्नुपर्छ । राजधानीबाहिर घण्टौ कुर्दा पनि सार्वजनिक यातायात नपाएको अवस्था छ । नेपालमा सवारी दुर्घटना अधिक हुने गरेको छ, यसको कारण के हुन् ? दुर्घटना कम कसरी गर्न सकिन्छ ? सडक दुर्घटना नाडाको पनि विशेष चासोको विषय हो । यो विषयलाई हामीले धेरै पहिलेदेखि उठाउँदै आएका छौं । सवारी दुर्घटना हुनुमा ड्राईभरको लापरवाही प्रमुख कारण हो । ड्राईभरलाई न्यूनतम शिक्षा पनि भएन । उनीहरुको क्षमता विकासको लागि तालिम दिने निकाय पनि भएन । मेडिकल कलेज खोल्न लडाई भईराखेको छ, नर्ससिङ कलेज खोल्ने होडबाजी छ, फेशन कलेज खुलेका छन् तर ड्राइभिङ शिक्षा दिने कलेज खुलेका छैनन् । सडकमा एउटा गाडीले अर्को गाडीलाई जित्न खोज्ने प्रतिस्पर्धाले धेरै दुर्घटना भएका छन् । यातायात क्षेत्रमा भएको सिण्डीकेटले पनि सवारी दुर्घटना गराईराखेको छ । सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने, स्वस्थ्य प्रतिस्पर्धा गर्न नपाउने, नयाँ गाडी नहाल्ने, धेरै पुराना र राम्ररी मर्मत नभएका सवारी चलाउने अभ्यासले पनि दुर्घटना हुने गरेको छ । तेस्रो, सडक राम्रो नभएकाले पनि दुर्घटना हुने गरेको छ । कच्चि सडक, खाल्टाखुल्टी भएको सडक, साँगुरो सडक, इन्जिनियरिङ नाप नभई हचुवाको भरमा बनेका सडकका कारणहरुले पनि दुर्घटना हुने गरेका छन् । सवारीमा नक्कली पार्टस्को प्रयोगले पनि समस्या छ । स्पेर पार्टसमा भन्सार दर ३० प्रतिशतबाट ५ प्रतिशतमा झार्न सुझाव दिएका छौं । भन्सार घटाउने हो भने चोरी पैठारी पनि कम हुन्छ, डुब्लिकेट सामानको प्रयोग कम हुन्छ, स्पेयरपार्ट सस्तो भयो भने पुराना र बिग्रेका पार्ट नै मर्मत गरेर प्रयोग गर्ने अभ्यास कम हुन्छ । सवारी मर्मत गर्ने मेकानिक्सको क्षमता विकासमा हामीले ध्यान दिएका छैनौं । सवारी मर्मत गर्ने दक्ष जनशक्ति नभएका कारण विदेशबाट मेकानिक्सहरु ल्याउनु परेको छ । सिटिइभिटीले धेरै प्रकारका प्राविधिक जनशक्ति विकासमा काम गरेपनि वर्कशप चलाउने मेकानिक्सहरुको लागि तालिमका व्यवस्था गरेको छैन । हुँदा हुँदा ड्राईभर पनि विदेशबाट ल्याउनु पर्ने अवस्था छ ।