जियोनि पी सेभेन म्याक्स र एस सिक्स प्रो मोबाइल नेपाली बजारमा

काठमाडों, १६ असोज । दसैंको अवसरमा जियोनिले नेपाली बजारमा २ नयाँ स्मार्टफोनहरु ल्याएको छ । जियोनिले थप दुई एस सिक्स प्रो र पी सेभेन म्याक्स मोबाइन नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार पी सेभेन म्याक्समा अत्यन्त आकर्षक र चम्किलो डिजाइन रहेको छ । यसमा ५.५ इन्चको एच डि स्क्रिन रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्याश सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । रियर क्यामेरामा फास्ट शटर स्पिड र फास्ट फोकस यसको विशेषता हो । पी सेभेन म्याक्समा २.२ गिगाहर्जको अक्टाकोर मिडियाटेक पी टेन प्रोसेसर छ र ३१०० एम ए एचको ब्याट्री रहेको छ । यसमा ३ जी बि र्याडम र ३२ जी बि इन्टरनल स्टोरेज रहेको छ । अन्य जियोनि स्मार्टफोनझैं यसमा पनि डि टि एस साउन्ट प्रविधि छ । एन्ड्रोइड ६.० मा आधारित जियोनिको अमिगो ३.२ यु आई पी सेभेन म्याक्समा छ । बजारमा यसको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, एस सिक्स प्रो भने एस सिक्स एसको परिष्कृत मोडेल रहेको कम्पनीले जनाएको छ । ४ जी बि र्याम र ३२ जी बि स्टोरेज रहेको यो फोनमा ६४ बिटको अक्टाकोर १.८ गिगाहर्ज हेलियो पी टेन प्रोसेसर रहेको छ । फोनमा पूर्ण मेटालिक बडि रहेको छ जसमा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८०पी एफ एच डि २.५ डी वाटर ड्रप डिस्प्ले छ । एस सिक्स प्रोमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ । एस सिक्स प्रोमा फ्रन्ट फिङ्गरप्रिन्ट स्क्यानर पनि छ जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ । यो डुअल सिम सेटमा ३१३० एम ए एचको ब्याट्री र यु एस बि टाइप सी चार्जिंग छ । फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनिको आफ्नै यु आई अमिगो ३.२ छ । बजारमा यसको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो फोन सिल्भर, गोल्ड, र रोज गोल्ड रंगमा उपलब्ध छ ।

दसैँको वेला यातायात व्यवसायीको दादागिरी,सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने

काठमाडौं १६, असोज । दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन् । सिटअनुसार गाडी चलाउँदा घाटा हुने भन्दै व्यवसायीले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने नत्र एकतर्फी भाडा सरकारले दिनुपर्ने माग गरेका छन् । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ । यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’आइतबारको पत्रिका दैनिकदैनिकबाट ।

टिभीएसका दुई नयाँ शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालन

काठमाडौं, १३ असोज । शंकर ग्रुप अन्र्तगतको ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले दुई नयाँ आधुनिक शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालनमा ल्याएको छ । दुवै शो–रुम मार्फत टिभीएसका बाइक तथा स्कुटरका सबै रेञ्जहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त शो–रुममा टिभीएस अपाचे आरटीआर २००, ४ भी, अपाचे आरटीआर १६०, अपाचे आरटीआर १८०, जुपीटर, वीगो, जेष्ट, स्पोर्ट १००, फिनीक्स १२५ तथा स्टार सिटी प्लस ११० लगायत रहेका छन् । गत असोज १० गतेदेखि सञ्चालनमा आएका दुवै शो–रुममार्फत ग्राहकलाई फाइनान्स तथा एक्सचेञ्जको सुविधा समेत उपलब्ध हुनेछ । कम्पनीले ७१औँ शो–रुम नेपालको उद्योग नगरी वीरगञ्जमा सञ्चालनमा ल्याएको हो । वीरगञ्जमा टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताका रुपमा म्याक्स अटो प्रालि अनुबन्धित भएको हो । उक्त शो–रुमको आलोक काब्राले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा एक र्यालीको समेत आयोजना गरिएको थियो । उक्त र्यालीमा ५० जनाको सहभागिता रहेको थियो । त्यस्तै, कम्पनीले आफ्नो ७२ औं शो–रुमका रुपमा राजधानी काठमाडौको बालाजुमा नयाँ शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुम सञ्चालनका लागि आवर मोटर प्रा. लि. आधिकारिक बिक्रेताका रुपमा अनुबन्धित भएको छ । उक्त शो–रुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली सिनेमा क्षेत्रका कलाकार/नायक शिव श्रेष्ठले गरेका थिए ।