नेपाली बजारमा टेलिम्याटिक सिस्टमको जेसीबी लाइभलिंक सार्वजनीक
काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई टाढै बाटपनि नियन्त्रण गर्न सक्ने भएकोले महत्वका साथ नेपाली बजारमा पहिलो पटक सार्वजनीक गरिएको हो । जेसीवी लाइभलिंक अत्याधूनिक टेलिम्याटिक मनिटरिङ सिस्टमबाट चल्ने भएकाले मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई ब्यवस्थित गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्रविधिले जेसीवी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्यूरिटीबारे महत्वपूर्ण जानकारी दिने कम्पनीका प्रबन्ध निर्देशक विष्णु अग्रवालले जानकारी दिए । उनले भने– ‘यस प्रविधिमार्फत उपभोक्ताले मेसिनलाई प्रभावकारी र सुरक्षित तरिकाले प्रयोग गर्न सक्नेछन् । साथै यसको प्रयोगले मेसिनको अनधिकृत प्रयोग र चोरी हुनबाट समेत बचाउँछ ।’ जेसीवी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीवी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइभलिंकको प्रयोगले जेसीवीका मेसिन चोरीएको खण्डमा भूउपग्रहका माध्यमबाट सजिलै ट्रयाक गर्न सकिनेछ । यसले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोवाइल फोन प्रविधिमार्फत सूचना उपलब्ध गराउँछ । यसको प्रयोगले तोकिएको परिधिभन्दा बाहिर गएर मेसिन संचालन भएको खण्डमा प्रयोग अवधि, इन्धन खपत, इन्जिनको लोडलगायतका बारेमा सूचना दिनेछ । जसले गर्दा न्युनतम संचालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्न सक्ने कम्पनीले दावी गरेको छ । नेपालमा जेसीवीका ब्याकहो लोडर, ह्वील लोडिङ शोभेल, ट्रयाक्ट एक्साभेटर, भाइब्रेटरी कम्प्याटर, स्किड स्टिर लोडर र डिलर जेनसेटलगायतका उत्पादनहरु उपलब्ध रहेको जनाइएको छ । सन् २००३ मा वेलायती हेभी इक्विपमेन्ट ब्राण्ड जेसीवीलाई एमएडब्लु अर्थमुभर्सले आभिकारीक डिलरसिप लिएर नेपालमा भित्र्याएको थियो । नेपालमा जेसीवीका साढे दुईसय जना कर्मचारीहरु छन् भने दुई हजार भन्दा बढीलाई अपरेटर तालिम दिएर दक्ष जनशक्ति तयार पारिसकेको छ । जेसीवीले बिक्रिलाई नभइ बिक्रिपछिको सेवालाई बढी जोड दिएका कारण आफुलाई नेपालकै नम्वर वान हेभी इक्विपमेन्ट ब्रण्डका रुपमा स्थापित गर्न सफल भएको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । उनका अनुसार एमएडब्लु अर्थमुभर्सले ११ वटा शाखामार्फत जेसीवीका ग्राहकलाई देशभरी सेवा पु¥याइरहेको छ ।
चार रुटमा गुड्दै छन् साझाका बस, थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै
काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ । साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते बाटो अनुमति (रुट पर्मिट) का लागि पत्राचार गरेको थियो । सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटामा ३० वटा नयाँ र हाल सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले भने – “अब, एक÷दुई दिनमै रुट पर्मिट पाउने विश्वास लिएका छौँ । पर्मिट पाएलगत्तै बस सञ्चालन गर्ने तयारीमा छौँ ।” कार्यकारी अधिकृत पाण्डेका अनुसार उपत्यकाका प्रमुख गन्तव्यलाई समेटेर चारवटा रुटमा सेवा सञ्चालन गर्ने गरी रुट पर्मिट मागिएको छ । रुट नं १ मा लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी चोक हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी बस सञ्चालन हुनेछ । त्यस्तै, रुट नं २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगङ्गा, गौशाला, रातोपुल, जैनभवन, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, नयाँसडक, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार, बालाजु वाइपास हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी हुनेछ । रुट नं ३ अन्तर्गत कोटेश्वर, तीनकुने, मीनभवन, बानेश्वर, माइतीघर, सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, रविभवन, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म बस चल्नेछ । यी तीनवटै रुटमा नयाँ बस सञ्चालन हुने साझाले जानकारी दिएको छ । त्यसैगरी, रुट नं ४ मा ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, नयाँसडक, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, सहिद गङ्गालाल, हात्तीगौडा हुँदै बूढानीलकण्ठसम्म दुईतर्फी आठवटा पुराना बस सञ्चालन गरिने छ । साझासँग हाल नयाँ ३० समेत गरी ४६ वटा बस छन् । अबको केही दिनभित्रै उपत्यकामा साझाका ३८ वटाले सेवा दिनेछन् । बाँकी आठवटाले उपत्यका बाहिरका चार गन्तव्यमा नियमित जस्तै सेवा दिनेछन् । थप दश वटा डिलक्स बस सञ्चालन गरिँदै साझा यातायातले आफ्नो सेवा विस्तार गरी गुणस्तरीय सेवा दिन लामो दूरीमा थप १० वटा डिलक्स बस सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै उपत्यकामा एक ‘सेमी डिलक्स’ नमुनाका रुपमा सञ्चालन गरिँदै छ । साझाले आफ्नै स्रोतबाट डिलक्स बस खरिद प्रक्रिया अघि बढाएको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए । रासस
यातायात व्यवस्थाका थप कार्यालय, अनलाईनबाटै व्यवस्थित गर्ने निर्देशन पालन भएन
काठमाडौं २९, कात्तिक । यातायात व्यवस्था विभागका थप नयाँ कार्यालयहरू मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी साधनको दर्ता, नवीकरण र चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको चाप बढेर सेवाग्राहीले सास्ती भोग्नु परेपछि सरकारले तत्काल थप कार्यालय स्थापना गर्न दिएको निर्देशनअनुसार कार्यालय सञ्चालनमा ल्याउन लागिएको हो। थप तीन कार्यालय कलङ्की, चाबहिल र सल्लाघारीमा हुने छन् । यातायात व्यवस्था विभागका अनुसार उक्त तीन कार्यालयले पनि एकान्तकुनाको यातायात कार्यालयले जस्तै सवारी साधनसम्बन्धी सबै काम गर्ने छन् । कार्यालय स्थापनाका लागि बजेट र दरबन्दी स्वीकृत भइसकेको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए। उनका अनुसार थप कार्यालयमा २६ देखि २८ जना कर्मचारी उपसचिवको नेतृत्वमा रहने छन् । गएको भदौ ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई यातायात कार्यालय तत्काल थप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए। काठमाडौँमा दुई र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गर्न निर्देशन थियो । निर्देशनपछि १५ दिनभित्र थप कार्यालय सञ्चालनमा आउने बताइए पनि अहिलेसम्म कार्यालय सञ्चालनमा आउन सकेका छैनन् । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि स्कुल, कलेज वा घर भाडामा लिएर भए पनि एकैचोटि पाँच हजारसम्मको परीक्षा लिने व्यवस्था गर्न, नवीकरण, रुटपरमिट, कर लगायत कामलाई अनलाइनबाटै व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन थियो । तर, अहिलेसम्म यी कामहरू हुन सकिरहेका छैनन्। गोरखापत्र दैनिकबाट ।