रोडिज् सँगै यामाहा एफजी राइडरहरु लागे लोमान्थाङ

काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को औपचारिक सुरुवात काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ । नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्ने छन् । उनीहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमनदास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुनु भएका छन् । यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गरेका हुन् । ‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड वीथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ सेरेमनीमा राइडरहरुलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।’ ‘यामाहाका मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । हामीलाई आशा छ, यो यात्राले सहभागी एफजी राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरुबीच पनि अद्वितीय भातृत्वको विकास गराउनेछ ।’ उनले अगाडि भने । त्यसैगरी, सिईओ चिरञ्जीवी शाहले सबै राइड र टिमको सुरक्षित यात्राको कामना गरे । यामाहा द हिमालयन रोडिज् सिजन २ को मुख्य प्रायोजक हो ।

सिप्रदी ट्रेडिङ्ग प्रालि ‘अन्तराष्ट्रिय वितरक अवार्ड २०१८’ बाट सम्मानित

काठमाडौँ । टाटा मोटर्स लिमिटेड आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले युएइको दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘बर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ । विश्वभरिका वितरकहरुको कार्यहरुको मूल्यांकन गरी विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उद्देश्यका साथ हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो । बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचयका लागि बर्षको वितरक, सर्बश्रेष्ठ ग्राहक सेवा गरी विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ । यो उपलब्धि र सफलता ग्राहकहरुको भरोसा र बिश्वास, सम्पूर्ण कर्मचारीहरुको कठिन परिश्रम र इमान्दारिताले प्राप्त भएको कम्पनीले जनाएको छ ।

ललितपुर महानगरले पर्यटकलाई सुबिधा दिन विद्युतीय बस सञ्चालन गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ । यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् । उनका अनुसार बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ । उनले भने, “बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पुर्याउने हाम्रो लक्ष्य हो ।” पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए । पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए । उनले भने, “अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना छ ।” रासस