बिएस६ र एफआई इञ्जिनका साथ ‘हिरो स्प्लेन्डर आइस्मार्ट’ सार्वजनिक, माइलेज र टर्क पनि बढ्यो
काठमाडाैं । बीएस६ प्रदुषण मापदण्डको इञ्जिन बाहनहरुमा अनिवार्य हुनुपर्ने नियम भारतमा चाँडै लागू हुँदैछ । यही नियमलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालिसकेका छन् । यसै क्रममा हिरो मोटोकर्पले भने सबैलाई उछिन्दै आफ्नो पहिलो बीएस६-कम्प्लायन्ट मोटरसाइकल ‘२०१९ स्प्लेन्डर आइस्मार्ट’ आज भारतमा सार्वजनिक गरेको छ । नयाँ स्प्लेन्डर आइस्मार्टमा ११३.२ सीसी सिङ्गल-सिलिण्डर एफआई इञ्जिन समावेस गरिएको छ । हिरोले यस फ्युल इन्जेक्टेड इञ्जिनलाई ‘आइ थ्री एस स्टप-स्टार्ट’ टेक्नोलोजीका साथ पेस गरेको हो । यस इञ्जिनले पहिले भन्दा ०.५ पीएस कम पावर अर्थात् ९ पीएसको पावर प्रोड्युस गर्दछ । तर हिरोका अनुसार यस इञ्जिनले पहिले भन्दा १० प्रतिशत बढी टर्क अर्थात् ९.८९ एनएमको टर्क प्रोड्युस गर्नुको साथै केही बढी माइलेज समेत दिन्छ । यस मोटरसाइकलको डाइमेन्सन पनि पहिलेको भन्दा बढेर आएको छ । अहिले स्प्लेन्डर आइस्मार्टको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने यसको ह्विलबेसमा ३६ मिलिमिटरले र त्यसैगरी सस्पेन्सन ट्राभलमा चाहिँ १५ मिलिमिटरले वृद्धि भएको छ । हिरोले २०१९ स्प्लेन्डर आइस्मार्टमा नयाँ डाइमन्ड-टाइप फ्रेम दिएको छ । त्यसैगरी, यस इण्डियन मोटरसाइकल उत्पादक कम्पनीले नाइट राइडिङ्गलाई मध्यनजर गर्दै सो मोडेलमा पहिले भन्दा अझ बढि चम्किलो हेडलाइट पनि जडान गरेको छ । यस्ता परिमार्जन पश्चात् हिरोले नयाँ स्प्लेन्डर आइस्मार्टको मूल्यमा थोरै वृद्धि गर्दै भारतिय बजारमा यसको मूल्य ६४ हजार नौ सय रुपैयाँ तोकेको छ ।
५ करोडको लगानीमा खुल्यो अटो गार्डेन, साना गाडीको सबै काम मेसिनबाटै
काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । भरतपुर-१२ मिलनचोकमा १५ कठ्ठा जग्गामा अटो गार्डेन सञ्चालनमा ल्याएको व्यवसायी पाठकले बताए । अटो गार्डेनका लागि केही मेसिनहरु विदेशबाट केही दिनमा नै आइपुग्ने बताए । हाल सञ्चालनमा आइसकेको अटो गार्डेनबाट सबै मेसिन आइसकेपछि पूर्ण रुपमा सेवा शुरु हुने छ । अटो गार्डेनमा ३० जनाले रोजगारी पाएका छन् । थ्रीडी प्रविधिद्वारा हृवील अलाइमेन्ट नेपालमा नै पहिलोपटक अटो गार्डेनले प्रयोगमा ल्याएको पाठकले दाबी गरे । अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट अटो गार्डेनमा अत्याधुनिक मेसिन भित्र गाडी हालेर वास र पेन्ट गरिन्छ । यसरी मेसिन भित्र हालेर गाडीको वास र पेन्टिङ गर्दा नयाँ जस्तै चमक देखिन्छ । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा गाडीको आयु लामो हुने अटो गार्डेनका सञ्चालक पाठकले दाबी गरे । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा समयको बचत समेत हुनेछ । अत्याधुनिक प्रविधिमार्फत सर्भिसङ, पेन्ट, थ्रीडी प्रविधिद्वारा अलाइनमेन्ट, अटोमेटिक मेसिनमार्फत प्युरिफाई पानीद्वारा वास गर्ने र टायर चेन्जर लगायतका सेवा अटो गार्डेनले प्रदान गर्नेछ । अटो गार्डेनभित्रै क्याफेसमेत सञ्चालित छ । आफ्नो गाडी बनाउन आउँदा ग्राहकले क्याफेमा बसेर आनन्द लिन सक्छन् । देशैभर कार तथा जिप चढ्ने प्रयोगकर्ताहरुको संख्या बढेसँगै प्रविधिको प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट हुने गरी चितवनमै पहिलोपटक अत्याधुनिक मेसिन ल्याई अटो गार्डेन सञ्चालनमा ल्याइएको अटो गार्डेनका मेकानिकल इञ्जिनियर दिनेश पण्डितले बताए ।
हिरोको कन्सेप्ट बाइक ‘एक्स्ट्रीम १आर’ शोकेस, कहिले आइपुग्ला बजारमा ?
काठमाडाैं । इण्डियन मोटरसाइकल म्यानुफ्याक्चरर कम्पनी ‘हिरो’ ले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल शो मा आफ्नो १६० सीसी कन्सेप्ट मोटरसाइकललाई शोकेस गरेको छ । ‘एक्स्ट्रीम १आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको १५० सीसी ‘एक्स्ट्रीम स्पोर्टस्’ को स्थान लिने अनुमान गरिएको छ । ‘एक्स्ट्रीम १आर कन्सेप्ट’ ले एउटा प्रोपर स्ट्रीट फाइटरको लुक्स पाएको देख्न सकिन्छ । यसमा रहेको शार्प लाइनिङ्ग, एग्रेशिभ एलईडी हेडलाइट, मस्कुलर ट्याङ्क, ‘आर’ ब्याज, कलर कम्बिनेसन, रेज्ड टेल सेक्सन, सिङ्गल पिस सिट सेटअप लगायतले यस मोटरसाइकललाई एकदमै स्टाइलिस बनाएको छ । त्यसैगरी, यस मोटरसाइकलमा दिइएको अपसाइड डाउन फर्क, इञ्जिन फेयरिङ्ग र स्लिक टायरहरुले गर्दा एक्स्ट्रीम १आर ले प्रिमियम लुक्स पनि पाएको छ । यो एउटा कन्सेप्ट मोटरसाइकल मात्र भएको हुनाले उत्पादन भएर आइपुग्दा यसमा यी सबै फिचरहरु भने समावेश नहुन सक्छन् । यस कन्सेप्ट मोटरसाइकलमा १६० सीसीको विल्कुलै नयाँ एयर-कुल्ड सिङ्गल-सिलिण्डर इञ्जिन दिइएको छ । अन्य स्पेसिफिकेशनहरुका बारेमा हिरोले केहि नजनाएको भएता पनि प्रोडक्शन भएर आइसक्दा यस मोटरसाइकलले बिएस६ कम्प्लायन्ट फ्युल इन्जेक्टेड इञ्जिन पाउनेछ भन्ने अनुमान गरिएको छ । १५० सीसीको‘एक्स्ट्रीम स्पोर्टस्’ डिस्कन्टिन्यूड भए पश्चात हाल यस सेग्मेन्टमा टक्कर दिने हिरोको अन्य कुनै मोटरसाइकल नरहेको हुँदा एक्स्ट्रीम १आर बजारमा आएपछि भने उक्त सेग्मेन्टमा पुनः पकड कायम राख्न हिरो सफल हुनेछ भन्ने आँकलन गरिएको छ । हिरो एक्स्ट्रीम १आर प्रोडक्शन भएर २०२० को अन्त्य तिर बजारमा आइपुग्ने अनुमान गरिएको छ ।