यस्तो छ प्रिमियम ब्राण्ड ‘प्यूजो’ को अत्याधुनिक विशेषतायुक्त एसयूभी‘३००८ जिटि लाइन’, मूल्य एक करोड ३० लाख
काठमाडाैं । फ्रेन्च अटोमेकर कम्पनी ‘प्यूजो’ को नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । प्यूजोको हाल नेपाली बजारमा २००८, ३००८ र ५००८ गरी तिन मोडेल तथा तिनका भेरियन्टहरु उपलब्ध रहेका छन् । यी मध्ये कम्पनीले ३००८ जिटि लाइनको मूल्य भने एक करोड ३० लाख रुपैयाँ तोकेको छ । ३००८ जिटि लाइन एउटा प्रिमियम एसयूभी हो र यसका स्पेशल फिचरहरुका रुपमा रियर पार्किङ्ग सेन्सर्स, ८ इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२.३ इञ्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, प्यानारोमिक ओपनिङ्ग ग्लास रुफ, ब्लू एम्बियन्ट लाइटिङ्ग, ३ प्रि-सेट टेम्प्रेचर्स सहितको हिटेड फ्रन्ट सिटहरु, स्मार्टफोन चार्जिङ्ग प्लेट, १९ इञ्च डुअल टोन डाइमन्ड कट अलोए ह्विल्स, ड्राइभर सिट मल्टि प्वाइन्ट मसाज फंक्सन जस्ता विशेसताहरु रहेका छन् । सेफ्टि फिचर्सको रुपमा चाहिँ यस एसयूभीमा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल स्टार्ट असिस्ट, अटो सिटि इमर्जेन्सी ब्रेकिङ्ग, सेन्ट्रल लकिङ्ग जस्ता विशेषताहरु रहेका छन् । ३००८ जिटि लाईनमा प्रयोग गरिएको १५९८ सीसी पेट्रोल इञ्जिनले १६५ बीएचपीको पावर र २४० एनएमको टर्क प्रोड्युस गर्दछ । ४ ह्विल ड्राइभ सिस्टम भएको यस एसयूभीमा ६ अटोमेटिक गियरहरु रहेका छन् । त्यसैगरी, यस एसयूभीको फ्युल ट्याङ्क क्यापासिटि भने ५३ लिटर रहेको छ । प्यूजोको हाल नेपाली बजारमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेलका रुपमा ‘५००८’ रहेको छ भने सो को मूल्य कम्पनीले एक करोड ३८ लाख रुपैयाँ तोकेको छ ।
सुजुकीले शुरु गर्यो ‘इन्ट्रुडर २५०’ को उत्पादन, यस्ता हुनेछन् विशेषता
काठमाडौँ । जापनिज मोटरसाइकल मेनुफेक्चरर कम्पनी सुजुकीले ‘इन्ट्रुडर २५०’ को उत्पादनको काम शुरु गरेको छ । कम्पनीले यस क्रुजरलाई भारतमा हुने ‘अटो एक्स्पो’ मोटरसाइकल शोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । सुजुकीले जिक्सर २५० मा भएको एलईडी लाइट्स, ब्रेकिङ्ग सेटअप, डुअल च्यानल एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता फिचरहरु यस बाइकमा पनि दिने भएको छ । तर, यसको सस्पेन्सनलाई भने कम्पनीले यसको क्रुजिङ्ग नेचरलाई सुहाउँदो हुने गरी परिमार्जन गर्नेछ । त्यसैगरी, आरामदायक यात्राको लागि एउटा क्रुजरमा हुने लो सिट हाइट, अगाडितर्फ सेट गरिएको फुट पेग्स, रेज्ड हेण्डल बार जस्ता विशेषताहरु यस बाइकमा पनि समावेस गरिनेछ । इन्ट्रुडर २५० मा जिक्सर २५० मै दिइएको २४९ सीसी फ्युल–इन्जेक्टेड एसओएचसी इञ्जिन जडान गरिनेछ । यस इन्जिनले २६.५ पीएसको पावर र २२.६ एनएमको टर्क प्रोड्युस गर्दछ । तर, इन्ट्रुडरको क्रुजिङ्ग विशेषतालाई मध्यनजर गर्दै सुजुकीले यस इञ्जिनलाई भने थोरै परिमार्जन गर्ने अनुमान पनि गरिएको छ । त्यसैगरी सुजुकीका अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको हुनेछ । लञ्च पश्चात भारतीय बजारमा यस बाइकको मूल्य एक लाख ८० हजार रुपैयाँ तोकिने अनुमान गरिएको छ । नेपालका लागि सुजुकी टू–ह्विलर्सको आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रालिले हाल नेपाली बजारमा सुजुकीका विभिन्न मोडलहरुको बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पाइने १५५ सीसीको इन्ट्रुडरको मूल्य चाँही तीन लाख ३३ हजार नौ सय रुपैयाँ तोकेको छ ।
नेपाल भित्रियो रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’, कहिले होला सार्वजनिक ?
काठमाडाैं । इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले ‘इन्टरसेप्टर ६५०’ लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार केहि दिन अघि नै नेपाल भित्रिसकेको सो मोटरसाइकललाई अबको एक हप्ता भित्र सार्वजनिक गरिनेछ । ‘इन्टरसेप्टर ६५०’ लाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल-ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ । यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओएल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी, ६-स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ । कम्पनीका अनुसार १४ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको इन्टरसेप्टर ६५० ले २५ केएमपीएल हाराहारीको माइलेज र १६० केएमपीएच प्लसको टप स्पिड दिन्छ । यस मोटरसाइकलका दुबै चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने सेफ्टि फिचरको रुपमा डुअल-च्यानल एबीएस दिइएको छ । त्यसैगरी, यस मोटरसाइकलको रेट्रो लुक्स कायम राख्नका लागि यसमा कन्भेन्स्नल टेलिस्कपिक फर्क तथा ट्वीन शक एब्जर्बर्सहरुलाई सस्पेन्सनका रुपमा जडान गरिएको छ । विवेक अटोमोवाइल्सले जनाए अनुसार नेपालमा हाल इन्टरसेप्टर ६५० लाई मात्र सार्वजनिक गरिने छ भने रोयल इन्फिल्डकै ६५० सीसीको अर्को उत्पादन ‘कन्टिनेन्टल जिटि ६५०’ लाई चाहिँ केहि पछि मात्र नेपाल भित्र्याउने कम्पनीकाे योजना रहेको छ । नेपालमा लञ्च पश्चात इन्टरसेप्टर ६५० को बजार मूल्य १२ लाख रुपैयाँको हाराहारी पर्न आउने कम्पनीले जनाएको छ ।