नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल, व्यवसायीहरुलाई फेयर ट्रेडको अनुकरण गर्न सुझाव

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा विभागका महानिर्देशक दाहालले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्दै उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे आ आफनो धारणा राखेका थिए । सो छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरिदिनु पर्ने धारणा राखे । उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखी क्लियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए । यसै क्रममा उनले विल अफ एक्सपोर्टको कागज नआइकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजीकरण भएको र भन्सार विभागले अहिले झण्डै सतप्रतिशत आशिकुडा अनुसार कार्य गर्दे आएको बताए । त्यसैगरी,साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदैनाडा जस्तो संस्था मार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघसंस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको धारणा व्यक्त गरे । नाडासंग गरिएको समझदारीलाई आफना सवै सदस्यहरुमा पुर्याउनु पर्ने, व्यवसायको शुद्धीकरण आफैबाट शुरु गर्नु पर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नु पर्ने धारणा राखे । छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

टाटाले ल्याउँदै नयाँ प्रिमियम कार, भारतमा मूल्य ५ देखि ८ लाखसम्म पर्ने अनुमान

काठमाडाैं । टाटाले एक महिना अघि प्रदर्शन गरेको ‘एल्ट्रोज’ नामक ह्याचब्याक अटो जगततर्फ निकै चर्चाको विषय बन्न पुगेको छ । एल्ट्रोजलाई टाटाले आफ्नो प्रिमियम कारहरुको वर्गमा राख्नु र त्यसैगरी सो कार अन्य उत्पादनहरु भन्दा प्रिथक हुनुले पनि यो एउटा चर्चाको विषय बन्न पुगेको हो । खास के छ यसमा ? ‘एल्ट्रोज’ टाटाको इम्प्याक्ट २.० डिजाइनमा आधारित रहेर निर्माण भएको छ जसले गर्दा यसको डिजाइन एकदमै आकर्षक र प्रभावकारी बनेको छ । यस कारमा सनरुफ, १६-इञ्च लेजर कट अलोए व्हिल्स, ७-इञ्च टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ७-इञ्च फ्लोटिङ्ग टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेयरिङ्ग व्हिल, फुल अटोमेटिक एसी, क्रुज कन्ट्रोल, १५-लिटर कुल्ड ग्लोभ बक्स र ब्लू एम्बिएन्ट लाइट लगायतका विशेषताहरु समावेश हुनेछन् । सेफ्टि फिचरहरुको रुपमा चाहिँ टाटाले एल्ट्रोजमा एन्टि लक ब्रेकिङ्ग सिस्टम, इलेक्ट्रिोनिक ब्रेकफोर्स डिस्ट्रिब्यूशन सिस्टम, कर्नरिङ्ग स्ट्याविलिटी कन्ट्रोल सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर्स, चाइल्ड सेफ्टी लक, ड्राइभर र को-ड्राइभर सिट बेल्ट रिमाइन्डर र हाइ-स्पिड अलर्ट सिस्टमजस्ता विशेषताहरु समावेश गरेको छ । यस कारमा दुई अलग इञ्जिन अप्शनहरु उपलब्ध हुनेछन् । पहिलो इञ्जिन १.२ लिटरको ३-सिलिण्डर, रेभोट्रोन पेट्रोल इञ्जिन रहनेछ भने दोश्रो चाहिँ १.५ लिटरको ४-सिलिण्डर रेभोटर्क टर्बो डिजेल इञ्जिन हुनेछ । दुईओटै इञ्जिनहरु बीएस६ प्रदूषण मापदण्ड अनुरुपका हुनेछन् भने दुवै इञ्जिन ५-स्पिड म्यानुअल गियरबक्सका साथ उपलब्ध हुनेछन् । पेट्रोल इञ्जिनले ८६ एचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्नेछ भने डिजेल इञ्जिनले चाहिँ ९० एचपीको पावर र २०० एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार एल्ट्रोज पाँच अलग भेरियन्टहरु एक्सइ, एक्सएम, एक्सटि, एक्सजेड र एक्सजेड(ओ) मा उपलब्ध हुनेछ । लञ्च र मूल्य टाटाले जनाए अनुसार एल्ट्रोजलाई जनवरी २२ मा भारतमा आधिकारीक रुपमा सार्वजनिक गरिनेछ । हाल कारको मूल्य ताेकिनसके पनि भारतीय रूपैयाँ पाँच लाखदेखि आठ लाखसम्म पर्ने कम्पनीले अनुमान गरेकाे छ । लञ्च पश्चात एल्ट्रोजले मारुती सुजुकी बलेनो, होण्डा ज्याज, टोयोटा ग्लान्जा र हुण्डाई आई२० जस्ता कारहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

महिन्द्राका ‘एक्सयूभी-३००’ अब चितवनमा पनि, विभिन्न ६ रंगमा पाइने(मूल्य सहित)

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेडले अब चितवनमा पनि ‘एक्सयूभी-३००’  बिक्री वितरण शुरु गरेको छ । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राले आफ्नो स्पोर्ट्स यूटिलिटी भेइकल (एसयूभी) ‘एक्सयूभी-३००’ गण्डकी प्रदेश र बुटवल पश्चात चितवनमा बिक्री वितरण शुरु गरेको हाे । ‘एक्सयूभी-३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। समारोहमा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले भने- ‘हामी एक्सयूभी ३०० चितवनमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षापूर्ण नयाँ पुस्ताका महिन्द्रा सवारीसाधनहरूमध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।’ अग्नि ग्रुपका स्थानीय विक्रेता सेन्ट्रल अटो जोन प्रा. लि. चितवनका प्रबन्ध निर्देशक राजेन्द्र बताजुका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी-३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो । महिन्द्राको नयाँ एक्सयूभी-३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले चितवनमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग-लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रूपैयाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रूपैयाँ रहेकाे छ । त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रूपैयाँ, डब्लु ६ वर्गका लागि ४५ लाख रूपैयाँ, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार रूपैयाँ र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रूपैयाँ तोकिएको छ र यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी-स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क-ब्रेक, १७ इन्च अलोय-ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी-३०० निकै सुरक्षित गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम-टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्नेछ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्छ ।