दशैंमा नयाँ गाडी खरिदमा अफरः कार किन्नेलाई कारै उपहारदेखि ६ लाखसम्म दशैं दक्षिणा

काठमाडौं । यसपालीको दशैं आउन अब एक महिना पनि बाँकी छैन । व्यापारीहरुले दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व लक्षित अफरहरु सार्वजनिक गर्न थालेका छन् । दशैंअघि विशेष रुपमा नाडा अटोमोबाइल्स एसोसिएसनले अटोशो आयोजना गर्ने गरेको भएपनि कोभिड महामारीपछि रोकिएको छ । कोभिड महामारीपछि नै निजी सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण भने बढ्नेका विक्रेताहरुले बताउने गरेका छन् । सार्वजनिक सवारी साधनको प्रयोग गर्नेहरु पनि कोभिड संक्रमणबाट सुरक्षित हुनको लागि आफ्नो गच्छे अनुसार निजी सवारी साधन खरिद गर्न लागेका छन् । कोभिड संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउन, सटडान र निषेधाज्ञाको अवधीमा व्यापार व्यवसाय कम भएपछि विक्रेताहरुले पनि निजी सवारी साधन खरिद गर्नेहरुलाई अझ थप अफर दिन थालेका छन् । यसै सन्दर्भमा यसपालीको दशैं तिहार र छड पर्वलाई लक्षित गरी कुन कार खरिदमा के कस्तो अफर छ भनेर यो सामग्री तयार पारिएको छ । हुण्डाईको कार खरिदमा नयाँ आई–२० नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना ल्याएको छ । कम्पनीले सो योजना अन्तर्गत ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ र ३ लाख रुपैयाँसम्मको नगद छुटको योजना सार्वजनिक गरेको हो । साथै, स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको थप नगद छुट र निःशुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आवको) छुटका साथमा हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्ने जनाएको छ । सुजुकी गाडीमा २ लाख छुट, १ लाख ५० हजार एक्सचेन्ज बोनस पनि नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले अफर योजना अन्तर्गत ग्राहकलाई दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट दिने जनाएको छ । कम्पनीले क्लियरेन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको जनाउदै नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा अफर लागू हुने जनाएको छ । टाटाको गाडी किन्दा २ लाखसम्म छुट टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले दशैं तिहार योजना अन्तरगत २ लाखसम्मको नगद छुट दिने जनाएको छ । कम्पनी ‘यसपालीको दशैं तिहार, टाटाका सेफेस्ट कार’ हर्षमय परिवार योजना अन्तरगत नयाँ कार किन्ने ग्राहकलाई २ लाखसम्म नगद छुट, आकर्षक एक्स्चेन्ज अफर, निःशुल्क जेनुइन एसेशरिज, निःशुल्क स्वामित्व ट्रान्सफर सुविधा सार्वजनिक गरेको हो । यस्तै, १ वर्षको वार्षिक कर, डेलिभरी लिँदा स्पेशल गिफ्ट ह्याम्पर, ३ वर्षको वारेन्टी र निःशुल्क सर्भिस सेवा उपलब्ध गराउने जनाएको छ । प्रोटोनको ६ लाखसम्मको दशैं दक्षिणा चाडपर्व नजिकिए सँगै प्रोटोनले भदौ १७ गतेदेखि दक्षिणा सहितको ‘दशैं–दक्षिणा’ योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकले प्रोटोनको गाडीको खरिदमा १ लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्ने जनाएको छ । यस्तै कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन् । सबै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि ५० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म छुट दिने कम्पनीले घोषणा गरिसकेको छ । ड्याट्सनको गाडी किन्दा २ लाख ४१ हजार छुट नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले चाडवाडको अवसर पारेर नेपाली बजारमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ । कम्पनीले फेस्टिभ हट योजना अन्तरगत २ लाख ४१ हजार रुपैयाँ बराबरको विशेष सुविधा दिने जनाएको छ । जसमध्ये १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन् । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

दशैं तिहारमा बाइक किन्नेलाई उपहारः १५ लाख नगददेखि १२ तोला सुनको एक्का तास

काठमाडौं । नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक गर्न थालेका हुन् । कोरोना महामारीका कारण बिक्री कम भएका दुई पांग्रे बाइक तथा स्कुटर खरिदका लागि कम्पनीहरुले आर्कषण अफर सार्वजनिक गर्न थालेका छन् । कोभिड महामारी सुरु भएदेखि निजी सवारी साधनमा सर्वसाधारणको आकर्षण अझ बढ्न थालेको छ । कोभिड महामारी नियन्त्रण र रोकथामको लागि भन्दै सरकारले गरेको लकडाउन, सटडाउन र निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन संचालनमा कडाई गरिएको थियो । सरकारले गरेको यस्तो कडाईका कारण पनि सर्वसाधारणले सार्वजनिक सवारी साधनमा आवाज जावत गर्न समस्या भएको थियो । सोही कारण पनि निजी सवारीप्रति सर्वसाधारणको आकर्षण बढेको छ । यस्तै, बढी भिडभाड हुँदा सार्वजनिक सवारी साधनबाट कोभिड संक्रमण फैसन सक्ने सम्भावना बढी हुने स्वास्थ्य विदहरुले बताइरहेका छन् । यसैकारण पनि निजी सवारी साधन खरिद गरी आफूलाई सुरक्षित राख्न पनि सर्वसाधारणले निजी सवारीप्रति चासो बढाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कामकाजी मानिसलाई लक्षित गरी सवारी साधन खरिदको लागि सहजै कर्जा उपलब्ध गराउने गरेका छन् । कर्जा सहज पाइने, कोभिड संक्रमणको जोखिम कम हुने र आफ्नै सवारी साधन पनि हुने भएकोले पछिल्लो समय निजी सवारी साधनप्रति आकर्षण बढेको विक्रेताहरुले बताउने गरेका छन् । तुलनात्मक रुपमा सस्तो हुने र पार्किङको लागि खासै समस्या पनि नपर्ने भएकोले पछिल्लो समय मोटरसाइकल तथा स्कुटरप्रति आकर्षण बढेको छ । सर्वसाधारणको आकर्षण बढेको र ठूला चाडपर्व पनि आएको मौका पारेर बाइक र स्कुटर विक्रेताले विभिन्न प्याकेज ल्याएका छन् । यही सन्दर्भमा कुन कम्पनीले के कस्ता अफर र प्याकेजहरु ल्याएका छन् भनेर यहाँ जानकारी दिने प्रयास गरिएको छ । बजाजको बाइक किन्दा १ लाख छुटदेखि १० लाखसम्मको पुरस्कार बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाइक खरिदमा १ लाख १० हजार रुपैयाँ नगद छुटदेखि १० लाख रुपैयाँसम्मका पुरस्कारको घोषणा गरेको छ । कम्पनीले चाडपर्वलाई ध्यानमा राख्दै ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको हो । कम्पनीले ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार, खरीदको दौरानमा १ लाख र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने योजना ल्याएको छ । यामाहाको बाइक किन्दा १२ तोला सुनको एक्कातास यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले भदौ १६ गतेबाट ‘रेस फर द एस अफर’ ल्याएको छ । सो योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा २ पांग्रे सवारी साधन खरीद गर्दा तत्कालै स्योरसट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट तथा लक्की ड्रमा हरेक हप्ता एक जनालाई ४ तोला सुनको एक्कातास दिने जनाएको छ । कम्पनीले विजेताले लक्की ड्रकोभन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्ने समेत जनाएको छ । टीभीएसको अफरः ५ हजार ९९९ रुपैयाँ किस्तामा नयाँ बाइक टीभीएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले चाडपर्व अफर अन्तरगत ५ हजार ९९९ रुपैयाँ मासिक किस्तामा नयाँ बाइक दिने जनाएको छ । कम्पनीले चाडपर्वका लागि नै ‘ग्राण्ड एक्सचेन्ज मेला’ असोज १ गते भृकुटीमण्डपमा आयोजना गर्न लागेको छ । टीभीएसले सो मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल एक्स्चेन्ज गर्ने कुनै पनि ग्राहकले डाउन पेमेन्ट गर्नु नपर्ने योजना ल्याउने जनाएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल, एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीममा ल्याएको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने जनाएको छ । मोटरहेडको गोलाप्रथाबाट १ लाखसम्म छुट नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले भदौ २४ गतेदेखि दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक २४ गतेसम्म चल्ने सो अफर अन्तर्गत मोटरहेडका जुनसुकै मोटरसाइकल खरिदमा १२ हजार नगद छुटदेखि ८ हजार फाइनान्सिङको छुट दिएको छ । यस्तै, कम्पनीले अफर अवधिभर मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गर्ने जनाएको छ । बेनेलीको बाइक किन्दा २ लाख छुट इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले चाडपर्वका लागि थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल किन्नुभन्दा पहिले ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्दा १ लाख रुपैयाँ छुट, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर अन्तरगत १ लाख र मोटरसाइकल किनिसकेपछि ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट गरी २ लाख ५ हजारसम्मको छुट दिने जनाएको छ । होण्डा बिग बाइक खरिदमा १५ लाख पुरस्कार नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हरेक प्रदेशबाट होण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । पहिलो पटक सातै प्रदेशलाई समावेश गरेर छुट सार्वजनिक गरेको कम्पनीले छुट अविधिभर होण्डाका ग्राहकहरुले स्क्र्याच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार दिने समेत जनाएको छ । यस्तै, छुट योजना अन्तर्गत ग्राहकले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्रदान गर्ने जनाएको छ । त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास व्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत व्याजदरमा होण्डा खरिद गर्न सकिने अफर ल्याएको छ । होण्डा बिग बाइक खरिदमा सहभागी १ जनालाई १५ लाखसम्मको नगद पुरस्कार समेत दिने कम्पनीले जनाएको छ । हिरोको अफरः नगद ६ हजार छुटदेखि स्क्र्याच कार्ड मार्फत १ लाख नगद नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नगद छुटदेखि स्क्र्याच कार्डमार्फत १ लाखसम्मको छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ डिस्काउन्ट, स्क्र्याच कार्ड मार्फत १ लाख तथा बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगदको घोषणा गरेको हो । यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत व्याजमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध गराउने जनाएको छ । सुजुकीको अफरः १० हजार पक्का क्यासब्याकदेखि बाइकसम्म सुजुकी मोटरसाइकलको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्सले नयाँ सुजुकीको बाइक खरिदमा १० हजार पक्का क्यासव्याकदेखि नयाँ बाइक दिनेसम्मको अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैं आयो, उमंग छायो, क्यासव्याकको साथै बम्पर पायो’ उपहार योजना सार्वजनिक गरेको हो । सो योजना अन्तरगत कुनै पनि सुजकी ब्राण्डको मोटरसाइकल र स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का क्यासव्याक पाउनुको साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजमी बाइक पाउने पक्का रहेको छ । सो अफरमा एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेन्जको सुविधा रहेको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा कर बढाएकोप्रति अर्थमन्त्री कै टेबुलमा व्यवसायीले जनाए विरोध

काठमाडाैं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । भेटमा २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ । नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा बिक्री हुने बताउँदै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिने बताए । अर्थमन्त्री शर्माले गत शुक्रबार प्रतिनिधिसभामा पेश गरेको संशोधन बजेटमा १२५ सीसीदेखि १५५ सीसीसम्मका र २०० देखि २५० सीसीसम्मका मोटरसाईकलको अन्तःशुल्क १०/१० प्रतिशतका दरले बढाएका थिए । नाडा उपाध्यक्ष चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेन्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गर्दे अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए । नेपालको उद्योग व्यवसायको प्रवर्द्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै चौधरीले यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेक होल्डरको रुपमा लिनु जानकारी गराए । चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्रीमा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । साथै उनले एसेम्बल कति पार्ट्समा आउनु पर्ने हो, कुन पार्ट्स एसम्बलिङ हो, सरकारले त्यसको स्पष्ट वर्गिकरण गर्नु पर्ने बताए । अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरुपका नीतिहरु ल्याइएको बताए । उद्योग व्यवसाय क्षेत्रको समस्या समाधानका लागि सरकारले कर पुनरावलोकन आयोग समेत गठन गर्न लागेको बताए। साथै सरकारबाट भएका कमजोरी खोजी समाधान गरिने मन्त्री शर्माले आश्वासन दिए । छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एम ए डब्लु इन्टरप्राइजेजका राजु क्षेत्री, एसएलआर टेक्नो ट्रेडका सुगम घिमिरेको उपस्थिति थियो ।