१२५ सीसीको टीभीएस रेडरको बुकिंङ्ग खुल्ला
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको छ । जगदम्बा मोटर्सले आजैका मितिबाट नयाँ टीभीएस रेडरका लागि बुकिंङ्ग खुल्ला गरेको जानकारी दिएको छ । टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् । टीभीएस रेडरमा १२४।८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११।५ एनएम टर्क र ८००० आरपीएममा १२।९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५।७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरेको छ । जसले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव पनि प्राप्त हुन्छ । यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल विवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएको छ । टीभीएस रेडरको विकास यात्रुको आरामदायीता र सहजतालाई विशेष ध्यानमा राखि गरिएको छ । टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि राखिएको छ । टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध छन् ।
जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर बजारमा
काठमाडौं । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ । एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । त्यसैगरी ८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निःशुल्क उपलब्ध हुन्छ । यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ । २१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक आदि विभिन्न फिचर उपलब्ध छन् । जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्ष्यित गरी डिजाइन गरिएको छ । यसमा १८० सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । जेडटी६ स्कुटरमा १२५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटर आदि विभिन्न विशेषता छन् । दुई पांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा यो कम्पनीका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ । जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसँग समेत सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् । नेपाली बजारमा बिक्री पछिको सेवाका लागि समेत प्रतिबद्ध भएको रिजोन मोटर्सले जनाएको छ । आगामी दिनमा अन्य विभिन्न मोडल र इलेक्ट्रिक सेगमेन्ट समेत नेपाली बजारमा भित्र्याउने रिजोन मोटर्सले बताएको छ । मोटरसाइकल र स्कुटर मर्मतका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र मोबाइल एपबाटै निगरानी गर्नुका साथै आवश्यक सरसल्लाह दिने बताइएको छ । त्यसैगरी नेपालमै पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए । जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ भने दोस्रो सोरुम सुर्खेतमा तिहार अगाडि नै खुल्ने बताइएको छ । तिहार पछि विर्तामोड, धरान, दमक र पोखरा लगायतका देशका विभिन्न स्थानमा समेत सोरुम खुल्ने छ ।
परीक्षणका लागि नेपालमा विद्युतीय बस आउँदै
काठमाडौं । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ । ती बस काठमाडौँमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ/छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए । उनले भने, ‘तीन बस यहाँको सडकका लागि ठीक भएमा थप त्यसको चार महिनामा ४० बस आउनेछ ।’ संस्थामार्फत नै तीन सय बस खरिद गर्न लागिएकामा पहिलो चरणमा ४० बस आउनेछ । पहिलो चरणको बस अबको आठ महिनामा ल्याउने योजना बनाइएको भए पनि त्यसबाहेकका अरु बस कहिलेसम्म ल्याउने भनी यकीन नभएको सञ्चालक समिति सदस्य तुलाधरले बताए । उनले भने, ‘पहिलो चरणमा सबै ठीक भएपछि बिस्तारै अरु बस ल्याएर सञ्चालन हुनेछ ।’ संस्थाले गत असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ । संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए । विद्युतीय बस आउँदै गर्दा संस्थाले यीभन्दा ठूला विद्युतीय बस पनि सञ्चालन गर्न आवश्यक अनुसन्धान सुरु भएको जनाएको छ । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनःबस खरिद गर्दामार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनःसाझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढुवा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । सङ्घले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए । रासस