नेपाल भित्रियो अउडीका ईभी गाडी, मूल्य डेढ करोड
काठमाडौं । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीको ‘क्यू फोर ई-ट्रोन र क्यू फोर ई-ट्रोन स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ । जर्मनी विलासी कार अउडीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी काइरोसले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो । पहिलो चरणमा अउडीकाे क्यू फोर ३५ ई-ट्रोनकाे दुई भेरियन्ट नेपाल ल्याएको काइरोस इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद श्रेष्ठले बताए । उक्त विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान छ भने मोटरको पिकपावर १ सय २५ किलोवाट रहेको छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको सीईओ श्रेष्ठको भनाइ छ । अउडीको विद्युतीय कारमा नयाँ तथा आधुनिक फिचरहरू समावेश भएको पनि श्रेष्ठले जानकारी दिए । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको श्रेष्ठले बताए । यी दुवै मोडलका गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज २० इन्च छ भने स्पोर्टब्याक क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज १९ इन्च रहेको छ । कम्पनीका अनुसार उक्त कार ६ वटा रङमा उपलब्ध छन् । सो गाडी १६० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडन सक्छ । ‘हामीले गाडी सार्वजनिक गरेसँगै बुकिङ पनि खुल्ला गरेका छौं, आजैबाट गाडी बुक गर्न सक्नु हुनेछ, बुकिङ गरेको तीन महिनाभित्र गाडी उपलब्ध गराउँछौं, गाडी टेस्लाको सोरुममा गएर बुक गर्न सकिने छ,’ उनले भने । काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताइएको छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउने तयारी थालिसकेको छ ।
टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी
रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु-रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका ४०० भन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् । यसबाट १ अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए । सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बीवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ । सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ । मालवस्तु आयात–निर्यात गर्ने प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन् । सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ । यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट १ अर्ब ३ करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कवापतको राजस्व सङ्कलन भएको छ । साउनमा लक्ष्यभन्दा ३०.२६ प्रतिशतले राजस्व वृद्धि भएको बताइन्छ । चीनबाट जुत्ता, चप्पल, रेडिमेट कपडा, विद्युतीय उपकरण, रोल कपडा, बच्चाका खेलौनालगायतका विविध सामग्री आयात भएको बताइएको छ । साउनमा ३५० वटा कन्टेनरमार्फत चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । माल सामग्री परीक्षण कार्यमा कडाइ गरिएको र आफूले मगाएको सामानमा ब्राण्ड फरक पारी गलत घोषणा गर्ने कम्पनी वा फर्मका प्रतिनिधिलाई थप मूल्यको ५० प्रतिशत जरिवानासमेत गर्न थालिइएको छ । यसबाट चालु आवको पहिलो महिनामै त्यस्ता गलत विवरण भर्ने व्यापारीका प्रतिनिधिबाट आठ करोडभन्दा बढी जरिवाना गरिसकिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । रासस
जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् । बिहीबार सम्पन्न जाम नेपालको दोश्रो वार्षिक साधारण सभाले पत्रकार गजुरेललाई जामको अध्यक्षमा चयन गरेको हो । उनको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा सुरेन्द्र पौडेल, महासचिवमा तोयानाथ पौडेल, सचिवमा प्रयास श्रेष्ठ, कोषाध्यक्षमा वसन्त अर्याल निर्वाचित भएका छन् । यता सदस्यमा ७ जना चयन भएका छन् । जसमा सौरभ नेपाल, युवराज बस्नेत, उज्वल घिमिरे, रोशन श्रेष्ठ, शुक्र गिरी, सुधिर भण्डारी र अरिष्मा लामा रहेका छन् ।