मर्सिडिज-बेन्जको ‘रेकर्ड ब्रेक’ बिक्री, प्रत्येक दुई लक्जरी कारमध्ये एउटा मर्सिडिज
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना भारतमा बिक्री भएका प्रत्येक दुई लक्जरी कारमध्ये एउटा मर्सिडिज बेन्ज कार थियो । यस हिसाबले मर्सिडिजका लागि जनवरी-मार्च त्रैमासिक उत्कृष्ट रह्यो र यस अवधिमा कम्पनीले ५ हजार ४ सय १२ कार बिक्री गरेको थियो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । मर्सिडिजले जनवरी-मार्च २०२३ मा ४ हजार ६ सय ९७ कार बिक्री गरेको थियो । यस अवधिमा देशमा कुल ११ हजार ८ सय ५३ लक्जरी कार बिक्री भएको छ । आर्थिक वर्ष २०२४ भारतीय बजारमा जर्मन कार निर्माता कम्पनी मर्सिडिजका लागि उत्कृष्ट रह्यो जसमा कम्पनीले १८ हजार १ सय २३ कार बिक्री गरेको छ जुन अघिल्लो आर्थिक वर्षमा बिक्री भएका १६ हजार ४ सय ९७ कारको तुलनामा १० प्रतिशत बढी हो । तीन जर्मन दिग्गज कार कम्पनी मर्सिडिज, बीएमडब्लू र अडी मिलेर ९ हजार ९ सय ६८ लक्जरी कार बेचेका छन् । बिक्रीका हिसाबले यी तीन लक्जरी कार उत्पादकहरूमध्ये मर्सिडिज बेन्जको हिस्सा ५५ प्रतिशत रह्यो । बीएमडब्लूले जनवरी-मार्चमा ३ हजार ५ सय १० कार बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढी हो । अडीले १ हजार ४६ कार बेचेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशतले बढी हो । उद्योगको अनुमानअनुसार यो अवधिमा भोल्भो, जेएलआरलगायतका १ हजार ८ सय कार बिक्री भएका छन् । यो वर्षको जनवरी-मार्चमा देशमा मर्सिडिजको कुल बिक्रीमा एसयूभीको हिस्सा ६० प्रतिशत रह्यो । ईभीको बिक्री १ सय ३० प्रतिशतले बढेको छ भने कुल बिक्रीमा उनीहरूको हिस्सा ६ प्रतिशत रहेको छ । मर्सिडिज बेन्ज इन्डियाका प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत सन्तोष अय्यरले कम्पनीले आगामी त्रैमासिकमा भारतमा १२ वटा नयाँ कार लन्च गर्ने योजना रहेको बताए । तीमध्ये तीनवटा ब्याट्रीबाट चल्ने विद्युतीय कार हुनेछन् । उनले भने, ‘हामीसँग २ सय गाडीको अर्डर छ र हाम्रा केही कार ग्राहक एक वर्षदेखि पर्खिरहेका छन् ।’ कम्पनीले सन् २०२४ मा तीनवटा नयाँ कार बजारमा ल्याएको छ । कम्पनीका ८५ प्रतिशत कारको मूल्य ७० लाखभन्दा माथि रहेको अय्यरले बताए । मर्सिडिज बेन्जले यस वर्ष १० नयाँ उदीयमान बजारमा प्रवेश गर्दैछ । बीएमडब्लू ग्रुप इन्डियाका अध्यक्ष विक्रम पाहवाले भने, ‘बीएमडब्लू ग्रुप इन्डियाले जनवरी-मार्च त्रैमासिकमा उत्कृष्ट प्रदर्शन गरेको छ र यस अवधिमा हाम्रो बिक्री ५१ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीमार्च त्रैमासिकमा २ सय ११ ईभी कार बिक्री गरेको छ ।’ यसैगरी अडी इन्डियाका प्रमुख बलवीर सिंह ढिल्लनले आर्थिक वर्ष २०२४ मा अडीको बिक्री ३३ प्रतिशतले बढेको बताए । एजेन्सी
जर्मन कार निर्माता भक्सवागनले चीनमा थप २ अर्ब ५० करोड युरो लगानी गर्ने
सांघाई । आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजारमा बिक्रीमा भएको गिरावटलाई कम गर्न खोजिरहेको जर्मन कार निर्माता भक्सवागन समूहले बिहीबार चीनमा आफ्नो सञ्चालन विस्तार गर्न २ अर्ब ५० करोड युरो (दुई अर्ब ७० करोड अमेरिकी डलर) लगानी गर्ने बताएको छ । घरेलु विद्युतीय सवारी निर्माता बिवाइडीसँग आफ्नो उपाधि गुमाएको भक्सवागनले सन् २०२३ सम्म विश्वको सबैभन्दा ठूलो अटो बजारमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको उपाधि आफूसँग राखेको थियो । चीनमा गत वर्ष निर्माता एक्सपेङमा अल्पमत हिस्सेदारी लिनेसहित समूहले विश्वव्यापी स्तरमा विद्युतीय सवारीमा दसौँ अर्ब लगानी गरेको छ । समूहले एक समाचार विज्ञप्तिमा भनेको छ, ‘नयाँ बहु–अर्ब युरो लगानीलाई पूर्वी प्रान्त अनहुईस्थित हेफेईमा भक्सवागनको उत्पादन र नवप्रवर्तन केन्द्रलाई थप विस्तार गर्नका लागि प्रयाग गरिनेछ ।’ यसबाट आफ्नो अनुसन्धान र विकास क्षमता बढ्ने र एक्सपेङसँग विकास भइरहेको दुई कार मोडलको तयारीमा पनि सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ । ‘हामीसँग ‘इन चाइना फर चाइना’ रणनीतिका साथ एउटा बलियो योजना छ र हामीले अधिक ग्राहक केन्द्रित, थप गति र स्थानीय विकासका साथ हाम्रो व्यवसायको पुनरसंरचनालाई गति दिइरहेका छौँ,’ समूहका कार्यकारी राल्फ ब्रेन्डस्टेटरले विज्ञप्तिमा भने, ‘हेफेईमा यो थप लगानीले स्थानीय नयाँ शक्तिलाई द्रुत गतिमा विस्तार गर्ने हाम्रो महत्त्वाकांक्षालाई रेखांकित गर्दछ ।’ विद्युतीय सवारीका लागि चीनको बजारसामु बाँकी विश्व नगन्य भएको छ । रिसर्च फर्म रिस्ट्याड एनर्जीका अनुसार गत वर्ष डिसेम्बरमा विश्वव्यापी स्तरमा बिक्री गरिएका सबै विद्युतीय सवारीमध्ये ६९ प्रतिशत चीनमा भएको थियो । यस्तो मूल्यवान् बजारको लडाइँमा स्थापित अन्तर्राष्ट्रिय र घरेलु कार निर्माताहरूका साथै स्मार्टफोन तथा उपकरण निर्माता जियाओमीजस्ता हालै उदीयमान कम्पनीहरू पनि सामेल छन् । भक्सवागनको चीनमा ४० वर्षको इतिहास छ र उसले स्वयंलाई ‘चिनियाँ औद्योगिक पारिस्थितिकीय प्रणालीको अभिन्न अङ्ग’ भन्दछ । समूहले गत महिना जारी गरेको नतिजाले गत वर्ष चीनमा उसको बिक्री सामान्यरूपमा बढेको र सन् २०२२ को तुलनामा सुस्त गतिमा बढेको देखाएको छ । सन् २०२४ का लागि उसको विश्वव्यापी दृष्टिकोण पनि सुस्त थियो । एजेन्सी
मुकेश अम्बानी पत्नी निताले किनिन् १२ करोडको सुपर लक्जरी कार
काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानी फेरि एकपटक चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार उनले १२ करोडको सुपर लक्जरी कार किनेकी छन् । देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष नीतासँग करिब १ सय ६८ लक्जरी कारको संग्रह छ । यसमा मेब्याक, फेरारी, बेन्टले, मर्सिडिज बेन्ज र बीएमडब्लू कम्पनीका कारहरू पर्छन् । तर, अम्बानी परिवारको रोल्स रोयससँग विशेष लगाव छ । हालै अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा उनी १० करोडको रोल्स रोयस कलिनन ब्ल्याक ब्याजमा दुबईको एउटा मलमा किनमेल गर्न जाँदै गरेको देखिएका थिए । अब नीता अम्बानीले नयाँ रोल्स रोयस फ्यान्टम भी१२ को डेलिभरी लिएको खबर आएको छ । यो गुलाबी रङको कार विशेष गरी नीताका लागि डिजाइन गरिएको हो। मिडिया रिपोर्टका अनुसार भारतमा यो रोल्स रोयस कारको मूल्य १२ करोड भारु रहेको छ । नीताले किनेको कार विस्तारित ह्विल संस्करण हो। यो गाडीको तस्बिर इन्टरनेटमा तीव्र गतिमा भाइरल भइरहेको छ । यो विशेष गरी नीताका लागि अनुकूलित गरिएको छ । यसको सिटमा ‘एनएमए’ लेखिएको छ जुन नीता मुकेश अम्बानीसँग जोडिएको छ । यो कारको सबैभन्दा ठूलो विशेषता यसको रङ हो । सामान्यतया रोल्स रोयस कारको रङ कालो र सेतो हुन्छ तर नीताको कारलाई रोज क्वार्ट्ज पेन्ट स्किमले अर्किड मखमल इन्टेरियरले सजाइएको छ । कारको अगाडि रोल्स रोयसको लोगोलाई सुनौलो रङ दिइएको छ । यसमा ६।७५ लिटर क्षमताको ट्वीन टर्बो भी१२ इन्जिन छ । जसले ५७१ बीएचपीको बलियो पावर र ९०० एनएमको टर्क उत्पन्न गर्छ । अम्बानीको कार संग्रह हालै यो कार मुम्बईको सडकमा सुरक्षा गाडीको दस्तासँग देखिएको थियो । मुकेश अम्बानीले गत वर्ष आफ्नी श्रीमतीलाई रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज उपहार दिएका थिए । भारतमा यसको मूल्य १० करोड रुपैयाँ छ र यो भारतको सबैभन्दा महँगो गाडीमध्ये एक हो । यो कार भारतमा तीन जनासँग मात्रै रहेको बताइएको छ । जसमा मुकेश अम्बानी, अभिनेता शाहरुख खान र हैदरावादका व्यापारी नसीर खान पर्छन् । यसबाहेक मुकेशसँग बेन्टले, ल्यान्ड रोभर रेन्ज रोभर, क्याडिलैक, टेस्ला, पोर्श, फेरारी, मर्सिडीज, बीएमडब्ल्यू, अडी, लेक्सस, भोल्भो, टोयोटा लगायत धेरै कम्पनीका लक्जरी कारहरू छन् । अम्बानी परिवारको सुरक्षामा टोयोटा फोर्च्युनर, मर्सिडिज बेन्ज जी-क्लास, ल्यान्ड रोभर डिस्कभरी, मर्सिडीज बेन्ज भी-क्लास र एमजी ग्लोस्टर जस्ता गाडीहरू छन् र साथै टोयोटा इनोभा हाइक्रस जस्ता गाडी छन् । एजेन्सी