विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरुमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् । उनले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतिय सवारीमा कर लगाइनु उचित नभएको बताए । कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनि विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए । सधैँभरी अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताए । पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुर्याउने कुनै प्रयत्न नभएको पनि जानकारी दिए । उनले बजेट नयाँ शैलीमा आउनुपर्ने भएपनि परम्परागत रुपमा नै आएको बताए । बजेटमा धेरै विवादास्पद कुराहरु नभएको पनि जानकारी दिए ।
टोयोटा मोटरको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जापान । जापानको यातायात मन्त्रालयले अनुचित वाहन प्रमाणीकरण गरेको भन्दै टोयोटा मोटरको मुख्यालय निरीक्षण गर्ने सोमबार जनाएको छ । उक्त क्षेत्रमा टोयोटाका अतिरिक्त अन्य प्रमुख जापानी सवारी साधन निर्माण पनि गरिन्छ । टोयोटा, माजदा, यामाहा, होन्डा र सुजुकीसहित पाँचवटा मोटर कम्पनीबाट सवारी साधनको उत्पादनका लागि आवश्यक प्रमाणीकरण आवेदनसँग सम्बन्धित अनियमित गतिविधिको रिपोर्ट प्राप्त भएको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार टोयोटाले गलत तथ्याङ्क पेश गरेको र विगतमा तीनवटा वर्तमान उत्पादन मोडेल र चारवटा सुरक्षा परीक्षणमा सवारी साधनहरूको परीक्षण गर्न अनाधिकृत संशोधन गरेको आरोप लागेको छ । सडक यातायात सवारी ऐनअनुसार मन्त्रालयले मङ्गलबारदेखि टोयोटाको आइची प्रान्तस्थित मुख्यालयमा स्थलगत निरीक्षण गर्नेछ । टोयोटामा आन्तरिक अनुसन्धान जारी रहेको स्थानीय सञ्चारमाध्यमको रिपोर्टमा उल्लेख गरेपछि टोयोटाले आफ्ना अध्यक्ष एकियो टोयोडाले यस मामिलालाई सम्बोधन गर्न भोलिपल्ट पत्रकार सम्मेलन गर्ने जनाएको छ । यसैबीच, माज्दालाई यामाहा अन्य दुई वर्तमान मोडेलहरूमा परीक्षण परिणामहरू गलत प्रमाणित गर्ने कार्यमा सम्लग्न रहेको आरोप लागेको छ । होन्डा र सुजुकीमा पनि गलत परीक्षण रिपोर्टहरू समावेशजस्ता समस्याहरू भेटिएको छ र यी कम्पनीहरूको पनि अनुसन्धानका लागि स्थलगत निरीक्षण गरिनेछ । यातायात मन्त्रालयले टोयोटा, माज्दा र यामाहालाई हाल उत्पादनमा रहेका छ वटा सवारी मोडलको ढुवानी रोक्न आदेश दिएको छ । केही महिनाअघि, टोयोटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी दाइहात्सु र टोयोटा इन्डस्ट्रिज कर्पोरेसनले गलत तथ्याङ्क प्रस्तुत गर्नेलगायत अनियमितताका कारण उत्पादन अवरूद्ध पारिएको थियो । यातायात मन्त्रालयले विगत एक दशकमा तयारी वाहन निर्मातासहितका ८५ कम्पनीलाई समस्या हेर्न अनुरोध गरेको थियो । रासस
बालकुमारीमा डोङफेङ ईभीको नयाँ शोरुम
काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा सोमबार डोङफेङ इलेक्ट्रिक भेहिकल्सको लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङफेङ अटोमोबाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण सुरु गरेको हो । कम्पनीका अनुसार डोङफेङ अटोमोबमईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा बिक्रि वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५. ३ घनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्रि वितरण सुरु गरेको छ । बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ । ११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेज प्रदान गर्दछ । डोङफेङका सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल व्याट्रि जडित रहेका छन् । कम्पनीले उक्त रेञ्जहरु ४० किमी प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किमि को रेञ्ज सजिलै पाईने जनाएको छ । त्रिवेणी मोटोकर्प प्रालिले डोङफेङ इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ्ग स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ । त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स प्रालि, ईटहरीमा ईष्टर्न मोटर्स प्रालि, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ती मोटर्स प्रालि, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि, भक्तपुरमा जीइभी नेपाल प्रालि मार्फत आफ्ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ । त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसबाट बिक्री पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डोङफेङ गाडी छनौट गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।