भारतमा सबैभन्दा ठूलो आईपीओ ल्याउँदै हुन्डाई, ताेडिएला एलआईसीको कीर्तिमान ?
काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो भारतीय इकाईको करिब १७ प्रतिशत सेयर आईपीओमार्फत बेच्ने विचार गरेको छ । कम्पनीले यस आईपीओबाट २५ हजार करोड भारु (लगभग ३ अर्ब डलर) जुटाउनेछ । यसरी कम्पनीको मूल्यांकन करिब १८ अर्ब डलर वा १.५ लाख करोड भारु हुनेछ । एलआईसीले देशमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने कीर्तिमान राखेको छ । कम्पनीले मे २०२२ मा २१ हजार करोडको आईपीओ जारी गरेको थियो । पेटीएमको मूल कम्पनी वन९७ कम्युनिकेशनको आइपीओको आकार १८ हजार ३०० करोड रुपैयाँ थियो, कोल इन्डियाको करोड र रिलायन्स पावरको ११ हजार ५६३ करोड रुपैयाँ थियो । दुई दशकभन्दा बढी समयमा भारतमा अटो कम्पनीको यो पहिलो आईपीओ हुनेछ । यसअघि देशकै ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले सन् २००३ मा आईपीओ ल्याएको थियो । भारतको अटो सेक्टरमा मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा र टाटा मोटर्स लिस्ट भइसकेका छन् भने ओलाले जारी गर्ने तयारी गरिरहेको छ । मारुती देशको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । महिन्द्रा एण्ड महिन्द्रा दोस्रो र टाटा मोटर्स तेस्रो स्थानमा छ । बजार नियामक सेबीले भर्खरै ओलाको प्रस्तावलाई अनुमोदन गरेको छ । हुन्डाईले गत वर्ष आईपीओको तयारी गरिरहेको थियो । कम्पनीले चाँडै एसबीआईमा ड्राफ्ट रेड हेरिंग प्रोस्पेक्टस (डिआरएचपी) फाइल गर्ने विश्वास लिइएको छ । यस आईपीओअन्तर्गत कुनै नयाँ सेयर जारी गरिने छैन र हुन्डाई इन्डियाको मूल कम्पनीले अफर फर सेलअन्तर्गत आफ्नो सेयर बिक्री गर्नेछ । सिटी इन्डिया, जेपी मोर्गन इन्डिया, कोटक महिन्द्रा क्यापिटल मर्चेन्ट बैंकरहरू छन् जसले यो मुद्दा व्यवस्थापन गर्ने बताइएको छ । एजेन्सी
हुण्डाईको नयाँ मूल्य सार्वजनिक, साढे ४ लाख रुपैयाँसम्म घट्यो
काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ । गत बैशाख अन्तिम साता लक्ष्मी ग्रुपले नवलपरासीको परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको थियो । स्वदेशमै गाडी उत्पादन गर्न थालेपछि कम्पनीले नयाँ मूल्य निर्धारण गरी बिक्री मूल्य सार्वजनिक गरेको हो । कम्पनीले भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ । यसअघि कम्पनीले तयार भएको गाडी आयात गरी बिक्री विवतरण गरिरहेको थियो । तर, यसपटक भने स्वदेशमै उत्पादन हुन थालेपछि लागत घट्न गई मूल्य पनि कम पर्न गएको देखिन्छ । यसअघि आयात गरी बिक्री गर्दा भेन्यू एसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ र भेन्यू एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ थियो । स्वदेशमै गाडी उत्पादन हुन थालेपछि हुण्डाईको भेन्यू एसमा ४ लाख र भेन्यू एसएक्समा ४ लाख ४० हजार रुपैयाँ मूल्य घट्न पुगेको हो । हुण्डाई मोटोर कम्पनीसँगको प्राविधिक सहयोगमा लक्ष्मी ग्रुपले नेपालमा नै हुण्डाइ भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्री वितरण थालनी गरेको हो । पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह रहेको कम्पनीको दाबी छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गाहस्थ उत्पादनमा योगदान पग्ने कम्पनीको भनाइ छ । साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य कम्पनीले राखेको छ ।
दिपलले लिँदैछ विद्युतीय गाडीको बजार, फिचर पनि उत्कृष्ट
काठमाडौं । चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले नेपाल भित्र्याएको विद्युतीय गाडी दिपल एस ०७ मोडेलले बजारमा उत्साहजनक प्रतिस्पर्धा गरिरहेको छ । छोटो समयमा नै बजारमा यस गाडीको चर्चा चुलिएको छ । नेपालका लागि चांगनकाे आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले गत चैत १८ गते यस गाडीको मोडेल सार्वजनिक गरेको थियो । दिपल एस एस ०७ गाडीमा थुप्रै राम्रा विशेषता भएका कारण छोटो समयमा नै सबैको रोजाइमा पर्न सफल भएको मार्केटिङ म्यानेजर सृजप खनाल बताउँछन् । हाल बजारमा पाइरहेका अन्य विद्युतीय गाडीहरूभन्दा यसमा अरू थप फिचर रहेको उनकाे भनाइ छ । नेपाली अटोमोबाइलमा पहिलो पटक यस गाडीमा दर्जनभन्दा बढी फिचरहरू रहेको कम्पनीको दाबी छ । दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगनको सब ब्रान्ड हो । यसले चांगनका लागि ‘न्यु इनर्जी भेहिकल’ को विकास र उत्पादन गरेको कम्पनीले बताएको छ । १५ भन्दा बढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर दिपल एस ०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज (डब्लुएलटीपी) दिन्छ । अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंसनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’ को माध्यमबाट हातको संकेतबाट कमान्ड लिन सकिने सुविधा रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ । यस फिचरका कारण ड्राइभिङलाई सहज मात्रै नभइ सुरक्षित पनि बनाउने कम्पनीकाे भाइ छ । क्याबीनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्न यात्रुतिर आफैं फर्कन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउँछ । यस फिचरले सिटमा बस्ने व्यक्तिको उचाइअनुसार सिटको पोजिसन आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक मात्र नभइ यसको पर्फमेन्समा पनि सुधार ल्याउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ । दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई-एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै, यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर रहेका छन् । कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’ हरू छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’ लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिनको सुविधा कम्पनीले यस गाडीमा दिएको छ । सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको कम्पनीले बताएको छ । नयाँ मूल्यमा दिपल एस०७ नेपालमा दिपल एस ०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । तर, सरकारले ईभीमा लगाएको कर बढैसँगै अब आयात हुने गाडीहरू बढेर आउने खनाल बताउँछन् । ‘मूल्य बढ्नुमा केही हदसम्म बजेटमा ईभी गाडीमा लगाइएको कर बढ्नु पनि हो,’ उनी भन्छन्, ‘यद्यपि, हामीले कम्पनीसँगको सहकार्यमा थोरै मात्र मूल्य बढाएको छौं, ग्रहकलाई ठूलो मार नपरोस भन्ने हाम्रो चाहना हो ।’ हाल नेपालमा ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरिएको छ । आइतबारबाट यस गाडीको मूल्य बढेको हो । छोटो समयमा नै यस गाडीले राम्रो व्यापार गरिरहेको कम्पनीको तथ्यांकले देखाउँछ । कम्पनीको तथ्यांक अनुसार हालसम्म ३५० भन्दा धेरै गाडी आयात भएका छन् । जसमध्ये ३०० गाडीहरू बिक्री भइसकेका छन् भने बाँकी रहेका गाडीहरू पनि बुकिङ भइसकेका छन् । ‘हामीले चैत १८ गतेबाट नेपालका लागि एस ०७ गाडीको बिक्री सुरु गरेका हौं, त्यसयता ३०० बढी गाडी बिक्री भइसकेका छन् भने बाँकी रहेका अन्य गाडी पनि बुकिङ भइसकेका छन्,’ कम्पनीका एक प्रतिनिधि भन्छन्, ‘हामीसँग अहिले दिपलका सबै गाडी स्टक आउट भइसकेका छन् त्यसैले नयाँ आउने गाडीको मूल्य बढेर आउने भएको हो ।’ दिपल गाडी हेर्दा आकर्षक र फिचरहरू धेरै भएकै कारण छोटो समयमा नै धेरै ग्रहकको रोजाइमा परेको कम्पनीले बताएको छ । हाल यो गाडी आकर्षक ६ कलरमा उपलब्ध रहेको छ । चर्चित ब्राण्ड टेस्ला गाडीमा भएका थुप्रै फिचरहरू यस गाडीमा पाउन सकिने सुविधा रहेको कम्पनीकाे दाबी छ ।