आर्क्स ग्रुपले गर्‍यो स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण

काठमाडौं । आर्क्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ । सोमवार आर्यन्या बुटिक होटल नागपोखरिमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो ।  चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आर्क्स ग्रुपले जनाएको छ । विशेष गरी समूह यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त हुने बताइएको छ । पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ आरामदायी यात्राका लागि उपयुक्त हुने आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धताका साथ जुबाओ भ्यान नेपाली बजारमा प्रस्तुत गरिएको जानकारी दिए । स्वयम्भू हारती टुर्स एण्ड ट्राभलका सञ्चालक उज्जन महर्जनले जुआवो भ्यान आरामदायी र आकर्षक लागेकोले आपूmहरुले खरिद गरेको जानकारी दिए । उनले मुख्य कुरा यो १४ सिटमा उपलब्ध भएको र नेपालको सडक सुहाउँदो भएको बताए ।  भ्यानमा अन्य केही समस्या नदेखिएको र यसमा यात्रा गर्दा आरामदायी हुने विश्वास आफूले लिएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भ्यानले यातायातको गुणस्तर सुधार गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने र नेपाललाई दिगो हरित भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने जानकारीसमेत दिए ।  

नेपाली सडकका लागि डिजाइन गरिएको टनल्यान्ड जी७ अब बजारमा आउँदै

काठमाडौं । नेपाली भूगोलको जटिलता, विविधता र चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै परीक्षणपछि अब अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी टनल्यान्ड जी७ नेपालमा सार्वजनिक हुन लागिएको छ । एमएडब्लू वृद्धिले यस एक वर्षे परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिँदै नेपाली उपभोक्तालाई शक्ति, सुरक्षा र लक्जरीको उत्कृष्ट संयोजन प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार टनल्यान्ड जी७ मा १६० हर्सपावर क्षमताको इन्जिन र ३९० एनएम टर्क छ । जसले कठिन उकालो, ओरालो वा अप्ठ्यारा सडकहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्ने सुनिश्चितता दिन्छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्सले यसलाई देशका ग्रामीण तथा पहाडी क्षेत्रका लागि उपयुक्त बनाएको छ । यस गाडीमा आधुनिक पुस–स्टार्ट बटन, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा छन्, जसले नयाँ चालकहरूका लागि समेत सहज र सुरक्षित ड्राइभ अनुभव सुनिश्चित गर्छ । १२.३ इन्चको इनफिनिटी टचस्क्रिन, पानोरामिक सनरुफ, ‘हिटेड’ तथा ‘भेन्टिलेटेड’ सिट, र १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिटहरूले यसलाई प्रिमियम स्तरको बनाउँछ । वर्षभर सन्तुलित तापमान कायम राख्ने अटोमेटिक एयर कन्डिसनिङ प्रणालीले मौसमको असहजतालाई सहज बनाउँछ । एमएडब्लू वृद्धिका अनुसार टनल्यान्ड जी७ नेपाली पिकअप बजारमा नयाँ मापदण्ड कायम गर्ने पूर्ण सम्भावना बोकेको गाडी हो । कम्पनीले नेपाली ग्राहकहरूलाई यो नयाँ अनुभव लिन आमन्त्रण गरेको छ ।

हुवावे-सेरेसको एइटो एम८ चर्चामा, सार्वजनिक हुनुअघि नै १ लाख अर्डर

काठमाडौं । हुवावे र सेरेसको सहकार्यमा निर्माण गरिएको ठूलो आकारको क्रसओभर गाडी एइटो एम८ चीनमा सार्वजनिक हुनुअघि नै १ लाख अर्डर प्राप्त गर्दै चर्चाको शिखरमा पुगेको छ । मार्च ६ मा प्रि-सेल सुरु भएको यो गाडीको मूल्य ३ लाख ६८ हजारदेखि ४ लाख ५८ हजार युआन सम्म रहेको छ । कम्पनीका अनुसार प्रि-सेल सुरु भएको पहिलो घण्टामै ७,५०० अर्डर प्राप्त भएका थिए । एइटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्यमा तयार गरिएको हो । सेरेसले च्यासिस डिजाइन तथा उत्पादनको जिम्मा लिएको छ भने हुवावेले प्रविधि, मुख्य कम्पोनेन्ट आपूर्ति र बिक्रीमा ध्यान केन्द्रित गरेको छ । फ्ल्यागशिप मोडेल एइटो एम९सँग मिल्दोजुल्दो एइटो एम८ एसयुभी ५१९० मिमि लामो, १९९९ मिमि चौडाइ, १७९५ मिमि उचाइ र ३१०५ मिमि ह्विलबेस सहित प्रस्तुत भएको छ। यसमा लीडर सेन्सर, एलईडी हेडलाइट, २१ इन्चका मल्टी स्पोक रिम, रिट्रयाक्टेबल डोर ह्यान्डल, तथा टिन्टेड रियर विन्डोज जस्ता अत्याधुनिक सुविधाहरू छन् । २०२४ मा एइटो ब्रान्डका अन्य तीन मोडेल - एम५, एम७ र एम९ - को कूल बिक्री ३८५,९०४ युनिट पुगेको थियो । अब एइटो एम८ चौथो मोडेलका रूपमा चिनियाँ बजारमा छिट्टै प्रवेश गर्दैछ ।