विकासन्युज

संघीय संसद् आज बस्दै, प्रधानमन्त्री बालेनले वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठकमा महत्वपूर्ण प्रतिवेदन तथा विधेयक प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रस्ताव गर्ने कार्यक्रम रहेको छ । उक्त विधेयक प्रस्तुत गर्नुअघि सभामा पेश गर्न अनुमति माग्ने प्रस्तावसमेत प्रस्तुत गरिने सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची समेत रहेको छ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम तय गरिएको छ ।

टौरियन एमपिएस लिमिटेडको आधिकारिक डिलरमा आरबीजी इन्टरनेसनल नियुक्त

काठमाडौं । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी पहिचान बनाएको टौरियन एमपिएस लिमिटेडले नेपालका लागि आरबीजी इन्टरनेशनल प्रालिलाई आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ । मंगलबार काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच साझेदारीको औपचारिक घोषणा गरिएको हो । उक्त समारोहमा टौरियन एमपिएसका तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन र अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पठानिया को उपस्थिति थियो ।  यस्तै, आरबीजी इन्टरनेसनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार र निर्देशक श्यामल झा ले साझेदारी पत्रमा हस्ताक्षर गर्दै उच्चस्तरीय प्रतिबद्धता व्यक्त गरे ।  नेपालमा पछिल्लो समय जलविद्युत र पूर्वाधार निर्माणका आयोजनाहरू तीव्र गतिमा अघि बढिरहेका छन् । यस्ता ठूला आयोजनामा आवश्यक पर्ने उच्च क्षमताका क्रसर प्लान्ट र मटेरियल प्रोसेसिङ उपकरणहरूको मागलाई सम्बोधन गर्न यो साझेदारी गरिएको हो ।  सन् २००५ मा स्थापित टौरियन एमपिएसले उत्तर अमेरिका, रसिया र मध्यपूर्वपछि अब नेपाली बजारमा आफ्नो पकड बलियो बनाउने रणनीति लिएको छ । सन् २०१९ देखि निर्माण उपकरण र केमिकल क्षेत्रमा सक्रिय आरबीजी इन्टरनेसनलले यस साझेदारीमार्फत अब क्रसर प्लान्टको क्षेत्रमा पनि पाइला टेकेको छ । कम्पनीले गुणस्तरीय उपकरणका साथै चुस्त ’आफ्टर सेल्स सर्भिस’ (बिक्रीपछिको सेवा), न्यून डाउनटाइम र दीर्घकालीन सञ्चालनको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ । यस सहकार्यले नेपालमा अत्याधुनिक क्रसिङ प्रविधि भित्र्याउने र देशको औद्योगिक तथा भौतिक पूर्वाधार विकासमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ । 

उद्योगी–व्यवसायीको सुझावसहित बजेट तयारी प्रक्रिया अघि बढ्दै

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सन्दर्भमा मोरङ उद्योग व्यापार संघमा बृहद् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा संघको ‘समृद्धि हल’मा आयोजित उक्त कार्यक्रम नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले आयोजना गरेको हो । कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) तथा नेपाल उद्योग परिसंघ (कोशी प्रदेश) को सहकार्य रहेको थियो । पूर्वी नेपालका उद्योगी तथा व्यवसायीहरूको राय, सुझाव तथा धारणा संकलन गरी आगामी बजेटमा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राठीले आफ्नो प्रस्तुतीमार्फत निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूले भोगिरहेका विद्यमान समस्या उजागर गर्नुका साथै समाधानका लागि आगामी बजेटले समेट्नुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरू प्रस्तुत गरेका थिए । सो अवसरमा उनले अर्थ मन्त्रालयका अर्थ सचिव डा. घनश्याम उपाध्यायलाई संघद्वारा तयार गरिएको सुझावपत्र समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा अर्थ सचिव डा. उपाध्यायसहित भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, अर्थ मन्त्रालयका सह–सचिव उत्तरकुमार खत्री लगायत उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) तथा नेपाल उद्योग परिसंघ (कोशी प्रदेश) का अध्यक्षहरूको सहभागिता रहेको थियो । त्यसैगरी, कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, संघ–संस्थाका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, उद्यमी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्ट्रबेरी किलोको ३०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।  त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १२०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ९०, चिचिन्डो प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ८०, झिगनी प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २८०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १५०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण गरिएको छ ।    

गहुँमा किसानलाई २ सय रुपैयाँ घाटा, सरकारी ढिलाइले बिचौलिया ठगीको जोखिम

काठमाडौं । कैलाली जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल ४ हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब २ सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ । किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए । ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ,’ उनले भने ।  टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन् । केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ । टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल ४ हजार २०० रुपैयाँका दरले ४ क्विन्टल गहुँ खरिद गरेका छन् । गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गरेका उनलाई यस वर्षको मूल्य ठिकै लागेको बताउँछन् । ‘“गत वर्ष पनि यही मूल्यमा किनेको थिएँ, यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको थिएँ, पोहोरकै मूल्यमा पाएँ,’ उनले भने । टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल ३ हजार ८०० रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताए । उनले भने, ‘राम्ररी सफा नगरेको गहुँ ३ हजार ६०० रुपैयाँमा खरिद गर्छौँ, गुणस्तर हेरेर ३ हजार ९०० रुपैयाँसम्म पनि दिन्छौँ ।’  खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब ४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ठकुल्लाले हालसम्म ४ सय क्विन्टल गहुँ प्रतिक्विन्टल ४ हजार रुपैयाँका दरले बिक्रीका लागि नेपालगन्ज पठाइएको छ । पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको बताए । उनले भने, ‘यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको छ ।’  उनका अनुसार गत वर्ष प्रतिक्विन्टल ४ हजार २०० रुपैयाँसम्ममा खरिद गरिएकोमा यस वर्ष ३ हजार ८५० रुपैयाँदेखि ३ हजार ९०० रुपैयाँसम्ममा खरिद गरिएको छ ।  यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन । समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन् । गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । विगतमा हरेक वर्ष वृद्धि गर्दै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ । टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ ।  ‘समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नुपर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ । यस वर्ष भने मिल सञ्चालक र खरिदकर्ताले आफैँ मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्,’ उनले भने । 

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको सामूहिक भेट, असिमले भने- मर्यादित कुटनीति, बलियो नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्ने भएका छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले भने, ‘प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कुटनीति, बलियो नेपाल !’

ओम हस्पिटल अब २ सय शय्याको बन्ने, आम्दानी ८८ करोड, ऋण ५८.८५ करोड रुपैयाँ

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको अस्पतालले मुख्यतया गाइनेकोलोजी सेवाबाट आम्दानी वृद्धि गरेको जनाएको छ। सन् १९९५ डिसेम्बरमा स्थापना भएको ओम अस्पतालले १७५ शय्याको पूर्ण सेवा सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले सामान्य उपचारदेखि जटिल शल्यक्रिया र परीक्षण सेवासम्म प्रदान गर्दै आएको छ। २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा क्रिटिकल केयर सुविधा उपलब्ध रहेको अस्पतालले विभिन्न प्रमुख विधामा ओपीडी र आईपीडी सेवा सञ्चालन गरिरहेको छ। ओम अस्पताल अन्तर्गत आईभीएफ, डायलाइसिस, अन्कोलोजी, इमेजिङ तथा प्रयोगशाला सेवा, फिजियोथेरापी, वेलनेस तथा निवारक क्लिनिकहरू सञ्चालनमा छन् । कम्पनीका प्रमुख सेयरधनीमा भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ। अस्पतालको अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ रहेका छन्, जो नेपालका अग्रणी रेडियोलोजिस्टमध्ये एक हुन् । सञ्चालक समितिमा प्रमुख विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवसायीहरू रहेका छन् । व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) यम बहादुर महतले गर्दै आएका छन् । बढ्दो प्रति व्यक्ति आम्दानी, स्वास्थ्य बिमा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रति बढ्दो जागरूकता, प्रविधिमा सुधार र जीवनशैलीसँग सम्बन्धित रोगहरूको वृद्धिले व्यवस्थित स्वास्थ्य सेवाको मागलाई प्रोत्साहन गरेको अस्पतालले जनाएको छ। अस्पतालले घना बस्ती भएको काठमाडौं उपत्यकामा रणनीतिक रूपमा अवस्थित मल्टी-स्पेशलिटी संरचना मार्फत निरन्तर बिरामी आकर्षित गरिरहेको छ, जसले थप आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यससँगै हाल १७५ शय्याको अस्पताललाई विस्तार गर्दै २ सय शय्यामा पुर्याउने योजना बनाइएको छ । कुल ८ हजार ५५४.१९ वर्ग मिटर जग्गा क्षेत्रफलमा जम्मा १० हजार ४२३.२२ वर्ग मिटर बुल्ट अप एरिया भएको २०० शय्याको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालन गर्न लागिएको हाे ।  अस्पतालले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४२ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड रुपैयाँ अल्पकालीन गरी कुल ५८ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ।

६ कम्पनीको मर्जर, होलसेल क्षेत्रमा ठूलो कदम

काठमाडौं । विभिन्न ६ वटा डाइरेक्ट होलसेल कम्पनीबीच मर्जर सम्पन्न भएको छ । विभिन्न ६ कम्पनी गाभिएर ‘सस्तो डाइरेक्ट होलसेल’को नामबाट एकीकृत कारोबार औपचारिक रूपमा सुरु गरिएको हो ।       २०८२ फागुन १९ गते सम्पन्न संयुक्त विशेष साधारण भाले बेष्ट मार्जिन डाइरेक्ट होलसेल, उपत्यका डाइरेक्ट होलसेल, एक्स्ट्रा डाइरेक्ट होलसेल, एक्स्प्रेस डाइरेक्ट होलसेल र सुपथ डाइरेक्ट होलसेल प्रालिलाई सस्तो डाइरेक्ट होलसेल प्रालिमा गाभ्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयबाट २०८२ चैत १७ गते अन्तिम स्वीकृति प्राप्त भएसँगै एकीकृत कारोबार शुभारम्भ गरिएको सस्तो डाइरेक्ट होलसेलले जनाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय कीर्तिपुर नगरपालिका(१, काठमाडौंमा रहेको जनाएको छ ।