काठमाडौं । सरकारले सवारी साधनहरूमा उत्पादक कम्पनीले तोकेको प्राविधिक स्पेसिफिकेसन विपरीत जथाभावी बत्ती र हर्न जडान गरी चलाउने कार्यमा रोक लगाएको छ ।
मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै कानुन विपरीत अतिरिक्त लाइट र प्रेसर हर्न प्रयोग गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
बजारमा सवारी साधनको मूल स्वरूप परिवर्तन गरी उच्च क्षमताका लाइटहरू जडान गरेर सवारी चलाउने प्रवृत्ति बढेको र यसले गर्दा विपरीत दिशाबाट आउने चालक तथा पैदल यात्रीहरूलाई बाधा पुगी दुर्घटनाको जोखिम बढेको विभागको ठहर छ ।
कानुनी रूपमा पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार स्वीकृत नलिई सवारीको स्वरूप वा प्राविधिक पक्ष हेरफेर गर्न नपाइने प्रावधान छ ।
विभागले सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४ बमोजिम हेडलाइट र हर्नको स्पष्ट मापदण्ड समेत तोकेको छ । जसअनुसार डिप वा कम विमको हेड ल्याम्पको हकमा १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म र हाई विमको हकमा प्रत्येक हेड ल्याम्प १ लाख क्यान्डेलाभन्दा कम तथा समग्रमा चारवटै हेड ल्याम्पको प्रकाश २ लाख क्यान्डेलाभन्दा कम तीव्रताको हुनुपर्ने व्यवस्था छ ।
यसैगरी हर्नको हकमा न्यूनतम ९० डेसिबलदेखि अधिकतम ११२ डेसिबलसम्म मात्र ध्वनि निकाल्न पाउने नियम रहेकाले आफूखुसी प्रेसर हर्नहरू जोड्न नपाइने विभागले स्पष्ट पारेको छ ।
उक्त प्रावधान विपरीत बत्ती र हर्न जडान गरी सवारी साधन चलाएको खण्डमा प्रचलित नियम कानुन अनुसार कारबाही हुने व्यहोरा जानकारी गराउँदै विभागले सबैलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
